जीवन साथी सुखमामात्रै होइन, दुःखको पनि साथी हो । अर्थात जीवनभरको साथी । एक अर्काको उत्तिकै सहभागिताले मात्रै जीवनयात्रा चल्न सक्छ । तर यसमा दुबैले ब्यालेन्स मिलाउन सक्नुपर्छ । एकको प्रयासलेमात्रै सम्बन्ध अगाडि बढ्दैन ।कलाकारिता क्षेत्रमा आफूलाई लोकप्रिय बनाएका शिवंशकर र श्रीजाको जीवनयात्रा पनि यस्तै सुख दुःख भोग्दै एक अर्कामा माया साट्दै कहिले थोरै अलिकति रिस, अनि अलि धेरै माया यसरी नै चल्दै आयो एक दशकभन्दा लामो वैवाहिक सम्बन्ध ।
कलाकारितामा आफूलाई अब्बल बनाएका शिंवशकर रिजाललाई उनको वास्ताविक नामले भन्दा पनि जोगिन्दरको नामले चिन्ने गर्छन् दर्शकले ।
विश्वका थुप्रै मुलुक यहि कलाकारिताको माध्यमबाट घुमिसकेका उनलाई हिमालय टेलिभिजनको जोगिन्दरको पान पसलले
हरेक क्षेत्रका दर्शकमाझ चिनाएको छ । २०३६ सालमा सर्लाहीमा जन्मेका जोगिन्दरले एसएलसीसम्मको अध्ययन आफ्नै गाउँबाट गरे भने बिएडसम्मको अध्ययन भने चन्द्रनिगाहपुरबाट गरेका हुन् । एमएड भने उनले पूरा गर्न सकेनन् । श्रीजा तराईको बारा जिल्लामा जन्मिएकी हुन् । त्यहीको कुल्बी स्कूलबाट स्कुलस्तरको पढाई पूरा गरेकी उनले हेटौडाबाट १२ सम्म पढिन् । बाँकी अध्ययन भने उनले काठमाडौमा गरिन् ।
शिवशंकर २०५३ सालतिर राजधानी छिरेका थिए । कुकुरले टोकेकोले रेविजको सुइ लगाउनुपर्ने थियो उनलाई । त्यो त वहानामात्र थियो, उनलाई धरहरा हेर्नुथियो, चिडियाखाना हेर्नुथियो । यसरी
राजधानीमा छिरेका शिवशंकरले आफ्नो अभिनय कलाबाट संसारको मनमात्रै जितेनन्, आफ्नी श्रीमतीका पनि अत्यान्तै प्यारा छन् ।
दुवै परिवारको सहमतीमा मागी विवाह गरेका जोगिन्दर अलि कालो बर्णका, अनि श्रीजा गोरी । गोरी देख्नेवित्तिकै शिबशंकरलाई मन
परिहाल्यो । विवाहको कुरा आएपछि श्रीजाको अंकलको घरमा श्रीजालाई खाना खाना बोलाइयो । श्रीजा भन्छिन्–उहाँलाई हेर्न
बोलाइएको रहेछ तर मलाई थाहा थिएन । जोगिन्दर भन्छन्–मैले साथी शेखरलाई लिएर गएको थिए लमीका रुपमा । शनिबारको दिन थियो, दिल भन्ने हिन्दी फिल्म टिभीमा चलिरहेको थियो । उनी त्यो फिल्म हेर्दै बसेकी थिइन् । उनलाई देखेपछि म कालो मान्छेलाई यत्तिको केटी भयो भने चाँहि जीवन चल्छ भन्ने लाग्यो । कालोले गोेरी नै
खोज्नेरहेछ, गोरी देख्ने वित्तिकै मनपरिहाल्यो, उनी हाँस्दै भन्छन् । उनले टिभी हेरिरहिन्, मलाई हेरिनन् तर मैले भने उनैलाई हेरेँ कलिली गोरी केटी मनमा बसिहालिन् ।
जब जोगिन्दरहरु फर्किए, अनिमात्रै आफुलाई हेर्न आएका रहेछन् भन्ने कुरा आन्टीबाट श्रीजाले थाहा पाइन् । उनी अलमल्लमा परिन् । नाइ भन्ने कि, हुन्छ भन्ने भयो । उनी भन्छिन्–आफूभन्दा ठूलाको कुरा काट्ने स्वभाव मेरो थिएन, अंकलले हामीले हेरेको केटा हुन्छ कि हुन्न भन्नुभयो, मैले नाइ भन्न सकिनँ । सिरियलमा खेल्ने कलाकार हुन् भन्ने पनि उनलाई त्यतिबेला मात्र थाहा भयो । त्यसपछि भने उनको त्यो बेला चलिरहेको एक्सक्यूज मी सिरयल हेरिन् । उता
शिवशंकरलाइ ज्योतिषीले पनि उनकै बारेमा भनेजस्तो लाग्यो । चिना
देखाउँदा भनेकी जस्तै केटी, उनलाई भगवानले मेरै लागि पठाउनु भएको रहेछ भन्ने लाग्यो । श्रीजाले विहे हुने पक्का भइसकेपछि जोगिन्दरलाई
टिभीमा देखिन् । आफूले विहे गर्ने केटा टिभीमा खेल्ने कलाकारभन्दा उनलाई खुशी लाग्यो ।
विहेपछि शिवशंकरले बाहिर हेर्छन्, अनि घरपरिवारको जिम्मा श्रीजालाई ।
घरको काममा शिवशंकर त्यत्ति सघाउँदैनन् । श्रीजालाई बानी परेर
होला, सघाएहुन्थ्यो भन्ने पनि लाग्दैन । उनी अल्छि छन्, पछि के हुन्छ थाहा छैन तर अहिलेसम्म आफंै खाना खाएको उनलाई अनुभव
छैन । श्रीजा दिनमा अफिस गर्छिन्, अनि बिहान बेलुका घरमा । दुइ सन्तानका अभिभावक जोगिन्दरलाई पहिलो सन्तान छोरा होस् भन्ने चाहना थियो किनकि उनको परिवारमा सवै दाजुभाईका सन्तानमा छोरीमात्रै थिए । जोगिन्दरका वुवाको इच्छा भने छोरा जन्मियोस् भन्ने थियो । जोगिन्दर भन्छन्– सायद स्वर्ग पुगिन्छ नातीको मुख हेरेर भन्ने पनि थियो होला तर साँच्चै नै पहिलो सन्तान छोरा भयो । यो जोडीलाई दोस्रो सन्तान भने छोरी होस् भन्ने चाहना थियो तर दोस्रो सन्तान पनि छोरा नै भयो ।
हुनत छोरा या छोरी जे भएपनि सन्तान उत्तिकै हुन् भन्ने मान्यता
राख्ने जोगिन्दरलाई एक छोरा, एक छोरी भए अझ राम्रो हुन्थ्यो भन्ने लागेको थियो तर छोरामात्रै हुँदा पनि आफू सन्तुष्ट रहेको बताउँछन् । जोगिन्दर भने पूर्णरुपमा बारिहको काम, कलाकारितामै व्यस्त हुन्छन् ।
जोगिन्दरलाई श्रीजाले पकाएको माछा साह्रै मनपर्छ । उनी तराइकी भएकीले पनि साह्रै मीठो माछा बनाउँछिन् । श्रीजालाई जोगिन्दरको अधिकांस बनी मनपर्छ, उनी त्यत्ति रिसाउँदैनन्, जुन बानी असाध्यै मनपर्छ । अरु जस्तो रिसाएपछि मुख फुलाएर बस्न जान्दैनन् उनी । शिवशंकरलाई पनि श्रीजा पर्फेक्ट महिला लाग्छिन् । घरपरिवारलाई मिलाएर अगाडि बढेकी छिन्, छोराछोरीलाई असल संस्कार दिएकी छिन् । शिवशंकरले भने छोराछोरीलाईसमेत समय दिन भ्याएका हुँदैनन् ।
समय दिन पाए हुन्थ्यो भन्ने त लाग्छ । नेपालका केही ठाउँबाहेक बाहिरतिर दुबैजना सँगै घुम्न जान पाएका छैनन् । नेपालका अधिकांस ठाउँ पोखरा, चितवन, लुम्बिनीलगायत भने सँगै घुमेका छन् ।
विहे गरेको वर्ष नै सौराह भने घुम्न गएका थिए । कहिलेकाँही
सानो–तिनो झगडा पनि पर्छ तर अहिलेसम्म झगडाले ठूलो रुप भने लिएको छैन । सामान्य व्यवहारिक कुराहरुमै हो झगडा पर्ने । बुढाबुढीको झगडा परालको आगो भने जस्तै हुन्छ भन्छन् शिवशंकर ।
एकअर्काको कुरा बुझ्ने भएकोले नै अहिलेसम्म खुशीसाथ जीवन
अगाडि बढिरेहेको श्रीजा बताउँछिन् । सवैभन्दा पहिलो कुरा एक
अर्काको माया हो, माया ले नै विश्वास गर्न सिकाउँछ भन्ने कुरालाई दुबैले स्वीकारेका छन् ।