कथा :श्रमको मूल्य

Wednesday, September 18th, 2019

 
“भारीको मात्र कि मान्छे समेत हौ पन्ध्र रुपियाँ भनेको ?”
कुर्सीमा बसेर पत्रिका पढ्दै गरेको एक जना भद्रपुरुषले दाउराको भारी बोकेको सानो भाइलाई उच्च स्वरमा झपारेको रहेछ ।
“आठ रुपियाँ दिन्छु । हुन्छ ?” एक जना महिला पनि दाउरा बोक्नेको नजिक आउँदै सोधेकी थिइन् ।
“अहँ, हुँदैन साहुनी । पन्ध्र रुपियाँ दिनोस् न ।”
यो घटना मेरो स्कूल समयको कुरो हो ! टिफिन टाइम थियो नजिक घर भएको साथी पाँचौँ पिरियडको बुक लिन उसको घर आउँदै गर्दा एक जना नौ दस वर्षको भाइ दाउरा बोकेर मुस्किल मुस्किलले हाम्रो अघिअघि हिँड्दै गरेको देखेको थिएँ । हामी फुक्लो मान्छे त्यो भाइलाई निकै पछाडि पारेर साथीका घर पुगेका थियौँ ! मलाई आँगनमा उभ्याएर साथी बुक लिनु घरभित्र पसेकी थिइन् ! म साथीलाई पर्खेर उभिएको ठीक तल्लोपट्टिको घरआँगनमै त्यो दाउरा बोकेको भाइ आइपुगेको रहेछ र उनीहरूको मोलमोलाइप्रति म आकर्षित भएँ ! त्यतै हेरेँ ।
“भारी बोक्ने मान्छे चैँ नौ वर्ष पुगेको छैन होला, पन्ध्र रुपियाँ भन्नु लाज लाग्दैन ?” साहु कड्किएको थियो ।
म त बाह्र वर्ष पुगिसकेँ । चौध रुपियाँ दिनोस् न त ।”
सायद अलि थकित भएर होला, यही साहु–साहुनीले किनिदिए हुनेजस्तै गरेर दाउरा भारी बोक्ने भाइ त्यही आँगनमा भारीसँगै उभिनै रह्यो ।
“नबढेको गान्टे पो रछ । लु त्यसो भए दसै रुपियाँ भयो, राख अब ।” साहुनी बोलेको थिइन् ।
बाउले दुई किलो चामल लिएर आइज भनेको छ, त्यति पैसाले त्यति चामल आउँदैन तेह्र रुपियाँ दिनोस् न त है साहुनी ।” बिचरा त्यो भाइ याचनापूर्ण स्वरमा बोल्यो !
“यति जाबो दाउराको त्यत्रो रुपियाँ ?” दाउराको वरिपरि हेर्दै बोलिन् साहुनी ।
“यति खोज्नु पनि बिहान राति नै निद्रा लाग्दालाग्दै जङ्गल जानुपर्छ, वनजाँचेले देख्यो भने समात्छ, टाढाटाढा जाँदा पनि दाउरा भेटिँदैन ! यही पनि बाउले खोजीमेली गरेर मलाई चैँ भारी पु¥याइदिएको । छिटो गएर भात पका भनेको छ ।”
“तिम्रो आमा चैँ के गर्छ ?” सोधेको थियो साहुनीले कडा स्वरमा ।
“आमा त छैन ।”
“के भो ? पोइल गई ?” अलिअलि हुनेखानेहरूले निम्छिरोलाई देख्दा हेपेर होच्याएर बोलिने चलन साहुनीले छुटाइन ।
“हैन, बिरामी भएर मरिन् ।”
“ल ल एघार भयो, दिन्छौ भने राख, नत्र जाऊ ।”
अब साहुनीले निर्णयजस्तै बोलेकी थिइन् ।
“दाउरा आँगनभरि छ त किन किन्नुप¥यो यो फुच्चेको दाउरा ? एघार रुपियाँमा दिँदैन भने पठाइदेऊ । ए फुच्चे जाऊ अन्तै बेच, यहाँ किचकिच किन गरिराखेको ?” पढ्दै गरेको साहु झर्केर बोलेको थियो ।
गरिबलाई सक्दो हप्काएर बोल्नु इज्जतै बढ्यो कि जस्तो चलन हुँकार गर्न साहु पनि पछि परेन ।
दारिमको सुखेको दाउरा रछ र नि । आगो फारो बल्छ भनेर, बाह्रमा राख अब, मरीमरी बोकेर डुलाउनु मन छ भने जाऊ ?”
मध्यदिन चढिसकेकोले सायद भोक पनि लागेको होला । एकछिन उभियो र बिस्तारै भारी भुइँमा राख्यो ।
असिनपसिनको मलिन अनुहार थकित स्वरमा त्यो भाइले भन्यो — “हुन्छ साहुनी, बाह्र रुपियाँ दिनोस् न त, आफूलाई कति बेला घर जाउँ भइराछ ।”
“एकछिन पख, म पैसा लिएर आउँछु ।” भनेर साहुनी कोठाभित्र पसेको मात्र थिइन्
“गोरखनाथ !” भन्दै जोगी आइपुगेको थियो ।
“ए कल्याणी ! गोरखनाथ आएको छ है, सिधा पनि ठीक पार, सुन्यौ ?” ठूलो स्वरमा आदेश दिएको थियो साहुजीले ।
“ए हो … ! ल ल ।” भित्रबाट जवाफ आएको थियो ।
उमेरले पैँतीस–छत्तीस वर्षको जस्तो देखिने जोगी अब टुक्रुक्क बस्यो । भरिन लागेको धेरै झोलाहरू भुइँमा फिँजायो !
केही मिनेटको पर्खाइपछि साहुनी ठूलो टपरामा सिधा ल्याएर जोगीको अगाडि राखिदिइन् !
टपराको वरिपरि दुनादुनामा घिउ तेल, मास दाल, घोरे दाल, नुन बेसार, जिरा मेथी, तिल, मकै भटमास, आलु, अरू केके हो बीचमा एक माना चामल, चामलको माझमा पचास रुपियाँ राखेको थियो ! जोगीले क्रमशः झोलाझोलामा खनाउन थालेको बेला साहुनीले भाइलाई पैसा दिँदै भन्यो —
“लौ एघार रुपियाँ ।”
“अनि साहुनी बाह्र दिनु भनेको मैले” छक्क पर्दै भन्यो ।
बाह्र त ल्याएको, अब एक उता जोगीलाई राखिदिएँ । मसँग एक रुपियाँ त्यति दुईवटा मात्र थियो, तिमीलाई पुगेन, भारी बिसाइहाल्यौ । अब चुप लागेर जाऊ ।”
साहुनीको निष्ठुरता सुनेर चकित हुँदै आफ्नो श्रमको मूल्य नपाएकोमा गुनासोपूर्ण बोल्यो ती भाइले—
“मलाई दिनुपर्ने एक रुपियाँ चैँ किन जोगीलाई दिनुभयो ?”
“जोगी भनेको परापूर्वकालदेखि मानी आएको भिक्षु हो श्रद्धा गर्न‘पर्छ, पचास मात्र दिनुहुन्न भनेर एक थपेर एकाउन्न पारेको ।”
आफूले अपुरो दाम पाएकोमा खिन्न हुँदै बिस्तारै एघार रुपियाँ हातमा समात्यो तर जोगीप्रति एक विश्वासको नजरले हेर्दै भन्यो ।
“म ठूलो भएपछि जोगी हुन्छु । मेहनतको भन्दा श्रद्धाको बढी पैसा पाइँदो रछ ।” भनेर त्यो भाइ बाटो लागेको थियो !

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest