ग्रीनकार्डवालाकी आमा

Wednesday, August 22nd, 2018

जीवन भोगाइ हो भनिन्छ, सायद उनको जीवनमा पनि ती सबै कुरा भोग्नकै लागि लेखिएको थियो होला । दुइजना छोरा र श्रीमान्का साथ खुशी जीवन जिउँदै आएकी गोरी आमाको जीवन सोचेभन्दा फरक भयो । सानै उमेरमा आफूभन्दा झण्डै दोब्बर उमेरको पुरुषसँग विवाह गरेकी गोरी आमाको जीवनको कहानी सुन्दा कमैले मात्र आसु रोक्न सक्थे । यद्यपी गोरी आमा आफ्नो कहानी सुनाउँदै हिड्ने भने गर्दिन थिइन् । भोगाइ र देखाइ फरक पाटा भए झै गोरी आमाको जीवन पनि त्यस्तै थियो । लामो समयदेखि काठमाडौं बस्दै आएकी गोरी आमा अचानक फेरि गाउँ फर्किइन् ।
उनी गाउँमा सबैसँग मिलनसार थिइन्, गोरो वर्ण, लाम्चो अनुहार म उनलाई देख्दा मनमनै कल्पना गर्थेँ, उमेरमा कस्ती थिइन् होला यी आमै । जाडोयाम थियो, चौरमा बच्चा, केटा केटी तथा बुढापाका मानिसहरु घाम तापेर आफ्नो कुराहरु सुनाउँदै थिए । म भर्खरै कक्षा ११ पढ्दै गरेको हुनाले खासै काम थिएन । म पनि घाम ताप्दै थिए । लामो समयपछि काठमाडौंबाट गाउँ आएकी गोरीले कमैलाईमात्र चिन्थिन् । उनी तिमी फलानोको छोरा छोरी हौं भनेर सोधेर कुरा गर्थिन् । म तिनै गोरी आमासँग घाम ताप्न लागेको करिब १५ दिन जति भएको थियो । उनले एक विदेशी नम्बरमा फोन हानिदिन भनिन् । धेरैपटक फोन हान्दा पनि फोन उठेन । दुइतीन दिन लगातार प्रयास गर्दै गरिन् तर लागेन । उनको हँसिलो अनुहार हँसिलो कम र हतासपन बढी देखिन थालेको थियो । म उनीसँग अलि बढी नजिक भएको थिए, कारण हामी दुवैको काम थिएन । बुढेसकाल लागेर पनि कति बुझ्ने । नयाँ नयाँ कुरामा कति विकास हुन खोज्ने ? म उनलाई हेरेर आफू विकसित हुने कोशिस गर्थे ।
विगतलाई सम्झेर उनी थाकेजस्तो देखिन्थिन् । उनी सबैसँग पीडा लुकाएर हास्नसक्ने महान महिला जस्तो लाग्छ । सबैलाई समान व्यवहार गर्ने उनी सुखी कम, खुशी बढी देखिन्थिन् तर वास्तविकता त्यस्तो थिएन । मैले उनको कुरा सुनेर छाड्ने र उनको नक्कली हाँसो हास्नुको कारण बुझ्ने विचार गरेँ । एकदिन घाममा बसिरहेको बेलामा सोधँे–आमा, तपाईको कहानी सुनाउनु न । तपाई लुकेर रोएको मेलै धेरै देखेको छु । मलाई मेरी छोरी सम्झनुस् न भन्दा उनी आँसु लुकाउन सधंै सफल भएकी मान्छे, एकाएक रुन थालिन् । उनका ती आँसुहरु अपसोच र घृणाले भरिएको थियो ।
सधैं घाम लाग्ने उनको त्यो हँसिलो मुहारमा किन हो किन बादलले भरिएको थियो । उनका आँखामा रोदन नसुहाएको जस्तो लागेको थियो । उनी हिक्का छाडेर रुन थालिन्, टाढाको मान्छे भएर पनि किन किन उनी निकट लागेको थियो । आँसु बल्ल बल्ल थामेर बोल्न थालिन्–नानी, मेरो जीवनमा कहिल्यै हाँसो नआउने भयो । मैले कहिल्यै खुशी महशुस गर्न नपाउने भएँ । उनले रुँदै भनिन्–नानी, १३ वर्षको उमेरमा विवाह भयो, १६ वर्षको उमेरमा पहिलो छोरा निशान्त जन्मियो । त्यसको दुइ वर्षपछि प्रशान्त जन्मियो । गाउँमा छोराहरुलाई दुःख हुन्छ, पढाई राम्रो हुँदैन भनेर हामी ४ जना नै काठमाडौं गयौं । काठमाडौंमा मैले के गरिनँ होला छोरी, तिनै छोराका लागि भनेर लेवर काम गरेर अंग्रेजी स्कूलमा पढाएँ । अहिले मेरो जेठो छोरा नर्वेमा छ कान्छो छोरो अमेरिकामा छ । बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधै माथि भनेको यही हो नानी, आँसु पुछ्दै भनिन् । वास्तवमा आमाहरु कति महान हुन्छन् । आफ्ना सन्तानले दिएको पीडामा पनि खुशी सम्झेर हास्छन् ।
उनी भन्छिन्, असारको महिना थियो, बालुवा गिट्टी बोकेर दुइ पैसा पनि जोगिन्छ भन्ने सोच थियो मेरो, गाउँबाट शहरमा सुख काट्न गएको धेरै दुःख पायौँ । दुःख सुख गरेर जेठो छोरालाई १२ पास गरायौँ, त्यो पनि विज्ञान विषयमा । त्यसपछि जेठो छोराले विदेश जान्छु पढ्छु, बा आमालाई सुखले पाल्छु तपाईहरुले दुःख गर्नुपर्दैन भनेपछि गाउँको खेत बैंकमा धितो राखेर नर्वे पठायौं, गएको दुइ वर्षसम्म त ठिकै थियो, पैसा पठाउथ्यो, माया ग¥थ्यो । त्यसपछि कान्छो छोरोले पनि बाहिर गएर डाक्टर बन्छु, दःुख सकिन्छ भन्यो, दुवैजनालाई विदेश पठायौँ तर त्यो विदेश होइन छोरी, आमाबाबुको खुशी लुट्ने ठाँउ रहेछ । दुवै छोराका ठाउँमा यदि छोरी भएको भए मेरो दुःखमा दुःख साट्थे होलान् ।
छोराहरु विदेश गएको करिब ४ वर्ष पछि म धेरै बिरामी भएँ । मेरो फोक्सोमा ट्युमर पलाएको रहेछ, त्यो पनि अन्तिम स्टेजको । उनका ओभाएका आँखा फेरि रमाए । म अस्पताल भर्ना हुने बेला मेरो जेठो छोराले भर्खरै विवाह गरेको थियो । खर्च पठाउन सक्दिन आमा, विवाहमा खर्च भयो भन्यो । होला भन्ने सम्झिए । कान्छोले पढ्दैछु, कमाउन सकेको छैन भन्यो । बुढाले कताबाट पैसाको जोहो गरेर अप्रेशन गरे थाहा भएन । ठूलै रोग लागेका कारण उपचार गर्ने पैसाले पुग्न सकेन । छोराहरुको फोन पातलिदै गयो । दिनमा एकपटक फोन गर्ने छोराहरु महिनामा एकपटकसम्म पनि फोन गर्न छोडे । खर्च धान्नै नसकिएपछि काठमाडौं छोडेर गाउँ आयौं । अस्ति भर्खर कान्छो छोराले विहे ग¥यो र ग्रीन कार्ड पनि पायो । जेठो छोरोको फोन आमाको मुख हेर्ने औंसी र बुबाको मुख हेर्ने औंसीबाहेक विरलैमात्र आउँछ ।
घट्दो उमेर, बढ्दो तनावबीचमा पनि खुशी देखिन चाहाने उनी धेरै त सन्तानलाई सम्झेर रुन्थिन् । संसारमा सन्तानको खुशी जस्तो ठूलो कुरा केही हुँदोरहेनछ । शहरमा मेरा धेरै साथीहरु छन्, उनीहरुमध्ये कसैले मलाई व्यग्य गर्छन्, उ ग्रीन कार्डवाला छोराकी आमाको हालत हेर त ? कसैले विचराको संज्ञा दिन्छन् । म काललाई पनि जितेर आएकी मान्छे हुँ छोरी तर आफूसँग भने कहिले जित्न सकिन । मेरो ट्युमर क्यान्सरका रुपमा नै देखापर्न थालिसकेछ । डाक्टरले यो कुराभन्दा म लल्याकलुलुक भएको थिएँ । झन् बाबु चाहिँको हालत के भयो होला । क्यान्सर भएको कुरा छोराहरुलाई पनि भन्नुपर्छ भन्ने सोचेर हामीले दुवै छोरालाई फोन ग¥यौं तर कुनैले फोन उठाएनन् । एक महिनासम्म पनि फोनको पखाईमा बस्यौं तर पर्खाइ निरर्थक सावित हुनपुग्यो । उपचार गर्न हामीसँग केही बाँकी रहेन । छोराहरुलाई बाहिर पठाउँदा लागेको पूरा पैसा नै तिर्न नसकेको हाम्रा लागि क्यान्सर उपचार आकाशको फल आँखा तरी मर भने झैँ भयो ।
कहिले काहीँ सोच्छु भगवान छदैँ छैनन् । छन् भने यत्रो पीडा किन दिए मै माथि । कहिले काहीँ विष पिएर मरुँ जस्तै लाग्छ तर ती बुढा भएका श्रीमान्को अनुहार सम्झन्छु, यति भएर पनि हार नखाएको उनको हिम्मत सम्झन्छु र त्यसै कुराले रोक्छ मलाई । उनी आफ्ना बृतान्त एकपछि अर्को सुनाउदै थिइन्, गाउँका कोही मानिस त्यही आए, उनले आँखाले आजलाई यत्तिमात्र है भन्ने संकेत दिइन् । म आफ्नो घरतिर लागेँ, रातभर सुत्न सकिनँ । विचरा ती आमामात्र सोचेँ । राती पनि तिनै गोरी आमाको अनुहार झल्को आयो ।
भोलिपल्ट दिउँसो उनको भोगाई पूरै सुन्ने सोच बनाए तर मेरा लागि अब त्यो भोली कहिले नआउने गरी गयो । भोलिपल्ट आफ्नो कामले शहर जानुप¥यो । एकमहिना बसाइपछि म गाउँ जाँदा गोरी आमा गाउँमा थिइनन् । म गएको केही दिनपछि गोरी आमालाई व्यथाले च्यापेछ । काठमाडौं उपचारका लागि लगिएको रहेछ । कत्ति जनालाई सोधेँ, कुन हस्पिटलमा राखिएको छ भन्ने कतैबाट पनि पत्ता लाग्न सकेन । त्यसको एक हप्तापछि गाउँमा दुःखद खबर आयो, गोरी आमा त्यो घामको किरण जस्तै विलिन भइन रे । आफ्ना आफन्त नभए पनि आफन्तभन्दा निकट ती आमालाई सम्झेर धेरै रोएँ । आफूलाई सम्हाल्ने प्रयास गरँे तर म विफल थिए । गोरी आमाको निधनको एक महिनापछि गाउँमा उनका श्रीमान् गए । मसँग उनीसँग बोल्ने शब्द नै भएन । एकोहोरो भएका थिएँ ।
भनिन्छ, बालकको आमा नमरोस्, बृद्धको श्रीमती तर गोरी आमाका श्रीमान्लाई त्यहि भएको थियो । गोरी आमाको निधनपछि गोरी आमाको घर होइन, एउटा स्वरुपमात्र भएको थियो । सुनसान भएको थियो, कत्तिले त त्यो घरलाई मसानघाटको घर समेत भन्न थालेका थिए । गोरी आमाको निधनपछि उदास र लाटो जस्तै बनिसकेका थिए उनका श्रीमान । सबै कुरा थाहा पाएर पनि केही थाहा नपाए जस्तो बन्न विवश थिए । अब त्यस घरका लागि गोरी आमाको झल्को बाहेक केही थिएन । आमाको निधन भएको एक महिनापछि अमेरिकी ग्रीन कार्ड वाला छोरो आयो तर उ छोरो भएर होइन, स्वार्थी भएर आएको थियो । उसलाई मान्छेको स्वरुपभन्दा मुडोको रुपमा देखिन्थ्यो । जीवनको अन्तिम घडीसम्म पनि मेरा दुइ छोरा, एउटाले ग्रीन कार्ड पाइसक्यो भन्ने ग्रीनकार्ड वालाको आमाको मुखबाट अब त्यो शब्द कहिले सुन्न पाइने छैन ।
-कृष्णा चौलागाई

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest