एक शसक्त अभियन्ता

Thursday, September 19th, 2019


उर्मिला थपलिया,
निवर्तमान केन्द्रीय उपाध्यक्ष
ने.वि. संघएक शसक्त अभियन्ता

अचेल के मा व्यस्त हुनुहुन्छ ?
आमाको कर्तव्य पालना गरिरहेकी छु, मेरो ५ वर्ष र ३ महिनाका दुई छोराहरु छन्, अहिले उनीहरुको रेखदेख र अध्ययनमा नै व्यस्त छु, पत्रपत्रिका र सामाजिक संजाल मार्फत देशको अवस्था पनि नियालिरहेकी छु ।
राजनीतिमा किन लाग्नु भयो ?
नारी भएकै कारणले बाल्यकाल देखि विद्यालय स्तर हुदै कलेज स्तरमा विभिन्न सामाजिक विभेदहरु भोग्नु पर्दछ । नेपाल अहिले पनि पितृसत्तात्मक सोचबाट नै चलिरहेको छ, छोरी भएकै कारण भोग्नु पर्ने विभिन्न भोगाईका अनुभव म आँफै संग पनि छ, ती विभेदहरुको अन्त्य, समान व्यवहार, न्यायपूर्ण समाज निर्माणका लागी राजनीति गर्ने निर्णय गरे ।
राजनीतिमा लाग्ने प्रेरणा को बाट पाउनु भयो ?
राजनीतिमा लाग्ने सबैभन्दा पहिलो प्रेरणाको श्रोत मेरो परिवार नै हो, वरिपरिको समाज, समुदाय, विद्यालय, कलेज जस्ले मलाई धेरै कुरा सिक्ने, बुझ्ने र केहि गर्छु भन्ने आत्मवल बढायो,यी पनि मेरा प्रेरणाको श्रोत हुन् भने पार्टीगत रुपमा गिरिजाप्रसाद कोइराला मेरो प्रेरणाको श्रोत हुनुहुन्छ ।
राजनीतिक यात्राकै क्रममा धेरै शारीरिक र मानसिक यातना समेत भोग्नु भयो, उपलब्धि के भयो ?
राजनीतिमा लाग्दै गर्दा मैले पाएका शारीरिक र मानसिक यातना गौण कुरा हुन् तर मेरो त्यो त्याग र बलिदानले समाज र मुलुकले के पायो भन्ने मुख्य कुरा हो, २०६२÷६३ को आन्दोलनले मुलुकमा गणतन्त्र आयो, महिला, दलित, जनजाति, पिछडिएका वर्गहरुको आवाजलाई समेट्न सकियो । देशले संविधान पायो, उपलब्धि यिनै हुन् ।
विद्यार्थी राजनीतिको उद्देश्य के हो ? समाज परिवर्तनमा तपाइहरुको भूमिका कसरी निभाउनु भएको छ ?
समान शिक्षा, सबैका लागि शिक्षा नै विद्यार्थी राजनीतिको मूल उद्देश्य हो, भूगोल सुहाउँदो रोजगारीमूलक प्राविधिक शिक्षा, आजको आवश्यकता हो, प्रमाणपत्रधारी वेरोजगारी शिक्षा उन्मुलन नै विद्यार्थी राजनीतिको उद्देश्य हो, पाठ्यक्रम समयसापेक्ष सुधारमा हाम्रो क्रियाशिलता छ, शैक्षिक क्षेत्रलाई व्यवसायीकरणबाट सेवामूलक बनाउन हाम्रो निरन्तर दवाव छ ।
विद्यार्थी संगठनको कामलाई कसरी परिभाषित गर्नु हुन्छ ?
विद्यार्थी संग जोडिएका नीति, कार्यक्रम र निर्णयहरुमा प्रत्यक्ष सहभागिता सहित भूगोल सुहाउँदो शिक्षा प्रणाली र अवसर सृजना गर्नु नै विद्यार्थी संगठनको भूमिका रहन्छ, विद्यार्थी संगठन माउ पार्टीको सहयोगी भूमिकामा मात्र देखिनु र प्रत्यक्ष विद्यार्थीको मुद्धामा नरहि अल्मलिएको देखिएको पाइन्छ ।
नेपालमा विद्यार्थी संगठन एकले अर्कोलाई दोषारोपण गर्ने, आँफू पनि काम नगर्ने र गर्न खोज्नेलाई पनि अड्को थाप्ने संगठनको रुपमा बुझिन्छ नि, के भन्नु हुन्छ ?
पछिल्लो समयमा यी कुराहरुमा केहि सत्यता पनि देखिन्छ, शैक्षिक मुद्धा भन्दा राजनैतिक मुद्धामा मात्र विद्यार्थीहरु केन्द्रित हुनु, विद्यार्थी र शैक्षिक क्षेत्रका समस्या उठान र समस्या समाधानको बाटोमा केन्द्रित हुनु पर्नेमा कामको जस कस्ले लिने भन्ने प्रतिस्पर्धा हुनु पनि गलत हुदै आएको छ । राष्ट्रिय स्तरका शैक्षिक मुद्धा र समस्या भन्दा स–साना मुद्धा र कार्यकर्ता संरक्षणको नाममा झगडिनुले विद्यार्थी संगठनहरुको केहि मात्रामा छवि धमिल्लिएको पाइन्छ ।
अरु विद्यार्थी संगठन भन्दा ने.वि. संघ कसरी फरक छ ?
नेपाल विद्यार्थी संघ विद्यार्थीको आवश्यकता र राजनैतिक आवश्यकताले स्थापना भएको संगठन हो, जुन नामबाट नै प्रष्ट छ । अरु संगठन भनेको सांगठनिक संरचना र नेपाल विद्यार्थी संघ संग प्रतिष्पर्धा गराउनका लागी खोलिएका संगठन हुन् ।
तपाईले राजनीति गर्ने शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना हुन् भन्नुहुन्छ शिक्षाविद्हरु, तपाई के भन्नु हुन्छ ?
केहि हद सम्म सत्य हो, रोजगारमूलक शिक्षा प्रदान गर्न नसक्नु, प्राविधिक शिक्षामा जोड नदिनुमा हामी सबै उत्तिकै जिम्मेवार छौं । तर अशिक्षित व्यक्तिले रोजगारमूलक, बेरोजगारमूलक शिक्षा परिभाषित गर्न सक्दैन, त्यहि शिक्षा हाँसिल नगरेको भए आज म रोजगारमूलक शिक्षा चाहिन्छ भनेर बहस गर्न सक्ने थिइन पनि होला, बेरोजगारी उत्पादन बढि मात्रामा भए पनि ज्ञान प्रदान गर्ने कुरामा चुकेका छैनौ । समयसापेक्ष, शिपमूलक, प्राविधिक, रोगारीमूलक बनाउने प्रयासमा निरन्तर रुपमा लागिरहेका छौं ।
देशमा भ्रष्टाचार बढ्दो क्रममा छ, राजनीतिक तहबाटै वा राजनैतिक नेतृत्वको संरक्षणमा नै बढि भ्रष्टाचार हुने गरेका छन् । तपाइहरु किन मौन हुनुहुन्छ ?
हो, देशमा भ्रष्टाचार बढ्दोक्रममा छ तर हामी मौन छौं भन्ने कुरा सरासर झुठो हो । हामी मौन छैनौ, फेरी हामी न्यायपालिका पनि होइनौ, अख्तियार दुरुपयोग अनुषन्धान आयोग पनि होइनौ, जति हामीले भ्रष्टाचार भएको देख्छौं, बुझ्छौं त्यस कुरालाई हामी सडक होस् या सदन सबै ठाउँबाट आवाज उठाएका छौं, दवाव दिएका छौं, सकेसम्म निर्णयमा पुग्ने गरी प्रयास गरेका छौं ।
नेपालका नारीहरुको अवस्था कस्तो पाउनु भएको छ ?
अघिल्लो समयको तुलनामा पछिल्लो समयमा नारीहरुको अवस्था शैक्षिक क्षेत्रमा, राजनैतिक क्षेत्रमा, आर्थिक तथा सामाजिक क्षेत्रमा, सुधारउन्मुख र केहि हद सम्म उपलब्धिपूर्ण देखिन्छ । कुल जनसंख्याको पचास प्रतिशत भन्दा माथी जनसंख्या रहेको महिलाको अवस्था अझै पनि सन्तोषजनक छैन, त्यसको लागि हामी निरन्तर लडिरहेका छौं ।
नेपालको राजनीतिमा महिला सहभागिता कस्तो पाउनु भएको छ ?
नेपालको राजनीतिमा महिला सहभागिता जनसंख्याको प्रतिनिधित्वको हिसावले एकदमै न्युन छ, संविधानले नै सुनिश्चित गरेको महिलाको हक सबै ठाउँमा समान प्रतिनिधित्वलाई राजनैतिक दलका मुख्य पार्टीहरुले उपेक्षा गरेको पाइन्छ, कुनै पनि राजनैतिक दलको प्रथम व्यक्ति महिला छैनन्, त्यति मात्र होइन दोश्रो व्यक्ति समेतमा महिला छैनन्, प्रमुख राजनैतिक दलले आफ्नो पार्टीको विधानमा नै पचास प्रतिशत महिला अनिवार्य सहित प्रथम या द्धितिय स्थानमा महिला अनिवार्य हुनैपर्ने व्यवस्था गर्नु पर्छ ।
महिला आरक्षणको व्यवस्थाको बारेमा के भन्नु हुन्छ ?
सदियौं देखि पछाडी पारिएका महिलाहरुलाई महिला र पुरुषको समान हैसियत कायम गर्नका लागी आरक्षण सकारात्मक व्यवस्था हो । आरक्षण शशक्तिकरण र सक्षम बनाउने माध्यम पनि हो । जव सम्म विभिन्न क्षेत्रहरुमा महिलाको अवस्था पुरुष समान हुदैन तव सम्म आरक्षण आवश्यक रहन्छ ।
नेपालको राजनीति किन यति अलोकप्रिय भएको होला ?
कानून भन्दा माथी राजनीति हुनु, केहि हद सम्म नकारात्मक विदेशी हस्तक्षेप हुनु, राष्ट्र र जनताको भावना भन्दा पार्टीगत भावना हावी हुनुको कारण राजनीति आलोकप्रिय भएको हो ।
अन्य केहि ?
जनता र राष्ट्रप्रति साच्चिकै उत्तरदायी र जिम्मेवार नेताको आवश्यकता छ, भ्रष्टाचार उन्मुलनको लागी ठोस नीति र कार्यान्वयन, श्रम तथा योगदान र उत्पादनयोग्य नागरिकलाई देशमा रहन सक्ने वातावरणको सृजना गर्नु पर्ने आवश्यकताबोध भएको छ ।
प्रस्तुति ः हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest