एक दिनमा ६ वटा सम्म बलात्कारका घटना

Sunday, December 2nd, 2018

 


चक्र प्रसाद पोख्रेल,

काठमाण्डौ ः पछील्लो समय बलात्कार,महिला हिंसा लगायतका घटनामा दोषीमाथि कारबाही हुन नसकेको आवाज उठीरहदा बलात्कारका घटनामा थप वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षसम्म औसत दैनिक चारवटा बलात्कारका घटना हुने गरेकोमा चालु वर्षको पहिलो तीन महिनामा औसत ६ वटा घटना भएको प्रहरीले जनाएको छ। बलात्कारसँगै जबर्जस्ती करणी उद्योग, अप्राकृतिक मैथुन लगायतका घटना पनि अगाडि बढेका छन् ।

संघीय संसद्को महिला तथा सामाजिक समितिमा गृह मन्त्रालयले पेस गरेको लिखित प्रतिउत्तर अनुसार चालु वर्षको पहिलो तीन महिनामा ५९० वटा बलात्कारका घटना दर्ता भएका छन् । साउन, भदौ र असोज महिनामा दर्ता भएका यी घटनामा संलग्न ६९७ जना रहेका छन् । जसमा ५६१ जना पक्राउ परेका छन् । घटनामा संलग्नमध्ये १३६ जना फरार छन् । प्राप्त उजुरीमा फछ्र्यौट २३२ छन् । ३५८ उजुरी बाँकी छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन र महिलामाथि भइरहेका अन्य घटनाबारे समितिले गृह मन्त्रालयसँग जवाफ माग गरेको थियो । समितिको निर्देशन अनुसार गृहले निर्मला हत्याको अनुसन्धान र अन्य घटनाबारे समितिलाई लिखित जानकारी दिएको हो ।
आर्थिक वर्ष २०७४⁄०७५ मा कूल एक हजार ४८० जबर्जस्ती करणीका उजुरी दर्ता भएका थिए । यस अनुसार औसत चार वटा बलात्कारका घटना भएको देखिन्छ । यी घटनामा एक हजार ३३६ जना पक्राउ गरिएको प्रहरी रेकर्ड छ । सोही घटनामा संलग्न भएका ३३४ अझै फरार छन् । प्राप्त उजुरीमध्ये एक हजार ४१६ फछ्र्यौट भएका र ६४ उजुरी फछ्र्यौट हुन बाँकी छन् ।
यस्तै चालु वर्षको पहिलो तीन महिनामा जबर्जस्ती करणी उद्योगका २५७, अप्राकृतिक मैथुनका १०, मानव बेचबिखन तथा जबर्जस्ती करणी र अपहरण तथा जबर्जस्ती करणीका एकरएक घटना भएका छन् । पहिलो तीन महिनामा महिलामाथि हुने विभिन्न प्रकृतिका घटनाको सङ्ख्या ८५९ रहेको जवाफ मन्त्रालयले समितिलाई दिएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest