अनैतिक सम्बन्ध, बार्गेनिङ र हत्या : पोल खुल्ने डरले औरहीमा जे भयो

Monday, December 31st, 2018

जिल्लाको औरही नगरपालिकामा हालै घटेको एक घटनामा एकजनाको ज्यान गएको छ भने उनको हत्यामा संलग्न ५ जना पक्राउ परेका छन्। अरु दुईजनालाई प्रहरीले खोजिरहेको छ। महोत्तरीको औरही नगरपालिका—२ का सुशील सहनी र जितनी देवी महतोबीच शारीरिक सम्बन्ध थियो। मंसिर २४ गते उनीहरूबीचको यौन सम्बन्ध स्थानीय ४० वर्षीय बेचु महतोको नजरमा पर्‍यो। आआफ्ना घरपरिवारबाट लुकिछिपी अनैतिक यौन सम्बन्धमा रहेका उनीहरूसँग बेचुले बार्गेनिङ थाले। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्का अनुसार बेचुले जितनी देवीसँग बार्गेनिङ सुरु गरे। आफूसँग यौन सम्पर्क राख्न बेचुले जितनीमाथि दवाब बढाउन थाले। प्रस्ताव नस्वीकारे गाउँलेलाई भनिदिने भन्दै बेचुले ती महिलालाई धम्की दिन पनि भ्याए।

आफूहरूको क्रियाकलाप बेचुले देखेको र उनले राखेको यौन प्रस्तावबारे जितनीले आफ्ना प्रेमी सुशीललाई सुनाइन्। सुशीलले बेचुलाई उखुबारीमा बोलाएर हत्या गर्ने योजना बुने। उनको हत्या गर्न आफ्नै साथीहरूलाई परिचालन गर्ने चाँजोपाँजो मिलाए। यता जितनीले सुशील र आफ्नो बीचको अनैतिक सम्बन्ध नखुलाउने सर्तमा बेचुको यौन प्रस्ताव स्वीकारेको नाटक गरिन्। फोन गरेर गएको मंसिर २५ गते राती १० बजे जितनीले गाउँ नजिकैको उखुबारीमा उनलाई बोलाए। बेचु आउने बाटो ढुकेर जितनीका प्रेमी सुशीलले आफ्ना साथीसहित कुरेर बसे। र, जितनीसँग यौनतृष्णा मेटाउन गएका उनी सुशील र जितनीले बुनेको जालमा फसे।

जितनी, सुशील र उनका सहपाठीले बेचुको घाँटी गम्छाले कसेर हत्या गरेको प्रहरीले जनाएको छ। उनको शव उखुबारीमै फालेर प्रेमी—प्रेमिका र उनीहरूका साथीहरू फरार भए। घटना स्थलभन्दा २० मिटरपर भेटिएको मास्क र टोपीबाट इलाका प्रहरी कार्यालय गौशालाले अनुसन्धान थाल्यो। इप्रका गौशालाका इन्स्पेक्टर किशोर आचार्यले बेचुले जितनीलाई बार्गेनिङ गरेर यौन प्रस्ताव राखेको कुरा गाउँमा गाइगुईं हल्ला चल्यो। त्यसपछि प्रहरीले जितनीलाई घटना घटेको दिनै पक्राउ गर्‍यो। जितनीलाई प्रहरीले केरकार गरेपछि उनले बेचुको हत्याबारे खुलाइन्। त्यसपछि उनका प्रेमी सुशीललाई प्रहरीले गत मंसिर २६ गते नियन्त्रणमा लियो।

प्रहरीको अनुसन्धानले आफूहरूको सम्बन्ध खुल्ने डरले जितनी र सुशीलले एक समूह बनाएर बेचुको हत्या गरेको खुलेको छ।बेचुको हत्यामा संलग्न भएको आरोपमा प्रेमी प्रेमिका सहित उनीहरूका सहपाठीहरू चेकपटका २२ वर्षीय अनिल कुमार ठाकुर, २४ वर्षीय बौका भनिने मंजित सादा र २४ वर्षीय सुनिल सादालाई प्रहरीले पक्राउ परेको छ। घटनामा संलग्न दुईजना अझै फरार छन्। पक्राउ पर्नेहरूमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको छ।

जितनी देवीका श्रीमान् काठमाडौंमा मजदुरी गर्दै आएका छन्। उनका पाँच वर्षका छोरा छन्। जितनी ६ महिनाको गर्भवती छन्। सुशील पनि विवाहित हुन्। उनको पनि सन्तान छन्। सुशील र जितनीबीच ५—६ महिनादेखि यौन सम्बन्ध रहेको प्रहरीले जनाएको छ। घटना पश्चात प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो। घटनाको प्रकृति र स्थानीय तथा सरोकारवालाहरूसँग घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा जितनी देवीबारे केही कुरा बाहिरिएपछि प्रहरी उनीमाथी केन्द्रित भएको थियो। अन्नपुर्णपोष्टबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest