कलाकारिता संगै जमेको हरिहर र सकुन्तलाको अनुपम जोडी

Monday, September 23rd, 2019

नारी र पुरुषको आपसी समझदारीमा गाँसिने बैवाहिक सम्वन्ध हिन्दु संस्कारमा एउटा पवित्र र अटल सम्वन्धको रुपमा लिइन्छ, विवाहबाट नै परिवारको सृजना हुन्छ । विवाहलाई बन्धनको रुपमा पनि लिने गरिन्छ हाम्रो समाजमा तर पछिल्लो समयमा विवाह बन्धन होइन सम्झौतामा परिणत भएको छ । पुरातन समाजमा एउटी विवाहित नारी घर, व्यवहार, घाँस, दाउरा र मेलापातमा सिमित हुन्थिन्, बाहिरका सबै काममा पुरुषको संलग्नता हुने गर्दथ्यो, तर बदलिदो समाजमा नारी र पुरुष समान भन्ने मान्यता स्थापित भएको छ जसले जुन जुन क्षेत्रमा पुरुष संलग्न हुन्छन् ती क्षेत्रमा महिला पनि समान रुपले संलग्न हुन सक्छन् भनिन्छ, नारीहरुले यो भनाईलाई पुष्टि गरिसकेका छन्, कतिपय पुरुषले गर्न नसक्ने काम नारीले गरेर देखाइदिएका छन् ।
वरिष्ठ कलाकारद्धय हरिहर शर्मा र सकुन्तला गुरुङ शर्माको वैवाहिक जीवन त्रिचालिस वर्ष पुगिसकेको छ । काठमाण्डौको लाजिम्पाटमा वि.स. २००८ मा बुवा आशमान गुरुङ र आमा तीर्थ कुमारीबाट जन्मेकी सकुन्तला त्यति बेला रेडियो नाटकबाट आँफूलाई नाट्य क्षेत्रमा अगाडी बढाइरहेकी थिइन् । सानै देखि नाचगानमा विशेष रुचि राख्ने सकुन्तलाले दश वर्षको उमेरमा ‘पलाँसको फूल’ नाटकमा बालकलाकारको रुपमा शसक्त अभिनय गरेकी थिइन् । २०२२ साल तिर रेडियो नेपालका विभिन्न नाटकहरुमा आवाज दिएर चर्चा कमाएकी थिइन् । उनका नाटकहरुका श्रोता मध्ये एक हरिहर शर्मा पनि थिए । पछि २०२६ सालमा उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरेको रुपमा प्रवेश गरिन् ।
त्यति बेला हरिहर शर्मा आइ. एस्सीको परीक्षा सकाएर बसेका थिए, तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रष्तिठानले कलाकारहरु माग गरेको सूचना जारी गर्यो । नाटकमा रुचि भएका हरिहर शर्माले पनि उक्त सूचना अनुसार निवेदन दिए, उनी छनौट पनि भए । त्यस पछि नाटक सिक्ने क्रममा उनीहरु वीच नियमित भेटघाट र कुराकानी हुन थाल्यो । यहि भेटघाट र कुराकानीले दुवैको मनमा एकअर्का प्रति प्रेमको मुना अंकुरायो । एकअर्का प्रति प्रेमभाव उत्पन्न भएको र एकअर्का विच प्रेमको बन्धनमा बाँधिएको उनीहरुको मनमनले नै पत्तो पायो, मुख फोरेर प्रेमको प्रस्ताव राख्नु पर्ने आवश्यकता नै परेन ।
तीन वर्षको अन्तरालमा विस्तारै उनीहरु वीचको प्रेमको यो मुना वढ्दै गए पछि हरिहरले सकुन्तलालाई विवाहको प्रस्ताव राखे, प्युठान जस्तो दुर्गम जिल्लाको मान्छे, त्यो पनि जात नमिल्ने हुँदाहुदै पनि हरिहर शर्माको शालिनता, मायालु भाव र नाटक प्रति समर्पितभाव भएकोले उनले विवाहको प्रस्तावलाई सकारात्मक रुपमा लिदै घरपरिवारमा सल्लाह गर्नु पर्ने कुरा राखिन् । सकुन्तलाको घरमा विहेको कुरा पुग्यो, सुरुमा त गाउँको केटो, काठमाण्डौमा घर पनि छैन, जात पनि मिल्दैन भन्ने कुराले विवाह कसरी सम्भव छ भन्ने प्रश्न परिवारमा आयो, तर छोरीले आँफैले मन पराएकी, एउटै क्षेत्रमा सक्रिय रहेका कारणले सकुन्तलाको परिवारले विवाहलाई मञ्जुर गर्यो । हरिहर शर्माको आमा बुवा पनि धेरै सकारात्मक हुनु भएकोले छोराले मन पराए पछि ठीकै छ नि त ..भन्ने तरिकाले विवाहको लागी मञ्जुर भयो । ‘विवाह माथीबाट नै तय भएर आएको हुन्छ’ भने झैं दुवैको परिवारले केहि उदारभाव अपनाएर हरिहर सकुन्तलाको विवाह समर्थन गरे, २०३३ सालमा उनीहरुको धार्मिक विधिपूर्वक विवाह सम्पन्न भयो ।
आफ्नै घरको फराकिलो वातावरणमा रमाइरहेकी सुकन्तलालाई हरिहरको बागबजारको चिसो कोठामा भित्रिदा केहि असहज त भयो, तर घरवेटी पनि असल भएकाले र आँफूले मन पराएको केटा संग भित्रिएकीले मनलाई बुझाउँदै लगिन्, केहि समय पछि बानी पर्दै गयो, त्यहि डेरा सहज लाग्न थाल्यो, तै पनि मनको कुनामा डेराको बसाई भन्ने भाव भने रहिरह्यो, त्यसैले पनि विवाह पछिको पहिलो प्राथमिकता आफ्नै घर बनाउने तर्फ लागे दुवै जना, चार वर्षको डेराको बसाई पनि उनीहरु आफ्नै घर बनाउन सफल भए, त्यस पछि डेराको जीवन आफ्नै घरबाट सुरु भयो ।
भनिन्छ विवाह पछि जीवनले काँचुली फेर्छ, नयाँ परिवेश, नयाँ परिवार धेरै कुरा नयाँ हुदा जिन्दगीले अर्कै मोड लिएको आभाष मिल्ने गर्छ, तर हरिहर र सकुन्तलाको जीवनमा विहे पछि पनि खासै परिवर्तन महशुष भएन, विहे अघि कै जस्तो दैनिकी, अफिस, नाटकको रिहर्सल, मञ्चन, रेडियोको यात्रा, नाटकमा आवाज दिनु, श्रोताहरुलाई सुनाउनु, घर फर्कियो दुवै जना मिलेर घरेलु धन्दा यहि नै दैनिकी लामो समय रहिरह्यो उनीहरुको । यसैमा रमाइरहे दुवै जना, यहि दैनिकी संगै उनीहरुको सहयात्राका ती सुनौला दिनहरु निरन्तर अघि बढिरहे, एउटा सुखद पारिवारिक यात्रा सहित । ‘ती दिनहरु रहर लाग्दा थिए’, उनीहरु स्मरण गर्छन् । सकारात्मक सोचले जीवनका गोरेटाहरु पार गर्दा सबै कुरा रमाइलो लाग्ने रहेछ, यस्तै अनुभूति छ हरिहरका ।
सकुन्तलाले आफ्नो जीवनयात्रामा धेरै नाटक र चलचित्रहरुमा अभिनय गरिन्, को सँग जुधौं, मानिस र मुकुन्डो, पहाड चिच्याइरहेछ, फर्केर हेर्दा, कंकाल, च्यातिएको पर्दा, पर्खाल भित्र जस्ता दर्जनौं नाटकमा उनले शसक्त अभिनय गरेकी छिन् भने बदलिदो आकाश, वासुदेव, चेलिबेटी, सिन्दुर, सन्तान थरिथरिका जस्ता चलचित्रमा उनको सशक्त र जीवन्त अभिनय हेर्न सकिन्छ । आम दर्शक र श्रोताहरुको जस्तै हरिहर शर्माको नजरमा पनि सकुन्तला जीवन्त अभिनय गर्ने कलाकार हुन्, उनी भन्छन् ‘सकुन्तला राम्रो, स्वभाविक र जीवन्त अभिनय गर्न सक्ने कलाकार हुन्, मैले हेरेका सबैजसो नाटकका प्रमुख महिला पात्रको रुपमा उनको अभिनय छ, विभिन्न खालका भूमिकामा उनले अभिनय गरेकी छिन् सबै खाले भूमिकामा उनी उत्तिकै शसक्त अभिनय गर्न सफल छिन् । यी मध्ये पनि सत्यमोहन जोशीको ‘फर्केर हेर्दा’ नाटकमा उनले निर्वाह गरेकी छोरीको भूमिका मलाई बेजोड लाग्यो, नाटक पढ्दा छोरीको सामान्य भूमिका मात्र रहेको छ तर नाटक मञ्चन गर्दा प्रमुख पात्र नै छोरीमा केन्द्रित बनेको छ, उनको अभिनयको जति तारिफ गरे पनि कम लाग्छ मलाई । उनी म भन्दा पनि क्षमतावान कलाकार हुन् ।’

सकुन्तलाको नजरमा पनि हरिहर बेजोड क्षमताका धनी हुन् । उनको शसक्त अभिनयको सकुन्तला पनि खुलेर प्रशंसा गर्छिन् । नेपाली रंगमञ्चको सुरुवाती दिनमा धेरै नाटक लेखन, निर्देशन र अभिनयमा उनले निकै सक्रियता देखाए । कर्तव्य र चाहना, देशप्रेम, संकल्प लगायतका छोटा चलचित्रमा अभिनय गरेका उनले बासुदेव, सिन्दुर, बदलिदो आकाश,प्रेमपिण्ड, कर्जा, मोहनी, मायाप्रीति, चेलिवेटी, बासुदेव, फेरी तिम्रो याद आयो लगायत दर्जनौ चलचित्रहरु तथा जनैको साचो लगायत धेरै टेलिचलचित्रहरुमा शसक्त अभिनय गरेका छन्, यी मध्ये कतिपय चलचित्रमा हरिहर र सकुन्तलाले संगसंगै अभिनय गरेका छन्, हरिहरले अभिनय गरेका यी विभिन्न चलचित्र मध्ये सकुन्तलालाई अत्यधिक मन परेको अभिनय सिन्दुर, बदलिदो आकाश, बासुदेव चलचित्र हुन् ।
हरिहर सकुन्तलाको अभिनयको जति खुलेर प्रशंसा गर्छन्, घर व्यवहारका कुरामा भने त्यति खुल्दैनन्, विहान अवेर सम्म सुत्ने सकुन्तलाको बानी उनलाई पटक्कै मनपर्दैन, आँफू संगै विहानको स्वच्छ हावामा हिँडौ न भन्दा उनी मान्दिनन्, घरमा नै योग आसन गर भन्दा पनि मान्दिनन्, विहान अलि ढिला उठे पनि घरमा काम प्रसस्त हुनेहुँदा हिँड्न भ्याउदिन भन्ने सकुन्तलाको जिकिर रहन्छ । गुलियो कम खाउ, मासु कम खाउ न भन्दा पनि सकुन्तला मान्दिनन्, रिसाए पछि आँखै देख्दिनन्, यसरी रिसाउन हुन्न भन्दा पनि मान्दिनन्, सकुन्तलाका यस्ता धेरै आनीबानी छन् जो हरिहरलाई पटक्कै मन पर्दैनन्, ‘यी आनीबानी सुधारिदिए हुन्थ्यो’ उनी भन्छन् । त्यसो त धेरै सद्गुणहरु पनि छन् सकुन्तलाका, उनको नजरमा सुकन्तला असाध्यै सज्जन नारी हुन्, जो अरुको कुरा काट्दिनन्, सत्य कुरो नलुकाई प्रष्ट भन्छिन्, मन साह्ै सफा र कञ्चन छ उनको, सुशिल छिन्, सबै प्रति आदर र माया गर्छिन्, यस्तै सद्गुणले त सकुन्तलाका केहि चित्त नबुझेका कुराहरुलाई पनि छोपेका छन् ।
त्यसो त सकुन्तलाको नजरमा पनि हरिहरका केहि सुधार्नु पर्ने बानीहरु छन् । मनमा लागेको कुरा मन भित्रै गुम्स्याउने र भन्न परे पनि लामो समय पछि एउटा एउटा शब्द भन्ने बानी सकुन्तलालाई पटक्कै मन पर्दैन, ‘जे मनमा लागेको छ त्यो फ्याट्टै भन्नु नि, एउटा वाक्य झरे पछि अर्को वाक्य झर्न झण्डै आधाघण्टा कुर्नु पर्छ, त्यसरी तौली तौली भनेको धैर्य गरेर सुन्ने फुर्सद पनि हुन्न मलाई’ उनि भन्छिन् । परिवारलाई समय दिने भन्ने कुरा कहिल्यै हरिहरको प्राथमिकतामा परेन । लोकले चिनेको र लोकले मानेको मान्छे, समाजका विभिन्न भूमिकामा अगाडी आउनु पर्छ भनेर उनले विगत देखि अहिले सम्म पनि चित्त बुझाउदै आएकी छिन् । हरिहरको जिद्दीपन अर्को मन नपर्ने पक्ष हो सकुन्तलालाई ।
जे जसो भए पनि, जिन्दगीको यात्रा निरन्तर अगाडी बढिरहेको छ उनीहरुको । सकुन्तला भन्छिन् ‘रिसाउद,ै कराउदै भए पनि जिन्दगी चलिरहेको छ ।’ उनको कुरा सकिन नपाउँदै हरिहर थप्छन् ‘बगिरहेको खोलाको कलकल आवाज आएन भने मीठास कसरी आउँछ ? कहिले कहिको रिसराग भनेको सलल बगिरहेको जीवन रुपि खोलाको कलकल आवाज हो, जसले सम्वन्धमा छुट्टै मीठास थपिदिन्छ, महमा गुलियो थपिए जस्तै ।’ एकअर्का प्रति अत्यन्तै विश्वास छ उनीहरुको सम्वन्धमा । कला क्षेत्रमा यो विश्वास दिलाउन सकिएन भने सम्वन्धमा दरार पैदा हुन्छ ।
त्यसो त उनीहरुको सम्वन्धमा डाहा गर्नेले हरिहरको बारेमा नराम्रो कुरा नसुनाएका पनि होइनन् सकुन्तलालाई । तर एकअर्का विचको मजवुत विश्वासले ती पात्रहरु सफल हुन सकेनन्, उनीहरुको विश्वासले जित्यो । सकुन्तला भन्छिन् ‘कला क्षेत्र नै त्यस्तो हो जहाँ जो सुकै संग हासखेल गर्न, बोल्न पर्छ, केटा मान्छे र केटी मान्छे एकै ठाउँमा बस्नु पर्ने हुन्छ, कतिपय अवस्थामा एउटै कोठामा चारपाच जना सुत्न पर्ने हुन्छ, यी सबै परिस्थितिले निम्त्याउने कुरा हुन्, यहि कुरालाई अविश्वास गर्यो भने सम्वन्धमा धमिरा लाग्छ, मलाई वहा प्रति यति धेरै विश्वास छ जति विश्वास मैले आँफैलाई पनि गर्दिन, यहि विश्वासमा हाम्रो सम्वन्ध अढेको छ, वहा असाध्यै राम्रो बोल्नु हुन्छ, वहाको बोल्ने तरिका, मान्छेलाई सम्झाउने तरिका र शैलीको म ठुलो फ्यान हुँ, म वहा प्रति आकर्षित भएको एउटा प्रमुख कारण वहाको बोल्ने शैली पनि हो ।’
सामन्यतया नेपाली परिवेशमा घर भित्रको काम नारीले मात्र गर्नु पर्छ भन्ने पुरातन मान्यता रहेको छ । यो मान्यतालाई चिर्दै व्यस्त समयको बावजुद पनि हरिहर घर भित्रको काममा पनि सकुन्तलालाई सघाउँछन् । २०३५ सालमा उनीहरुको जेष्ठ सुपुत्र विवेक र २०४० सालमा कान्छो सुपुत्र विशालको जन्म हुँदा घर व्यवहारमा बच्चा हेर्ने देखि खाना पकाउने काममा समेत धेरै सघाए उनले, त्यसो त परेको बेला र भ्याएको बेला अहिले पनि घरव्यवहारमा उत्तिकै सघाउँछन् उनी । सकुन्तला भन्छिन् ‘वहा खाना मीठो पकाउनु हुन्छ, तर पकाउने काम सके सम्म वहालाई लगाउदिन ।’
जीवनका यी वसन्तहरु पार गरिरहदा अहिले हरिहर र सकुन्तला हजुरवुवा हजुरआमा भइसकेका छन्, भर्खर पाँच महिना पुगेकी विशाल र लक्ष्मी कि सुपुत्री बैदेही घरमा आएकी छिन् नयाँ सदस्यको रुपमा, उनको आगमनले घरमा असाध्यै खुशी छाएको छ, ‘अवका दिनहरु अभिनयको क्षेत्रको साथसाथै सानी नातिनी संग रमाएर विताउँछौ’ उनीहरु थप्छन् ।
प्रस्तुति ः हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest