अभिनेत्री श्रीदेवीसँग जोडिएका १३ प्रसंग

Sunday, February 25th, 2018

फागुन १३ – आफ्नो चुलबुले अभिनयमार्फत करोडौं दर्शकको मन जित्न सफल रहेकी अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुबईमा निधन भएको छ ।उनी एउटा वैवाहिक समारोहमा सहभागी हुन दुबई गएकी थिइन् । श्रीदेवी आफ्नी छोरी जान्ह्वी कपूरलाई पर्दामा उतार्नका लागि आफै निकै खटिरहेकी थिइन् तर उनले छोरीलाई पर्दामा उत्रेको देख्न पाइनन् ।
नियतिले श्रीदेवीकै जीवनको पर्दा पहिले झारिदियो सुन्दरताले मात्रै होइन, एक अलग प्रकारको दमदार अभिनयले दर्शकमाझ उनले अमिट छाप छोडेकी छिन् । हिन्दी चलचित्र उद्योगमा मात्रै होइन, उनले तामिल, मलायालम, तेलुगू तथा कन्नड चलचित्रमा पनि काम गरेकी छिन् । बलिउड उद्योगमा सर्वश्रेष्ठ कलाकारमध्येकी एक श्रीदेवी विशेष गरी ८० र ९० को दशकमा सक्रिय थिइन् ।
श्रीदेवीसँग जोडिएका १३ कुरा

१. चार वर्षको उमेरमा तामिल चलचित्रमा अभिनय गरेकी श्रीदेवीको जन्म १३ अगस्ट, १९६३ मा तामिलनाडुको एउटा सानो गाउँ मीनमपट्टीमा भएको थियो । उनको बुवाको नाम अय्यपन तथा आमाको नाम राजेश्वरी हो । उनको बुवा वकिल थिए । उनको एक बहिनी र एक जना सौतेनी भाइ छन् ।
२. सन् १९७६ सम्म श्रीदेवीले दक्षिण भारतीय चलचित्रमा बाल कलाकारको रुपमै अभिनय गरिन् । सन् १९७६ मा तामिल फिल्म ‘मुंदरु मुदिची’ मा उनी अभिनेत्रीका रुपमा देखा परिन् ।
३. श्रीदेवीलाई मलयालम चलचित्र ‘मूवी पूमबत्ता’(१९७१) का लागि केरला स्टेट फिल्म अवार्डद्वारा सम्मानित गरिएको थियो । यसै समयमा उने कैयौं तामिल, तेलुगू तथा मलयालम चलचित्रमा काम गरेकी थिइन् ।
४. श्रीदेवीले हिन्दी चलचित्रमा आफ्नो करिअर सन् १९७९ मा ‘सोलवां सावन’बाट गरेकी हुन् । तर ‘हिम्मतवाला’ बाट उनको पहिचान स्थापित भएको थियो । यसै चलचित्रपश्चात श्रीदेवी बलिउडमा सुपरस्टार अभिनेत्रीका रुपमा आफूलाई स्थापित गराउन सफल भइन् ।
५. उनले आफ्नो फिल्मी करअिरमा थुपै दमदार अभिनय गरेकी छिन् । उनले हेमा मालिनस् अभिनित चलचित्र ‘सीता और गीता’ को रिमेक ‘चालबाज’ मा दोहोरो भूमिका निर्वाह गरेकी छिन् । पकंज पराशरद्वारा निर्दे्शित चलचित्र ‘अंजू और मंजू’ मा रहेको उनको भूमिकालाई सकैले बिर्सन सक्दैन ।
६. सन् १९८३ मा ‘सदमा’ मा श्रीदेवी दक्षिण भारतीय चलचित्र उद्योगमा चर्चित अभिनेता कमल हासनसँग अभिनय गरिन् । यो चलचित्रमा रहेको श्रीदेवीको अभिनयलाई लिएर समीक्षक पनि दंग थिए ।
७. श्रीदेवीले मिथुन चक्रवर्तीलाई माया गर्थिन् । तर मिथुन विवाहित थिए ।
८. त्यस समय श्रीदेवी र मिथुन दुवै आफ्नो करिअरको उचाइमा थिए । दुई जनाबीचको प्रेमसम्बन्धले बलिउडमा मात्रै होइन, मिथुनको परिवारमा समेत तहल्का मच्चायो । अन्त्यमा मिथुनले श्रीदेवीसँग सम्बन्धको बारेमा स्पष्टिकरण दिए ।
९. सन् १९९६ मा श्रीदेवीले आफूभन्दा ८ वर्ष जेठो चलचित्र निर्माता बोनी कपूरसँग विवाह गरिन् । श्रीदेवीका दुई छोरी छिन्, जान्ह्वी र खुशी कपूर । अहिले ठूली छोरी जान्ह्वी बलिउड प्रवेश गर्ने तयारिमा छिन् ।
१०. १९९६ मा बोनी कपूरसँग विवाह गरेपछि श्रीदेवी फिल्मी क्षेत्रबाट टाढिएकी थिइन् । तर उनी कैयौं टिभी शोमा भने देखिएकी थिइन् । सन् २०१२ मा चलचित्र ‘इंग्लिश विंग्लिश’ मार्फत पूरानै अन्दाजमा दमदार अभिनयका साथ चलचित्र क्षेत्रमा फर्किइन् ।
११. लामो समय हिन्दी सिनेमाबाट टाढा रहेकी श्रीदेवीले ‘इंग्लिश विंग्लिश’ मा दमदार भूमिका निर्वाह गर्दै दर्शक तथा आलोचकलाई अचम्मित पारेकी थिइन् । उनलाई सन् २०१३ मा भारत सरकारले पद्मश्री अवार्डबाट सम्मानित गरेको थियो । यसका अलावा ‘चालबाज’ (१९९२) तथा ‘लम्हे’ (१९९०’ का लागि उनले बेस्ट एक्ट्रेसको फिल्मफेयर अवार्ड पनि प्राप्त गरेकी छिन् ।
१२. उनले ‘जैसेको तैसा’, ‘जूली’, ‘सोलवां सावन’, ‘हिम्मतवाला’, ‘जस्टिस चौधरी’, ‘जोनी दोस्त’, ‘कलाकार’, ‘तोहफा’, ‘बलिदान’, ‘मास्टरजी’, ‘सरफरोश’, ‘भगवान दादा’ लगायत थुप्रै सफल तथा चर्चित चलचित्रमा अभिनय गरेकी छिन् ।
१३. श्रीदेवीले झण्डै २ सय चलचित्रमा अभिनय गरेकी छिन् । जसअन्तरगत ६३ हिन्दी, ६२ तेलुगू, ५८ तामिल तथा २१ मलयालम चलचित्र रहेका छन् ।

–एजेन्सीको सहयोगमा

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest