अबिवाहित पुरुष

Saturday, October 20th, 2018


लानूमा केहि महिना यता फेसबुक र इन्टरनेटमा अत्यन्तै व्यस्त छिन् । इन्टरनेटको च्याटरुममा एक अत्यन्तै मिलनसार, दयालु, आँफुले रोजे जस्तै मन मिल्ने साथी भेटेकि छिन् लानूमाले, नेटमा भेटेपछि फोनमा पनि घन्टौ लामो भलाकुसारी गरि जिन्दगीका तीता मीठा क्षणहरु कहिले भाबुक भएर त कहिले हासीमजाक गर्दै दिन बिताइरहेका छन् । भलाकुसारिकै क्रममा एकदिन पुरुष साथीबाट आउँदा दिनहरुलाई केवल मित्रताको परिधिमा मात्र सिमित नराखी एक असल र उदाहरणीय जीवनसाथी बनिदै सुनौलो दाम्पत्य जीवनमा प्रवेश गर्न अनुरोधपूर्ण प्रस्ताब आउँछ, जिन्दगीको एक बूरा सपनाहरुको अन्त्य भई सुनौला दिनहरुको शुरुवात भएको कल्पना गरिन् लानूमाले, बिगतका तिता पलहरु सबै बिर्सिएर पुरुष साथीको प्रस्तावलाई सहर्ष स्वीकार गर्छिन् ।
पारिवारिक स्वीकृति अनि समाजको वास्तै गरिनन लानूमाले, सायद । खुशीको उन्मादमा ती सबै न्यून थिए उनका लागि, बैबाहिक जीवन बिताउने प्रस्ताव अव लानूमा र केटा साथीबीच प्रण भईसकेको थियो । जीवनका जस्तोसुकै अप्ठ्यारो मोडहरुमा पनि विश्वासको औषधिले दाम्पत्य जीवनलाई सदा सुखमय तुल्याउने बाचाहरु धेरै धेरै बाधिसकिएका थिए, उनीहरू बीच यसै क्रममा पुरुष साथीका तर्फबाट एकपल्ट घरमा आउने प्रस्ताव आयो, घरका सम्पूर्ण सदस्यहरूले सहमतिमात्र होइन लानूमालाई हेर्न आतुर रहेको मेल पनि आयो, खुशीले फुरुंग लानूमा एकपल्ट बुरुक्क उफ्री अनि तुरुन्त फोन गरि आफ्नो मायालु साथीलाई । फोनमा आँफू भोलिनै त्यहाँ आउने निधो पनि गरी, जिन्दगीको अमृतमय खुशी ठानी लानूमाले । एक सुन्दर सुशिल युवती नाम जस्तै बानिव्यहोरा उच्च घरानिया,सु–सँस्कृत अनि सर्वगुण सम्पन्न नाम अनुसारको मान्छे थिइन । हेर्दा पनि उज्यालो जून जस्ती देखिने उनको बान्की परेको मुहारलाई आँखा लाउनेहरुको पनि कमी थिएन । गाउँ,टोलमा उनी भर्खर २४ को वसन्त मात्र पार गर्दै थिइन् । उनि आमा बिहिन दुई छोरी मध्ये जेठी हुन् । घरमा बाबा मात्र छन्, बहिनी सुहाग होस्टेलमा बसेर कलेज पढ्छे । बाबाको पेन्सनले मात्र घर र पाहुनाहरु धान्न गाह्रो भएकोले, लानूमा आँफै पनि एउटा अंग्रेजी स्कुलमा अध्यापिकाको काम गर्छिन् । उनको बाबा क्याप्टेन बिरधोज, अब निक्कै पाको भैसकेको छन्, आफ्नी जेठी छोरीको दुःख देखेर भन्ने गर्छन् ‘लानूमा नानी कति मेरो स्याहारसुसार गर्दै बस्छेस् ? मन मिल्ने कोहि भेटे बिहे गर ।’ जवाफमा ‘आ……बाबा पनि कति किचकिच गर्नु हुन्छ हो ? के छोरीले चाहिं बिहे गर्नै पर्छ ? यत्रो माइतीघर हुँदा पनि ?’ यसै भन्दै लानूमा बाबाको कुरो टार्थिन् ।
भोलिपल्ट सबेरै उठेर, हल्का श्रृङ्गार पटार गरी अपरिचित परिवारमा परिचित मात्र होइन सोही परिवारको एक हिस्सा बन्ने एक सुमधुर सपना मनभरी डोरी झैँ बाटेर बिस्तारै पाईला बढाईन् ।उनका अघिपछि पञ्चेबाजा मात्र होइन आफ्ना सारा साथीहरु खुशीले नाँच्दै गरेको रमाइलो परिदृष्य उनको आँखामा आइरह्यो । कता कता उनलाई लाज पनि लाग्यो,जे होस् उनि मन्द र मधुर मुस्कान संगै कहिँ कतै अपरिचित परिवारमा पुगिन् । सरल,सुन्दर, हसिली,बत्तीस लक्षणले युक्त युवतीको आँगनीमा भएको आगमनमा परिवारका सबै सदस्य उनलाई लिन आतुरका साथ आँगनमा आईपुगे । आफ्नो हुनेवाला जीवनसाथी पनि मुन्द मुस्कानमै सबैलाई लानूमाको परिचय परिवारको सदस्यहरुसंग गराउदै थियो । परिचयका क्रममा पुरुष साथीका आमाले, मेरा हुनेवाला बुहारी, शब्द उच्चारण गर्दा हर्षविभोर लानूमाका नयनहरू हिमालको हिउँ पग्लिए झैँ गरि अनायासै रसाएका थिए,अनि उनका गोडामा ढोग गर्दा लानूमालाई स्वर्ग जस्तै आनन्द प्राप्त भएको थियो ।
भालाकुसारीकै क्रममा लानूमाले कुरा बुझी उनका हुनेवाला श्रीमान विवााहित मात्र होइन,दुई सन्तानका पिता अनि केहि पारिवारिक बिवादका कारण पारपाचुके गरिसकेका पनि रहेछन् । खुशीकै उन्माद संगै लानूमालाई यो कुरोले दुःखित पनि तुल्यायो । उनले पनि आफ्नो वास्तविकता नलुकाईकन सबै कुरो खोलीन् । लानूमा पनि दाम्पत्य जीवनको रथ गुडाउने क्रममा कहिँ कतै असफल भएर पारपाचुके गरिसकेकी केटी थिइन । लानूमाले यो वास्तविकता प्रकट गर्दा सबैमा एक प्रकारको सन्नाटा छाएको थियो सो परिवारमा, अनि सबै सदस्यहरुले उनका पुरुष साथीको मुहारमा हेरेका थिए ।
बिदा हुन अगाडी लानूमाले सबैसंग बिनम्रपुर्वक विदा मागी केहि दुःखित भए पनि खुशी र उमंगले लानूमाको सरल ह्दय चंगा जस्तै उडिरहेको थियो । जे भए पनि लानूमा जीवनका लागि समयसँग सम्झौता गर्न तयार भईसकेकी थिई । सुनौलो सपनाहरु बुन्दै घर पुगे लगत्तै लानूमा एक्कासी कम्प्युटर कोठामा प्रवेश गरी आफ्नो जीवनसाथीलाई रमाइला रमाइला मेल गर्न भनि कम्प्युटर खोली बैज्ञानिक युग पनि कस्तो अचम्म छ, लानूमा भन्दा अगाडी नै साथीको मेल आईसकेको रहेछ ‘लानूमा आजसम्म तिमीले मलाई अविवाहित भनि छली रहेकी रहिछ्यौ…अब तिम्रो र मेरो वास्तविकता हामी माझ छर्लङ्ग छ, तर पनि म एक पारपाचुके महिलासंग बिबाह गर्न सक्दिन, हामीले हाम्रो दाम्पत्य जीवनका बारेमा गरिएका कुराहरुलाई एउटा सपना सम्झि विर्सिदिनु हुन अनुरोध गर्दछु, बाँकी रह्यो हाम्रो मित्रताको कुरो, हामी जिन्दगीभर एउटा अत्यन्तै असल साथीको रुपमा रहिरहनेछौ बिदा…।
लानूमाले इमेल दोहो¥याएर पढ्न आवस्यक ठानिनन्, सबै कुराहरु प्रस्ट भए । उसलाई अचानक रिंगटा लागेर आयो, टाउको माथि घरको दलिन खसे झैँ भयो, यता उति हेरीन्, कोठा सबै घुमिरहेको थियो । हात गोडा थरथर काप्दै भए पनि, भएभरको हिम्मत बटुलेर एक पटक मेल गरी लानूमाले, आखिर हामीमा असमानता नै के रह्यो र ? तिमी र म दुवै जना पारपाचुके गरिसकेका मान्छे हौं, त्यसैले नै मैले पनि निर्धक्क भएर तिम्रो परिवार सामू आफ्नो अतितको पोको फुकाएकी हूँ, ताकी आउने दिनमा कोहि कसैले धोकामा जिउन नपरोस्, जे होस् तिमी एकपटक ठण्डा दिमागले सोच अनि भन, म तिम्रो निर्णय परिवर्तन होला भन्ने प्रतीक्षामा छु, अहिलेलाई बिदा ।
दिन विते, हप्ता बिते,महिना अनि वर्ष पनि विते तर साथीको मेल आउदै आएन । पलाएका सारा खुशीहरू नदीसरी निरन्तर वगिरहे, जसरी वहेर क्षितिज परसम्म पुगेर हावाको झोका संगै बिलाएको अनुभव गर्न सिवाय केहि गर्न सकिनन् । उनी आफ्नो भाग्यलाई धिक्कार्दै जिन्दगीमा पहिलो पल्ट आफ्नो केटा साथीको इमेल पढेर धेरै बेरसम्म रोएकी थिइन् । त्यो रात रातभर आँसुले मन लुगा झैं पखालेर फेरि, कहिल्यै नरुने गरि आफ्ना आँखाहरूलाई सान्त्वना पनि दिलाएकी थिइन् ।
एकदिन,अनायासै आफ्नी बहिनी च्याटमा व्यस्त देखि । उनै साथी,उही त्यहि साथी,त्यहि मान्छे, भन्दै थियो म सिंगल…अविवाहित … लानूमा बोलिनन्,बैनीको छेउमा बसेर चिउड़ोलाई हातले थाम्दै एकोहोरो भएर हेरिरहीन्,थाहै नपाई उनका नयनहरू आँशुले भरिइसकेछन् । निर्दोष बहिनीले टाईप गरिरहेको किबोर्ड माथि दुई थोपा आँसु तपतप झारेर चुपचाप निस्किन् कोठाबाट ।
– जानु काम्बा· लिम्बू (ताप्लेजु· हाल बेलायत)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest