कहिले सम्म चल्ने वागमती सफाइ अभियान ?

Thursday, January 21st, 2021

 
नेपालका नदीहरुहरुसँग धर्म संस्कृति र सम्पदा जोडिएका छन् । हिन्दु धर्मालम्बीहरुको लागि अझ विशेष महत्व बोकेको छ नदीले । त्यसमा पनि काठमाण्डौं उपत्यकामा बग्ने वागमती नदीको बिशेष महत्व रहेको छ । वागमती पवित्र धार्मिक नदिको रुपमा परिचित छ । उपत्यका बाहिरका कैयांै मानिसले वागमतीको पानीलाई अमृत जलको रुपमा बोतलमा लगेर समेत प्रयोग गर्ने गरेको पाइन्छ । अर्को तर्फ जन्मे देखि मृत्यु संस्कार सम्म मानव जीवनमा नदी सँगको सम्बन्ध जोडिएको छ त्यसैले नदीलाई सफा, स्वच्छ बनाउनु हामी मानव जातिकै कर्तव्य हो ।
वागमती नदी र यसका सहायक नदीहरुको प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदाहरु एवं सामाजिक सभ्यताले काठमाण्डौ उपत्यकाको पहिचान बोकेको छ । यसको उद्गम स्थल बागद्धार हो जुन काठमाण्डौ देखि १५ कि.मी.उत्तरी भेगको शिवपुरी डाँडामा अवस्थित रहेको छ । वागमती नदीमा बिष्णुमती, धोवीखोला, मनहरा, नख्खु, बल्खु, टुकचा र वागमती स्वयम हुने गरी सातवटा नदीहरु समाहित छन् । साथै गोदावरी, हनुमन्ते, साङ्ला, महादेव खोला र कोड्कुखोला गरी पाँचवटा उप सहायक नदीहरु यसमा मिसिन्छन् । त्यसैले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत बिकास समितले शुरुमा वागमती मूल नदीलाई मात्रै आफ्नो कार्याक्षेत्रमा राखेको भएता पनि अहिले आएर साहयक र उपसहायक नदीलाई समेत आफ्नो कार्याक्षेत्रभित्र राखेर त्यहाँको भौतिक विकास देखि सरसफाइ अभियानलाई समेत महत्व दिदै आएको छ ।
सफा कञ्चन रुपमा बग्ने वागमतीलाई काठमाण्डौ बासि र त्यसमा पनि वागमती नदीको वरपरको क्षेत्रमा बसोवास गर्ने मानिसहरुको नै फोहोर पार्नमा भूमिका रहेको छ भन्दा अनर्थ हँुदैन । मुहानबाट सफा रुपमा बग्दै आएको नदी जति जति शहरी क्षेत्र भित्र प्रबेश गर्दै जान्छ त्यति त्यति फोहोर हुँदै गएको छ, पानीको गुणस्तरमा ह्रास हुदै गएको छ । वागमती नदि छेउछाउमा रहेका मासु पसल, उद्योग, कलकारखाना, ग्यारेज, हस्पिटल आदिवाट निस्कने फोहोरका कारण वागमती नदी आजको अवस्थामा आइपुगेको तितो सत्यलाई हामीले आत्मसाथ गर्नेपर्छ । त्यस्तै वागमती नदि कोरिडोरमा भइरहेका फुटकर विकास निर्माणका कार्यले पनि नदिलाई फोहोर बनाउनमा भूमिका खेलेको छ ।
हाम्रो बुबा, हजुरबुबाको पुस्ता मात्रै होइन हाम्रै पुस्ताले समेत पौडी खेलेको वागमतीमा अहिले पानीमा बस्ने जीवजन्तु समेत बाँच्न नसक्ने अवस्थामा पुगेका छन्, समग्र मानवजाति र विशेषगरी महिला तथा बालवालिकाको स्वास्थ्यमा यसले प्रतिकुल असर पारिरहेको छ । पानीको सतह र गुणस्तर दुबैमा ह्रास आएको छ, हिउँदको समयमा वागमती बग्न नसक्ने अवस्थामा पुग्ने गरेको छ । प्रकृतिले दिएको उपहारलाई हामी मानवजातिले नाश गर्दै गइरहेका छौ ।

वागमती र यसका सहायक नदिनाला वरपरका बासिन्दा अझैपनि हिउँदको समयमा नदीमा आउने गन्धका कारण स्वस्थ्यमा प्रतिकुल असर पुग्ने संभावना निकै रहेको छ ।
बिंसं २०७० साल जेष्ठ ५ गतेबाट पूर्व मुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा शुरु भएको वागमती सफाइ महाअभियानले भर्खरैमात्रै ४००औं हप्ता स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान भन्ने मूल नाराको साथ विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाएको छ । सात बर्षको अवधिमा अभियान्ता, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, व्यक्ति, संघसस्था, स्कुल, कलेज लगायतले स्वतस्र्फुत रुपमा सरसफाइमा योगदान दिदै आएका छन् । जाडो, गर्मी, पानी झरी, कोरोनाको महामारी केहि पनि नभनी जनताहरु खोलामा पसेर नै सफाइ अभियान चलाइरहेका छन् । हरेक हप्ता सञ्चालन हुने अभियानले जति उपलब्धि हुनुपर्ने हो त्यो भन्दा धेरै कम मात्र उपलब्धि भएको देखिन्छ । एकतिर सफाई गर्ने र अर्को तर्फले नदिमा फोहोर फाल्ने प्रवृती अझै पनि गइसकेको छैन र अशिक्षित र चेतनाको अभावले भन्दा पनि प्रशस्त मात्रामा शिक्षा हाँसिल गरेका बुद्धीजीवी भन्नेहरु पनि यस्तो अनुशाशनहिन काम गर्नबाट अछुत रहेको देखिदैन । विहान मर्निङ्वर्क जाँदा घरको फोहोर पलाष्टिकमा लिएर जाने खोला किनारामा मिल्काउने प्रबृति अझै पनि कायम नै रहेको छ ।
अहिले पनि वागमतीमा ठाउँठाउँमा ढल मिसिने कार्य बन्द भएको छैन, अनाधिकृत रुपमा बसोबास गर्ने खोला छेउका मानिसहरुले शौचालयको फोहोर खोलामा मिसाउने काममा शुन्यता आउन सकेको छैन । वागमतीको पानीलाई पीउन लायक बनाउने लक्ष्य अनुशार अभियान सञ्चालन भइरहेपनि सात बर्ष वितिसक्दा पनि फोहोर तथा ढल रहित बन्न सकेको छैन, शहरी क्षेत्रमा नदीवरपरको फोहोर र फोहोर पानीले अभियन्ता र सरकार अनि स्थानीय बासिलाई गिज्जाइरहेको अवस्था छ । यसरी नै सफाइ अभियानमात्रै चलाउने तर फोहोर फाल्नेलाई कडाई गर्न नसक्ने, विना प्रशोधन ढलको फोहोर पानी मिसाइरहने र छेउछाउका अव्यवस्थित वस्तिलाई यतिकै नजरअन्दाज गरिरहने हो भने हाम्रो पुस्ताले अब कहिल्यै पनि वागमतीको पानी सफा हुन्छ भनेर कल्पना समेत नगर्दा हुन्छ ।
नदीले शहरको सुन्दरतालाई थप निखार ल्याइदिएको हुन्छ, हामी विदेशका ठाउँहरुमा घुम्न जाँदा सफा कञ्चन रुपमा शहरको बीचभागमा बगेका नदीहरु देखेर आनन्दीत हुन्छौ, फोहोरनदीलाई नै प्रयोग गरेर थुप्रै पर्यटकीय स्थलहरु विकास गरिएको छ, त्यहाँ रमाउँछौ र हामीकहाँ पनि यस्तै सफा नदी भइदिएहुन्थ्यो भन्ने चाहना पनि राख्छौ तर जब आफ्नो देशमा आउँछौ पान खाएर, चाउचाउका पाकेट, सुर्तीका प्याकेट नदीतिर मिल्काउछौ, बाटोमा जताततै फाल्छौ किनभने फोहोर फाल्नेलाई कडा सजाय हामीसँग छैन, कहिलेकाहिँ अभियन्ताहरुले फोहोर फाल्नेलाई जरिवाना पनि नलगाएका हैनन् तर एकदिन जरिवाना लगाएर यो कम हुँदैन, यसको लागि सरकारले विशेष ध्यान दिनु आवश्यक छ, अहिले स्थानीय सरकार छ, आफ्नो ठाउँको सरसफाइको जिम्मा स्थानीय सरकारले लिनु पर्छ, कारवाहि गर्ने जिम्मा पनि स्थानीय सरकारले लिनुपर्छ र सहि रुपमा अनुगमनको व्यवस्था गर्नुपर्छ । अहिले हातले नदीको फोहोर सफा गर्ने परिपाटिको अन्त्य गरेर प्रविधिको प्रयोग गरेर यसलाई प्रभावकारी बनाउनु पर्छ । सफाइ अभियान लम्विरहनु भनेको देशको लज्जाको कुरा हो, सफाइ अभियान लम्बिनु भनेको हामी सचेत नहुनु हो, सरसफाइ सम्बन्धि चेतना नहुनु भन्ने बुझाउछ त्यसैले सरकारले प्रमुख प्राथमिकता दिएर वागमती नदीको सुधारको योजना बनाएर कार्यानवयन गर्न आवश्यक छ, सफाई अभियानलाई परिस्कृत गर्न आवश्यकता छ र देशको समृद्धिको लागि पर्यटकिय क्षेत्रको रुपमा वागमती नदीलाई विकास गर्नको लागि केन्द्र र स्थानीय तहको भूमिका आवश्यक छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest