उद्यमशिलतामा महिला जुनसुकै क्षेत्रमा पनि सक्षम छन्

Wednesday, November 6th, 2019

सीता कार्की
अध्यक्ष, घरेलु तथा साना उद्योग संघ

हालका व्यस्तता ?
घरेलु लघुवित्त ले संचालन गरिरहेको लघुवित्त कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले घ वर्गको बैंकमा जान दिएको निर्देशानुसार सोही अभियानमा व्यस्त छु, हाल हामी घरेलु लघुवित्तलाई बैंकको रुपमा रुपान्तरण गर्न सफल भयौं, राष्ट्रिय स्तरको बैंक बनाउने योजना अनुरुप हाल नौ वटा शाखा समेत संचालन गर्न सफल भएका छौं । साथै अर्को व्यस्तता महिलाले मात्र संचालन गरेको निल सरस्वती बचत तथा ऋण सहकारी संस्थामा पनि आवद्ध छु, त्यहाको कार्यमा पनि व्यस्त छु ।
यस लघु वित्त वित्तीय संस्थाबाट उद्यम गर्न चाहनेले कसरी लाभ लिन सक्छन् ?
हामीले फरक तरिकाले उद्यमशील हुन चाहनेलाई सहयोग गर्छौै । विभिन्न समुह बनाएर विना धितो ऋण दिन्छौं । साथै कर्जाको वीमाको समेत व्यवस्था रहेको छ । अरु बैंकको व्याजदर भन्दा सस्तो व्याजदरमा ऋण दिन्छौ ।
घरेलु तथा साना उद्योग संघले उद्यमशील हुने महिलालाई अन्य के कसरी सहयोग गर्दछ ?
पहिलो कुरा त हामी उद्यमशील हुन चाहने महिला संग भेटेर वहालाई परामर्श दिन्छौ, साथै दर्ता प्रकृयामा पनि हामीले सहयोग गर्ने गर्दछौं । व्यवासाय संचालन गर्न आवश्यक मेशिन खरिदको लागि पनि ऋण सुविधा प्रदान गर्दछौं ।
नेपालमा महिला उद्यमशिलताको अवस्था कस्तो पाउनु भएको छ ?
विगतमा राजनैतिक अस्थिरताको कारणले केहि अहसज परिस्थिति थियो, हाल केहि सहज छ, तर महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीको बजार व्यवस्थापनको चुनौती रहेको छ भने मार्केटिङको समस्या पनि रहेको छ, तथापी महिलाहरु उद्यमशिलताको क्षेत्रमा जागरुक देखिएका छन्, यो सकारात्मक कुरा हो ।
उद्यमशिल हुन चाहने महिलाहरुलाई आत्मविश्वास जगाउन र सहि मार्गदर्शनको लागि के गर्न सकिएला ?
उद्यमशिल हुन चाहने महिलाहरुलाई विभिन्न तरिकाले उनीहरुलाई प्रोत्साहित गर्ने गर्दछौं, उनको क्षमता र रुचि अनुसारको व्यवसाय संचालन गर्न परामर्श दिने गरेका छौं, साथै उनीहरुलाई सहज ऋणको व्यवस्था रहेको छ, यी बाहेक उद्यमशिल हुन चाहने महिलाहरुलाई के गर्न सकिएला भनेर हामीले पनि नयाँ सोचको खोजि गरिरहेका छौं ।
सरकारले महिला उद्यमशिलता बढाउन के गर्नु पर्ला ?
सरकारले उद्यमशिलताको नीति ल्याएको छ, नीतिलाई कार्यान्वयन गर्नु पर्छ, बजेट तर्जुमा देखि सहकार्य लगायतका कार्य सरकारी स्तरबाट गरिनु पर्छ । उद्यमशिल हुन चाहने नारीलाई लगानीको वातावरण सुनिश्चित गरिदिनु पर्छ, करको दायरालाई सरल र सहज बनाउनु पर्छ ।
उद्यमशिल हुन चाहने महिलालाई के कस्ता चुनौती रहेका छन् ?
नारीलाई घरबाट नै चुनौती छ, व्यवसाय गर्न पहिलो कुरा आर्थिक पाटो महत्वपूर्ण हुने गर्दछ, तर महिलाको नाममा कुनै सम्पत्ति नहुने, भइहाले पनि महिलाको एकलौटी निर्णयले बेचविखन गर्न तथा धितो राखेर ऋण लिन सक्ने अवस्था छैन, उत्पादित बस्तुको बजारको ग्यारेन्टी छैन, व्यवसायमा जोखिम वहनको आधार छैन, यी र यस्ता विविध चुनौतीहरु रहेका छन् ।
महिलाहरुले के कस्ता उद्यम गर्न सक्छन् ?
महिलाहरुले सिलाई कटाइ, ब्युटी पार्लर मात्र होइन, पुरुषले गर्ने अधिकांश कार्य महिलाले पनि गर्न सक्छन्, महिलामा क्षमता छ, त्यो क्षमताको सदुपयोग हुन सकेको छैन, हाउस वायरिङ, सिकर्मी, डकर्मी लगायतका जुनसुकै उद्यम गर्न महिला सक्षम छन् । टिभी, मोवाइल मर्मत, सुनका गहना बनाउने कालिगढ आदिमा पनि उनीहरु सक्षम छन् । नयाँ प्रविधिका जुनसुकै उद्यम महिलाले गर्न सक्छन् ।
अन्त्यमा केहि ?
महिलाहरु घरमा मात्र सिमित हुनु हुदैन, केहि न केहि उद्यम गरेर आँफूलाई उद्यमशिल बनाउनु हुन मेरो अनुरोध छ, साथै उद्यमी बन्छु भनेर मात्र हुदैन, कस्तो उद्यम गर्ने ? कार्ययोजना बनाएर अगाडी बढ्नु हुन महिला दिदी बहिनीहरुलाई मेरो आग्रह छ, उद्यमशिलताको क्षेत्रमा कुनै पनि सहयोगको लागि घरेलु तथा साना उद्योग संघलाई सम्झनु होला ।
प्रस्तुति : हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest