एक तारेदेखि पाँचतारे डिलक्स सम्मका होटेलको मापदण्ड परिमार्जन गर्दै नँया व्यवस्था

Wednesday, January 20th, 2021

काठमाडौं : हिमाली जिल्ला र काठमाडौं उपत्यका बाहिरका निकुन्ज तथा संरक्षित क्षेत्रभित्र खुल्ने होटेलले तोकिएको मापदण्ड पुरा गरेमा अब कम कोठा भएपनि पाँचतारे स्तरमा वर्गिकरण हुन सक्ने भएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक तारेदेखि पाँचतारे डिलक्स सम्मका होटेलको मापदण्ड परिमार्जन गर्दै यस्तो व्यवस्था ल्याएको हो ।
मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाका अनुसार होटेल, रिर्सोट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एण्ड ब्रेक फाष्टहरुको वर्गीकरण र मापदण्डमा हेरफेर गर्दै यस्तो मापदण्ड ल्याइएको हो । यो मापदण्ड नयाँ बन्ने होटेलको हकमा लागू हुनेछ । साविकमा स्तर लिइसकेकाको हकमा भने साविककै स्तर निरन्तर हुने मन्त्रालयले जनाएको छ ।
नयाँ मापदण्ड अनुसार काठमाडौं उपत्यकाबाहिर संरक्षित क्षेत्र, राष्ट्रिय निकाुन्ज, वन्यजन्तु आरक्ष र हिमाली जिल्लामा तारे होटेल खोल्ने हो भने साविकमा ‘उपत्यका बाहिरका लागि निर्धारण भएको मापदण्ड’को आधा मात्र कोठा भए पुग्ने भएको छ ।

अर्थात् अब यी क्षेत्रमा होटेल खोल्दा ७ कोठा मात्र भएपनि अन्य मापदण्ड पुरा गरेको होटेलले तारे मान्यता पाउनेछ । अहिले उपत्यका बाहिर एक तारे स्तरको होटेल हुन कम्तिमा १५ कोठा हुनुपर्छ ।

नयाँ मापदण्ड अनुसार ७ कोठा मात्र भएपनि हिमाली जिल्ला र संरक्षित क्षेत्रमा खुलेको भए अब एक तारे मान्यता प्राप्त हुनेछ । दुई तारेका लागि १५, तीन तारेका लागि २२, चार तारे मान्यता पाउन ३०, पाँचतारे मान्यता पाउन ४० र पाँचतारे डिलक्स होटेलका लागि ५० कोठा भएमा पुग्ने गरी मापदण्डमा परिमार्जन भएको छ ।

व्यवसायीले भौगोलिक रुपमा कठीन स्थानमा थोरै कोठाका होटेल खुल्दा सरकारी मापदण्ड अनुसार स्तर नपाउँदा समस्या परेको बताउँदै आएका थिए । यसलाई सम्बोधन गर्दै मापदण्ड परिमार्जन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोठा संख्या कम भएपनि पाहुनाको सेवा सुविधाका लागि तोकिएका अन्य मापदण्ड भने अनिवार्य पालना गरिएको हुनुपर्छ । होटेलको मापदण्डमा पाहुनाले होटेलमा प्रवेश गरेदेखि चेकआउट नगरेसम्मका सबै प्रक्रिया, होटेलको भौतिक संरचनाका हरेक सुक्ष्म विषय समेटिएका छन् ।

 

नयाँ मापदण्ड अनुसार अब चार तारेभन्दा माथिको होटेलहरुमा हलाल फुडको व्यवस्था हुनुपर्ने भएको छ । चार तारे र सो भन्दा माथिको होटेलमा रहने रेष्टुरेन्टको मेनुमा ‘वि सर्भ हलाल फुड अन डिमाण्ड’ लेखेको हुनुपर्छ ।

सोअनुसार पाहुनाले अनुरोधमा गरेमा होटेलले हलाल फुड उपलब्ध गराउनु पर्ने प्रावधान यसमा समेटिएको छ । अहिले सिमित होटेलले मात्र यस्तो सुविधा दिने गरेका थिए । सरकारले अन्य होटेलमा समेत यो अनिवार्य गरेको छ ।

रैथाने खाना कम्प्लिमेन्ट्रि दिनुपर्ने

होटेलमा नेपाली मेनु गत वर्षकै मापदण्डले अनिवार्य गरेको हो । अर्थात् होटेलहरुमा पाहुनाले रैथाने नेपाली खाना माग गरेमा अनिवार्य उपलब्ध गराउनु पर्छ । यस मापदण्डमा थप गर्दै सरकारले भनेको छ, अब ‘चार तारे वा सोभन्दा माथिल्लो स्तरको होटेलको हकमा दिउासोको र बेलुकाको खानासागै कुनै एक रैथाने परिकार कम्प्लिमेन्ट्रि उपलब्ध गराउनु पर्नेछ ।’

यसले नेपाली खाना चखाउन र यसको विश्वव्यापी प्रवर्द्धनमा सहयोग पुग्नेछ । त्यसो त नेपाली रैथाने खाना प्रवर्द्धनमा होटेल व्यवसायीले नै पहल लिएका छन् । गत वर्ष होटेल संघ नेपाल ९हान०कै सक्रियतामा सरकारले मापदण्डमा रैथाने खाना अनिवार्य गरेको हो । यसबाहेक मापदण्डका अन्य प्रावधान भने यथावत नै रहेका छन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest