चटान झैं मजवुद दिनेश र सविताको जोडी

Sunday, December 8th, 2019

 

 

दिनेश कुमार थपलिया र सविता बस्नेत
दुई अलग परिवारका विपरित लिङ्गीलाई एक सूत्रमा बाँध्ने प्रकृया हो विवाह । हाम्रो हिन्दु परम्परामा विवाह पश्चात मात्र एक पुरुष र महिलालाई सामाजिक, धार्मिक र कानूनी रुपमा संगै बस्न अनुमति प्राप्त हुन्छ । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया पनि हो ।
प्रमुख निर्वाचन आयुक्त तथा गीतकार दिनेश कुमार थपलिया र सविता बस्नेत यस्तै पारिवारिक जीवनमा प्रवेश गरेको पनि पच्चीस वर्ष पुगिसकेको छ । २०५० सालको बैशाख २७ गते उनीहरु औपचारिक रुपमा एकअर्काको सहयात्री बने । सविताको भानिज दाजु दिनेशको साथी भएकोले एक दिन घट्टेकुलो स्थित सविताको डेरामा लिएर गए । सविताले आतिथ्यता स्वरुप कालो चिया पकाएर दिइन् । केटी हेर्ने योजना मुताविक पुगेका दिनेशले चिया संगै सवितालाई मात्र हेरेनन् उनले पकाएको चियाको स्वादमा सविताको गुण समेत केलाउन भ्याए । सवितालाई भने दाजु संग आएका साथीको बारेमा मनमा अन्य कुरा केहि केलाउने सोच नै आएन । विहेको कुरा अगाडी बढे पछि मात्र दिनेश आँफूलाई हेर्न आएको उनले पत्तो पाइन् ।
मकर राशी की भोजपुरकी सविता र मिथुन राशीका संखुवासभाका दिनेश वीचको यो मिलनलाई उनीहरु ‘जे देखिदैन त्यो लेखिन्छ’ भने झैं ‘भावीले लेखेर जुराएको सम्वन्ध’ मान्दछन् । त्यति बेला सविता बागबजारको पद्यकन्या क्याम्पसमा भर्खर स्नातक तह पहिलो वर्षको अध्ययनक्रममा थिइन् । विहे गर्ने न त सोच थियो न त योजना । कमसेकम पनि वि.ए. पास नगरी विहे नगर्ने मानसिकतामा रहेकी उनलाई आफ्नै भानिज दाजुले दिनेशको प्रस्ताव घरमा लगे पछि योग्य, सक्षम र राष्ट्रिय योजना आयोगको अधिकृत स्तरको जागीरे केटा माग्न आएकोले विहे गर्न परिवारको सुझाव आयो । परिवारको चाहना अनि अधिकृत तहको केटा माग्न आएकोले भित्री मनमा विवाहको चाहना नहुँदा नहुँदै पनि आखिर एक दिन त विहे गर्नु नै छ भन्ने सोचले विवाहको लागी राजी भएकी थिइन् । फजुल खर्च नगरिकन सामान्य तरिकाले उनीहरुको विवाह सम्पन्न भएको थियो ।
विवाह पछि हनिमुन जाने चाहना धेरै दम्पत्तिलाई हुन्छ । सविताका विवाहित साथीहरु पनि कसैले जर्मनी त कसैले अन्य विदेशी मुलुकमा हनिमुन मनाउन गएको रमाइला कुराहरु र अनुभवहरु सुनाउँथे । सविताले हनिमुनको लागी विदेश नै जाने चाहना त राखेकी होइनन्, नेपाल कै सुन्दर शहर त्यो पनि काठमाण्डौबाट मात्र दुई शय किलोमिटरको दूरीमा रहेको पोखरा सम्म जाने रहर भने गरेकी हुन् । यो रहर उनले दिनेशलाई सुनाइन् पनि, तर दिनेशले भर्खर विहे भएकोले खर्च नपुग्ने बताए । दिनेशको कुराले उनी निराश भने भइनन्, खर्च कति लाग्ने रहेछ भनेर उनी त्यति बेलाको सुन्धरा स्थित साझा यातायातको काउन्टरमा बुभ्mन गइन् । त्यति बेला पोखराको भाडा एक शय रुपैया रहेछ । आउँदा जादा दुई शय रुपैया र केहि दिनको होटल खर्च जोड्दा अठार शय, दुई हजार भए पुग्ने हिसाव उनले दिनेशलाई सुनाइन् । त्यो रकम पनि दिनेशलाई ठुलो र अनावश्यक पनि लाग्यो । सरकारी कर्मचारी भएकोले भोलीको दिनमा जागीरकै सिलसिलामा पनि पोखरा जान सकिने भएकोले पनि उनले अनावश्यक खर्च गर्न मन गरेनन् । दिनेशको भित्री आशय नबुझेकी सविताको हनिमुनको रहर भने अझै मरेन । खर्च नपुग्ने सुने पछि उनले आफ्नो घाटीको सुनको सिक्री बेचिन्, सिक्री बेचेर अठार शय प्राप्त भयो । ‘अव जाउ न त’ भन्दा पनि खै के मिलेन, हनिमुन मनाउन पोखरा जाने सविताको रहर रहर नै रह्यो । त्यो बेलाको रहर अहिले पनि झल्झली याद आउँछ सवितालाई । तर विहेको एक वर्ष पछि नै दिनेशले काठमाण्डौबाट सरुवा मिलाए । सरुवाको पनि कारण थियो, अधिकृतको जागीर, वैवाहिक जीवन, काठमाण्डौको बसाई महंगो लाग्यो उनलाई । आर्थिक सहजताको लागी उनी सरुवा भएर कृषि विकास तालिम केन्द्र, पर्वत पुगे । सविताको पोखरा जाने रहर पनि त्यति बेलै पुरा गरे उनले । पर्वतको वसाई धेरै कुराले सार्थक रह्यो सविता र दिनेशका लागी । पर्वत बसाईमा नै सुपुत्र सजगको जन्म भयो, सविताले वि.ए. पास पनि गरिन् अनि दिनेशको उपसचिवमा वढुवा पनि भयो ।
विवाहको पच्चीस वर्षमा दिनेश र सविता वीच कहिल्यै नराम्रो भएन । उमेरले झण्डै साढे दश वर्षको फरक छ दिनेश र सविताको । उमेरको त्यो फरकले खासै असर गरेको छैन उनीहरुको परिपक्क सम्वन्धमा । सुरुवाती दिनका ती अभाव र असजिला क्षणहरुमा पनि धैर्यताले साथ दिइन् सविताले दिनेशलाई । जागीरको क्रममा मुलुकका विभिन्न जिल्लाहरुमा सरुवा भइरह्यो दिनेशको । ती सबै जिल्लाहरुमा उनीहरु संगसंगै भए, सुख, दुःखका पल संगसंगै बाँडे । यहि क्रममा २०५४ सालमा कान्छो सुपुत्र सारंशको जन्म भयो । दुई सन्तानलाई सुख, दुःख झेलेर हुकाइन् सविताले । अहिले सजग डाक्टर भइसकेका छन् भने सारंश इन्जिनियर । यतिबेला विदेश भ्रमणका बेला घरबाट लगेको सातु र पाउरोटी खाएर जोगाएको, दुःख, कष्ट सबै झेलेर बनाएको कोटेश्वरमा आफ्नै घर छ, सानो, सुखी र सम्पन्न परिवार बनेको छ दिनेश र सविताको । समाजमा सबैले राम्रो मान्छन् दिनेशलाई । संघीयताको कार्यान्वयन गराएर देशकै काँचुली फेर्ने जिम्मेवारीमा रहेका दिनेशले आफ्नो टोल र समाजमा पनि छुट्टै छाप बनाएका छन् । उनकै टोलका छिमेकी सूर्य प्रसाद तिमिल्सिना भन्छन् ‘हाम्रो यो ठाउँलाई यो अवस्थामा ल्याउन दिनेश सरले धेरै गर्नु भएको छ, समाजमा हुने विभिन्न सामाजिक गतिविधिहरुमा पनि हामी निम्त्याउँछौ वहाँलाई, समय मिलाएर आउनु हुन्छ, सल्लाह, सुझाव दिनु हुन्छ, देशकै ठुलो मान्छे भए पनि त्यो ठुलोपन समाजमा देखाउनु हुन्न, सानो, ठुलो सबै संग मिल्ने क्षमता छ वहा संग ।’
दिनेशका धेरै सद्गुणहरु छन् । अफिसमा जति तनाव भए पनि त्यो तनाव उनी घरमा लैजादैनन्, घर र अफिस वीचको एउटा दूरी कायम राखेका छन् उनले । परेको बेलामा भान्छामा सवितालाई सघाउन पनि पछि पर्दैनन् उनी । खानपिनमा सविताले पकाएको सादा दाल, भात र तरकारी भए पुग्छ उनलाई । विभिन्न तारे होटलमा हुने गोष्ठी, सेमिनार र छलफलमा जादा पनि बेलुका घर आएर सविताले पकाएको त्यहि दालभात नखाई हुदै हुदैन उनलाई । दिनेशका यिनै राम्रा पक्षको सविता खुलेर तारिफ गर्छिन् । कहिले कहि झनक्क रिसाउने बानी भने मन पर्दैन सवितालाई । जतिबेला पनि फोनमा बोलिरहने, आदेश, सुझाव, निर्देशन सबै फोनबाटै दिने, राती आएको फोन पनि उठाउने वानी सवितालाई मन नपर्ने अर्को पाटो हो । धेरै पटक राती मादक पदार्थ सेवन गरेर आफ्नो गैह्र कानूनी काम नगरिदिएकोमा धम्की दिने फोन आएका छन्, जुन फोनका कारण दिनेश रातभरी तनावमा रहेको पनि उनले देखेकी छिन्, यस्तै घटनाहरुले गर्दा राती आठ बजे पछि आएको फोन नउठाए हुने भन्ने उनको गुनासो पनि रहेको छ । सबैलाई छिटो विश्वास गर्ने, सहज भइदिने बानीले धेरै पटक दिनेश आफैले अप्ठ्यारो परिस्थितिका सामाना गरेका छन् । दिनेशका यी गुण नै हतियार बनेर आफैं माथी प्रहार पनि भएका छन् बेलाबखत । त्यसैले यी राम्रा गुण भए पनि सबै प्रति यी गुण नदेखाउन पनि सुझाव रहेको छ सविताको ।
शाकाहारी सविताका पनि धेरै मन पर्ने गुणहरु छन् दिनेशलाई । घरको सरसफाईमा उनी सधैं तल्लिन हुन्छिन्, बगैचाको फूलहरुको हेरचाहमा पनि उनको बेग्लै लगाव छ । घरलाई चुस्त, दुरुस्त राख्ने काममा उनी कहिल्यै थाक्दिनन् । आफन्त संगको भेटघाट र सु–सम्वन्धमा पनि छुट्टै लगाव छ सविताको । मिलेर बस्नु पर्छ, सबैलाई आदर र सम्मान गर्नु पर्छ, परिवारका सदस्य वीच आत्मीयता हुनु पर्छ भन्ने कुरामा सधैं ध्यान पुर्याउछिन् सविता । घरमा जतिसुकै हतार भए पनि, स्वदेशका विभिन्न जिल्लाहरुमा रहदा होस् या विदेश भ्रमणमा जादा होस् हरेक विहान नुहाएर दुई मिनेट मात्रै भए पनि भगवानको स्मरण र स्तुति गरेर मात्र दिनको सुरुवात गर्ने सविताको वानी पनि असाध्यै मन पर्छ दिनेशलाई । उनी भन्छन् ‘उनको यो बानी अनुशासित हुने एउटा माध्यम पनि हो ।’ मायालु र दयालु भाव कि सविताको दिनेशलाई मन पर्ने अर्को पाटो उनी असाध्यै ख्याल राख्छिन् दिनेशको । उनी भन्छन् ‘म बरु विदेश गए पनि दुई चार दिन फोन गर्दिन, विभिन्न जिल्लाको भ्रमणमा जादा पनि फोन गर्न तिर ध्यान जादैन, उनले दिनमा तीन, चार पटक फोन गर्छिन्, कहाँ छु, के गर्दैछु, के खाए ? बेलुका के खाने आदि इत्यादि कुरा सोध्छिन्, त्यो पनि मलाई मात्रै होइन छोराहरुलाई समेत ।’ कृषि विकास बैंकमा कार्यरत सविताको गुनासो हुन्छ ‘जागीरको आधा तलव त मेरो फोनमा नै सकिन्छ ।’ सविताको घुम्न चाहने, नयाँ ठाउँ देख्न चाहने रहरको पनि प्रशंसक हुन् दिनेश । विशेष गरी नेपालका विभिन्न जिल्ला र भारतका शहरहरु घुम्ने रहर गर्छिन् सविता । प्राकृतिक सौन्दर्य र धार्मिक स्थलले उनलाई बढि लोभ्याउने गर्छ । झण्डै असीवटा मुलुकको भ्रमण गरेका दिनेशले सवितालाई भने लगभग दश वटा मुलुकमा मात्र संगै लगेका छन् ।
दिनेशलाई केहि चित्त नबुझ्ने बानी पनि छन् सविताका । सृजनशील दिनेश गीतकारको रुपमा पनि आँफूलाई स्थापित गराएका श्रष्टा हुन् । विशेष गरी रातीको समय उनको लेखपढमा वित्छ । राती अवेर सम्म बस्छन्, गीत लेख्छन्, अन्य सृजनाहरु कोर्छन्, ती सृजना तात्तातै सवितालाई सुनाउन मन लाग्छ उनलाई । निदाइसकेकी भए पनि आँफूले सुनाउन चाहे पछि सुनिदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई, ब्युझाउन खोज्छन् तर निन्द्रामै सविता झर्किन्छिन् …‘भोली सुनौला…निदाइसकेको मान्छेलाई कस्तो डिस्टर्व गरिस्या …यस्तै यस्तै ।’ यतिबेला उनको मन चसक्क हुन्छ, मनमनै भन्छन् ‘ब्युझिसके पछि सुनिदिएकी भए के हुन्थ्यो र ?’ कहिले कहि झनक्क रिसाउने वानी पछि छ सविताको, तर त्यो रिस यति चाडै मर्छ दिनेश छक्क पर्छन् ।
‘दुइटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ, कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ…’ उहिल्यै इश्वर बल्लभले गीत लेखे, स्वरसम्राट नारायण गोपालको स्वरको यो गीत कालजयी बन्यो । दिनेश प्रति सविताको अपेक्षा पनि यहि गीतको भाव जस्तै हुन्छ । उनी टाढा होस् या नजिक हरपल दिनेशको साथ भइदियोस् भन्ने कामना गर्छिन्, चाहना राख्छिन् । एउटी नारीको कोमल मनको यो भावलाई दिनेश भने अलि फरक ढंगले लिन्छन् । त्यसो त परिस्थिति पनि बाधक छ दिनेशका लागी सविताको यो चाहना पुरा गर्न । विहानै अफिस पुगेका दिनेश बेलुका कति बेला घर फर्कने हो पत्तो हुदैन । कामको प्रकृति र जिम्मेवारी पनि त्यस्तै छ । भर्खर संघीयतामा गएको मुलुकमा संघीयता लागू गर्ने प्रमुख सारथी पनि हुन् दिनेश । त्यसैले पनि चौविस घण्टाको समय समेत उनको लागी छोटो लाग्छ ।
कहिल्यै विदेशको मोह नराखेका दम्पत्तीले आफ्ना छोराहरुलाई पनि त्यस्तै संस्कार दिएका छन् । उनीहरुका छोराहरु पनि स्वदेशमै बस्नु पर्छ भन्ने सोच राख्दछन् । नेपाल जस्तो सुन्दर देश अन्य कुनै छैन भन्ने बोध छ उनीहरुलाई । वुवाले जस्तै आफ्नो देशको सेवामा समर्पित हुने भावले आफ्नो आफ्नो कर्ममा सक्रिय छन् छोराहरु सजग र सारंश ।
जिन्दगीको गोरेटोमा सवितालाई जीवनसाथी पाएकोमा दिनेश र दिनेशलाई आफ्नो सहयात्री पाएकीमा सविता असाध्यै खुशी छन् । कहिलेकहि विरोधीले आँखा नलागाएका पनि होइनन् यी दुई जोडीमा । तर एकअर्कालाई राम्ररी बुझेका यी समझदार र परिपक्क जोडीलाई कसैको कर्के नजरले असर गर्न सक्दैन, चटन झैं मजवुद दिनेश र सविताको जोडी अरुका लागी पनि उदाहरणीय रहेको छ ।
प्रस्तुति : हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest