एलिजालाई नेपालको नम्बर वान मोडल बनाउने मन छ धमला

Sunday, March 11th, 2018

१४ वर्षको कलिलो उमेरमा कृष्णप्रसाद भट्टराइको अन्तरवार्ता लिएर नेपाली पत्रकारितामा होमिएका चर्चित पत्रकार ऋषि धमला धेरैले चिनेको सुनेको नाम हो । केही वर्ष अघिसम्म नेपालवाणी नेटर्वकमा वाणी वहसद्वारा चर्चा कमाएका धमला पछिल्लो समय जनता जान्न चाहन्छन् रेडियो कार्यक्रम र हिमालयन टेलिभिजनमा धमलाको हमला कार्यक्रमबाटै चर्चा बटुलेका छन् । निडर स्वभावका धमलाको प्रश्न सोध्ने शैलीले गर्दा धेरैले उनलाई चिन्छन् । वि.सं २०३२ सालमा धादिङ्मा जन्मिएका हुन् धमला भने उनकी जीवन संगिनी एलिजा गौतम २०५० सालमा पूर्वी नेपालको पहाडी जिल्ला इलाममा जन्मिएकी हुन् । सानैमा आफूभन्दा उमेरले धेरै पाका रहेका धमलासँग विवाह गरेर चर्चित भएकी एलिजाले पछिल्लो समय अनुराग फिल्मबाट नायिका बनेर फिल्म क्षेत्रमासमेत आफुलाई परिचित गराउँदैछिन् । उमेरले निकै अन्तर देखिएको यो जोडीको पे्रमकहानी पनि निकैै रमाइलो छ ।
२०६९ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौको नक्सालमा एउटा ठूलो कार्यक्रमसँगै चियापान आयोजना गरेको थियो । त्यस कार्यक्रममा धमलालाई पनि बोलाइएको थियो भने एलिजा भर्खरै एसएलसी दिएर बसिरहेकी थिइन् । त्यसैले उनकी आमाले उनलाई फकाएर अन्य मानिससँग चिनजान हुन्छ भनेर आफूसँगै कार्यक्रममा लिएर गएकी थिइन् । जुन कार्यक्रममा एलिजालाई उनकी आमाले पहिलोपटक उहाँ नेपालको ठूलो पत्रकार भनेर चिनजान गराएकी थिइन् । यो नै थियो, धमला दम्पत्तिको पहिलो भेट तर त्यो भेट विवाह गर्न भएको थिएन, साधारण भेट थियो । त्यसपछि एलिजाको रिजल्ट आएर उनी काठमाडांै मोडल कलेज बागबजारमा पढ्न थालिन् भने धमलाको रिपोर्टस क्लब पनि नजिकै पुतलीसडकमा रहेको थियो । धमलाको आफ्नो कार्यालय जाने बाटो पनि त्यही भएकाले प्रायः बाटोमा भेट भइनै रहन्थ्यो । पछि धमलाले एलिजाको आमासँग कलेजका बारेमा बुझ्नु छ भनेर एलिजाको मोबाइल नम्बर मागे र फोनमा पनि यिनीहरुको कुरा हुन थाल्यो । विस्तारै क्याफेतिर बसेर कुरा हुन थाल्यो । प्रायः धमला र एलिजा पुतलीसडकको क्याफेमा भेट्ने गर्थे । पछि धमला एलिजाको घरमा जाने आउने र पारिवारिक भेटवार्ता गर्न थाले ।
त्यसपछि विस्तारै ऋषिले विवाहको कुरो चलाए एलिजाको आमासंँग । विवाहको कुरा सुनेर उनकी आमाले छोरीसँग सोधिन् र उनीहरुबीच कुरा पनि भयो । कुरा भएको लगभग सात महिनापछि यो जोडी विवाह बन्धनमा बाँधियो । रमाइलो कुरा विहेको दिन पनि धमला हतारमा नै थिए । उनलाई एउटा महत्वपूर्ण कार्यक्रममा जानु थियो, जसले गर्दा जन्ती जाने बेलामामात्रै उनी घरमा आइपुगेका थिए । हाल एक छोरी एक छोरा गरी दुई सन्तानका अभिभावक समेत भइसकेका छन् । दुबै एक अर्काको भावनालाई बुझने गरेको बताउँछन् । आफू व्यस्त भएकाले किचनमा खासै एलिजालाइ सहयोग गर्न पाउँदैनन् धमला तर कहिले काहीँ खसीको मासुको परिकार भने बनाउने गर्छन् । मासुको पारखी भएकाले धेरै नखाए पनि साह्रै मिठो लाग्छ एलिजालाई उनले बनाएको मासु । धमलालाई एलिजाले धनियाँ हालेर बनाएको टमाटरको अचार साह्रै मनपर्छ । सधै माया मात्रै होइन कहिले काहीँ झगडा पनि हुन्छ तर त्यति ठूलो होइन, सामान्य झगडा हुने हो भन्छन् धमला ।
झगडा हँुदा सुरुमा धमलाले नै एलिजालाई फकाउने गर्दारहेछन् । धमला भन्छन्–श्रीमान् श्रीमतीको झगडा भनेको परालको आगो हो । छोरा छोरीको माया त अति नै लाग्छ तर आफूले खासै समय दिन नपाएकोमा दुःखी पनि छु । उनी भन्छन्–के गर्नु उनीहरुसँग सँगै बसेर खाने, उनीहरुलाई खेलाउने इच्छा नभएको कहाँ हो र इच्छा हुँदा हँुदै पनि फुर्सद नभएकाले उनीहरुको लागि केही गर्न पाएको छैन । म बिहान ६ बजेदेखि राती १० बजेसम्म रेडियो टेलिभिजन तथा विभिन्न कार्यक्रममा व्यस्त रहन्छु तर छोरी अलि ठूली भएकाले बाबा आएपछि मात्र सुत्छु भनेर राती ११ बजे सम्म कुरेरै बस्ने गरेकी छिन् । छोरा सानै छ । एलिजा भन्छिन्–उहाँले समय दिनुभएन भन्ने ठाउँ नै छैन । पेशा नै त्यस्तै छ । नेपालका धेरै ठाउँ घुम्न नपाए पनि भारत, क्यानडा तथा बैंकक जस्ता ठाउँ घुमिसकेका छन् यी दमपत्तीले । क्यानडा भने छोरा जन्मेको बेला न्वारनमा गएका थिए र अझै पनि एलिजाको फिल्म रिलिज भइसकेपछि क्यानडा, जापानलगायत धेरै देश घुम्ने तालिका रहेको बताउँछन् यी जोडी । एलिजा भन्छिन्–अहिले मेरो बन्दै गरेको फिल्मले गर्दा म पनि अलि विजी नै छु, जसले गर्दा छोराछोरीलाई मेरो ममीले हेरेर सहयोग गर्नुभएको छ भने फिल्मका लागि उहाँले मलाई चौतर्फीरुपमा सहयोग गर्नु भएको छ । अझ भन्नु पर्दा यो फिल्म उहाँकै सहयोगका कारणले मात्र बन्न संभव भएको हो र आफू यो स्थानमा आउनुको प्रमुख कारण नै उहाँ हो । उहाँले बारम्वार भनिरहनुहुन्थ्यो, त्यत्तिकै बस्न हुन्न, केही गर्नु पर्छ भनेर । धमलालाई पनि मन छ, एलिजालाई नेपालको सवैभन्दा ठूलो र नम्बर वान मोडल बनाउने । अब केही समय राजनीतिमा लाग्ने धमलाको योजना छ । उनले भने–२०६४ र २०७० को संविधानसभाको चुनाबमा मलाइ धेरै राजनीतिक पार्टीले टिकट दिन्छु भनेका थिए तर अव विस्तारै समय अनुकुल भयो भने यस क्षेत्रमा लाग्ने छु । मेरो राजनीति भनेको जनताको माझमा गएर गर्ने हो । यसरी यो जोडीले आफ्नो भविश्यको योजनासमेत बनाएका छन् ।
– चक्रप्रसाद पोख्रेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest