क्याम्पस हाताभित्रै यौन दुव्यावहार

Sunday, October 7th, 2018

 

अनुज सापकोटा,
सुनसरी ः इटहरीस्थित जनता बहुमुखी क्याम्पस प्रशासनले क्याम्पस हाताभित्र एक मजदुर महिलामाथि भएको यौन दुर्व्यवहारको उजुरीमा बेवास्ता गरेको छ ।क्याम्पस हाताभित्रको चमेना गृहमा भाँडा माझ्ने २४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको उजुरी क्याम्पस प्रमुख समक्ष पुगे पनि क्याम्पसले बेवास्ता गरेको हो ।गत भदौ २५ गते बिहान ४ बजे चमेना गृहमा भाँडा माझ्न जाने क्रममा गेट खोल्न लगाउँदा सुरक्षा गार्ड देविन्द्र दाहालले महिलालाई यौन दुर्व्यवहारको आशयले शरीरका विभिन्न ठाउँमा छुने, हैरानी दिने गरेको महिलाले बताईन् ।
उक्त घटनाबारे क्याम्पसका प्रमुख भोजराज श्रेष्ठलाई महिलासहित चमेना गृह सञ्चालक सुनिल कार्कीले जानकारी गराई दाहाललाई कारबाहीको माग गरे पनि बेवास्ता गरेको पीडित महिलाले बताईन् ।सोहि सम्बन्धमा क्याम्पस प्रशासनले भने लिखित उजुरी नआएको भन्दै उम्कने प्रयास गरेको छ । क्याम्पसका प्रमुख भोजराज श्रेष्ठ लिखित उजुरी नआएकोले आफूले यौन दुर्व्यवहारको उजुरी नगरेको बताउँछन् ।यद्यपि उनले बिहान ६ बजे अगाडि क्याम्पसको गेट खोलेर क्याम्पस प्रशासनको नियम विपरित काम गरेको भन्दै सुरक्षा गार्ड दाहाललाई नसियत दिएको बताए । नसियतमा यौन दुर्व्यवहारबारे भने केही उल्लेख गरिएको छैन ।
क्याम्पस प्रशासनले पीडकलाई कारबाही गर्ने आशामा २५ दिनसम्म कुर्दा पनि कारबाही नभएपछि पीडित महिलाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी गरेकी छिन् ।महिलाले बिहीबार प्रहरीमा यौन दुर्व्यवहार गरेको उजुरी दिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी शिवकुमार श्रेष्ठले बताए ।
प्रहरीले बिहीबार नै आरोपी दाहाललाई पक्राउ गरिसकेको जनाएको छ । ‘उजुरीमा मुलुकी अपराध (संहिता) ऐनको दफा ११८ अनुसार कारबाहीको माग गरिएको छ’ डिएसपी श्रेष्ठले भने, ‘सोही ऐन अनुसार कारबाहीको लागि अनुसन्धान गरिरहेका छौं ।’

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest