गीतकार संघ नेपाललाई अमर बान्तुले दिए १५ लाख

Friday, March 30th, 2018

 

हरिराम पौडेल
काठमाण्डौ ःकवि तथा गीतकार अमर बान्तुले गीतकार सङ्घ नेपालको अक्षयकोषका लागि रु १५ लाख रुपैया प्रदान गरेका छन् । भोजपुर दिल्पा नागीँ जन्म भई हाल ललितपुर मानभवन बस्ने बान्तु गीतकार सङ्घ नेपालका आजीवन सदस्य पनि हुन् ।
अमर बान्तुले गीतकार सङ्घ नेपालको कार्यालय, विजुलीवजार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सङ्घका अध्यक्ष चूडामणि देवकोटालाई उक्त रकमको चेक हस्तारन्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरिष्ठ कवि तथा गीतकार पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले अमर बान्तु मन र धन भएका अत्यन्त भावूक स्रष्टा भएको बताउँदै ‘सार्वजनिक जीवनमा रहँदा धेरै राम्रा नराम्रा कार्यमा साक्षी बसियो होला तर यस्तो पूण्य कार्यमा साक्षी बस्न पाउनु ठूलो सौभाग्य’ भएको बताए ।सङ्घका अध्यक्ष चुडामणि देवकोटालाई चेक हस्तारन्तरण गर्दै दाता अमर बान्तुले सम्पूर्ण गीतकारहरुको साझा संस्था गीतकार संघ नेपालको निरन्तरताको कामना गर्दै आँफूले दान गरेको रकमबाट स्रष्टाहरुलाई गीत लेखनमा प्रोत्साहन मिल्ने आशा व्यक्त गरेका थिए ।
गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटाले आफ्नो मन्तव्यको क्रममा स्रष्टाहरुले लिन भन्दा दिन जान्छन्, स्रष्टाले गीत सङ्गीतको माध्यमबाट जनतालाई मनोरञ्जन र चेतना मात्र बाँड्दैनन् आफूजस्तै स्रष्टाहरुको हकहीत संरक्षण गर्दै नेपाली गीत सङ्गीत र वाङ्मयको विकाशमा समर्पित संस्थालाई बचाउन पनि त्याग गर्न जानेका छन् भन्दै महाकवि देवकोटाको कविताको पंक्ति ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ आफू मिटाई अरुलाई दिन जहाँ छ’ भन्ने उक्ति आज अमर बान्तुबाट चरितार्थ भएको बताए ।कार्यक्रममा गीतकार संघ नेपालका उपाध्यक्ष भरत बमजन, महासचिव शुभ मुकारुङ, सचिव बसन्त वित्यासि थापा तथा कार्य समितिका सदस्यहरु बालक गुरुङ, दिलेन्द्र मुकारुङ, अमृतलाल सुनार, कवि तथा गीतकार अमर बान्तु कि धर्मपत्नी भावना राई, प्राज्ञ शान्तिराम राई, प्रस्तोता समाजका सचिव भीषण मुकारुङ, निवर्तमान सचिव राम भट्टराई लगायतका व्यक्तित्वहरुकोे उपस्थिति रहेको थियो ।
गीतकार वान्तुका हालै मात्र ‘अमर भावना’ नामक एल्बम तथा ‘परिभाषाका राटाँहरु’ नामक कविता तथा गीति पुस्तक विमोचन भएको थियो । बान्तुका ४४ वटा गीतहरु र १२ वटा कविता संग्रहित पुस्तक ‘परिभाषाका राँटाहरु’ र १२ वटा गीतहरु सङ्ग्रलित एल्वम ‘अमर भावना’ एल्वममा फूल जस्तै, जिन्दगीका दौडमा, फक्रदै रहरहरु, युगौं भयो, जन्मने रहर, हिड्नु पर्ने, भोजपुरैको बजार, आमा, यति धेरै, ओठमा आईलगायतका १२ वटा गीतहरु रहेका छन् जसमा राजु सिंह, न्यु बज्राचार्य, शान्तिराम राई, राज सागर, पारस मुकारुङ र मनोज थापाको सङ्गीतमा अन्जु पन्त, एड्रिन प्रधान, उदय सोताङ, राजेश पायल राई, राज सागर, स्वरुपराज आचार्य, बानिका प्रधान लगायतको सुमधुर आवाज रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest