गोरीकलाको हत्यामा संलग्न ट्राफिक प्रहरी सहित ३ जना पक्राउ

Wednesday, March 28th, 2018


  -खेमराज जैसी,
सुर्खेत, चैत १४ःमङगलबार विहान सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित बाबियाचौरमा मृत फेला परेकी छात्रा गोरीकलाको हत्या भएको खुलेको छ।हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ट्राफिक प्रहरी जवानसहित ३ जनालाई पक्राउ गरेको छ। पञ्चपुरी नगरपालिका–३, चौर घर भई एसईई परीक्षा दिन बाबियाचौर आएकी गोरीकला रोकायाको हत्यामा प्रहरीको संलग्नता रहेको समेत रहस्य खुलेको छ।हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो। यस्तै, पञ्चपुरी नगरपालिका–८ का लक्ष्मीप्रसाद बास्तोला पनि हत्यामा संलग्न भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्राफिक प्रहरी कोइरालाले शारिरीक सम्बन्धका लागि आफूलाई ‘केटी मिलाउन’ आग्रह गरेपछि गोरीकलालाई उनीसँग भेट गराइदिएको बास्तोलाले बयान दिएका छन्। उनले दिएको बयान अनुसार त्यसपछि गोरीकला र प्रहरी जवान कोइरालाले सोमबार दिउँसो डेरादेखि केही टाढा जंगलनजिक बसेर मदिरासहित खाजा खाएका थिए।त्यहाँबाट फर्कने क्रममा ती प्रहरी जवानले चलाएको मोटरसाइकलबाट खसेर युवती घाइते भएको र, घाइते अवस्थामै मेडिकल नलिई उसकै डेरामा सुताएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) उमाप्रसाद चर्तुवेदीले बताए। उनका अनुसार युवतीको मृत्यु राति करिब एक बजेपछि भएको अनुमान गरिएको छ।
१८ वर्षीया गोरीकला मंगलबार बिहान बाबियाचौरस्थित डेरामै मृत अवस्थामा भेटिएकी थिइन्। प्रहरीले बुधबार (आज) दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् अभियुक्त सार्वजनिक गर्ने तयारी गरेको छ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest