कानुन फितलो भएरै महिला हिंसा बढेको हो त?

Wednesday, May 30th, 2018

दुर्गा प्रधान, समाजसेवी
हुन त जहाँ पनि महिला हिंसा बढ्नु राम्रो होइन ।
यसमा पनि दुइ पाटा हुन्छन् । महिला शिक्षा र
चेतनाको कमी । हाम्रो देशमा चाहिँ महिला शिक्षाको कमीभन्दा पनि चेतनाको कमी नै हो । महिला शिक्षाको कमी त खै के भनौं ? मुलुकमा
राष्ट्र प्रमुख, प्रधानन्यायाधीस महिला भएर
अन्तराष्र्टिय पँहूच राख्ने र विभिन्न सामाजिक, आर्थिक क्षेत्र हाँक्ने हैसियत देखाइसकेका छन् महिलाले । देशको प्रमुख पद लगायत बिशेष स्थानमा महिला भएको हाम्रो देशमा दिन दहाडै ३ वर्ष देखि ७० वर्षसम्मका महिला बलात्कार हुन्छन् । त्यति मात्र होइन ८ महिनाकी बालिका पनि बलत्कृत हुनबाट जोगिन सकिन त्यो पनि आफ्नै बाबुबाट ।
यी घटनाहरु हेर्दा खोइ त महिलालाई मानव भएर बाँच्न पाउने अधिकार ? सेकेण्ड सेकेण्डमा महिला बिभिन्न प्रकारका हिंसाका सिकार हुन्छन् तर
सेलाएर नै जान्छ । दिन दिनै बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपीट गरिन्छ २,४, दिन चर्चा हुन्छ, अनि त्यत्तिकै सेलाएर जान्छ । विवाह गरेर पठाइन्छ अनि दाईजोका नाममा जलाएर मारिन्छ तर खासै कारवाहि भएको पाइदैन । पीडक केहि न केहि निहुँमा उम्कन सफल हुन्छ । कति दिन महिलाले यस्ता अन्याय अत्याचार खपेर बस्ने ?
अनि महिलाका मुद्दालाई सरकारले कहिले
सम्बोधन गर्ने ? ३६४ दिन महिलाहरु महिला हिंसा सहेर बसेका छन् भने एकदिन महिला दिवस मनाएर हिंसाको सम्बोधन होला र ? जबसम्म
देशमा महिलाका मुद्दा सम्बोधन हुँदैनन्, तवसम्म जति धेरै सामाजिक मुद्दा उठाएपनि महिलाहरु मानव भएर वाँच्न सक्ने अवस्था रहँदैन । महिला माथी आफ्नै घर परिवारबाट हुने हिंसा
रोक्न जरुरी छ । हुन त समाजमा महिलामात्र होइन ।
पुरुषहरु पनि पीडित हुन सक्छन् । महिलाको मात्र कुरा उठाउन खोजिएको भने होइन । तर पुरुष हिंसाका घटना खासै बाहिर आउँदैनन् । यदि भएमा पुरुषहरुले पनि निर्धक्क भएर वाहिर ल्याउन आवश्यक छ ।

महिला हिंसा रोक्नु देशको मात्र दायित्व होइन, हाम्रो पनि दायित्व हो । हामी यो देशको सचेत नागरिक हौं ।
यति हुँदा हुँदै पनि हामी हाम्रा छोरी, बुहारी, काम काजले घरबाहिर गएर राती ढिलो फर्किदा किन ढिला आयौ, कहाँ गयौ ? भनि चासो राख्ने अभिभावक नै आफ्ना छोरा, दाजुभाई वा श्रीमान् हुन्छन् । तर पुरुषहरु आउँदा किन ढिला आयौ ? को सँग गएर आयौ जस्ता कुराहरुको चासो नदिँदाको परिणामले पनि महिला हिंसा र बलात्कारको घटनालाई बढाएको हुनसक्छ, त्यसैले कमजोरी हामी महिलामा पनि
देखिन्छ । तसर्थ, बलात्कारका घटनालाई एउटैमात्र दृष्टिकोणबाट हेर्नु न्यायोचित हुँदैन ।

छोरीलाई धेरै चासो राख्ने हाम्रो समाजले छोरालाई किन स्वतन्त्र छोड्छ ? त्यसकारण छोराछोरीका बीचमा यस्तो दूर्गन्धित भेदभाव अन्त्य नभएसम्म बलात्कारका घटना दोहोरिरहन्छन् । अबको स्थायी सरकारले महिलाको अधिकारका लागि दीगो र बलियो कानुन बनाउनुपर्छ । गाउँगाउँमा गएर यौनशिक्षा र चेतना दिने नीति नियम बन्नुपर्छ । जात, लिङ्ग भेदभावबाट माथि उठ्नुपर्छ । महिलालाई गाउँ, समाज र सिंगो
राष्ट्रमा स्वतन्त्र भएर आफ्नो यावत कुराहरु सुख दुःख गर्ने स्वतन्त्रता हुनुपर्छ । प्रजातान्त्रको मर्म पनि यही हो । महिलामाथि हुने जुनसुकै हिंसा र हिंसाजन्य कार्य नियन्त्रका लागि निर्माण भएको कानुन कार्यान्वयनमा सबै लाग्नुपर्छ । अनिमात्र एउटा सुन्दर राज्यको कल्पना गर्न सकिन्छ । महिलामाथि हिंसा गर्ने राज्यका जुनसुकै तह र तप्काका व्यक्तिलाई
संरक्षण होइन, कानुनद्वारा दण्डित गरिनुपर्छ ।

अन्त्यमा, महिलामाथि हुने जुनसुकै हिंसाविरुद्ध
राज्यले कडा निगरानी राखी, पीडित हुने अवस्था आउन दिनुहुँदैन । विधिको शासन स्थापना होस्, फेरि पनि महिला हिंसाविरुद्ध कुनै आन्दोलन गर्न नपरोस् । साथै महिलालाई सक्षम, सबल राज्यका हरेक अंगमा समानरुपले समावेश गरी आर्दश समाज र देशको सिर्जना गर्नेतर्फ राज्य उन्मुख होस् । हरेक जनताको यहि चाहना हो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest