के हो बैवाहिक वलात्कार ?

Thursday, November 15th, 2018

हरिराम पौडेल 

अधिवक्ता

२२ वर्षको उमेरमा विहे गरेकी रश्मी (नाम परिवर्तन) को मनमा सुहागरातको मीठो कल्पना थियो । विहेअघि कहिल्यै कोहीसँग यौन सम्वन्ध नराखेकी उनका लागि सुहागरात कौतुहलता नै कौतुहलताको विषय पनि बनेको थियो । विहे भइसकेका वा विहे अघि यौन सम्वन्ध राखेका साथीको कुराले उनको मनमा पनि काउकुती लगाउँथ्यो तर समाजले विहे अघिको यौन सम्वन्धलाई मान्यता नदिएकोले उनले त्यतातिर ध्यान नै दिइनन् । आफ्नो पतिकै लागि उनले कुमारित्व पनि साँचेर राखिन् । एक दिने विवाहमा झमक्क साँझ पर्दा भित्र्याइएको हो उनलाई । हिन्दू संस्कृतिअनुसारका विभिन्न चरण पार गर्दै शयन कक्षमा प्रवेश गर्दा भने रातको झण्डै ११ बजेको थियो । शयन कक्ष रश्मीकै वुवाले दाइजो स्वरुप दिएकोे खाट र खाटमा आरामदायी डसना र डसना माथी बुट्टेदार तन्नाले सजिएको थियो । उनीसँगै कोठामा प्रवेश गरेका थिए श्रीमान् पनि । मागी विहे भएकोले एक हिसाबले दुवैजना एक अर्काप्रति खुल्न सकेका थिएनन्, रश्मीको मन भने अव के हुने होला भनेर डराएको थियो । श्रीमान् उनी नजिकै आए, श्रीमान्को सामान्य छुवाई पनि रश्मीलाई करेन्टको झड्का जस्तो भयो । उनी केही बोलेनन्, रश्मीको शरीरबाट उनका कपडाहरु उतार्नतिर लागे । रश्मी निकै डराइन् तर प्रतिकारका कुनै शब्द व्यक्त गर्न सकिनन् । मधुरो प्रकाश भए पनि एउटा पुरुषले आफ्ना सबै बस्त्रहरु खोलिदिँदा लज्जाबोध पनि भयो उनलाई । उनी लाज र डरले आँखा खोल्न पनि सकिनन् । त्यसपछि खै के के भयो ? उनी सम्झिन पनि चाहन्नन् । भन्छिन्, त्यो रात मेरो लागि कालरात्री थियो, जीवनमा कहिल्यै नभोगेको पीडा मैले त्यही रात भोगेकी थिए ….विहेको एक वर्षमै उनीहरुको डिभोर्स भयो । रश्मीको भोगाई जस्तै सुहागरातमै बलात्कृत हुने नारीको संख्या समाजमा धेरै छ । श्रीमान्को यौन तृप्ति पूरा गरिदिन श्रीमती हरबखत तयार हुनुपने बाध्यताबाट समाजमा धेरै नारीहरु प्रताडीत छन् । बिरामी अवस्थामा, सुत्केरी भएको केही दिनमै श्रीमान्का लागि तयार भइदिनुपर्ने जस्ता समस्या पनि धेरै नारीले भोगेका छन् । आफूलाई चाहना नहुँदा नहँुदै पनि श्रीमान्का लागि तयार भइदिनुपर्ने बाध्यता पनि धेरै नारीको छ । यी र यस्तै घटनाको सामना गर्नुपर्ने अवस्थालाई नै सामान्य बुझाइमा बैबाहिक बलात्कार भनेर बुझ्न सकिन्छ । विवाहपछिको सम्बन्ध सुमधुर र मायालु बनाउने कडी यौन नै हो, यही यौन दुवै जनाको चाहना नवन्दा वा बनाउन नसक्दा बलात्कारमा परिणत हुन्छ । सम्वन्धविच्छेदको कारकसमेत बन्ने गर्छ । विकसित मुलुकका सन् उन्नाइससय साठी र सत्तरीको दशकमा बैवाहिक बलात्कार सम्वन्धी कानून बनेको इतिहास भए पनि नेपालमा भने दुइहजार पचहत्तर भदौ एक गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन दुइहजार चौरहत्तरले वैवाहिक बलात्कारसम्वन्धी विशेष व्यवस्था गरेको छ । ऐनको दफा दुइसय उनन्तीसको उपदफा (चार) अनुसार बैवाहिक सम्वन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गर्न नहुने र गरेमा दण्डनीय हुन व्यवस्था गरेको छ । आफ्नै पतिबाट बलात्कृत भएकी पत्नीका लागि ऐनले अझ विशेष व्यवस्थासमेत गरेको छ । जवरजस्ती करणीमा परेकी पत्नीले अदालतमा गएर भिन्न भिन्न किसिमको आदेश माग गरी निवेदन गर्न सक्ने विशेष व्यवस्था गरिएबाट पत्नीमाथि पतिबाट हुने बलात्कारलाई गम्भीर अपराध मानिएको प्रष्ट हुन्छ । विशेष व्यवस्थाभित्र के के पर्छन् ? क) पतिबाट बलात्कृत पत्नीले पतिबाट अरु मानसिक र शारीरिक यातनासमेत खेप्नुपर्ने, पतिको परिवारलेसमेत निजलाई विभिन्न समस्यामा पार्नसक्ने सम्भावनाप्रति ऐन संवेदनशील रहेको छ । ऐनको दफा दुइसय उन्नाइस (पाँच) बमोजिम पत्नीलाई निज बसोवास गर्दै आएको घरमा बसोवास गर्न दिन, पत्नीलाई खान लाउन दिन, कुटपीट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न अदालतले आदेश दिन सक्नेछ । ख) पत्नी शारीरिक वा मानसिक बिरामी परेको अवस्थामा पत्नीको आवश्यक उपचार गराउन वा उपचारका लागि लाग्ने उपयुक्त रकम दिन लगाउन अदालतले आदेश दिन सक्नेछ । ग) पति, पत्नी दुवै एकै ठाउँमा बसोवास गर्न उपयुक्त हुने नदेखिएमा पत्नीलाई अलग बस्ने व्यवस्था गर्न तथा त्यसरी अलग बस्दासमेत पत्नीको भरणपोषणका लागि अदालतले आवश्यक व्यवस्था गर्न लगाउन पतिलाई आदेश दिन सक्नेछ । घ) पतिले पत्नीलाई कुनै प्रकारले पनि दुःख दिने वा सताउने कार्य नगर्न र पत्नीको हीत, सुरक्षा र आत्मसम्मानका निमित्त आवश्यक अन्य कुरा गर्न वा गराउन अदालतले आवश्यक आदेश दिनसक्ने व्यवस्था छ । उजुरी कहाँ दिने ? पतिले जवरजस्ती करणी गरेमा नजिकको प्रहरी कार्यालयमा आफूले देखे जानेसम्मको सवुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित जाहेरी दरखास्त वा मौखिक सूचना वा विद्युतीय माध्यममार्फत सूचना दिनुपर्छ । उजुरी कहिले दिने ? पतिबाट बलात्कृत पत्नीले घटनालगत्तै वा ढिलोमा एक वर्षभित्र उजुर दिनुपर्ने र एक वर्षपछि दिइएको उजुरी नलाग्ने व्यवस्था रहेको छ । सजाय कति हुन्छ त ? बलात्कार गर्ने पतिलाई पाँच वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest