गलैंचा उद्योगलाई सरकारले उपेक्षा गरेको छ

Friday, October 5th, 2018

शोभा गुरुङ, व्यवसायी

व्यवसायमा कसरी प्रवेश गर्नुभयो ?
विवाहपछि श्रीमान र परिवार नै कार्पेटको काम गर्नुहुन्थ्यो । म स्वयम् म्यानेजमेन्टको विद्यार्थी भएकाले सानो तीनो भए पनि व्यवसाय नै गर्ने इच्छा थियो । विस्तारै मैले पनि कार्पेटमै काम गर्न थालँे । सोही क्रममा वि.सं. २०५१ मा आफ्नै नाममा व्यवसाय सुरु गरेँ । सुरुमा कसैले सहयोग गरे गरोस्, नगरे नि केही हुँदैन, एक्लै सकिहाल्छु भन्ने सोचका साथ आफ्नै नाममा कम्पनी दर्ता गरेर काम थालेँ । विस्तारै घरपरिवारको पनि सहयोग पाएँ । सबै परिवार यही व्यवसायमा भएकोले असहज भएन ।
कस्तो कस्तो समस्या झेल्नुभयो ?
यो व्यवसाय अन्य व्यवसायभन्दा फरक किसिमको भएको र यसमा प्रयोग हुने कामदार गाउँबाट आउने भएकाले डिल गर्नु चुनौतीकै रुपमा लिइन्छ । पैसा फस्ने पो होकी भन्ने डर हुन्छ । साथै यो व्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धा पनि छ, हामीले सुरु गरेको बेलामा गलैँचा व्यवसाय एकदमै फैलिएको थियो, त्यसले गर्दा कामदार पाउन गाह्रो थियो । पाएको कर्मचारी पनि पेस्की लिएर जाने र पछि नआउने कारण व्यसाय नै डुब्छ कि भन्ने पीर हुन्थ्यो । पुरुषले सञ्चालन गरेको व्यवसायभन्दा महिलाले गरेको व्यवसायमा सबै तर्फबाट हेपाहा प्रवृति हुन्थ्यो, यस्ता समस्या सुरुका दिनमा आए । महिलाको हो, बिचमा बन्द पनि हुन सक्छ भन्ने खालको अविश्वास पनि पैदा भएको थियो । महिला भएकै कारण पहिलो त समयको म्यानेज निकै चुनौतीपूर्ण थियो । यो महिला हो, यसले के नै गर्न सक्छे र भन्ने मानसिकता थियो । महिलालाई दोस्रो दर्जाका रुपमा लिएका कारण महिला भएर यस्तो काम गरेको छ । कुन दिन व्यवसाय सकिन्छ भन्ने सोचका कारण अप्ठयारो हुन्थ्यो ।
प्रतिस्पर्धा कस्तो थियो ?
अस्वस्त प्रतिस्पर्धा छ । अस्वस्थ्य प्रतिस्पर्धाकै कारण त्यत्तिबेला नेपालमा गलैंचा धेरै उत्पादन हुन्थ्यो । त्यत्ति बेला नै नेपाली गलैंचा क्षेत्रमा समस्या आयो । बालमजदूरको कुरा आयो । नेपाली गलैंचा युरोपमा जान्थ्यो । बच्चाले बनाएको कार्पेट हामी नलिने भनेर समस्या आयो । गलैंचामा पनि बैंकहरुले लगानी गर्ने भनेर लागेको वेला व्यवसाय नै ठप्प भयो । यो व्यवसायमा धेरैवटा च्यानल हुन्छन्, ती च्यानलको व्यवस्थापन चुनौतीपूर्ण थियो । तर हामीले हिम्मत जुटाएर काम ग¥यौं । केही लोनमा केही घाटा खाएर सामान बिक्री गरेरै भएपनि यसलाई निरन्तरता दियांै ।
 अहिलेको बजारलाइ तुलना गर्दाकस्तो लाग्छ ?
अहिलेको तुलनामा पहिलाको गलैंचाको बजार धेरै राम्रो थियो । नेपाली गलैंचाले विश्वमै नाम कमाउन सफल भएको थियो । त्यसबेला नेपाली कार्पेट भन्नेवित्तिकै राम्रो, गुणस्तरीयमा गनिन्थ्यो । एकैपटक कार्पेटमा लगानीकर्ता वृद्धि भए र उत्पादन पनि वृद्धि भयो । मागभन्दा बढी उत्पादन हुनेवित्तिकै व्यवसाय खस्किने त भइहाल्यो । त्यत्तिबेला नेपालमा विदेशी मुद्रा आर्जन हुने कार्पेट नै प्रमुख थियो तर पछि रेमिट्यान्स पनि भित्रिन थाल्यो । कामदार पनि विदेश केन्द्रित हुन थाले । त्यसैले नेपाली कार्पेटको बजार सँगसंँगै उत्पादन पनि खस्किदै गयो ।
नेपाली कार्पेट महँगो हुन्छ भन्ने सोचाइ छ नि ?
नेपालमा हाम्रो आफ्नै कच्चा पदार्थ छैन, त्यसका लागि हामी विदेशकै भर पर्नुपर्ने अवस्था छ । नेपालमा म्यानपावर पनि महँगो छ । अरु देशमा गलैँचा व्यवसायीलाई ती देशका सरकारले विभिन्न सुविधा दिएका छन्, नेपालमा केही छैन । विगत ४ वर्षअघिदेखि निर्यातवापत ४ प्रतिशत नगद अनुदान दिन सुरु गरेको हो । त्यो त हात्तीको मुखमा जीरा जस्तै छ । नेपाल सरकारले गलैंचा व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक छ । जसले गर्दा पनि नेपाली गलैंच महँगो पर्न गएको हो ।
नेपाली कामदार महँगो हुनुको कारण ?
विभिन्न ट्रेड युनियन छन् । उहाँहरुको दिमागमा यो गलैंचा उद्योगबाट डलर भित्रिन्छन्, जसको फाइदा चाहिँ कम्पनीको मालिकलेमात्र लिन्छ भन्ने गलत धारणा रहेको छ । वास्तवमा विभिन्न च्यानल, बैंक ऋणलगायत ठूलो जोखिम हुन्छ तर युनियनले व्यवसायीले मात्र पैसा कुम्ल्याउँछन् भनेर आन्दोलन गर्न थाल्छन् । जसले गर्दा कामदार महँगो हुन गएको हो ।
व्यवसायिकरुपमा सफल हुन के गर्नुपर्छ ?
जुनसुकै व्यवसायमा पनि सफल हुन त्यो देशको नीति, नियम, कानुनको महत्वपूर्ण भूमिका हुन्छ । नेपालको सन्दर्भमा हेर्दा हरेक कुरामा ट्याक्स छ । सानो तीनो व्यापार व्यवसाय गर्नेले पनि कर तिरेकै हुन्छन् । कर तिर्ने व्यवसायीसँग सरकारले छलफल गरेर नीति निर्माण गर्दा उपयुक्त हुन्छ । जसले गर्दा व्यवसायमा सफलता हासिल गर्न सकिन्छ ।
उद्योग व्यवसायलाई व्यवस्थितरुपमा अघि बढाउन के गर्नुपर्ला ?
सबैभन्दा पहिले नीति नियमको कार्यान्वयन हुनुपर्छ । नेपालमै कच्चा पदार्थ उत्पादन गर्नुपर्छ । गलैंचाका लागि उन यही उत्पादन गर्न सकिन्छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा सहुलियत दिनुपर्छ । सरकारले कर बढाउनेमात्र होइन, नेपाली वस्तुको उत्पादन बढाउन र बजार प्रवद्र्धनमा पनि जोड दिनुपर्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest