आमा भन्ने शब्दले आकाशको विशालतालाई पनि जित्ने गर्छ, सन्तनको लागि आमा संरक्षक र ममताको खानी हुन् । स्वार्थरहित प्रेम कसैबाट मिल्छ भने ती आमा नै हुन्, छोरीको अवस्था र मनोभाव बुझ्ने पनि आमा नै हुन्, त्यसैले आमा र छोरी ममतामयी नाता पनि हुन् र साथी पनि हुन्, त्यस्ती साथी जसलाई निर्धक्क विश्वास गर्न सकिन्छ, मनका भाव पोख्न सकिन्छ । यस्तै सम्वन्ध छ चर्चित ब्युटिशियन रुस्का र रुविष्काको । उमेरले पनि धेरै फरक छैन उनीहरुको, त्यसैले पनि उनीहरुको सम्वन्ध अझ गहिरो र घनिष्ट छ ।
रुस्का पेशाले ब्युटिशियन, रुस्काज मेकअप स्टुडियो तथा स्कुल अफ ब्युटियिशन(आइटिसी) कि निर्देशक सिटिइभिटी कि ट्रेनर, करिकुलम निर्माता तथा एक्जामिनर हुन् साथै उनी एक समाजसेवी पनि हुन्, हाल उनी लायन्स क्लवकी प्रिसिडेन्टको भूमिकामा पनि रहेकी छिन्, जुन सामाजिक र परोपकारी काममा संसारभर प्रशिद्धि पाएको अन्तर्राष्ट्रिय संस्था हो ।
छोरी रुविष्काले भर्खरै १२ कक्षा पुरा गरिन्, उमेरले सानी भए पनि रुविष्काले कमाएको ख्याती आमाको भन्दा कम छैन, उनी मोडल हन्ट नेपाल २०१८ कि फष्ट रनरअप र मस्ट फोटोजेनिक, व्रान्ड एम्वेसडर एलविएमए कोरिया २०१८ हुन् भने उनले फेस अफ नेपाल कि उत्कृष्ट पाँच भित्र पर्न सफल, भियतनाममा आयोजित मिस एसिया २०१९ मा उत्कृष्ट ११ भित्र पर्न सफल तथा टु« इन्जाम अवार्ड प्राप्त गरेकी छिन् भने वेष्ट फेशन मोडल महिला २०१९ अवार्ड पनि उनले प्राप्त गरेकी छिन् । भर्खरै मिलन नेवारद्धारा स्वरवद्ध सुमधुर गीत जानी नजानी …मा उनले उत्कृष्ट अभिनय गरेर बेष्ट मोडल डेइब्यु २०२० को अवार्ड समेत जितेकी छिन् । सानै देखि प्रतिभाशाली उनले विद्यालय स्तर देखि नै मोडलिङ र विद्यालयका विभिन्न प्रस्तुतिहरुमा उद्घोषण गर्दै आइरहेकी छन् ।
जब छोरी सानी हुन्छिन् आमालाई उनले आफ्नो आदर्श बनाउँछिन् । आमाको जस्तै लुगा लगाउन, आमाको जस्तै श्रृङ्गार गर्न, आमाले जस्तै खाना पकाउन रुची राख्छिन् ।
छोरीको चाहना आमा जस्तै बन्नु हुन्छ, आमालाई हेरेर उनले आफ्नो सुन्दर भविष्यको कल्पना गर्छिन् । छोरी सधै आमाको काखमा लुट्पुटिएर बस्न मात्र होइन, आमाको काममा सघाउन पनि थाल्छिन् । रुविष्काले पनि सानै उमेर देखि आमाको काममा साथ दिइन् । उनको यो साथ क्षणिक होइन दीर्घकालीन हो भन्ने विश्वास उनकी आमा रुस्काले लिएकी छिन्, आमाको यो विश्वासलाई सम्मान गर्दै रुविष्काले उच्च शिक्षा समेत यहि विषयमा लिने निश्चय गरिसकेकी छिन्, उनले कस्मेटोलोजी अध्ययनको लागि कोरिया जानको कागजी प्रकृया अगाडी बढाइसकेकी छिन् ।
छोरी जति हुर्कदै जान्छिन् आमाको कामको बोझ पनि घट्दै जान्छ । आमाले सम्हाल्ने घर भित्रको जिम्मेवारीमा छोरीले सघाउँछिन्, रुविष्काले घरभित्रको काम मात्र होइन रुस्काको व्यवसायमा पनि सघाउँदै आएकी छिन्, आमाका ग्राहकहरुलाई उनले आमाले नभ्याउदा सेवा दिन्छिन्, लकडाउनको बेलामा समेत आमाको सहयोगी बनेर आमाका धेरै कार्यबोझ उनले बोकिदिइन् ।
रुस्का र रुविष्का आफ्नो समस्याहरु, जटिलताहरु मात्र होइन खुसी र उमंगका भाव पनि एकअर्कामा साट्ने गर्छन्, कुन कार्यक्रममा जाँदा कस्तो पहिरन लगाउने, कस्तो मेकअप गर्ने भन्ने सल्लाह पनि उनीहरु एक आपसममा गर्ने गर्दछन् । आपसी छलफलबाट नै उनीहरु आइपर्ने समस्याको समाधान निकाल्दछन् । यसरी उनीहरु एकअर्काको घनिष्ट, अभिन्न र विश्वासिलो साथी बनेका छन् ।
भनिन्छ घर हाम्रो पहिलो पाठाशाला हो र आमा नै पहिलो गुरु । आमाबाट रुविष्काले धेरै कुरा सिकेकी छिन्, घर व्यवहारका कुरा, सौन्दर्यका कुरा लगायत धेरै कुरामा रुस्का रुविष्का कि गुरु हुन् । आमा जस्तै मेहनती छिन्, रुविष्का । रुस्काले सुरुवाती दिनमा बनेपामा नै छोटो अवधि तालिम लिइन् त्यस पछि काठमाडौ आएर प्रशिक्षण लिइन्, विहान चार बजे नै उठेर घरको काम सकाएर उनी सीप सिक्न काठमाडौको इन्ष्टिच्युट आउँथिन्, धेरै धैर्यताका साथ उनले आफ्नो पेशामा दक्षता हाँसिल गरिन् । सिक्ने क्रम कहिल्यै टुंगिदैन, अहिले पनि उनी विश्व बजारमा आएका नयाँ प्रविधिबारे सिक्दै रहेकी छिन् । वर्षमा कमसेकम एक पटक विदेशमा गएर केहि न केहि नयाँ तालिम लिदै आएकी छिन् । सिक्नकै लागि उनी थाइल्याण्ड, मलेशिया, श्रीलंका आदि ठाउँ पुगेकी छिन्, उनको बुझाईमा यो आवश्यक पनि छ । आमाको यो मेहनत बुझेकी रुविष्काले पनि आफ्नो सानै उमेरमा धेरै प्रगति हाँसिल गरिसकेकी छिन्, उनले अन्तर्राष्ट्रिय स्तरमा नै नेपालको प्रतिनिधित्व गरेर देशको नाम उच्च राख्न सफल भएकी छिन् ।
छोरीको चाहनाको पनि उत्तिकै ख्याल राख्छिन् रुस्का । छोरीका इच्छा, आकंक्षा र चाहना पुरा गर्नमा उनी जुनसुकै कष्ट उठाउन पनि आँफू तयार रहेको बताउँछिन् । कोरियामा चार वर्षको कस्मेटोलोजी अध्ययनको लागि सबै तारतम्य मिलाउन यति बेला उनी छोरी संगै दौडधुममा छिन् ।
रुस्का आँफू त स्वावलम्वी, आत्मनिर्भर, पौरखी र उद्यमशील हुन् नै उनले हाल सम्म आँफू संगै दश हजार हाराहारीका नारीहरुलाई आँफू जस्तै स्वावलम्वी, आत्मनिर्भर र उद्यमशिल बनाइसकेकी छिन् । एक जना सहयोगीबाट सुरु गरेकी उनले हाल आफ्नो इष्टिच्युटमा पन्ध्र जनालाई रोजगार दिइरहेकी छिन् । आफ्नो व्यवासाय र आफूले संचालन गरेको पार्लरको आफ्नो सन्तान जस्तै माया लाग्ने, एउटा कलिलो विरुवा हुर्काएर ठुलो रुख बनाए जस्तो महशुष हुने बताउने उनलाई विगतलाई फर्केर हेर्दा गहिरो आत्मसन्तुष्टि मिल्ने गर्दछ । श्रीमान्, घरपरिवार, सासु, ससुरा सबैको निरन्तरको साथले आफूले यो अवस्था सम्म ल्याएको संस्थालाई भोलीको दिनमा छोरीले निरन्तरता दिने उनको विश्वास रहेको छ ।
आफ्नी आमाले दिएकी संस्कार, देशप्रेमको भावले गहिरो प्रभाव पारेको छ रुविष्कालाई । यहि उमेरमा ‘जे गर्छु यहि माटोमा गर्छु’ भन्ने सोच बोकेकी उनले देशको झण्डा बोकेर देशको प्रतिनिधित्व गरिसकेकी छिन्, भोलीको दिनमा मिस नेपालमा भाग लिने उनको योजना रहेको छ । यो उपाधि पछि मिल्ने प्लेटफर्म मार्फत सामाजिक अभियन्ता बन्ने उनको लक्ष रहेको छ । मिस नेपालको उपाधि पछि उनको पहिलो अभियान हरियो राहदानीलाई विश्व जनमानसमा सम्मानित बनाउने र नेपाली भने पछि विश्वमा गर्व गर्ने वातावरण बनाउने उनको सोच रहेको उनी बताउँछिन् । विद्यालयस्तर देखि विभिन्न कार्यक्रममा उद्घोषण गर्दै आइरहेकी रुविष्का चाडै नै न्युज २४ टेलिभिजनमा रियल स्टेट सम्वन्धी फरक प्रस्तुति लिएर देखा पर्दैछिन् ।
प्रस्तुति :हरिराम पौडेल