चलचित्र खेल्न मात्रै छोडेको हो, माया नै मारेको भने होइन

Monday, August 6th, 2018

  विपना थापा ,अभिनेत्री
जीवन के हो अन्तिम समयमा चितामा जल्दै गरेको मान्छेले मात्र परिभाषा गर्न सक्छ होला सायद । जुन मानिसले जे सोचेको हुँदैन त्यो नै जीवन भएर आइदिन्छ । चाहे समय होस्, परिस्थिति होस् या यस्तै केही । हर कोहीको जीवन पनि यस्तै यस्तै नै हुन्छ । यति होला मानिसले रोजेको पेशा फरक, जीवन जिउने तरिका फरक । जीवन त्यही हो जुन भोगाइको केन्द्र बिन्दुमा हुन्छ । मेरो पनि जीवनमा त्यस्तै भयो । नेपाली चलचित्रको क्षेत्रमा आफ्नो नाम शिखरमा पु¥याउन सफल नायिका, नेपालका महानायक तथा त्यस बेलाका सुपरस्टार भनेर चिनिने सम्पूर्ण नायक, निर्देशकसँग चलचित्र खेलिसकेकी नायिकाका रुपमा चिनिएकी म विवाहपछि एकाएक चलचित्र क्षेत्रबाट टाढा भएँ । चलचित्र क्षेत्रबाटमात्र होइन आफ्नो मातृभूमि नेपाल नै छोडेर छिमेकी राष्ट्र भारतलाई कर्म भूमि बनाउन पुँगे । सोचे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ भन्ने अरुणा लामाले गाएको गीत जस्तै पनि हो जीवन । जीवनलाई हेर्ने र बुझ्ने तरिकाहरु आ आफ्नै हुन्छन् । वास्तवमा जीवनलाई जसरी चलायो त्यसरी नै चल्छ । हुन त मान्छेलाई आफ्नो जीवनमा कुनै पनि उतार चढाव नभइदियोस् भन्ने चाहना अवश्य नै हुन्छ तर बिना उत्तारचढावको जीन्दगी सफल पनि हुँदैन । त्यसमा पनि महिलाले त धेरै भुमिकाहरु निर्वाह गर्नुपर्छ त्यहि क्रममा म पारिवारिक भुमिका निर्वाह गर्दा चलचित्रबाट टाढा भएकी हुँ । रिल लाइफमा होस या रियल लाइफमा हरेक भूमिकालाई सहि तरिकाले निभाउनु पर्छ भन्ने मान्यता राख्छु । अहिले म आमाको भूमिका निभाइरहेकी छु । मेरो पुस्ताका सबै नायकहरुसँग चलचित्र खेल्ने मौका मैले पाएकी थिए अर्थात मैले उहाँहरु सँग स्क्रिन सेयर गरेकी थिए ।
राजनीतिक पृष्ठभूमि, पारिवारिक तथा शैक्षिकस्तर पनि राम्रो भएकाले मलाई चलचित्र क्षेत्रमा आउन त्यत्ति असहज भएन । बरु परिवारका सदस्यले नै हाम्री छोरीले किन फिल्म खेल्न हुँदैन भन्ने मानसिकता राखेर चलचित्रमा आउने प्रेरणा दिनुभयो । राजनीतिक परिवारबाट नै चलचित्र क्षेत्रमा मनिषा कोइराला आएपछि मेरो परिवारलाई पनि छोरीहरु जुनसुकै क्षेत्रमा भएपनि अब्बल हुनुपर्छ भन्ने लाग्यो । यहि मानसिकता र म प्रतिको विश्वासका कारण मलाइ सिनेमा क्षेत्रमा पठाउनुभएको थियो । सिनेमा क्षेत्रको माहोैल निकै राम्रो थियो त्यो बेला पनि । हुन त अहिले जस्तो प्रविधिको उपयोग हामीले गर्न पाएनौं । निक्कै मेहनत, धैर्य गरेरमात्र फिल्म खेल्नुपर्ने बाध्यता थियो । प्रविधिक अभावकै कारण धेरै दुःख पाउनुपरेको थियो । विगत सम्झँदा र अहिलेको परिस्थितिलाई हेर्दा खुशी लाग्छ ।
बाल्यकालमा चञ्चले स्वाभावको थिएँ म, धेरै बोल्नुपर्ने स्वभावको । अरुले कम बोलेको आफूले धेरै बोल्न रुचाउने स्वाभाव थियो । त्यही स्वाभावका कारण पनि होला, विद्यालय पढ्दा धेरै साथीहरु थिए । विद्यायलयमा सवै प्रकृतिका साथीहरु नजिकिएका हुन्थे । विद्यालयस्तरमा मध्यमस्तरको पढाइ भएको विद्यार्थीका रुपमा परिचित थिए म । पढाइमा भन्दा पनि सानैदेखि नै नाचगानमा विशेष रुची थियो । विद्यालय पढ्दा विभिन्न कार्यक्रममा डान्सको कोरियोग्राफर म आफू पनि गर्थे । डान्स सिकाए वापत स्कूलबाट १५००÷१५०० रुपैयाँ गरेर दुईपटक पारिश्रमिक पनि पाएकी थिए त्यतिबेला मेरा लागि त्यो ठूलो उपलब्धि थियो ।
राम्रो नाच्न जान्ने भएका कारण मलाई सिनेमामा आउन सहज भयो । त्यति बेला सुटिङ स्पोर्टमा रियलसल नै नगरी डान्स गरिन्थ्यो, निर्माताहरु खुशी भएर थप प्रोत्साहनका लागि हामीलाई पैसा दिनुहुन्थ्यो । जुनसुकै काममा सफलता प्राप्त गर्न निकै दुःख र धैर्य गर्नुपर्ने हुन्थ्यो । पहिलाको जस्तो दुःख गर्न सक्ने कलाकारले यस क्षेत्रमा राम्रो गर्न सक्छन् । हुन त सकेको मेहनत गरेका पनि छन्, जसका कारण विगतमा नेपाली फिल्म भने पछि नाक खुम्च्याउने व्यक्तिहरु पनि खुसीसाथ हलसम्म पुग्छन् । नेपाली चलचित्र क्षेत्रको यो ठूलो सफलता पनि हो ।
नेपाली सिने क्षेत्रमा पारिश्रमिक नदिएको र दिए पनि कम पारिश्रमिक पाउने गरेको भन्ने गुनासो पहिला पनि थियो सायद त्यो अहिले पनि होला तर म चाहिँ त्यसको सिकार हुनुपरेन । म पहिले देखि नै बोल्ड थिए । कोहीसँग बोल्न मलाई डर, धक लाग्दैनथ्यो । त्यही बोल्ड भएका कारण नै पारिश्रमिकमा गुनासो गर्नुपर्ने अवस्था आएन । प्रायः पारिश्रमिकको मामलामा लिडिङ् पार्टका कलाकार भन्दा पनि सानो रोलमा कलाकारले सिकार हुनुपरेको गुनासो धेरै सुनिन्थ्यो । अहिलेको समयलाई हेर्ने हो भने स्कूल जाने उमेर १३ वर्षमै जन्मभूमि नामक चलचित्र खेलेकी थिए । सानो उमेरमै चलचित्र क्षेत्रमा आएको हुनाले खासै भविश्यमा म यो नै बन्छु भन्ने लक्ष्य थिएन । मोहन निरौला सरले मलाई त्यतिवेला चलचित्रका लागि लिनुभएको थियो । पहिलोपटक नै नायिकाका रुपमा पर्दामा छाउन सफल भएकी थिएँ म । पहिलो दिन पहिलो सर्ट पहिलोपटक नै ओके भएको थियो । त्यतिबेला निकै खुसी लागेको थियो । कलाकारितामा होस् या जुनसुकै पेशामा पनि घमण्ड हुनुहँुदैन भन्ने मलाई लाग्छ । आज जो कोहीले सानो कुरामा घमण्ड देखाउँछ भने भोली उसलाई त्यही घमण्डका कारण पछुताउनुपर्ने हुन्छ ।
म मेरो जीवनको टर्निङ प्वाइन्ट भन्न रुचाउछु जतिबेला बरमाला फिल्मको सुटिङ् चलिरहेको थियो । वास्वतमा मेरो जीवनको बरमाला पनि त्यही बरमाला चलचित्रकै को–प्रोडुसरसँग गाँसिन पुग्यो । नेपाली चलचित्र बरमालाको निर्माणका बेलामा को –प्रोडुसरको भूमिकामा रहेका आशुतोष भारद्वाजसँग मेरो पहिलो भेट भयो चलचित्रकै लागि । तर मेरा लागि भने बरमाला चलचित्र नै जीवनको बरमाला जस्तै बनेर आइदियो । म र त्यतिवेला नेपाल मेडिकल कलेजमा डाक्टर पढ्दै गरेका आशुतोष भारद्वाज प्रेममा प¥यौं । हामी करिब ५ वर्षसम्म प्रेममा रहेका थियौं । जतिबेला हामी पे्रममा परेका थियौं, त्यति नै बेला भारद्वाज अपहरणमा परेका थिए । मेरा लागि त्यो समय नै सबैभन्दा दुःखद समय थियो । मैले त्यतिबेला त्यो कुरा कसरी फेस गर्न सकेँ, अहिले सम्झिदा पनि डर लागेर आउँछ । उता डाक्टरको घरबाट मैले पैसाका लागि किडन्याप गरेको भन्ने आरोप लागेको थियो । यता किडन्यापरले धेरै फिरौती मागेको थियो । म त्यस्तो केस कसैलाई पनि नपरोस् भन्ने कामना गर्छु । त्यसपछि पारिवारिक सल्लाहअनुसार हामी सन् २००७ मा विवाह बन्धनमा बाधियौँ । छोरी मान्छे विवाह गरेर पराई घरमा जानु नै पर्छ भन्ने हाम्रो सामाजिक मानसिकतालाई मैले पनि पछ्याएँ । विवाहपछि मेरो पतिको परिवारले पनि चलचित्रमा ल्याउन खोज्नु नै भएको हो तर विवाहअघि पछिको समयमा फरक पर्दो रहेछ । म मा पनि त्यही लागू भयो । नेपाल र भारतको संस्कारहरु प्रायः मिल्दो जुल्दो भएकाले विवाह पछि पनि मलाई खासै समस्या परेन । मेरी सासुआमालाई मैले सधै सम्झनुपर्छ, जसले मेरो माइतीघर टाढा छ, म यो पराइघरमा आएको हो भन्ने कहिले महशुश नै गराउनुभएन । बरु आफ्नी छोरी जस्तै व्यवहार गर्नुभयो । आमाको ममता दिनु भयो । विवाहपछि मेरा लागि सासु आमा नै साथी जस्तो हुनुहुन्थ्यो । हाम्रो विवाह भएको केही समयपछि आमा विरामी पर्नुभयो, त्यसको केही समयपछि मेरो बच्चा पनि भयो, जसका कारण म सिने क्षेत्रबाट टाढा रहेँ । मेरो समयका नायिकाहरु प्राय सबै जना बाहिरतिर नै देख्छु । कतिजना यही इन्डस्ट्रीमै हुनुहुन्छ । उहाँहरुलाई देख्दा खुशी लाग्छ ।
नेपाली चलचित्र खेल्न छाडे भनेर नेपाली सिनेमालाई नै माया मारेको भने होइन । म इन्डिया बसेर पनि नेपाली सिनेमा हेर्ने गरेकी छु । के के भइरहेका छन् । सबै कुराको अपडेटमा पनि रहन्छु । सम्भव त छिट्टै दर्शकलाई सरप्राइज प्याकेजका साथ नेपाली सिने क्षेत्रमा कमब्याक हुनेछु । फिल्म खेल्दा खेल्दै नेपालबाटै गुमनाम भएर चलचित्र क्षेत्रलाई माया मारेर गई भन्ने खालको दर्शक महानुभावको गुनासोलाई मैले मायाका रुपमा हेर्ने गरेकी छु ।

-कृष्णा चौलागाई

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest