अन्तर्राष्ट्रिय स्टेजमा एक खुट्टाले कत्थक नृत्य गरे-सीता

Monday, December 21st, 2020


सीता सुवेदी
एक खुट्टाले पनि कत्थक नृत्य गर्न सकिन्छ र ? भन्नेहरुको लागि उदाहरण हुन् सीता सुवेदी । एकखुट्टे नृत्याङ्गना भनेर आफ्नो परिचय स्थापित गरिसकेकी छिन् उनले आफूलाई । भर्खरै दक्षिण कोरियामा एकखुट्टे कत्थक नृत्यले दर्शकको मन जित्न र तारिफ बटुल्न सफल भइन् उनी । ‘वन वल्र्ड वन फेमिली’ नामको अन्तर्राष्ट्रिय कार्यक्रममा नाच्न कोरियाका ह्वीलचियर नर्तक किमको निमन्त्रणामा त्यहाँ पुगेकी सीताको नृत्य यति लोकप्रिय भयो कि त्यहि लोकप्रियताले उनलाई थप साढे दुई महिना त्यहाँ बस्ने अवसर जुर्यो र सो अवधिमा १३ वटा कार्यक्रममा उनले आफ्नो एक खुट्टाको कत्थक नृत्य देखाउने अवसर पाइन् ।
सीताको जन्म चितवनको मेघौलीमा एक सामान्य परिवारमा भएको हो । सानै देखि चञ्चले स्वभाव कि उनलाई नाच्न खुवै मन लाग्थ्यो । कतै गीत बजेको सुन्नेबित्तिकै उनको खुट्टा सलबलाउन थाल्थ्यो । कतै गीत बजेको सुन्दा उनी फुरफुर नाचिरहन्थिन्, उनी फुरफुर नाचेको देखेर उनकी आमाले ‘कति फुरफुर गरिरा की…’ भन्नुहुन्थ्यो । उनी भन्छिन् ‘म एक ठाउँमा बस्नै नसक्ने खालकी थिएँ, चितवन मेघौलीको हाम्रो घरमा आउने आफन्त पाहुनाले कति राम्री फुच्ची, हिरोइन बन्लि जस्ती छे, भन्थे, म खुशीले गद्गद् भएर भित्र बाहिर गरिरहन्थे, ‘चकचके सीता’ भन्थे मलाई । पढाइमा मध्यम खालकी थिएँ म, स्कुलमा हुने साँस्कृतिक कार्यक्रम पनि कहिल्यै छुटाउदैनथे । नृत्यका अलवा गायन, कविता लेखन, दौड प्रतियोगिता पनि मेरा रुचिका विषय थिए । त्यति बेला चितवनको चर्चित कालिका एफ.एम. भर्खर परीक्षण प्रशारणमा थियो, एफएममा निरन्तर विभिन्न गीतहरु बजिरहन्थ्यो, ती गीतहरुमा ताल मिलाइ मिलाइ नाँच्ने गर्थे ।’
उनी १२ वर्ष कि हुँदा उनको खुट्टामा सानो घाउ लाग्यो, त्यहि घाउ बल्झदै गयो, जव घाउ किन निको नभएको भनेर भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गरियो तव थाहा भयो त्यो घाउले क्यान्सरको रुप लिइसकेको रहेछ । उनको देव्रे खुट्टा तिघ्रा मुनि देखि नै काट्नु पर्ने भरतपुर क्यान्सर अस्पतालका डाक्टरले सुनाए । त्यो कलिलो उमेरमा नै खुट्टा काट्नु पर्ने सुन्दा उनी छाँगाबाट खसे झै भइन्, खुट्टा काटेर के बाँच्नु जस्तो लाग्यो उनलाई, आफ्नो भविष्य औंसीको रात जस्तो अन्धकार देखिन् । त्यतिबेला उनी कक्षा ७ मा अध्ययनरत थिइन् । खुट्टा काट्ने शल्यक्रियामा जानु अघि उनी एफएममा बजेको गीतमा छमछमी नाचिन्, उनी भन्छिन् ‘मलाई लाग्यो, अब नाच्न कहिल्यै पाउदिन, त्यसैले जुरुक्क उठेर मन लागुन्जेल नाचें र खुट्टा कटाउन गएँ । खुट्टा काटे पछि मैले कयौं महिना आफूलाई हेर्नै सकिन । म किन बाँच्नु छ र अब ? भन्ने भावना हरपल मनमा आइरहन्थ्यो । अरु दौडेको, हिँडेको देख्दा आँखा रसाइरहन्थ्यो । एक्लै बस्दा मेरो काम भनेको रोइरहने मात्र हुन्थ्यो । सानासाना दुई बहिनी र एउटा भाइलाई देख्दा पनि मन भक्कानिएर आउँथ्यो । पहिलो सन्तानको नै यो हालत देखेर आमाबुबा पनि साह्रै निराश हुनुहुन्थ्यो । मेरी आमा सरस्वती सुवेदी र बुबा बालकृष्ण सुवेदी भगवान हुन् मेरा लागि । म स्कुल पनि जान्न भनेर बसेकी थिएँ । पछि घरपरिवार अनि स्कुलका सर–मिसहरुले हौसला दिनुभयो । स्कुल जान थालें । जानकी मावि घरबाट करिव १५ मिनेटको दुरीमा थियो । सधै साइकलमा स्कुल जाने म बैशाखीको सहाराले २ वर्षपछि स्कुल पुग्दा सबै अचम्मित भएर हेर्थे । राम्रै अंक ल्याएर एसएलसी उत्तीण गरे, त्यस पछि भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएर अध्ययनलाई अगाडी बढाए, भरतपुरमा डेरा लिएर मलाई मेरी आमाले तरकारी बेचेर पढ्ने खर्च जोहो गर्नुहुन्थ्यो । आइए पढ्दै गर्दा म भरतपुरमा कहलिएको नारायणी कला मन्दिरमा नृत्य प्रशिक्षार्थीका रूपमा भर्ना भए तर मलाई ‘एक खुट्टाले पनि नाच्न सकिन्छ कहि’ भनेर त्यहाँबाट पन्ध्र दिनमा नै निकालियो । स्नातक तह सम्मको अध्ययन पुरा गरेर उच्च शिक्षा हासिल गर्न काठमाडौं आए । बैसाखीको सहारामा बस, टेम्पो, सिंढी, पुल इत्यादि पलपल झेलिरहनु पर्ने । हात र अर्को गोडा असाध्यै गल्ने । त्यतिबेला लाग्थ्यो, किताबमा पढेको जस्तै, सिनेमामा देखेको जस्तै मेरो देशको सडक, बस्ती पनि अपांग मैत्री कहिले बन्ला ?
नेपालीमा स्नातकोत्तर गर्दैगर्दा ललितपुरको कलानिधि संगीत महाविद्यालयमा उनले संगीतमा स्नातक पढ्ने अवसर पाइन् । त्यहाँका नृत्य गुरु रवि रानामगर सीताको साहस देखेर प्रसन्न भए, उनले सजिलै सीतालाई शिष्यका रूपमा स्वीकार गरे । अनि सुरु भयो उनको जिन्दगीको नयाँ अध्याय । वर्षौ देखि थाती रहेको नाच्ने रहर कत्थकको ‘ता थै ता’ मा चाल मिलाउन पाउँदा उनलाई आफ्नो खुट्टा छैन भन्ने नै हेक्का रहेन । पहिलोपटक महाविद्यालयकै वार्षिकोत्सवमा सार्वजनिक रूपमा उनले कत्थक नृत्य देखाएकी थिइन्, त्यतिबेला सीताले जीवनमै सबभन्दा बढी ताली पाइन् । संगीतमा स्नातकोत्तर गर्दै गरेकी सीता गीत गाउन र लेख्न पनि रुचि राख्छिन्, उनले केहि गीत गाएकी र लेखेकी छिन्, शास्त्रीय, लोक र आधुनिक सबै खाले नृत्य एउटै खुट्टाले गर्नमा उनी पोख्त भएकी छिन् । अहिले उनको प्रशंसकले विभिन्न महोत्सवमा नृत्यको लागि निम्त्याउँदा नाच्ने तालिका मिलाउनै हम्मे पर्न थालेको छ उनलाई, भर्खरै उनी कोरिया पनि पुगेर अन्तर्राष्ट्रिय स्टेजमा आफ्नो असाधारण प्रतिभा देखाएर फर्केकी छिन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest