घाँस स्टोरी

Wednesday, January 29th, 2020


अस्ति भर्खरको कुरा हो म एकजना महिलाद्धारा लिखित लेख पढ्दै थिएँ । लेख राम्रो थियो । एउटी २१औँ शताव्दीकी महिला, जो पढे लेखेकी छन्, जसलाई आफ्नो करियर र परिवार दुवै प्यारो छ, त्यस्ती महिलाको समस्या र मनमा उब्जेका अनेक प्रकारका कुराहरु समावेश थिए लेखमा । हो ! गाह्रो छ महिलालाई आजको बदलिँदो र प्रतिस्पर्धा नै प्रतिस्पर्धाले भरिपूर्ण समयमा काम गर्न । न त महिलाई आफ्नो पुरै समय घरको काममा मात्र दिन मन छ न त उनीहरुलाई घरभित्रका आफ्ना जिम्मेवारीहरु चटक्कै छोडेर बाहिरी काममा मात्र हिँड्न मन छ । परिस्थिति अप्ठ्यारो छ र यहि कठिन परिस्थितिको उचित व्यवस्थापन गर्न नसकेको कारण कतिले कि त करियर छोडेका छन् कि त आफ्नो परिवार । घरभित्र र घरबाहिर दुवै कर्तव्य पूर्ण रुपमा निर्वाह गर्न पक्कै पनि सजिलो छैन त्यसैले आजका पढेलेखेका महिला मानसिक र शारीरिक रुपमा घर भित्र र बाहिर मिलाउँदा मिलाउँदा थकित भएका छन् ।
फेरि जाउँ लेखभित्रको कुरामा । लेखमा एउटी महिला जो आमा बन्ने चाहना राख्छिन् र साथै आफ्नो करियरलाई पनि असाध्यै माया गर्छिन् त्यस्तो महिलाकोे मानसिकताको स्पष्ट व्याख्या गरिएको छ । उनलाई मन छ बच्चा जन्माउन । उनलाई जति बच्चाको रहर प्यारो छ त्यति नै प्यारो छ आफ्नो करियर पनि । उनलाई मन छैन अरुले आफूलाई होच्याएर गृहिणी मात्र हुन् भनेको सुन्न न त उनलाई मन छ आफूले जन्माएको बच्चालाई चटक्क छोडेर आफ्नो करियरको नाममा अरुलाई जिम्मा लगाएर हिँड्न । गर्भवती भएको वा नभएको परीक्षण गर्न दिएर त्यसको नतिजा सुन्नु अगाडि उनको मनमा जे जति कुरा खेल्छन् त्यो सारा कुरा लेखमा लेखिएको थियो । लेखमा देखाइएकी पात्र हाम्रो समाजको प्रतिनिधि पात्र हुन् जसको माध्यमबाट हामी अन्य थुप्रै महिलाहरुको मनोदशा बुझ्न सक्छाँै । लेखमा पुरै उनको मनोदसा पढ्न पाइन्छ । मेरो मन जति त्यो लेखले तान्यो त्योभन्दा बढी त्यस लेखमा आएका प्रतिक्रियाले तान्यो । प्रतिक्रिया विभिन्न किसिमका थिए, थोरै सकारात्मक र धेरै नकारात्मक । पहिलो प्रतिक्रिया थियो ‘घाँस स्टोरी’ । कमेन्ट पढेर म पुनः लेख पढ्न बाध्य भएँ कतै मैले पो लेखको मूल कुरो बुझिन कि भनेर । दोहो¥याएर पढ्दा पनि मलाई स्टोरी घाँस लागेन । लेखमा यथार्थताको वर्णन गरिएको थियो । आजको युगको पढेलेखेकी महिलाको यथार्थ जसलाई घरभित्र र घरबाहिर दुवै ठाऊँ उत्तिकै प्यारो छ तर दुवैतिर मन लगाएर काम गर्नका लागि वातावरण खोजेजस्तो छैन । प्रतिक्रिया पढेर लाग्यो महिलाको स्टोरी त धेरैको लागि घाँस स्टोरी रहेछ क्यारे । भोग्नेले कुरा बुझ्छ तर नभोग्नेले जे बोलिदिए पनि हुन्छ । के मतलब बोलिएका र लेखिएका शव्दले अरुलाई जे नै असर परोस् !
अर्को प्रतिक्रिया अझ दमदार थियो । प्रतिक्रियामा लेखिएको थियो आमा बन्नु त स्वर्गीय आनन्द दिने कुरा हो अहिलेका महिलालाई कसले सम्झाइदिने । रमाइलो कुरा यो कमेन्ट गर्ने व्यक्ति महिला हैन पुरुष हुनुहुन्थ्यो । महिला त्यति कमजोर भइसकेछन् आमा बन्नु स्वर्गीय आनन्द दिने कुरा हो भनेर पनि पुरुषले बताइदिनु पर्ने । अनि पुरुष कति जान्ने थाहै नभएको र अनुभव नै गर्न नसक्ने कुरामा पनि सल्लाह सुझाव दिन सक्ने ।
त्यो लेख त एउटा उदाहरण मात्र हो । सामाजिक सन्जालमा त्यस्ता धेरै महिलाद्धारा लिखित लेखहरु मैले पढेकी छु जसमा प्रतिक्रिया निकै नराम्रा र होच्याएर लेखिएका हुन्छन् । यस्ता कमेन्टहरु निकै पढ्न पाइन्छन् । दुःख लाग्छ कमेन्टहरु पढ्दा किनभने ती कमेन्ट गर्ने हाम्रा दाजुभाइ, दिदीबहिनी नै हुन् जो सामाजिक सन्जालको पहुँचमा छन्, जो साक्षर छन्, जो पढेलेखेका छन् र जो केही गर्ने हिम्मत राख्छन् । आफ्नो देशको शिक्षित वर्गबाट निम्न स्तरको प्रतिक्रियाहरु आएको देख्दा, उनीहरुले प्रयोग गरेको भाषा र शैली देख्दा कताकता लाज लागेर आउँछ र सोच्न बाध्य हुन्छु या त हाम्रो शिक्षामा समस्या छ या त हाम्रो संस्कारमा नै समस्या छ । पढेलेखेका जमातको त सोच यति संकिर्ण छ, निम्न स्तरको छ, जो आफ्नो बोलिको असर के कस्तो पर्छ भन्ने समेत ख्यालै नराखी बोल्छन् भने पढ्दै नपढेका जो जे भोग्दै आएको छ त्यही ठिक छ भन्ने एकोहोरो सोच राख्छन्, जसलाई अहिले समाजमा आएका नयाँनयाँ परिवर्तन र समाजमा उठेका आवाजहरुको बारेमा केही थाहै छैन उनीहरुबाट परिवर्तन र सहयोगको आशा कसरी राख्ने ? हुन त सभ्य हुन शिक्षा भन्दा संस्कार राम्रो चाहिन्छ, के हामी संस्कार नभएकै हौँ त ?
महिलाले छाउपडीको बारेमा बोले उसलाई संस्कृति विरोधीको संज्ञा दिइन्छ, उसले घरभित्रका कुरा उठाए घरभँडुवाको संज्ञा दिइन्छ, आफ्नो केही विचार राखे पोथी बासेको राम्रो हुदैन भनिन्छ, बच्चाबच्चीको विषयमा केही बोले त झन् उसको मातृत्वमै प्रश्नचिन्ह लाग्छ । केही नबोलि हो मा हो मिलाएर बसे असल नत्र खराव भइने कस्तो अचम्म हो । आफूलाई चित्त नबुझेको जे बोले पनि जुन विषयमा बोले पनि गलत कसरी भइन्छ ? नकारात्मक प्रतिक्रियाको सिकार किन हुनु पर्छ ? महिलाको समस्या महिलाले बताउँदा एक सेकेन्ड पनि हो कि त भनेर नसोचि गाली गर्न पछाडि नसर्ने पुरुषप्रधान समाजबाट के कति आशा गर्न सकिएला र कस्तो सहयोगको अपेक्षा गर्न सकिएला ?
संस्कृति भनेको के हो ? के गरे संस्कृति विरोधी भइन्छ ? धर्म भनेको के हो ? के गरे धर्म विरोधी भइन्छ ? पहिलेदेखि चलिआएका चलनचल्तीलाई आँखा चिम्लेर दुःखकष्ट भए पनि मान्नु धर्म र संस्कृति जोगाउनु हो र ? राम्रा कुरालाई अगाडि बढाउनु र नराम्रा कुप्रथालाई हटाउनु पो पढेलेखेका तर्क गर्न योग्य व्यक्तिहरुको जिम्मेवारी हो । मेरो विचारर्मा यस्तो हो रे’ त्यसैले गर्नुपर्छ भन्दा पनि यस्तो हुनुपर्छ भन्ने आत्मविस्वास हुनु जरुरी छ । हुनत सबैका आ–आफ्नै तर्क हुन्छन्, आफ्नै विचार हुन्छन् । सबैलाई आफ्नो तर्क गजब र उत्कृष्ट लाग्नु स्वभाविक हो तर लाग्दैमा सबै कुरा साँचा हुँदैनन् । आँखाले नै देखेको कुरा त झूठ हुन सक्ने सम्भावना कति हुन्छ कति अझ सुनेकै भरमा रे मा कति कुरा मानिरहने ?
मनोविष्लेशकका अनुसार मान्छे परपिडक र स्वपिडक दुइथरि प्रवृतिका हुन्छन् । प्रायः पुरुषमा परपिडकता बढी र महिलामा स्वपिडकता बढी देखिने कुरा बताइएको छ । हाम्रो समाजको चलनचल्ती र संस्कृतिलाई नियालेर हेर्दा पनि प्रायः पुरुष परपिडक र महिला स्वपिडक देखिन्छन् । धर्म र संस्कृति जोगाउनका लागि महिलाले चाल्दै आएका कदमहरु हेर्दा महिलाहरु स्वपिडक भएका उदाहरणहरु धेरै देख्न सकिन्छन् । कहिले श्रीमान्को दीर्घायुको लागि व्रत बस्नु, कहिले सन्तानको दीर्घायुको लागि ब्रत बस्नु, चाडपर्व आए भोक प्यास नै भुलेर काम गर्नु, आफ्नो स्वास्थ्यको बारेमा अन्योलमा रहेर धर्म गरेरै परिवारलाई सुखी र स्वास्थ राख्छु भन्ने विचित्र किसिमको आत्मविश्वास हुनु, आफूलाई भुलेर परिवारको मात्र सुखसुविधाको बारेमा सोच्नु अधिकांश महिलाहरुको बानी बनिसकेको छ । यी सबै कामहरु पुरुषबाट भए गरेको देख्न पाईँदैन । महिनावारी हुँदा आफू दुःख गरेर घरभन्दा पर बसेर दुःख खपेर आफ्नो घरमा चोखोनितो होस् भन्ने चाहना राख्ने महिलाहरुलाई तर्कमा भन्दा पनि अन्धविश्वासमा बढी विश्वास लाग्छ । आफूले आफूलाई पिडा दिएर बचाइएका धर्म संस्कृति के बचाउनै पर्ने किसिमका हुन् त ?
पुरुषको जिन्दगी पहिले पनि घर बाहिरकै काममा खर्च हुन्थ्यो र अहिले पनि उनीहरु त्यही जिम्मेवारीलाई निभाइरहेको छन् तर महिलाको पहिले र अहिलेको जिन्दगी हेर्ने हो भने आकाश जमीनको फरक आएको छ । हिजोका दिनमा घरभित्रको परिधिलाई मात्र आफ्नो कार्यक्षेत्र र कर्तव्य मान्ने महिलाहरु अब घर बाहिरको काममा पनि उत्तिकै व्यस्त देखिन्छन् । उनीहरु पढेलेखेका छन् र तर्क गर्न चाहन्छन् । आफ्ना लागि के राम्रो के नराम्रो बुझेर मात्र स्वीकार्ने या अस्वीकार गर्ने क्षमाता राख्ने भइसकेका छन् । त्यसैले परिस्थित अलि बेग्लै छ । शतप्रतिशत घरभित्र मात्र काम गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै भिन्नता छ त्यसैले त जरुरी छ घरका हरेक सदस्यको साथ र सहयोग । जसरी पुरुषलाई घरबाहिरको काम गर्दा घरभित्रको पुरै जिम्मेवारी महिलाले उठाएर सहयोग गरेका थिए के त्यसरी नै महिलालाई सहयोग गर्नु पुरुषको कर्तव्य हैन र ? महिलाले मलाई कस्तो गाह्रो भयो, थकित भएँ, कसरी भ्याउनु सारा काम भनेर आफ्नो समस्या अघि सार्नु मात्र पर्छ समाधानको रुपमा आउने प्रायः वाक्य एकै किसिमका हुन्छन् –‘किन गर्छौ त यति धेरै दुःख । गाह्रो भए छोडिदेऊ । मैले गरेकै छु नि । आनन्दले बस, घर हेर, बच्चाबच्ची हेर । चिन्ता नगर ।’ अधिकांशले यही भन्छन् । कति होलान् घरको कामको चिन्ता नगर मिलेर गरौँला, धेरै तनाव नलिऊ, हामी दुवैजनाले मिलेर गरे जाबो यो काम केही हैन भनेर बोलि, वचन र स्वभावले सहयोग गर्ने । खोजेको त मिलेर काम गर्न हो, सहकार्य गर्न हो, सुन्दर र सुखी उपलब्धीपूर्ण जीवन विताउन हो तर के वातावरण खोजे जस्तै छ त ?
नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् भनेर मात्र हुँदैन । यस्तो नारा लगाउन थालेको त धेरै भइसक्यो । नाराले जिन्दगी चल्दैन न त कुनै वादले नै । यहाँ नारीवादी हुँ भनेर हिँड्नेहरु नै कति पिडित होलान् र कति आफैँ पिडक होलान् । पुरुष मात्र हैन महिला पनि महिलाका अप्ठ्याराहरुका लागि धेरै जिम्मेवार छन् । न त केही लेखेर मात्र नै परिवर्तन सम्भव छ । परिवर्तन सोचमा आउन जरुरी छ त्यसका लागि सबैले आफ्नै व्यवहारलाई नियालेर हेर्न जरुरी छ । धेरैलाई यो लेख पनि बेकारको वाहियात लेख लाग्नेछ र मलाई थाहा छ यसलाई पनि धेरैले भन्नेछन् ‘घाँस स्टोरी’ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest