कार्यक्षेत्रमा हुने महिला हिंसा नियन्त्रण गर्न के गर्नु पर्ला ?

Friday, September 13th, 2019

मञ्जु पौडेल, लोक गायिका
समाजमा विभिन्न तरिकाले महिला हिंसाका घटनाहरु घटिरहेका छन् । महिला भएकै कारणले घट्ने घटनाहरु पनि धेरै छन् । हुन त महिलाले पनि महिला हिंसा गर्ने गरेका छन् तर तुलनात्मक रुपमा महिला हिंसा पुरुषबाट बढि हुने गर्दछ । हिंसा कसैले पनि कोही प्रति पनि गरिनु हुदैन भन्ने सोच तथा चेतना सबैमा हुनु जरुरी छ । पुरुषले महिला प्रति हेर्ने संकुचित दृष्टिकोण परिवर्तन गर्नु पर्यो, हिंसा गरे पछि सजायको पनि भागिदार अवश्य नै हुनुपर्छ, त्यो सजाय भोग्नु पर्दा र त्यो सजाय पाए पछि समाजमा आफ्नो स्थान के हुन्छ भन्ने तर्फ पनि सोचिदिए महिला हिंसाका घटना कम हुनेथियो, साथै महिलाले पनि यदि आँफू हिंसामा परेको खण्डमा न्यायको लागि पहल गर्नुपर्छ, महिला हिंसा नियन्त्रणमा राज्यले विशेष कानूनहरु ल्याएको छ, विशेष व्यवस्था गरेको छ, ती कानून र राज्यको सहयोग हिंसा पिडित नारीले लिन सक्नुपर्छ, कानूनको कार्यान्वयनको पक्ष पनि उत्तिकै प्रभावकारी भएको खण्डमा महिला हिंसा नियन्त्रण हुन सघाउ पुग्नेछ ।
नबराज थपलिया, न्यायाधिश, उच्च अदालत, दिपायल
कार्यरत सबैमा महिलाप्रति सम्मानको भावना हुनुपर्छ, जसरी घरमा, परिवारमा आमा, दिदी, बहिनी, श्रीमती र छोरीहरुलाई सम्मानपूर्वक व्यवहार गरिन्छ त्यसै गरि आँफू कार्यरत स्थलमा रहेका महिलाहरुलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ । कर्मचारीको सेवासर्त सम्वन्धी कानूनमा यौनजन्य दुव्र्यवहार निवारण सम्वन्धी आवश्यक व्यवस्था गर्ने, यौनजन्य हिंसा वा दुव्र्यवहार हुन नदिन कर्मचारी तथा सेवाग्राहीलाई सजग गराउने, यौनजन्य दुव्र्यवहार दोहोरिन नदिन आवश्यक सुधारात्मक उपायहरु अवलम्वन गर्ने, पिडितलाई आवश्यकता अनुसार मनोविमर्श सेवा उपलब्ध गराउने, आवश्यकता अनुसार सुधार केन्द्रमा पठाउने देखि मनासिव क्षतिपूर्ति भराई कडा भन्दा कडा कारवाही गर्ने, कुनै व्यक्तिले पुनः दोहोर्याई महिला हिंसा गरेमा सेवाबाट वर्खास्त गरि पिडितलाई क्षतिपूर्ति भराउने र कडा कारवाही गर्ने, कार्यस्थलमा गुनासो पेटिका राख्ने, कार्यस्थलमा यौनजन्य तथा अन्य हिंसा नगर्न, गरेमा हुने परिणामको बारेमा सूचनामूलक सामाग्रीहरु राख्ने ।
सुलोचना श्रेष्ठ, ब्युटीसियन
कार्य क्षेत्रमा हुने महिला हिंसा नियन्त्रणको लागि सर्बप्रथम महिला आफँै सजग, सबल अनि निडर हुनु अत्यावश्यक छ । त्यस्तो कुनै पनि क्रियाकलापलाई मूकÞदर्शक भएर स्वीकार गरी बसेको खण्डमा हिंसा गर्ने व्यक्तिको मनोबल बढ़्न सक्छ । आफ्नो सुरक्षको लागि आफै सधै तयार हुनुपर्छ । तसर्थ त्यस्तो क्रियाकलापलाई तुरुन्तै हस्तक्षेप गरेर रोक्ने प्रयास गर्नुपर्छ । यदि यस्तो हस्तक्षेपको प्रतिकार गर्छ भने सम्बंधित निकायमा उजूरी गरिहाल्नु पर्दछ ।
अरुण पौडेल, व्यवसायी
पहिलेको तुलनामा अहिले महिला हिंसा विरुद्धका धेरै अभियान र चेतनामूलक कार्यक्रमहरु सक्रिय भए यता कार्यक्षेत्रमा हुने महिला हिंसा कम भएको छ जस्तो लाग्छ । कार्यक्षेत्रमा हुने हिंसा कार्यालयको प्रकृति, त्यहा कार्यरत समुह कस्तो छ भन्ने कुरामा पनि निर्भर हुन्छ भने कतिपय अवस्थामा आँफूमा पनि निर्भर गर्दछ, को संग कति मात्रामा खुल्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ, कार्यालयमा अनुशाशित वातावरण, माथिल्लो तह देखि तल्लो तह सम्मका कर्मचारीले कार्यालयहरुको नियम, विनियमहरु अक्षरशः पालना गर्ने, विद्यमान कानूनहरुको पालना तथा कसैले उल्लंघन गरेमा तत्काल कारवाहीको व्यवस्था भएमा कार्यक्षेत्रमा हुने महिला हिंसा नियन्त्रण गर्न सहज हुन्छ ।
रस्मिला थपलिया, नर्स
प्राचीन कालदेखि आज सम्म त्यो विकसित देशमा नै किन नहोस्, विभिन्न बहानामा महिला हिंसा हुदै आएको देखिन्छ । सामाजिक परम्परा, कुरीति, ज्ञानको कमि, अथवा महिला सशक्तीकरणको अभाव आदि महिला हिंसाका प्रमुख कारण हुन् । विशेषतः महिला हिंसा कार्य क्षेत्रमा माथिल्लो तह बाट अनेक लोभ, प्रलोभन, डर, धम्की जस्ता विभिन्न कारणबाट हुने भएकोले यस्तो समस्याको समाधान गर्न छुट्टै युनिट बनाउने साथै यदि कसैले यस्तो कार्य गर्ने वा गराउन खोज्ने प्रयास गरेको पाएमा हदैसम्मको कारबाहीको व्यवस्था गर्नु पर्दछ ।
कार्य क्षेत्रमा केहि घटना बाहेक, धेरै जस्तो अवस्थामा सुरुवाती चरणमा दुबै या सम्मिलित सबैको सम्बन्ध राम्रो हुने र स्थापित नजिकको सम्बन्धलाई एक पक्षले गलत अर्थ लगाउने तथा महिलाबाट अस्विकार हुँदा पनि महिला हिंसा भएको देखिन्छ । तसर्थ महिला आँफै पनि कुन हदसम्म, र कुन किसिमको सम्बन्ध स्वीकार्य हुन्छ भन्ने कुरामा सधै भरि होसियार हुनुपर्छ । कार्य क्षेत्रको अवस्था हेरेर महिला हिंसा हुने अनेकौं कारण हुनेहुँदा, उपयुुक्त कानुनको व्यवस्था, कार्य बिधि, विभिन्न किसिमका कार्यक्रम, सबै लिङ्ग तथा वर्गको लागि काम गर्ने वातावरणको विकास आदि महिला हिंसा घटाउने प्रमुख उपाय हुन् । विशेषत पहिला महिलाहरुलाइ नै जनचेतना जगाइ सक्षम बनाउने, महिला हिंसा सम्बन्धी जानकारिमुलक कार्यक्रम गर्ने, कार्यक्षेत्रमा महिला हिंसा विरुद्द एउटा युनिट राखेर महिला हिंसा बिरुद्धको गतिबिधि अवलोकन र निगरानी गर्ने आदि गरेमा पनि महिलाहिंसा कम हुनजान्छ।
 श्रद्धा के.सी, पत्रकार
महिला हिंसा घर देखी लिएर कार्यस्थलसम्म हुनेगर्दछ । बढीजस्तो कार्यस्थलमा आफ्नो पद, शक्ति र अधिकार दुरुपयोग गरी र राजनीतिक व्यक्तिको संरक्षणमा हुनेगर्छ । कसैलाई डर त कसैलाई प्रलोभन देखाएर गर्ने गरिन्छ । आवाज उठाए जागीर जाने डर र कसैलाई भने आफ्नो संगसंगै परिवारको बदनाम हुने डरको कारणले चुप बसेर कार्यक्षेत्रमा महिला हिंसा झन् बढ्दै गईरहेको छ ।
कार्यस्थलमा महिला हिंसा कमगर्न सर्वप्रथम हरेक कार्यलयमा सरकारी तहबाट चेकजांच भइरहनु जरुरी छ । कार्यस्थलका गतिबिधि सबैले ख्याल गर्नुपर्छ । व्यक्ति स्वयं सतर्क रहनु जरुरी छ, आवाज उठाउने चिच्याउने गर्नुपर्दछ, तालिम तथा जनचेतनामूलक कार्यक्रम भइरहनु पर्छ, आँफूलाई हिंसामा परेको छु जस्तो हुने बित्तिकै साथीभाई, घरपरिवार तथा संबन्धित निकायमा खबर गर्नु जरुरी हुन्छ, प्रमाण भेटेसम्म राख्नु पर्छ, प्रमुख कुरा घर होस् या कार्यस्थल हिंसा सहने बानी गर्नुहुन्न, आफ्नो लागि जबसम्म हामी आवाज उठाउँदैनौ तबसम्म यस्ता हिंसा रोकिदैन । काम पाईन्न र बदनाम हुन्छ भनेर अथवा डर धम्कीको कारण चुप लागेर बस्नहुन्न, हिंसा न्यूनीकरणमा सामाजिक अग्रसरता पनि महत्वपूर्ण हुन्छ । यसका लागि आवश्यक सचेतना तथा परामर्श पनि आवश्यक छ । भर्खरै नेपालमा पनि मि टु अभियान चलेको थियो तर अहिले सेलाएको छ । त्यस्ता अभियान सही तरीकाले चलिरहनु जरुरी छ ।

(नवनारी मासिक पत्रिका २०७६को असार अंकमा प्रकाशीत एक प्रश्न)

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest