घरमै असुरक्षा, आफन्तबाटै पीडित

Tuesday, November 27th, 2018

२०७१ साल साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’ मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५ वर्षीय हजुरबाले बलात्कार गरेपछि शुरू भएको थियो । त्यो सिलसिला करीब ६ महिना चल्यो । विदेशमा रहेका बाबु फर्केपछि उनले बाबुलाई त्यो कुरा सुनाइन् । बाबुले ‘त्यति बूढो मान्छेले पनि त्यस्तो गर्छ र १’ भने ।

उनका बाबुका चार श्रीमती थिए । उनी माइलीपट्टिकी जेठी छोरी थिइन् । १३ वर्षकी हुँदा बाबुले नै उनलाई बलात्कार गरे । उनले आमालाई भनिन्, तर आमाले खासै वास्ता गरिनन् । मामा प्रहरीमा इन्स्पेक्टर थिए । भान्जीको कुरा सुनेपछि उनले पनि ‘यस्तो कुरा गर्दा बेइज्जत हुन्छ, बरु हामी सम्झाइदिउँला’ भनेर कुरा टुङ्ग्याए । तर बलात्कारको क्रम भने रोकिएन । बाबुले उनलाई गर्भनिरोधक औषधि समेत खुवाएर बलात्कार गर्ने गरेका थिए ।

आफ्नो कुरा कसैले पनि नसुनेपछि उनले विष खाएर आत्महत्याको प्रयास गरिन् । तर उनी मरिनन् । अस्पतालको उपचारबाट अलि ठीक भएपछि असोजमा उनी बाबु र हजुरबुबा विरुद्ध उजुरी गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रे पुगिन् । घटना बाहिर आएलगत्तै हजुरबुबाले आत्महत्या गरे । छोरीलाई न्याय दिलाउन उभिनु साटो आमाले भनिन्, “मैले अरू छोराछोरीलाई पनि हेर्नुपर्छ १”

जिल्ला अदालत काभ्रेले उनका बुबालाई १८ वर्ष कैदको फैसला सुनायो । पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेको यो मुद्दामा सर्वोच्च अदालतले पनि जिल्लाकै फैसला सदर ग¥यो । बाबु जेल गए, तर आमा पराइ भइन् । राजधानीको एउटा गैरसरकारी संस्थाको संरक्षणमा रहेकी यी बालिका भन्छिन्, “आफ्नो भन्ने कोही छैन, जाने ठाउँ कहीं छैन ।”

२०६५ सालको कोजाग्रत पूर्णिमाको भोलिपल्ट । नुवाकोट, कुवरीकी ११ वर्षीया एउटी बालिका आफन्तहरूका साथ लागेर काठमाडौं बस्ने दिदी भेट्न हिंडिन् । सानैमा आमाबुबा बितेकाले उनी कहिले दिदीकहाँ, कहिले मावलीमा बसेर हुर्केकी थिइन् । उनका साथी थिए दशैं मान्न घर आएका भिनाजु, भिनाजुका भाइहरू र मामाका छोरा दाइहरू ।

आज काठमाडौं पुगिंदैन भन्दै भिनाजु र दाइहरूले त्रिशूलीमा बस्ने कुरा गरे । होटलमा उनीसहित सबै जना एउटै कोठामा बसे । राति ती सबैले रक्सी खाए र उनलाई बलात्कार गरे ।

काठमाडौं आएपछि उनले दिदीलाई घटना सुनाइन् । बहिनीलाई न्याय दिलाउन दिदीले प्रहरी गुहारिन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा जाहेरी प¥यो, जाहेरीमा पीडित बालिकाले पाँचै जनाले आफूलाई बलात्कार गरेको भनेकी छिन् । तर, भिनाजुले आफूले मात्र बलात्कार गरेको सकारेर भाइहरूलाई जोगाउन खोजे । तर पनि अदालतले ती तीन जनालाई करणी उद्योगमा तीनरतीन वर्ष कैद हुने फैसला गर्यो । उनीहरू अहिले सजाय काटेर छुटिसकेका छन् । मामाको छोरो भने घटनादेखि नै भागेकोले फरारको सूचीमा छ ।

यस घटनामा दिदीले बहिनीको न्यायका लागि लडिन् । लोग्नेलाई जिल्ला अदालत नुवाकोटले १५ वर्ष कैदको फैसला गरेपछि सम्बन्धविच्छेद गरिन् । अंश भाग लगाएर दुई छोराहरूको नाममा र आफ्नो भागको अंश पीडित बहिनीको नाममा गरिदिइन् । उनी अहिले छोराहरूलाई होस्टलमा राखेर वैदेशिक रोजगारमा गएकी छन् ।

अहिले स्नातक तहमा पढ्दै गरेकी ती युवती घटना भएदेखि एउटा गैरसरकारी संस्थाको संरक्षणमा छिन् । उनलाई अहिलेसम्म पिसाब चुहिरहने समस्या छ । खोक्दा र हाँस्दा समेत पिसाब चुहिने हुँदा बाहिर निस्कँदा सधैं डाइपर लगाउनुपर्छ । दिदीको घरबार बिग्रेकोमा चिन्तित उनी भन्छिन्, “अब मेरो जाने ठाउँ कहीं छैन ।”

ललितपुर, गोदावरीकी एक युवतीले अन्तरजातीय प्रेमविवाह गरिन् । विवाहलाई माइतीले स्वीकार नगरे पनि माया गर्ने श्रीमान् थिए, वैवाहिक जीवन राम्रैसँग चलेको थियो । छोरी पनि जन्मिइन् । छोरी जन्मेपछि उनले माइतीको अभाव पनि पूरा भएको ठानिन् ।

२०७२ सालको भूकम्पपछिको एक दिन उनको जीवनमा ठूलो बज्रपात भयो । पालमुनि बसेका बेला लोग्नेले ९ वर्षीया छोरीलाई जबर्जस्ती गरेको आफ्नै आँखाले देखिन् । उनले आफूलाई सम्हाल्दै प्रहरीमा उजुरी गरिन् । जिल्ला अदालत, ललितपुरले उनको लोग्नेलाई १० वर्ष कैद ग¥यो । उनले अदालतमा भनेकी छिन्, “यस्तो लोग्ने मलाई चाहिंदैन । यो अपराधी आजीवन जेलमै बसेको हेर्ने मन छ ।”

एउटा सुखी घरबार उजाडिएकी उनी अहिले आफन्तकोमा बस्छिन् । ज्याला मजदूरीबाट गुजारा चलाउँछिन् । अहिले १३ वर्ष पुगेकी पीडित छोरी एक गैरसरकारी संस्थाको सेल्टरमा बसेर पढ्दैछिन् । उनी भन्छिन्, “सपनाहरू चकनाचूर हुन केही बेर लाग्दो रहेनछ ।”

बाबुबाट सधैंजसो बलात्कृत भइरहँदा पनि उनले कसैलाई भनिनन् । ९ कक्षामा पुगेपछि उनी र भाइलाई राम्रो स्कूलमा पढाउने भन्दै बाबुले दोलखा ल्याए र डेरा खोजेर राखे । दोलखा आएपछि पनि बाबुको बानी फेरिएन । अति भएपछि एक दिन उनले आमालाई भनिन् । सोधखोज गर्दा बाबुले उल्टै आमालाई झपारे । तर बलात्कारको क्रम चलिरह्यो ।

घटना बाहिर ल्याएपछि पढाइ बिगे्रला भन्ने सोचेर २०७० सालमा एसएलसी परीक्षापछि उनले यो कुरा बाहिर ल्याउने निधो गरिन् । परीक्षा सकिएको चार दिनपछि जिल्ला प्रशासन कार्यालय पुगेर चिनजानकै एक जना महिला कर्मचारीसँग आफ्नो कुरा खोलिन् । ती महिलाले सिडियोलाई पनि जानकारी गराइन् र प्रहरीमा खबर गरेपछि बाबु पक्राउ परे । जिल्ला अदालत दोलखाले उनलाई १२ वर्ष जेल सजाय र रु।१ लाख जरिवाना गर्ने फैसला गरेको छ ।

बाबु पक्राउ परेको चाररपाँच दिनसम्म उनी घरमै बसिन् । तर आमाले बयान फेरेर बुबालाई बाहिर निकाल्ने दबाब दिन थालेपछि उनले घर छाडिन् । उनले एउटा गैरसरकारी संस्थाको संरक्षणमा बसेर भर्खरै मात्र कक्षा १२ को पढाइ सकिन् । “आमाले घरमै नआइज भन्नुभएको छ, बाबाले मुद्दा पुनरावेदन गरेको छु, उल्टिएपछि तँलाई जानेको छु भनेर खबर पठाएका छन्” उनले भनिन्, “मलाई सरकारले सुरक्षा र गरिखाने काम दिए हुन्थ्यो ।”

पर्वतको एउटा गाउँकी उनी अहिले १७ वर्षकी भइन् । १३ वर्षकी हुँदा आफ्नै काकाबाट बलात्कृत भएकी थिइन् । त्यसबेला उनले यो कुरा कसैलाई भनिनन् । सधैंजसो पेट दुख्न थालेपछि एक दिन आमाले अस्पताल पुर्याइन् । त्यहाँ उनी गर्भवती रहेको कुरा खुल्यो । यो थाहा पाएपछि आमा बेहोश भइन् । बाबु पहिल्यैदेखि पक्षघातका बिरामी थिए ।

गर्भपतन गर्न मिल्ने समय गुज्रिसकेको थियो । गाउँभर कुरा फैलिएपछि उनलाई गाउँ निकाला गर्ने चर्चा चल्यो । त्यसपछि उनी प्रहरीको सहयोगमा पोखराको एउटा गैरसरकारी संस्थाको सम्पर्कमा पुगिन् । केही समय त्यहाँ बसेपछि उनलाई ‘काउन्सिलिङ’ गरेर घर पठाइयो ।

केही दिनमा उनी घर फर्केको थाहा पाएपछि गाउँका केही महिलाहरूले नै ‘यस्तीलाई गाउँमा राख्नुहुन्न’ भन्दै उनलाई पिटे । राति नै गाउँ निकाला गर्न लागेपछि एक जना स्थानीय शिक्षकले उनलाई पुनः त्यही संस्थामा पु¥याइदिए । त्यहीं उनले बच्चा जन्माइन् । अदालतले काकालाई १० वर्ष जेल सजाय सुनाएको छ । ती किशोरी आमा भन्छिन्, “यो सेल्टर छाडेर कहाँ जाउँ म अब रु”

आफ्ना सन्तान नभएपछि धादिङकी लक्ष्मी र उनका श्रीमान्ले २०६८ सालमा एक महीनाकी बालिकालाई धर्मपुत्री बनाए । बालिकाले लक्ष्मीको सानो परिवारमा खुशी भित्र्याइन् । २०७३ वैशाखमा मातातीर्थ औंसीमा छोरीलाई घरमा छाडेर लक्ष्मी माइत गइन् । त्यहीबेला, २४ वैशाख २०७३ को दिन उनका लोग्नेले पाँच वर्षीया छोरीलाई बलात्कार गरे ।

३१ वैशाखमा माइतीबाट फर्कंदा छरछिमेकीले यसबारे सुनाए । उनले छोरीलाई सोधिन् । छोरीले पनि ‘हो’ भनेपछि धादिङबेसी पुगेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । तर पहिले बलात्कार गरेको आफ्नै आँखाले देखेको बताउने छरछिमेकीले उजुरी दर्ता गरेर फर्केपछि भने ‘हुँदै नभएको कुरामा लोग्नेलाई फँसाएको’ भने । लक्ष्मी भन्छिन्, “पहिले देखेका हौं भन्नेहरूले हामीलाई थाहा छैन भने । मेलापर्ममा आउन छाडे । उल्टै मलाई चोरीको आरोप लगाए ।”

लक्ष्मीले आफूमाथि दुर्व्यवहार गर्ने सात जना छिमेकी विरुद्ध प्रहरीमा उजुरी गरिन् । प्रहरी कार्यालयमा भएको छलफलमै केहीले ‘गाउँमा विकृति फैलाएको र यस्तै गरिरहे ज्यान जान सक्ने’ समेत धम्की दिए । प्रहरीले मिलापत्र गरेर पठायो । अचाक्ली भएपछि उनले २०७३ भदौमा गाउँ छाडिन् । अहिले छोरीसहित उनी भक्तपुरमा बस्छिन् ।

जिल्ला अदालत धादिङले २०७३ साउनमा बलात्कारी बाबुलाई ११ वर्ष कैद सजाय सुनाएको छ । छोरी अहिले सात वर्षकी भइन् । लक्ष्मी भन्छिन्, “दोषीलाई सजाय त भयो, तर मलाई आफ्नै घरगाउँमा फर्केर जाने अवस्था भएन ।”

२०७३ सालको कुरा हो । ओखलढुंगा, मानेभन्ज्याङकी १४ वर्षीया बालिका आफन्तले चलाएको एउटा होटलमा काम गर्थिन् । होटलमा काम गर्दा गर्दै उनको पेट बढ्न थाल्यो । परिवार गरीब थियो, आमा सोझी थिइन् । अरूले अस्पताल लैजाऊ भनेपछि उनी छोरी लिएर अस्पताल गइन् । बालिका ७ महीनाकी गर्भवती भएको थाहा भयो । उनले बताए अनुसार त्यही होटलको गाडी चलाउने ड्राइभर काजी राईले उनलाई बलात्कार गरेको हो । काजीले घटनाबारे कसैलाई भने मारिदिने धम्की दिएकाले उनी चूपचाप बसेकी थिइन् ।

त्यसपछि उनलाई जिल्लाकै ‘सेफ हाउस’ मा राखियो । बच्चा जन्मेपछि उनलाई समाजमा मुख देखाउन समस्या भयो, आमाबाबुकै सहमतिमा केही संघसंस्थाले अहिले उनलाई काठमाडौं ल्याएका छन् । जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा काजी विरुद्ध उजुरी परेको छ । प्रहरीले अहिलेसम्म काजीलाई पक्राउ गर्न सकेको छैन । बालिका अहिले १६ वर्षकी भइन्, छोरा दुई वर्षको पुग्न लाग्यो । उनका लागि आफ्नै गाउँघर समेत बिरानो भएको छ । उनी भन्छिन्, “बलात्कारबाट जन्मेको बच्चा लिएर घर जाने आँट छैन, अन्त कहाँ जाउँ रु”

यो चितवनको कथा हो । उनी जन्मेको केही महीनामै आमा अर्को बिहे गरेर हिंडिन् । बाबु ठेक्कापट्टाको काम गर्थे । फेरी फेरी श्रीमती ल्याउँथे । कोही दुई चार महीना बस्थे, कोही दुईचार दिनमै हिंड्थे । एउटी चाहिं लामै समय बसिन् । छोरी पनि पाइन् । तर, छोरी जन्मेपछि एक वर्ष नपुग्दै छाडेर गइन् । ती बहिनी उनकै हेरचाहमा हुर्किइन् ।

१२र१३ वर्षकी उनी र सानी बहिनी एउटै कोठामा सुत्थे । एक दिन कोठाको चुकुल बिग्रेपछि उनले बाबुलाई भनिन् । चुकुल बनाउन कता हो कता, त्यही रात पत्याउन पनि मुश्किल पर्ने घटना भयो । उनले भनिन्, “पढेर भर्खर निदाएकी थिएँ, बाबा र दाइ कोठामा पसेर मलाई पालैपालो बलात्कार गरे ।”

बाबु र दाइले निस्कने बेला बाहिरबाट चुकुल लगाइदिए । रोइन्, चिच्याइन् तर कसैले सुनेन । रात छिप्पिंदै गएपछि बल गरेर ढोका तानिन् । बाहिरबाट लगाएको चुकुल खुल्यो । बहिनीलाई त्यहीं छाडेर उनी भागिन् । जंगलको बाटो हुँदै राति नै मामाघर पुगिन् । मामा माइजूलाई सबै कुरा भनिन् । भोलिपल्ट मामा माइजूले बाबुसँग कुरा गर्ने भनेर लिएर गए । ‘समाज’ बोलाइयो । बाबु र दाइले ‘रक्सी खाएका बेला गल्ती भो’ भन्दै खुट्टा ढोगेर माफी मागे ।

उनलाई मामाघर नै फर्काइयो । मामा–माइजूले झण्डै दोब्बर उमेरको केटासँग बिहे गराइदिए । लोग्नेसँग बस्न नसकेपछि उनी डान्सबारमा काम गर्न गइन् । अहिले गुजाराका निम्ति कलंकी आसपास क्षेत्रमा चल्ने गाडीका यात्रुलाई सामान बेच्ने काम गर्छिन् । “मर्छु भनेर दुईपल्ट आत्महत्या गर्न खोजें, तर काल आएन” अहिले १८ वर्ष पुगेकी उनले भनिन्, “बाँच्न साह्रै गाह्रो, मर्न पनि सजिलो रहेनछ ।

उनका आमाबुबा दुवै सुस्त मनस्थितिका थिए । आफ्नै ख्याल गर्न सक्दैनथे । त्यसैले आमाबुबासहित भाइ र बहिनीको रेखदेख गर्ने जिम्मा समेत उनकै काँधमा थियो । बाग्लुङको एउटा गाउँमा घर धानेर बसेकी ती ८ वर्षीया बालिकालाई पढाउन भनेर फुपूको घर पठाइयो ।

उनी त्यहीं बसेर पढ्न थालिन् । एक दिन फुपू घरमा नभएका बेला फुपाजूले उनलाई जबर्जस्ती गरे । घटनाबारे अरूले पनि थाहा पाएपछि फुपाजू पक्राउ परे । ती बालिकालाई गैरसरकारी संस्थाले चलाएको ‘सेफ हाउस’ मा ल्याएर राखियो । एक वर्ष त्यहाँ राखेपछि आमाबाबुकै जिम्मा लगाइयो । सुस्त मनस्थितिका बाबुआमाले छोरीलाई चाहिने अभिभावकत्व दिन सकेनन् । आफन्त र छरछिमेकीले ‘घरमा राख्न ठीक नहुने’ सल्लाह दिएपछि उनी फेरि ‘सेफ हाउस’ मै पुगिन् । उनी भन्छिन्, “बुबाआमा केही गर्न सक्दैनन् । फुपाजू जेल परेपछि फुपूले पनि घरमा नराख्ने भनिन् । अब कहाँ जानु रु”

२०७४ सालमा काठमाडौंमा भएको घटना हो । आठ वर्षमा टेकेकी छोरीको दुई दिनपछि जन्मदिन मनाउने तयारी हुँदै थियो । सधैं स्कूलबाट फर्कने छोरी लिन पुग्ने आमा त्यो दिन भक्तपुर गएकाले फर्कंदा ढिलो भयो । आफू ढिलो हुने भएपछि जेठाजुलाई फोन गरिन् । वल्लोपल्लो घर भएका जेठाजुले छोरी ल्याइदिने भनेपछि उनी ढुक्क भइन् ।

तर, साँझ ६ बजे घरपुग्दा छोरी थिइनन् । यताउता खोजिन्, भेटिनन् । जेठाजुको घर पुगेर खोजतलास गर्दा ट्वाइलेटमा बेहोश अवस्थामा थिइन् छोरी । छिमेकीहरू जम्मा भए । अस्पताल पु¥याएपछि थाहा भयो– उनलाई बलात्कार गरिएको रहेछ । हल्लीखल्ली भएपछि भागिसकेका जेठाजुलाई प्रहरीले एक महीनापछि झापाबाट पक्राउ ग¥यो । अदालतले उनलाई आठ वर्ष जेल सजाय सुनाएको छ ।

गेरुवस्त्र धारण गरेर हिंड्ने, ५४ वर्षीय अविवाहित जेठाजुबाट नाबालिका छोरी बलात्कृत भएपछि उनी प्रहरीमा पुगिन् । तर, उनका लोग्ने भने दाजुको पक्षमा लागे । मुद्दा मामिला शुरू भएपछि लोग्नेसँग सम्बन्ध टुट्यो । अहिले उनी डेरा लिएर एक्लै बस्छिन् । अहिले उनकी छोरीलाई एउटा गैरसरकारी संस्थाको आवास गृहमा राखिएको छ । छोरी मान्छे देख्दा पनि तर्सिन्छिन् । परिवार छिन्नभिन्न भएको छ । उनी भन्छिन्, “मुद्दा अहिले पुनरावेदन अदालतमा छ, दाजुभाइ लागेर मुद्दा उल्ट्याएरै छाड्छौं भनिरहेका छन् । छुटेर आए भने के हुने हो थाहा छैन ।”

घटना सिन्धुलीको हो । गर्भवती भएका बेला श्रीमान् गुमाएकी १९/२० वर्षीया महिलासँग गर्भको बच्चालाई अभिभावकत्व दिने बाचा गरेर एक जना युवकले बिहे गरे । छोरी जन्मेपछि उनले त्यो बाचा पूरा पनि गरे । छोरीलाई खुवाउने, नुहाइदिने काम आफैं गर्थे । आमा घरबाहिरको खेतीपाती, मेलापातमा व्यस्त हुन्थिन् ।

छोरी पाँच वर्ष पुगेकी थिइन् । आमालाई एक दिन उनको शरीर गन्हाए झैं लाग्यो, तर केही मेसो पाउन सकिनन् । खानामा छोरीको रुचि घट्दै गएपछि र पेट दुखे झैं गरी रुन थालेपछि उनले अस्पताल पु¥याइन् । त्यसपछि मात्र उनी बलात्कृत भएको, पटकपटक बलात्कार भएकाले पाठेघरमा घाउ भइसकेको पत्ता लाग्यो । त्यो अपराध तिनै झड्केला बाबुले गरेका थिए । ती बालिकाको उपचार जिल्लामा सम्भव नभएपछि काठमाडौं ल्याइयो । आमाले उनलाई एउटा गैरसरकारी संस्थाको संरक्षणमा राखिदिइन् । ९ वर्षदेखि उनी यहाँ बसेकी छिन् । आमा गाउँमै ज्याला मजदूरीको काम गर्छिन् ।

जिल्ला अदालत सिन्धुलीको आदेशले १० वर्ष जेल सजाय पाएका झड्केला बाबु जेलबाट छुट्ने बेला भइसक्यो, तर, आमा र छोरी विक्षिप्त अवस्थामा छन् । छोरीको स्वास्थ्य दयनीय छ । महीनावारी तीन÷चार महीनामा एक पटक हुन्छ र १५र२० दिनसम्म रगत बगिरहन्छ । घाउ सञ्चो नभएपछि डाक्टरले पाठेघर नै फाल्नु उचित हुने सल्लाह दिएका छन् ।

बाबुले दोस्रो बिहे गरेर भारततिर हिंडेको केही महीनामै आमा पनि घर छाडेर हिंडेपछि सुर्खेत वीरेन्द्रनगरकी उनी ११ वर्षको उमेरमै भाइ र बहिनीको अभिभावक बनिन् । कहिले छिमेकीसँग हात पसारेर, कहिले घाँस–दाउरा बेचेरै भाइबहिनीसहित आफ्नो पेट पाल्ने जोहो गरिन् । त्यति गरेर पनि उनले पढ्न छाडेकी थिइनन् । आफू ९ कक्षामा पढ्थिन्, बहिनी र भाइ क्रमशः ५ र २ कक्षामा पढ्थे ।

२०७५ जेठ अन्तिम साताको कुरा हो । घरबाट केही टाढा माइजू नाता पर्नेको घर पुगेर फर्कंदै थिइन् । झमक्क साँझ परिसकेको थियो । जंगलको बाटो छिचोल्दै गर्दा एक्कासि दुई जना केटाले बाटो छेके । उनका दुवै हात समाते र पालैपालो बलात्कार गरे । सकी–नसकी राति १० बजे घर आइपुगिन् ।

घटनाबारे थाहा पाएपछि चिनजानकी एक जना आन्टीले उनलाई प्रहरी चौकीसम्म पु¥याइन् । प्रहरीले उनलाई स्थानीय गैरसरकारी संस्थाको आवासगृहमा पु¥याइदियो । अहिलेसम्म पनि उनी त्यहीं बस्छिन् । उनलाई आफ्नोभन्दा भाइबहिनीको पिरलो छ । भन्छिन्, “भाइबहिनी भोकभोकै छन् होला १” उनलाई बलात्कार गर्नेहरू अहिलेसम्म समातिएका छैनन् ।

सात वर्षकी छँदा आमाको मृत्यु भएपछि सुर्खेत, वीरेन्द्रनगरकी उनी मामासँग बसिन् । उनीसहित तीनै जना छोराछोरीलाई मामाघर छाडेर उनका बाबु कामको खोजीमा भारत गएका थिए । मामाघरमै हुर्केकी उनीमाथि मामाकै कुदृष्टि पर्यो । उनले पटकपटक बलात्कार गरे । १६ वर्षकी भतिजीको आनीबानीमा अचम्मको फेरबदल देखेपछि एक दिन फुपूलाई शंका लाग्यो । सोधखोज गरेपछि थाहा भो, उनी गर्भवती रहिछन् ।

फुपूले प्रहरीमा उजुरी गरिन् । ६ महीना पुगिसकेकाले गर्भपतन गर्न मिलेन । प्रहरीले उनलाई गैरसरकारी संस्थाको आवासगृहमा पठाइदियो । गर्भवती उनी अहिले कोहीसँग बोल्दिनन् । स्थानीय आवासगृहकी व्यवस्थापक धना जिसीले भनिन्, “उनलाई ठूलो असर परेको छ, प्रायः बेहोशीमै बर्बराउँछिन् ।” बलात्कारको अभियोग लागेका मामा चाहिं फरार छन् ।

गुर्भाकोट, सुर्खेतकी उनको १४ वर्षकै उमेरमा विवाह भएको थियो । वैवाहिक जीवन राम्रैसँग बितिरहेको थियो । छोरो पाएपछि एक दिन श्रीमानले कुटे । केही समय माइत बसेर आउँछु भनेर उनी माइत आइन् । तर, माइती घरमा सुतेका बेला गाउँकै शम्भु घर्तीले उनलाई बलात्कार गरे ।

उनका आमाबाबु इज्जतको डरले यो घटना गाउँमै मिलाउन चाहन्थे । तर, शम्भुको परिवारले उल्टै धम्क्याएपछि उनीहरूले प्रहरीमा उजुरी गरे । त्यसपछि शम्भु पक्राउ परे । उता उनका श्रीमान्ले यो घटना थाहा पाएपछि सम्बन्ध टिकेन । “अब त्यो घरमा बस्न सकिन्न भनेर मैले पनि सम्बन्धविच्छेद नै रोजें” उनले भनिन्, “तर, सम्पत्ति केही लिएकी छैन ।” शम्भु तीन महीनादेखि जिल्ला कारागार सुर्खेतमा छन् । शम्भुको परिवार उनलाई छुटाउन अनेक प्रयास गरिरहेको छ ।

माइतीमा घाँसदाउरा गरेर चार वर्षको छोरो हुर्काइरहेकी उनी नातागोता र समाजको तिरस्कारले थप आहत छिन् । “भाइबहिनी नै तैंले गर्दा हाम्रो पनि इज्जत गयो भन्छन्” उनी भन्छिन्, “सहारा ठानेको माइतीमै छिःछिः र दूरदूर भएपछि कहाँ जाऊँ रु”

म्याग्दीको मालिका गाउँपालिकाको घटना हो, यो । २०७५ भदौको शनिबार विद्यालय बिदा भएकाले १२ वर्षीया छोरी र ५३ वर्षका लोग्नेलाई घरमा छाडेर आमा काममा गएकी थिइन् । त्यही दाउ छोपेर बाबुले छोरीलाई बलात्कार गरे । ती छोरीका अनुसार बाबुले त्यसअघि पनि बलात्कार गरेका थिए । घटनाको बारेमा थाहा पाएपछि सबैभन्दा पहिले आमाले वडाध्यक्ष पिपला बुढालाई सुनाइन् । बुढाको सल्लाहमा ती बालिका र उनकी आमाले इलाका प्रहरी कार्यालय, दरवाङमा जाहेरी दिए ।

प्रहरीले तत्कालै बलात्कारी बाबुलाई पक्राउ गर्यो । अहिले उनी पुर्पक्षका लागि थुनामा छन् । तर अहिले पनि पीडकका दाजुभाइ, आफन्तहरूले घटना मिलाउनुपथ्र्यो, दाजुभाइसँग सल्लाह नै नगरी घटना प्रहरीमा पठायो भनेर वडाध्यक्ष बुढालाई अहिले पनि भन्ने गरेका छन् । अहिले त्यो मुद्दा जिल्ला अदालत, म्याग्दीमा चलिरहेको छ । छोरी गाउँमै पढिरहेकी छिन् ।

नवलपरासी गैंडाकोटको घटना हो । २०७४ साल चैतमा बाबुले ८ महिने नाबालिका छोरी बलात्कार गरे । करीब ३० वर्षीय ती पुरुषले आफू काममा गएको बेला बलात्कार गरेको भनी पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । एक होटलमा काम गर्ने उनी घरमा श्रीमान्लाई नानी छोडेर काममा गएकी थिइन् । तर छिमेकीले तिम्रो बच्चा साह्रै रोयो भनेर आफैंलाई खबर गरेपछि घर जाँदा घटना थाहा भएको उनले प्रहरीमा बताएकी छिन् ।

इलाका प्रहरी कार्यालय, गैंडाकोटले जाहेरी दर्ता भए लगत्तै बाबुलाई पक्राउ गर्यो । १० वर्ष मुनिको बालिकालाई गरेको करणी र हाडनाता करणी समेत गरी कैद सजायको माग गरिएको पीडितको तर्फबाट मुद्दा हेर्न सहयोग गर्दै आएको संस्थाले बताएको छ । जिल्ला अदालत नवलपरासीको आदेशले ती बाबुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । यो मुद्दा हेरिरहेका एक जना कानून व्यवसायीका अनुसार, श्रीमान् विरुद्ध मुद्दा हालेकी ती आमालाई मुद्दा गर्नु कि छोरी हुर्काउनु भएको छ । ती कानून व्यवसायीका भनाइमा, “गरीब परिवारकी यी आमालाई अरू सन्तान हुर्काउन समेत समस्या छ ।”

२०७४ साल चैत २८ गते साँझपखको कुरा हो । जनकपुरधाम उप–महानगरपालिकाको एउटा गरीब परिवारकी १६ वर्षीया छोरी अरूको घरमा काम गरेर फर्किरहेकी थिइन् । बाटोमा दुई जनाले उनलाई समातेर नजिकैको एउटा घरमा लगे र ७ जनाले रातभरि बलात्कार गरे ।

ती बालिकाका अनुसार, बलात्कारीले बिहान हुन लागेपछि उनलाई घरछेउमा लगेर छोडिदिए । कहिलेकाहीं काम गर्ने घरमै पनि रात बस्ने गरेकाले घरमा सोधखोज भएन । उनलाई ती बलात्कारीहरूले घटना कसैलाई नभन्नु र भने परिवारै सिध्याइदिने भनेर धम्की दिएका थिए । तर दुई दिनपछि एक जना दिदी पर्नेलाई त्यो कुरा भनेपछि उनकी हजुरआमाले प्रहरीमा जानुपर्छ भनिन् । घटनाको चार दिनपछि जिल्ला प्रहरी कार्यालय, धनुषामा जाहेरी दर्ता भयो ।

बालिकाले स्कूलमा सधैं पेट दुख्यो भनेर गुनासो गर्न थालेपछि शिक्षिकाले सोधखोज गरिन् । फकाएपछि केही कुरा बालिकाले आफैं खोलिन् । स्वास्थ्य परीक्षणपछि हजुरबाले करीब ६ महिनादेखि उनलाई बलात्कार गर्दै आएको पत्ता लाग्यो ।

बलात्कारमा संलग्न सातमध्ये दुई जना सुमन पाण्डे, धनिकलाल साह र राहुल भनिने ओजिर हुसैन अहिले पुर्पक्षका लागि थुनामा छन् भने रञ्जितकुमार साह ९महोत्तरी० र सिद्धार्थ दास ९धनुषा० फरार छन् । अरू दुई जना पीडितले पनि नचिनेका थिए र प्रहरीले पनि पत्ता लगाउन सकेको छैन । हाल काठमाडौंको एक संस्थाको संरक्षणमा बसिरहेकी ती बालिकालाई उनको घरमा पुनस्र्थापना गर्न समस्या छ । त्यही भएर परिवारले पनि यतै बसेर पढोस् भन्ने चाहेको छ । घर फर्केमा ती बालिकालाई जुनसुकै बेला आक्रमण हुनसक्ने पीडित परिवारका सदस्यहरू बताउँछन् । पीडकहरू पाण्डे, साह र हुसैनले आफूहरूलाई थुनामा राख्नु नपर्ने भनेर पुनरावेदन अदालत, जनकपुरमा पुनरावेदन गरेका छन् ।

रौतहटको गुजरा नगरपालिकाकी एक बालिका २०७४ वैशाखमा एकाएक हराइन् । परिवारले तत्कालै प्रहरीमा खबर गर्यो । तर प्रहरीले दुई महीनासम्म किशोरी कहाँ छन् भनेर पत्ता लगाउन सकेन । करीब दुई महीना पछि किशोरी फेला परिन् । त्यसपछि किशोरीलाई अपहरण गर्ने मुख्य योजनाकार स्थानीय औषधि पसले बलिष्टर चौधरी पक्राउ परे । चौधरी लगायतले ती किशोरीलाई वीरगंजमा कोठा लिएर बन्धक बनाएर राखेका थिए ।

इलाका प्रहरी कार्यालय, गरुडाका अनुसार, १३ वर्षीया ती बालिकाले क्रमशः ३५, २४ र १९ वर्षका बलिष्टर चौधरी, धमेन्द्रकुमार चौधरी र जियालाल महतोले आफूलाई पटक–पटक बलात्कार गरेको बताएकी छिन् । ती तीनै जनालाई पुर्पक्षका लागि थुनामा राखेर अपहरण, शरीर बन्धक र बलात्कारमा जिल्ला अदालत, रौतहटमा मुद्दा चलिरहेको छ ।

तर, मुद्दा फिर्ता लिन किशोरीका बाबुआमालाई पटक–पटक धम्की आएकाले उनीहरू समेत काठमाडौंमा बस्न थालेका छन् । सानोतिनो व्यापार गरेर बसेका उनीहरूको पारिवारिक जीवन चौपट भएको छ । किशोरीका बाबु भन्छन्, “छोरीको जीवन पनि बर्बाद भयो, हाम्रो अवस्था पनि बर्बाद भयो ।”

२०७५ जेठको कुरा हो, पाँचथर फिदिमकी एक जना १४ वर्षीया बालिकालाई छिमेकीले बलात्कार गरे । गरीब परिवारकी उनी तीन जना दिदीबहिनी र एक भाइसहित आमासँग बस्थिन् । बाबुले पहिले नै छोडेर हिंडेका थिए । छिमेकीले मोटरसाइकल चढाएर घर पु¥याइदिन्छु भनेर जंगलमा लगेर बलात्कार गरेका थिए ।

केही दिनमै पीडक पक्राउ परे । उनलाई जिल्ला अदालत, पाँचथरले १० वर्षको कैद सजाय हुने फैसला गरेको छ । तर उनले बाहिर निस्किएपछि खसीबोका जसरी काट्छु भन्ने धम्कीका खबर जेलबाटै पठाइरहेका छन् । पीडित परिवारलाई छरछिमेकले सहयोग त गरेका छन् तर आमालाई अरू छोरीहरूको चिन्ता छ । संस्थाले पुनस्र्थापना गर्ने तयारी गरे पनि ती बालिका डरले घर जान चाहेकी छैनन् । गएको दशैंमा घर पठाउँदा पनि उनी डरले फेरि काठमाडौं आएकी छिन् ।

तीन वर्षअघि स्याङ्जाको एउटा गाउँको घरमा हजुरबा र नातिनी बस्थे । नातिनी ६ वर्षकी हुँदा आमा घर छाडेर हिंडिन् । उनको हेरचाह र स्याहारसुसार ७० वर्षीय वृद्ध हजुरबाको जिम्मामा पुग्यो । ती बालिकाले स्कूलमा सधैं पेट दुख्यो भनेर गुनासो गर्न थालेपछि शिक्षिकाले सोधखोज गरिन् । फकाएपछि केही कुरा बालिकाले आफैं खोलिन् । स्वास्थ्य परीक्षणपछि हजुरबाले करीब ६ महिनादेखि उनलाई बलात्कार गर्दै आएको पत्ता लाग्यो ।

हजुरबा विरुद्ध जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा जाहेरी दर्ता भयो । उनी पक्राउ परे । एक वर्षपछि अदालतले उनलाई १० वर्ष कैद हुने फैसला सुनायो । पीडित बालिकालाई अहिले पोखरास्थित एउटा गैरसरकारी संस्थाले चलाएको ‘सेफ–हाउस’ मा राखिएको छ । तर सो संस्था आफैं समस्यामा परेको छ । संस्थाका एक जना प्रतिनिधि भन्छन्, “उनलाई पठाउने ठाउँ र जिम्मा लगाउने व्यक्ति नै छैन ।”

जो पीडित उही दोषी !

बलात्कारका पीडितहरूलाई परिवार र समाजमा पुनस्र्थापित हुन सजिलो छैन । समाजले पीडितलाई नै दोषी देख्छ, छिःछिः र दूरदूर गर्छ । डेढ दशकयता बलात्कार पीडितका लागि काम गरिरहेको गैरसरकारी संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापाका अनुसार, “प्रायः पीडितले घर छाडेकै हुन्छन्, परिवारमा पुनस्र्थापित हुनेहरू २० प्रतिशत पनि हुँदैनन् ।”

बलात्कार पीडितहरूले चाहेर पनि पीडा भुल्न पाउँदैनन् । प्रहरी र वकिलसित घटनाको बयान दिनुपर्छ । न्यायाधीशलाई त्यसबारे जवाफ दिनुपर्छ । विपक्षी वकिलले सोध्ने ‘असंवेदनशील’ प्रश्नको जवाफ दिंदा पीडितहरूले पटकपटक बलात्कारमा परे झैं महसुस गर्नुपर्छ ।

१० वर्षदेखि बलात्कृत बालिका र किशोरीहरूलाई मनोपरामर्श दिइरहेकी गीता न्यौपाने उपचार वा परामर्शपछि पनि बलात्कार पीडितमा घटनाको छाप कुनै न कुनै रूपमा बाँकी नै रहने बताउँछिन् । परिवार, आफन्त र समाजको मायाले मात्र उनीहरूले पीडा कम हुने उनको अनुभव छ । उनी भन्छिन्, “तर, प्रायः पीडितले परिवार र आफन्तको साथ पाउँदैनन् ।”

समाजले जो पीडित हो, उसैमाथि दोष थोपर्छ । परिवारभित्रको हाडनाता करणीमा घटना लुकाउने र मुद्दा दर्ता नगर्ने कुरा सामान्य झैं हुन्छ ।

डा. देवी गुरुङ काठमाडौंको थापाथलीस्थित प्रसूति गृहकी स्त्री रोग तथा प्रसूति विशेषज्ञ हुन् । उनले अस्पतालमा स्वास्थ्य जाँचका लागि आउने एक हजारभन्दा बढी बलात्कार पीडितको जाँच गरिसकेकी छन् । डा। गुरुङका भनाइमा, “सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, पिसाब र पाठेघरमा संक्रमण तथा पिसाब नरोकिने पीडितको आम समस्या हुन् ।” उनका भनाइमा, पाठेघरमा संक्रमण भएर समयमै उपचार नभएमा फेलोपियन ट्यूब बन्द हुने र पछि गर्भ नबस्ने सम्भावना पनि हुन्छ भने सानो उमेरका र सामूहिक बलात्कारमा परेकाहरूमा यस्तो समस्या बढी हुन्छ । थापाले दिएको दृष्टान्त अझ गम्भीर छ । चिकित्सकहरूले बताए अनुसार रक्षा नेपालको सेल्टरमा रहेका ७० जना बलात्कार पीडितमध्ये करीब आधा जति भविष्यमा आमा बन्नै नसक्ने अवस्थाका छन् ।

हाडनाता करणी पीडित बालिकाहरूको निम्ति कार्यरत संस्था, अन्तरदृष्टि नेपालकी अध्यक्ष विनिता दाहालका अनुसार, समाजले जो पीडित हो, उसैमाथि दोष थोपर्छ । परिवारभित्रको हाडनाता करणीमा घटना लुकाउने र मुद्दा दर्ता नगर्ने कुरा सामान्य झैं हुन्छ । दाहाल भन्छिन्, “बलात्कृत बालिका–किशोरीका आमाले घरपरिवार त्याग्न तयार नभए मुद्दा नै चल्दैन । छोरी बलात्कार गर्ने श्रीमान्लाई जोगाउने कि छोरीका निम्ति श्रीमान् विरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू ।”

दाहालको भनाइमा, “यस्ता घटनालाई सकेसम्म परिवार, समाजमै दबाइन्छ । मुद्दा मामिला भइहाले हत्तपत्त फैसला हुँदैन । फैसला भयो, सजाय तोकियो भने अभियुक्त जेलमा त पुग्छन्, तर पीडितलाई आफ्नै परिवार र समाजले बसिखान दिंदैन ।”

(साथमा लक्ष्मी भण्डारी, सुर्खेत)

(पीडितको परिचय नखुलोस् भन्नेमा ध्यान दिंदा धेरै ठाउँमा घटनाको पृष्ठभूमि र पीडकको परिचय समेत लुक्न पुगेको छ । जिल्ला प्रहरी कार्यालयहरू, जिल्ला र उच्च अदालतहरू र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका मिसिलबाट यी घटनाहरू लिइएका हुन् ।)
लक्ष्मी बस्नेत
साभार : खोज पत्रकारिता केन्द्र

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest