आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कारको अभियोगमा काभ्रेका एक होटल सञ्चालक पक्राउ परेका छन् । बनेपाको चारदोबाटोमा रहेको अरनिको मिठाइ भण्डारका सञ्चालक रामशरण हुमागाईं पक्राउ परेका हुन् । धुलिखेल नगरपालिका–११ घर भई हाल बनेपा नगरपालिका–७ चारदोबाटोमा होटल व्यवसाय सञ्चालन गर्ने २४ वर्षका हुमागाईले आइतबार राति आफ्नै होटलमा काम गर्ने एक १७ बर्षकी किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।

आरोपित हुमागाईलाई अनुसन्धानका लागि मंगलबार अदालतबाट ७ दिनको म्याद लिएको प्रहरी निरीक्षक सुनीलजंग शाहले जानकारी दिए । सुर्खेत घर भएकी युवती भदौ १२ गते उक्त होटलमा काम गर्न आएकी थिइन् । ९ कक्षामा पढ्ने उनी नियमित काम सकेपछि राति ८ बजेतिर दिदीको कोठामा फर्किदै गर्दा हुमागाईंले स्कुटरमा लगिदिन्छु भनेर होटलमा लगेर डर धम्की दिएर जबर्जस्ती गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । इलाका प्रहररी कार्यालयका इन्सपेक्टर शाहले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । हुमागाईंलाई जोगाइदिन भन्दै केही जनप्रतिनिधि र नेताहरुले समेत प्रहरीलाई दबाब दिएको स्रोतको भनाइ छ ।