काठमाडौं:दक्षिण कोरियाबाट फर्केका धादिङको ज्वालामुखी गाउँपालिकाका २८ वर्षीय युवाको र्यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।आफू कोरियाबाट फर्केको ४० दिन भएको बताउने उक्त युवाको आज र्यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएको वडा नम्बर ३ का वडाध्यक्ष रुद्रमान श्रेष्ठले जानकारी दिए।उनले युवकलाई आजै काठमाडौं पठाउने तयारी भइरहेको बताए।एम्बुलेन्स तयारी हुँदैछ,केहीबेरमा टेकु अस्पताल पठाउँदैछौं, उनले भने।
सामाजिक संस्थामा काम गर्ने युवक झन्डै दुई महिना कोरिया बसेर फर्किएको बुझिएको छ। उनी कोरियाबाट आएर सोझै हेटौंडा पुगेको र त्यहाँबाट धादिङ फर्किएको भन्ने छ।उनी घर पुगेपछि वडाध्यक्ष आफैं स्वास्थ्यकर्मीको टोली लगेर उनलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका थिए। युवकले आफू आएदेखि नै सेल्फ क्वारेन्टाइनमा बसेको भन्दै क्वारेन्टाइनमा बस्न नपर्ने भने।
वडाध्यक्ष श्रेष्ठले भने, त्यसपछि उहाँलाई होम क्वारेन्टाइनमा बस्न भनेर फर्कियौं ।उनका अनुसार युवकलाई सुरूमा सामान्य ज्वरो पनि आएको थियो। युवकले आफूलाई मौसमी ज्वरो आएको बताएका थिए। आज भने युवकको र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको छ।युवकका परिवारमा तीन जना सदस्य छन्। उनीहरूलाई पनि भोलि क्वारेन्टाइनमा राख्ने तयारी वडाले गरेको छ।