अवतरणका क्रममा धावनमार्गमा विमान चिप्लिदा ,तीन जनाको मृत्यु, एक सय ५० जना घाइते

Thursday, February 6th, 2020

एजेन्सी
इस्तानबुल स् टर्कीमा एउटा विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा तीन जनाको मृत्यु भएको छ भने करिब १५० यात्रु घाइते भएका छन् ।आन्तरिक उडानका क्रममा इजमिर प्रान्तबाट आएको बोइङ ७३७ विमान बुधबार इस्तानबुलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।इस्तानबुलस्थित विमानस्थलमा अवतरणका क्रममा पिगासस एयरलाइन्सको जेट विमान धावनमार्गबाट चिप्लिएको हो । विमानमा १७१ यात्री र चालक दलका ६ सदस्य सवार थिए ।
पिगासस एयरलाइन्सले आधिकारिक स्रोतलाई उद्धृत गर्दै दुर्घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ । सो एयरलाइन्सले ट्वीट गर्दै यसको जानकारी दिएको हो ।

टर्किस मिडियाका अनुसार विमानमा सवार अधिकांश टर्कीकै नागरिक छन् । उक्त विमानमा सवार यात्रुमध्ये २० जना विदेशी रहेको बताइएको छ ।

इस्तानबुलका गभर्नर अली यर्लिकायाका अनुसार दुर्भाग्यवस उक्त विमानले रनवे छाड्यो र चिप्लिएर ५० देखि ६० मिटर पर पुग्यो । उनले प्रतिकुल मौसमका कारण उक्त दुर्घटना भएको बताए ।

धावनमार्गबाट चिप्लिएको विमान तीन टुक्रामा विभाजित भएको छ । उक्त विमान प्रतिकुल मौसमका बाबजुद अवतरण गरिरहेको समयमा उक्त दुर्घटना भएको अधिकारीहरुको भनाइ छ । अधिकारीहरुका अनुसार हुरीसहित भारी वर्षा भइरहेको समयमा विमान अवतरण गर्दै थियो ।

दुर्घटनापछि सार्वजनिक भिडियो फुटेजमा विमानको एउटा भागबाट यात्रीहरु निस्किँदै गरेको र उद्धारकर्मीहरु उद्धारमा जुटिरहेको देखिन्छ ।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ भने सो विमानस्थलमा अवतरण हुने फ्लाइटलाई अन्यत्र ‘डाइभर्ट’ गरिएको छ ।

पिगासस एयरलाइनसकै विमान सोही विमानस्थलमा ७ जनवरीमा पनि धावनमार्गबाट चिप्लिएको थियो । त्यतिबेला कुनै मानवीय क्षति भएको थिएन ।

सोही एयरलाइन्सको विमान जनवरी २०१८ मा ट्राब्जोन विमानस्थलमा पनि चिप्लिएर समुद्री तट नजिक पुगेको थियो । त्यतिबेला पनि कुनै मानवीय क्षति भएको थिएन ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest