कलाकारमा कलालाई सम्मान गर्ने क्षमता हुनुपर्छ

Monday, December 17th, 2018


जीवन एक ठूलो र फराकिलो पहाड हो र मानिस त्यसमा यात्रा गर्ने एक यात्री हुन् । जीवनलाई कसैले सघर्ष, दुःख र सुखको मिलनविन्दु, कसैले यात्रा, कसैले कर्म, कसैले उद्देश्य प्राप्ति, प्रेमको प्रकटीकरण, कसैले जिउने कला, कसैले के, कसैले के भन्ने गरेको पाइन्छ । जीवनको आ–आफ्नो परिभाषा भए पनि जसले जसरी चलायो, त्यसरी नै चल्दै जाने हो । संसार एउटा रंगमञ्च हो भने हामी त्यसमा नाच्ने चराचर प्राणी अर्थात चेतनशील प्राणी । समाजमा भएका हरेक अभयवहरुको स्पष्ट दृश्यकतार्कारुपमा लिइने मानिसले जीवनलाई राम्रो बनाउने क्रममा निकै उतार चढाव व्यहोर्नुपर्ने हुन्छ, त्यस्तै संर्घष गर्दै अगाडि बढिरहेकी छु म पनि ।
मेरो जन्म भक्तपुरमा भएको हो, आफ्नालाई मैले अहिले पनि स्मृतिका मानसपटलमा राखेकी छु । संम्झिदा पनि रमाइलो लाग्ने त्यो बालापन मसँग छाप बनेर बसेको छ । मैले मेरो बाल्यकाल बाल सखाहरुसँग भक्तपुरमा नै बिताएकी थिए । बाल्यकालदेखि नै अभिनय, गायन तथा नृत्य क्षेत्रमा बढी रुची थियो मेरो । पढाईमा मध्यम रहेकी म विद्यालयमा पढाई अतिरिक्त अन्य कार्यक्रममा पनि भाग लिएर शिक्षकको स्यावासी पाउने गर्थे । अहिले पनि कत्ति शिक्षकहरुसँग मेरो कुरा हुन्छ, उहाँहरु म भन्दा पनि खुशी हुनुहुन्छ ।
बच्चादेखि नै धेरैे हास्नुपर्ने, सबैसँग मिल्नु तथा बोल्नुपर्ने स्वभाव भएकाले मेरा धेरै साथी थिए । विवाहपूर्व रेडियो नेपालमा काम गरेको तथा अन्य एल्बम निकालेको भए पनि मेरो बाबाको सपना भने म वकिल भएको हेर्ने थियो । मेरो स्वभाव अलि जिद्धी भएका कारण यसले वकिल पेशामा राम्रो गर्न सक्छे भन्ने धारणा मेरो बाबाको थियो भने मलाई चाहिँ कला तथा संगीत क्षेत्रमा नै केही गर्नु थियो । अभिनयबाटै समाजका कति विकृत र बिसंगतीलाई सुधार गर्न सकिन्छ र कालन्तरमा समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने सोच थियो मेरो । मेरो सानैमा विवाह भयो । सबै कुरा भाग्यले नै निर्धारण गरेको हुन्छ भन्छन्, त्यस्तै भयो । मैले मेरो भावना बुझ्ने श्रीमान् पाएँ । विवाह गर्दा म ब्याचलर गर्दै थिए । एकाध समय संगीतमा बिताएको भए पनि पूर्णरुपमा समय दिन भने भ्याएको थिइनँ । तर मेरा श्रीमान्ले मेरो सपनालाई आफ्नो सपना सम्झेर पूरा गर्न तदारुकता देखाउनुभयो । दुई छोरा हुर्काएपछि पनि मैले पुनः आफ्नो समय कलाकारितामा नै व्यतित गर्ने मौका पाए ।
२०४७ सालमा मायाकोजाल नामक भिडियो फिल्मबाट नेपाली कलाकारिता क्षेत्रमा होमिएकी म मेरो परिवारको सपोर्टकै कारण आज यो स्थानमा आइपुगेकी छु । महिलालाई हरेक क्षेत्रमा फरक फरक भूमिका निभाउनुपर्ने अवस्था आउछ तर त्यस्तो अवस्थालाई सामान्यरुपमा लिएर हिँड्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो । महिलाहरु सेन्सेटिभ हुन्छन्,त्यसैले पनि क्यारेक्टर निभाइरहँदा कहिले काहीँ दुःखका क्षणहरु पनि याद आउँछन् । रिल लाईफ र रियल लाईफमा धेरै फरक भए पनि हामीले गर्ने अभिनयका घटनाक्रम समाजमा घटेका घटना नै हुन्छन् ।
मैले सुरुवातीदेखि काम गर्न सहज वातावरण पाएँ । मानिसको सोचाई तथा काम गर्ने तरिकाका कारण काममा सहजता र असहजता आउने गर्छन् तर म हक्की तथा निडर भएका कारण सानातीना समस्यालाई खासै चासो दिन्न । समाजमा एउटा कलाकार भएर हिँड्ने अवस्था थिएन, विवाहपूर्व कलाकारिता पेशामा लाग्न बन्देज थियो नै, विवाहपछि त झन् त्यो परिस्थिति नआउने कुरै भएन । समाजले के भन्ला फलानाको बुहारी भन्ने पो हुन् कि भन्ने थियो तर पनि श्रीमान्को साथ तथा आफ्नो कटिबद्धताका अगाडि कसैको केही लागेन । अहिले त सबैको वाउ वाउ पाइरहेकी छु ।
जीवनका हरेक अध्याँरो र उज्यालो दुवै पक्षलाई राम्रोसँग बुझेर अघि बढ्ने हरपल कोशिस गरिरहेकी छु । हालसम्म लगभग तीनसयभन्दा बढी फिल्म खेलिसकेकी छु । त्यसमध्ये यो नै राम्रो छ भन्नु भनेको आफ्नो सन्तानमा खोट देख्नु बराबर हो । भलै कुनैमा कम मेहनत परेको भए पनि आफूले गरेका सबै चलचित्र मेरा लागि बराबर हुन् । कलाकारितामा यत्रो समय व्यतित गर्दा पनि म आफूले आफैंलाई कहिल्यै पनि पूर्ण पाइनँ । म अझै पनि सिक्दैछु जस्तोमात्र लाग्छ । हरेकपटक म घरबाट कामका लागि बाहिर निस्कदा सोच्छु, म कतै पढ्न वा सिक्न जाँदैछु । हाम्रो पेशा नै त्यस्तै छ, दिनदिनै अपग्रेट हुन सकेन भने काम गर्न अप्ठ्यारो हुन्छ । एउटा फिल्म खेल्दैमा वा क्यामेरा अघि बसेर एक दुइवटा डाईलग बोल्दैमा कोही कलाकार हुन सक्दैन, यो ध्रुव सत्य हो । यसलाई सबैले बुझ्न जरुरी हुन्छ ।
कलाकारितामा लागेकाहरु बिग्रेका हुन्छन् भन्ने अवधारणा विस्तारै परिवर्तन भइरहेकोे छ । पहिलाको अवस्थाभन्दा अहिले धेरै नयाँ कलाकारको आगमन हुने वातावरण बनेका छन् । हामीभन्दा पहिलाका दिदीहरुले कलाकारितामा धेरै समस्या झेल्नुभयो, हामीले कम झेल्यौं, यसरी नै जेनेरेसन,जेनेरेसन हँुदै गइरहेको छ । तर पनि पहिलाभन्दा अहिले प्राविधिक कुरामा राम्रो हुँदै गएको भए पनि संस्कारको सिस्टममा भने कमी नै भएको पाउछु । यदि यही अवस्था पछिल्ला दिनमासमेत रहने हो भने नेपाली कलाकारमा संस्कार पनि छ र भन्ने अवस्था नआउला भन्न सकिन्न । अहिलेको परिपाटी हेर्दा को सिनियर को आदरणीय केही थाहा नै हुँदैन । कलाकार जीवन्त हुनुपर्छ भनिन्छ, कला कहिल्यै पनि मर्दैन भनिन्छ नि, साँच्चै त्यो कलाकारमा हुनुपर्छ । एउटा कलाकारमा कलालाई सम्मान गर्ने क्षमता हुनुपर्छ ।
म आफू पनि सफलताको सिढी प्राप्त गर्न पाइला चाल्दै छु । यो अवस्थामा आइपुग्दा कलाकारितामा र व्यक्तिगत जीवनमा धेरै उतार चढाव झेलेको छु । मेरो विचारमा कोही व्यक्ति सफलताको सिढीमा चढ्नु ठूलो कुरा होइन, सफलतामा कति समय टिक्न सक्छ, त्यसले बढी महत्व राख्छ ।
जीवन सोचे र चाहे जस्तो हुँदै हँुदैन । राम्रो कामका लागि लागिपरौ भन्दा भन्दै पनि नसकिने हुन्छ । समय सधैं एकनास हँुदैन, कहिले हाँसो, कहिले रोदन हुन्छ, हामी पनि सामाजिक प्राणी हौं । हाम्रो रियल लाईफ हँुदैन भन्ने कत्ति व्यक्तिको धारणा हुन्छ । कलाकारितामा लाग्दा लाग्दै मेरो सासु आमाको निधन भयो, त्यो अवस्थामा म सुटिङ्मै व्यस्त थिए । त्यो पारिवारिक रोदनको अवस्थामा उपस्थित हुन नसक्दा झण्डै सम्बन्ध विच्छेदको स्थितिसमेत आएको थियो, अहिले सम्झिदा पनि डर लाग्छ तर मैले कुनै स्थितिमा पनि हरेश खाइनँ । त्यसको उपलब्धि नै आजको दिन हो । सामाजिकरुपमा घृणाले हेरिएको कलाकारितालाई सरकारले पनि हेलाको दृष्टिले नै हेरेको हो कि भन्ने लागे पनि हामी स्वयम् पनि लाग्नुपर्छ ।
–प्रस्तुति ः कृष्ण कुमारी चौलागाईं

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest