आत्मसन्तुष्टिका लागि अभिनयलाई रोजेकी हुँ

Thursday, November 7th, 2019


उषा रजक नेपाली नाटक र चलचित्र क्षेत्रमा एक बखत चर्चाले चुलिएकी अभिनेत्री हुन् । लक्स ब्युटी स्टार २००४ बिजेता भए संगै चर्चा कमाउन थालेकी उषाले मिस युनिभर्सिटी २००६ मा भाग लिइन् । उक्त प्रतियोगितामा उनी उत्कृष्ट ठहरिन्, उपाधि चुमिन् । नेपालको प्रतिनिधित्व गर्दै कोरिया गइन् । लक्स ब्युटी स्टारले उनलाई थप ख्याति दिलायो ।
उषा केहि समय अगाडी किर्गिस्तानमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा कार्यरत रहदा रहदै नेपाल फर्र्किइन् । संयुक्त राष्ट्र संघको आकर्षक जागिर छोडेर उनी किन नेपाल फर्किइन् त ? धेरैको उत्सुकता रहेको छ । आफ्ना दर्शक, श्रोताको उत्सुकता मेटाउदै उनी भन्छिन् ‘अभिनयमा जस्तो सन्तुष्टि मलाई अरु केहिमा मिल्दैन, नेपालमै अभिनय यात्रालाई निरन्तरता दिन आएकी हुँ, यहाँहरु सबैको पहिलेको जस्तै माया चाहन्छु । ’
चितवनमा आयोजित राष्ट्रिय नाटक प्रतियोगितामा नाटक ‘कंकाल’ मा भूतनी को अभिनय गरेर अभिनय क्षेत्रमा प्रवेश गरेकी उषा भर्खरै वरिष्ठ रंगकर्मी अशेष मल्लद्वारा निर्देशित नाटक ‘अर्को कुरुक्षेत्र’ मा मुख्य भूमिका निर्वाह गरेकी छिन् । तीनवटा पात्रको फरक फरक भूमिका उनी एक्लैले निभाएकी थिइन्, उनको अभिनयको चर्चाले अहिले नाट्य क्षेत्र तातेको छ । नाटकले महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाएको बताउँदै उनी भन्छिन् ‘महिलाको विषयमा केन्द्रित नाटकको कथावस्तु सुनेपछि अभिनय गर्न राजी भएकी थिएँ,’ महिलामाथि हुने हिंसाविरुद्ध नाटकले आवाज उठाएको छ । नाटकमा उत्पीडनमा परेको संघर्षशील महिलाको भूमिका निर्वाह गरेकी छु ।’
एक्टर स्टुडियोकाअनुप बरालबाट अभिनयको प्रशिक्षण लिएकी उनले यसअघि ‘बाँकी उज्यालो’ नाटक तथा कुसुमे रुमाल २, इकु, कागवेनी लगायत चलचित्रहरुमा सशक्त अभिनय गरिन् । उनको नयाँ चलचित्र ‘कठपुतली’ प्रदर्शनको क्रममा रहेको छ । ९ बर्ष सम्म मोडलिङ र थिएटरको अनुभव संगालेकी उषा सिलगुढी, दार्जिलिङ तथा सिक्किममा आयोजना भएको ‘कथा’ को विभिन्न शो मा समेत आफ्नो शसक्त कला प्रस्तुत गरेर दर्शकहरुको मन जितेकी थिइन् ।
उषा चर्चित सेलिव्रेटी हुन्, तर उनीमा ‘म सेलिब्रेटी हुँ’ भन्ने अहं भावना पटक्कै छैन । संघर्ष गर्न अल्छी नमान्ने उनको अर्को गुण हो, जुन गुणले उनलाई अझ उचाईमा पुर्याउने विश्वास लिन सकिन्छ । उनी आफ्नो कामको सन्दर्भमा भन्छिन् ‘कलाकारका रुपमा जे पाउँछु, त्यसैमा म खुसी हुन्छु । के पाइनँ भनेर गुनासो गर्दिन, मैले पाउन र गुमाउन होइन, आत्मसन्तुष्टिका लागि अभिनयलाई रोजेकी हुँ ।
१८ वर्षको उमेरमा अभिनय सुरु गरेकी उषालाई त्यति बेला ‘बोल्ड हिरोइन’ भनिन्थ्यो । एकताका नेपाली रजतपट, रंगमञ्च, मोडलिङमा उषाको जगजगी थियो । उषाको जीवनमा अभिनयको सम्बन्ध नङ र मासुजस्तो भएर बस्यो ।
उषा हाँस्दा, बोल्दा उनको देब्रे गालामा गहिरो डिम्पल पर्छ । उनको सुन्दरतालाई उनको डिम्पलले अझ खारिदिएको छ, उनी संग भेटेर बोल्ने र अभिनय हेर्नेहरु उनको डिम्पलबाटै मोहित हुन्छन् । उनको त्यहि डिम्पलबाट मोहित भएर सन् २००७ मा एक विदेशी नागरिकले उनलाई मन पराए, दुवैजनाको प्रेम सम्वन्ध विवाहमा परिणत भयो । विवाह भएको एक वर्षमा नै उनले छोरी जन्माइन् अहिले उनकी छोरी दश वर्षकी छिन् । पछिल्लो समय आमाछोरीलाई विभिन्न कार्यक्रममा संगै भेटिन्छ । छोरीलाई पनि कला क्षेत्रमा नै ल्याउने योजनामा छिन् उनी । ‘मेरो चाहनाले मात्र त हुदैन, छोरीले भोलीको बाटो कुन रोज्छिन्’ उनी भन्छिन् ।
विदेशमा बस्दा पनि उषाले कलाकारितालाई चट्टै छोडेकी भने थिइनन्, नाटक बनाउनेदेखि बेली डान्स सिक्ने, आफ्नो शरीरलाई सधैं फिट राख्ने कार्यलाई उनले आफ्नो जीवनको अभिन्न अंग ठानिन् । उषाको अभिनय प्रतिको रुचिले बिट मारेको छैन, उनी आफ्नो उज्यालो बाटो यही कला क्षेत्रमा देख्छिन् ।
प्रस्तुति : हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest