कोरोनाको उपचार गराइरहेकी दोस्रो सङ्क्रमित युवती निको भएर घर फर्किइन्

Saturday, April 18th, 2020

काठमाण्डौःकोरोना भाइरस (कोभिड १९) सङ्क्रमित दोस्रो व्यक्ति पनि उपचारपछि निको भएर घर फर्किएका छन् । काठमाण्डौको शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी स्वस्थ भएर एक युवती शनिबार घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिए।
गएको चैत १० गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनले उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी छिन् ।
काठमाण्डौ घर भएकी उनी गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाण्डौ आएकी थिइन् । गएको चैत ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।त्यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका अर्का एक जना कोरोना सङ्क्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर अनुप बाँस्तोलाले जानकारी दिए । यसअघि पहिलो सङ्क्रमित पनि उपचारपछि निको भएर फर्किसकेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण उपचारपछि निको हुने भएकाले बेलैमा उपचार गराउन र सतर्क रहन डाक्टरहरुले सुझाव दिँदै आएका छन् । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest