अन्यायको बिरुद्धमा लड्न सिकायो- माया ठकुरी

Friday, May 18th, 2018


माया ठकुरी

बरिष्ठ साहित्यकार
उनले जीवनमा जे भोगिन, जे देखिन त्यसले उनलाई बलियो बनायो । पाल्पा बुबाको घर अनि आमाको माइती रुकुमको रुकुमकोट । नौ बर्षमा नै उनको आमाको पाल्पाकी राणा जी सँग विहे भयो । बिहे पश्चात भारतको देहरादुन पुगिन आमा देवी अनि त्यहि जन्म भयो माया ठकुरीको । बुबा गोपाल जंग राणा, आमा देवी ठकुरीका तीन जना सन्तान मध्येकी जेठी छोरीको रुपमा जन्म भएको थियो उनको । बुबाको आमा प्रतिको वेवास्ता अनि केटी, जुवा तास, पसा प्रतिको मोहका कारण उनले पढ्न पाइनन् । आर्थिक कठिनका कारण औपचारिक शिक्षा लिन नपाएकी मायाले बाल श्रमिकका रुपमा काम गरिन् । बुबाले छोराछोरी र श्रीमतीप्रतिको कुनै पनि दायित्व पूरा गरेनन् । अरुको घरमा भाडा माझ्ने, भात पकाउने, घर सफा गरिदिने काम गरिन् । आफ्नो टोलका केटाकेटी पढ्न जाँदा उनलाई पनि पढ्न असाध्यै मन थियो तर स्कुल पठाउन सक्ने आमाको अवस्था थिएन । अरु बालबालिका स्कुलबाट आउथे अनि आमाहरुले खाजा खुवाउने, होमवर्क गराउने गर्थे उनी भनि त्यो सब दृष्य देखेर आफु पनि पढ्न पाए हुनेथियो जस्तो लाग्थ्यो । जहाँ समस्या त्यहाँ उपाय भने जस्तै ती बालबालिकाले लेखेर सकेर फालेको कपीको खालि रहेको ठाउँहरुमा उनले लेखेर अध्यास गर्न थालिन् । पाटीमा पनि लेखिन् । उनले जीवनमा कहिल्यै स्कुल टेकिनन् तर भाग्यबस एकजना शिक्षकले तिमीलाई पढ्ने इच्छा रहेछ म पढाइदिन्छु आउ भन्नुभयो । उनी भन्छिन् आमालाई यो कुरा सुनाए तर पैसाको अभावका कारण आमाले दिनुभएन । सरसँग म सँग फि तिर्ने पैसा छैन भनिन तर सरले म तिमीसँग फि नलिइकन नै पढाइदिन्छु भने, उनको लागि यो अवसर थियो । उनी खुशि भएर सरको घरमा पढ्न गइन, त्यहि दिनबाट सरकी श्रीमतीले घरको सबैकाम गर्न लगाइन् तर पनि उनले खुशि खुशि गरिन् किन भने उनले पढ्न पाएकी थिइन् । उनलाई कामगर्नु पर्यो भनेर दुख मानिनन् बरु आफुले पढ्न पाएकोमा खुशि भइन् । उनलाई पढ्ने रहर थियो । एसएलसी परिक्षा आयो उनी परिक्षा दिन गइन् कहिले पनि स्कुल नगएकी उनलाई देखेर साथीहरुले खिसि गरे हाँसे पनि उनी प्रति उनी सम्झिन्छिन् त्यो दिन । फेल हुनेको सुचिमा राखे उनलाई तर भाग्य बलियो भइदियो उनी पास भइन् । कहिलेकाहिँ काम गर्न गएको घरमा उनले फ्रक पनि चोरेकी छन् । उनले काम गर्दा त्यो घरमा धेरै राम्रा राम्रा कपडा देख्थिन् अनि आफ्नो बहिनी र अफुले भने फाटेको कपडा लगाउनु पर्ने बाध्यता थियो । उनलाई त्यो कपडा देखेर मेरो बैनीलाई पनि लगाइदिन पाएहुन्थ्यो जस्तो लाग्थ्यो, त्यहि बैनीको लागि भनेर आफु चोर्नी पनि बनिन् । उनलाई गाउँका मानिसले बिग्रेकी केटी भन्थे, उनी अन्याय सहन सक्दिन थिइन् । भन्छिन् मलाई त्यो बिग्रेकी केटी हुनमा मेरो आफ्नो परिस्थित र मेरो परिवेश थियो । अभाव अनि दुःखले गर्दा मलाई छुच्चो पनि बनाएको थियो । धारामा पानी थाप्न लाइनमा बस्नु पर्दथ्यो । विहान सबैभन्दा अगाडि गएर लाइनमा आफ्नो गाग्री राख्थिन् एकछिनमा जाँदा उनको भाँडोलाई पछाडि पु¥याएर अरुले नै अगाडि गाग्रो राखि सकेका हुन्थे । उनलाई रिस उठ्थ्यो अनि त्यो गाग्रोलाई निकालेर आफ्नो गाग्रो राख्थिन् । कसैले केहि भन्यो भने उनी झगडा गर्थिन् । उनलाई त्यो टोलका मान्छेले यो सँग बोल्न हुँदैन बिग्रेकी छे बाझ्न आउँछे समेत भन्थे । उनका यी समस्याहरुले दिनप्रतिदिन बलियो बनायो, उनको परिवेशले उनलाई अन्यायको बिरुद्धमा लड्न सिकायो । ती पलहरुले उनको साहित्यमा समेत योगदान दियो सायद त्यसैले उनका हरेक कथा यर्थात लाग्छन्, परिवर्तनका संवाहक लाग्छन् । उनका कथाहरुले महिला आन्दोलनलाई घच्घचाएको पाइन्छ । प्रगतीबादी कथाकारका रुपमा पनि लिन सकिन्छ ठकुरीलाई ।
माया ठकुरीका कथामा संवेदनाको प्रगाढता हुन्छ अनि मार्मिकता र कौतुलहताको सागर नै हुन्छ । उनले ७ वटा कथा संग्रह, एउटा गीत संग्रह अनि लोक कथाहरुले साहित्यको आकाशलाई फराकिलो बनाइदिएकी छन् । उनले लेखनमा कहिल्यै पनि केहि कमाउछु भनेर लागिनन् उनको आत्मासन्तुष्टि हो लेखन । उनको पहिलो पाठकका रुपमा छोरी अनुराधा र श्रीमानले उनको लेखन कलालाई खारिदिएका छन् यस अर्थमा की जब सम्म छोरी र श्रीमानले राम्रो भन्दैनन् उनी पटक पटक लेखिरहन्छिन् । अहिले उनका कथाहरु बिश्वभरिका युनिभर्सिटिमा छरिएका छन्, नेपाल भारत लगायतका युनिभर्सिटिहरुमा पढाइन्छन् उनका कथा । आफुलाई आफ्नो दुःखको समायमा जसले साह्रै हेप्थ्यो अहिले उसकै छोराछोरीले पढ्ने युनिभर्सिटमा मेरो कथा पढाइन्छ अनि ती मान्छेले प्रउड अफ यु भन्दा पहिलेको कुरा झल्झली याद आउँछ भन्छिन् उनी । म कथामा केहि ढाट्दिन, कतिपय कथामा म आफै पात्र हुन्छु र त्यसकै वरिपरिमा कथालाई घुमाएकी हुन्छु भन्छिन् माया । कहिले आफ्नी आमालाई उनले कथाको पात्र बनाएकी हुन्छिन् । उनका कथाका पात्रहरु वस्तविक हुन् । उनले आमाको दुःखलाई नियालेकी छन् । बाबु बाहिर केटीसँग रात बिराएर आएपनि आमाले कुनै गुनासो नगरि आफ्नो काखमा राखेर श्रीमानलाई जालोले मिचि मिचि नुहाइदिन्थिन् त्यो बेला माया लाई रिस उठ्थ्यो । किन त्यसरी नुहाइदिनु प¥यो भनेर आमासँग रिसाउँथिन् पनि तर आमाले मान्नहुन्नथ्यो । उनलाई अहिले लाग्छ त्यो आमाले आफ्नो सन्तुष्टिको लागि गर्नुहुन्थ्यो । बुबाको स्पर्शले मात्र पनि उहाँलाई आनन्द दिदो रहेछ । ९ बर्षमा विवाह भएकी आमा विवाह पश्चात बुबालाई देख्नाािथ डरले काप्न थाल्नुहुन्थ्यो रे पछि आफु जवान हुँदै गएपछि उनले श्रीमानबाट पाउने कुनैपनि कुरा पाउन सक्नुभएन । उनी आफ्नो लोककथाहरु लेख्नको लागि प्रेरणा हजुरआमालाई दिन्छिन् । आफ्नी मावलीकी हजुरआमाले गाउँका लोककथाहरु सुनाउनु हुन्थ्यो त्यसलाई उनको बालमष्तिस्कले ध्यान दिएर टिप्थ्यो जसको प्रभाव उनका लोककथाहरुमा पाउन सकिन्छ । उनले रेडियो नेपालमा गएर आफ्नो आवाजमा गीत पनि गाइन् । साहित्यका सबै बिधामा माया ठकुरीलाई पोख्त मानिन्छ ।
माया ठकुरीले आफुले जतिसुकै सफलता पाएपनि उनले आफ्नो धरातल बिर्षिनन् । उनी अहिले बिश्वमा चर्चित कथाकारका रुपमा चिनिन्छ । धेरै भाषामा उनका कथाहरु छापिएका छन् भने थुप्रै सम्मान र कदरपत्र द्धारा सममानित भइसकेकी छन् । जीवनमा उनले जति दुःख पाएपनि कहिल्यै विचलित भइनन् । चोट माथी चोट थपिदै गयो उनको जिवनमा तर त्यहि चोटको बिचमा केहि खुशि पनि पाइन् उनले । छोरी अनुराधा पनि अहिले कथाकार बनिसकेकी छन् भने श्रीमानको साथ र सहयोगले उनलाई अगाडि बढ्न सहज पनि भयो आफ्नो लेखनमा निखार आयो । आफ्ना लेखनमा कमेन्ट गरेपनि उनको फिलिङ्गस लाई भने कतै मर्न दिदैनन् उनका छोरी र श्रीमानले । माया ठकुरी बन्नमा उनको ठूलो संघर्ष छ, दुःख छ । उनको जीवनका भोगाइले नै उनलाई दिनप्रतिदिन परिपक्व बनाउदै गयो त्यसैले आज माया ठकुरीलाई सबैको माझमा चिनायो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest