इटालीमा कोरोनाबाट मृत्यु भएका ९९ प्रतिशतलाई पहिला नै अरू रोग लागेको तथ्य

Thursday, March 19th, 2020

इटाली अहिले कोरोना भाइरसको चपेटमा छ। त्यहाँ ३५ हजार ७ सय १३ मानिसमा कोरोनाको संक्रमण देखिएको छ। त्यसमध्ये २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरसको संक्रमण भएकामध्ये झन्डै ८ प्रतिशत बिरामीको मृत्यु भएको छ। यो दर विश्वभरका औसत मृत्युदरको झन्डै दोब्बर हो।

नयाँ अध्ययनले भने मृत्यु हुनेहरू अधिकांशलाई पहिला पनि कुनै न कुनै रोग भएको देखाएको छ। इटालीको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले गरेको अध्ययनअनुसार मृत्यु हुने ९९ प्रतिशत मानिस बुढ्यौलीले छोपेका र अन्य रोगबाट ग्रसित रहेको देखिएको छ।

अध्ययनमा इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाएका १८ प्रतिशत मानिसको स्वास्थ्य अवस्था विश्लेषण गरिएको थियो।

ती मानिसहरूमा मुख्य रूपमा तीन किसिमका रोग देखिएका छन्। उनीहरूमध्ये ७५ प्रतिशतलाई उच्च रक्तचाप थियो, ३५ प्रतिशतलाई डायबिटिज र अरूलाई मुटुसम्बन्धी बिमार थियो।

 

इटालीमा अहिलेसम्म मृत्यु हुनेको औसत उमेर ७९।५ वर्ष छ। मार्च १७ सम्म इटालीमा ५० वर्षभन्दा कम उमेर १७ जना मानिसको मात्र ज्यान गएको छ।

अहिलेसम्म संक्रमित भएका ४० वर्षमूनिका सबै बिरामी पहिला नै कुनै न कुनै स्वास्थ्य समस्या भएका पुरूषहरू छन्।

न जिउँदो हुँदा भेट्न पाउँछन् आफन्त, न मरेपछि मलामी

कोरोना भाइरसबाट युरोपकै सबैभन्दा धेरै प्रभावित मुलुक हो(इटाली।

त्यहाँ सोमबारसम्म २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ। त्यसमध्ये २ हजार १ सय ५८ जनाले ज्यान गुमाएका छन्। अर्थात् त्यहाँ पत्ता लागेका संक्रमितमध्ये ७।७ प्रतिशतको मृत्यु भएको छ।

जबकी कोरोना भाइरसको उद्गम थलो चीनको वुहानमा मृत्युदर ३।९ प्रतिशत छ भने अर्को धेरै संक्रमण फैलिएको दक्षिण कोरियामा संक्रमण भएका ०।९ प्रतिशतले मात्र ज्यान गुमाएका छन्। संसारभरको मृत्युदर ३।९७ प्रतिशत छ।

कोरोना भाइरसका कारण इटालीका ६ करोड मानिसलाई आवातजावतमा रोक लगाइएको छ। सडक खाली छन्। पसलहरू बन्द छन्। मानिसहरू घरमै नजरबन्दमा जसरी बसिरहेका छन्।

बिरामीलाई बचाउन रातदिन खटेका थकित डाक्टर र नर्सहरू छन्। घरको झ्यालबाट बाहिरको इन्द्रणी हेरिरहेका बच्चाहरू छन् र बाल्कोनीबाट गीत गाउने परिवार छन्।

इटाली संसारमै जापानपछि बूढाबूढीको अनुपात धेरै भएको मुलुक हो।

कोरोनाको चपेटामा परेका बूढाबूढीहरूले अस्पतालको शैयामा आफ्ना छोराछोरी देख्दैनन् न त मरिसकेपछि उनीहरुका छोराछोरीले सतगद् गर्न पाउँछन्।

बुधबार मध्यरातमा इटालीको उत्तरी क्षेत्र बेर्गामोमा ८५ वर्षीय रेन्जो कार्लो टेस्टाले अन्तिम सास फेरे। कोरोना भाइरसले सास फेर्न गाह्रो भएपछि उनी अस्पताल भर्ना भएका थिए। तर उनको बूढो शरिरले उक्त भाइरसलाई पराजित गर्न सकेन।

अस्पतालको शैयामा दुनियाँबाट विदा हुँदा उनी एक्ला थिए। एक त कोरोना भाइरसका बिरामीलाई आफन्तसँग भेट्न दिइँदैन। टेस्टाका श्रीमती र छोरा त झन् क्वारेन्टिनमा बसेका छन्।

टेस्टाले अन्तिम पलमा आफन्त देख्न पाएनन् मरिसकेपछि पनि उनका आफन्तले उनको शव देख्न पाएका छैनन्। पाँच दिनदेखि उनको शव कफिनभित्र हालेर अन्तिम संस्कार गरिने चर्चको लाइनमा राखिएको छ। जुन चर्च आफैं भने बन्द छ।

५० वर्ष सँगै बिताएकी टेस्टाकी पत्नी फ्रान्सा स्टेफानेली उनको अन्तिम संस्कार गर्न चाहन्छिन्। तर परम्परागत अन्तिम संस्कार गर्ने सेवाहरूमा अहिले बन्देज गरिएको छ।

‘अचम्म लागिरहेको छ,’ ७० वर्षीया स्टेफानेलीले भनिन्,‘यो रिस होइन। यो भाइरसलाई सामना गर्न सक्ने क्षमता नभएको हो।

उत्तरी इटालीको लोम्बार्डीमा टेस्टाका जस्तै शवहरू दिनदिनै थुप्रिरहेका छन्।
इटालीमा कोरोना भाइरसको उदगम रहेको लोमबार्डीमा अहिलेसम्म ३ हजार ७ सय ६० मानिस संक्रमित भएका छन्।

बेरगामोका मेयर जर्जियो जोरीले स्थानीय चिहान घर बन्द गर्न भनेका छन्। दोस्रो विश्वयुद्धपछि पहिलो पटक चिहान घर बन्द गर्न लगाइएको हो। तर उनीहरूले कफिन भने ल्याउन दिइरहेका छन्। त्यहाँ आएकामध्ये धेरैजसो कफिन चर्च अफ अल सेन्टमा पठाइएको छ। त्यहाँ कफिनको चाङ छ।

‘यिनीहरूलाई कहाँ राख्ने भन्ने नै हामीले मेसो पाउन सकेका छैनौं,’ चर्चका एक जना पादरी मार्को बर्गामेलीले भने।

दैनिक सैयौं जना मरिरहेको र एक जनालाई गाड्न कम्तिमा पनि एक घन्टा लाग्ने भएकाले जाम भएको उनले बताए।

गत साता लागू गरिएको आपतकालिन कानुनले नागरिक र धार्मिक सभा समारोहमा प्रतिबन्ध लगाएको छ। त्यसमा अन्तिम संस्कार पनि पर्छ।

अधिकारीहरूले पादरीले अन्तिम प्रार्थना गर्ने बेला थोरै मानिसहरूलाई मात्र सहभागी हुन दिइरहेका छन्।

कोही आफन्तहरू मास्क लगाएरै अन्तिम संस्कारमा पुग्छन्। पादरीले मृतकको आत्माशान्तिका लागि केही भन्छन् र आफन्तलाई ढाडस दिन्छन्।

‘यो दुस्खदायी घटनाले हामीलाई जीवनलाई माया गर्नुपर्छ भन्ने सम्झाउँछ,’ मार्कोले भने।

बिरामी आफन्तहरूसँग भेट्न नपाउने भएपछि केही संस्थाहरूले अहिले सहयोग उठाएर अस्पताललाई ट्याब किनेर दिएका छन्। ती ट्याबका माध्यमबाट बिरामीहरू भिडिओमा आफन्तहरूसँग जोडिन्छन्। कतिले त्यही भिडिओबाट आफन्तलाई अन्तिम पटक बिदाइका हात हल्लाउँछन्।

स्थानीय समाचार पत्रमा मृतकहरूको नामावली प्रकाशन हुन्छ। पहिला(पहिला पत्रिकाको एक पेजमा मात्र मृतकको नाम छापिन्थ्यो। शुक्रबार पत्रिकाका १० पेजभरि मृतकको नाम छापिएको थियो।

‘यो हाम्रा लागि चोट हो, एक भावनात्मक चोट,’ पत्रिकाका सम्पादक अल्बेर्टो सिरिसेलोले भने,‘मानिसहरू एक्लै मरिरहेका छन्, एक्लै पुरिएका छन्। अन्तिम सास फेर्ने बेला उनीहरूको हात समाउने कोही हुँदैन। अन्तिम संस्कारमा पनि एकदमै कम मानिस हुन्छन्। किनकी उनीहरूका आफन्त सबै क्वारेन्टिनमा छन्।’

गत शुक्रबार सिन नगरका मेयर ७० वर्षीय जर्जिओ भालोटीको कोरोना भाइरसका कारण ज्यान गयो। त्यही दिन उक्त नगरमा ९० जनाको मृत्यु भएको थियो।

‘यो भाइरसले हाम्रो सहरमा नरसंहार गरिरहेको छ,’ मेयरका छोरा एलेसान्ड्रोले भने,‘बेरगामोमा हरेक परिवारले परिवारका सदस्य गुमाएका छन्। दर्जनौं शव थुप्रिएका छन्। अब तिनीहरूलाई के गर्ने मानिसहरूलाई थाहा छैन।’

बेरगामोको एउटा सानो गाउँ फिओविओमा अघिल्लो शनिबार एउटा एम्बुलेन्स आयो। ५२ वर्षीय लुसा कारेराका ८६ वर्षीय बुवालाई लिएर गयो। अर्को दिन बिहान अर्को एम्बुलेन्स आयो र उनकी ८२ वर्षीय आमालाई लिएर गयो।

उनी आफ्ना बुवाआमालाई भेट्न अस्पताल जान सकेनन् किनकी घरमै क्वारेन्टिनमा बसेका उनलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छ।

मंगलबार उनका आमाबुवा दुबैको मृत्यु भयो। अहिले उनीहरूका शव अस्पतालको शवगृहमा थन्किएका छन्। तर लुसा आफ्ना बुवाआमाको शव ल्याउन सक्दैन।

‘मलाई दु :ख छ उनीहरू अझै त्यहीँ छन्,’ लुसाले भने,‘अझै एक्लै।’

लुसा डी पाल्माका ७९ वर्षीय बुवाको गत बुधबार मृत्यु भयो। अन्तिम संस्कार गृहले आफ्नोमा ठाउँ छैन भनेर उनको बुवाको शव भएको कफिन लुसाको घरमा पठाइदियो। कफिनसँगै केही मैनबत्ती र शव राख्ने फ्रिज पनि पठाइएदिएको छ ताकि लुसाले आफ्ना बुवाको शव लिभिङ रूममै राख्न सकून्।

लुसाले आफ्ना बुवा बित्दा श्रद्धाञ्जली दिन एक जना पनि आफन्त नआएको बताए। सबैलाई रोग सर्ला कि भन्ने डर थियो। तर उनका बुवा कोरोनाको पुष्टि नहुँदै बितेका हुन्। र डाक्टरले उनको पोस्टमर्टम नि गर्न मानेनन्।

राष्ट्रिय शव गृह संघका सचिव एलेसान्ड्रो बोसीले आफूहरूकोमा काम गर्नेहरू नै कोरोना भाइरसबाट प्रभावित भएको बताए। शवको अन्तिम संस्कार गर्नेहरूसँग पर्याप्त मात्रामा पञ्जा र मास्क नपाएको उनको गुनासो छ।

स्वास्थ्य अधिकारीहरूले मान्छे मरिसकेपछि कोरोना भाइरस सर्छ कि सर्दैन भन्ने प्रष्ट भन्न सकेका छैनन्।

केही समयअघि भारतको नयाँ दिल्लीमा पनि यस्तै विवाद देखिएको थियो। कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको दाहसंस्कार कसरी गर्ने भन्नेबारे अन्यौल भएपछि निगरानी गर्न डाक्टरहरू नै शव जलाउने ठाउँसम्म पुगेका थिए।

बोसीले भने यताउता चलाउँदा मृतकको फोक्सोबाट केही हावा बाहिर आउने दाबी गरे।‘हामी शवलाई पनि संक्रमित व्यक्ति नै ठान्छौं र सबैखालका सावधानी अपनाउँछौं,’ उनले भने।

दक्षिण इटालीका रोमन क्याथोलिकहरूमा अन्तिम संस्कारको ठूलो महत्व छ। त्यसैले उनीहरू सरकारले बन्देज लगाए पनि आफन्तको अन्तिम विदाइमा पुग्ने गरेका छन्।

गत साता सिसिली स्थानीय अधिकारीहरूले अन्तिम संस्कारमा उपस्थित ४८ जनालाई देखेका थिए। अन्तिम संस्कारमा त्यसरी जानेहरूलाई तीन महिनासम्म जेल सजाय हुन सक्छ।

इटालीमा ज्यान गुमाउनेहरूको औसत उमेर ८० वर्ष छ। बिरामीले अस्पताल भरिन थालेपछि सुरूमा डाक्टरहरू नै पनि कसलाई उपचार गर्ने कसलाई नगर्ने भन्ने द्विविधामा परेका थिए।

पछि उनीहरूले आफैंले प्रोटोकल बनाए। जसको बाँच्न सक्ने सम्भावना ज्यादा छ र उपचारपछि पनि जो बढी समय बाँच्छ उसैलाई प्राथमिकता दिने चिकित्सकहरूको संगठनले सुझाव दियो।

(न्युयोर्क टाइम्सलगायत सञ्चारमाध्यमका विवरणहरूमा आधारित)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest