चिकेन थुक्पा ,अण्डा करी ,फिस करी,खसीको खुट्टाको सुप (रेसिपी)

Thursday, February 1st, 2018

चिकेन थुक्पा
चाहिने सामाग्री
थुक्पा एक प्याकेट, खुर्सानीको धुलो एक सानो चम्चा, गरम मसला एक ठूलो चम्चा, काटेको हरियो प्याज एक ठूलो चम्चा, गाँजर मसिनो गरी काटेको एककप, क्याप्सिकन(रातो, हरियो,पहेंलो) एक कप, बेसार सानो चम्चाको एक चम्चा, मसिनो टुक्रा बनाएर काटेको एक ठूलो चम्चा लसुन, एक ठूलो चम्चा अदुवा, एउटा रातो ठूलो प्याज मसिनो लामो आकारमा काटेको, ३ वटा हरियो खुर्सानी लामो आकारमा काटेको, बन्दा एक कप, मसिनो काटेको एक ठूलो चम्चा धनियाँ, हड्डी नभएको चिकेन २०० ग्राम, तेल ३ ठूलो चम्चा, एउटा कागती,
 बनाउने तरिकाः
थुक्पालाई चार मिनेट जति उमालेर एउटा भाँडोमा राख्ने, एउटा भाँडोमा तेललाई राम्रोसँग तताउने । त्यसमा अदुवा लसुन राख्ने, अनि बेसार राखेर चलाउने । हल्का खैरो भएपछि चिकेन राखेर राम्रोसँग चलाउने र फ्राई हुन छोडिदिने । राम्रोसँग फ्राइ भएपछि प्याज, हरियो खुर्सानी, मसला, नून राखेर पकाउने । त्यसपछि टमाटर राखेर पकाउने, टमाटर गल्न सुरु भएपछि सबै भेजिटेवल्सहरु राखेर ५ मिनेट जति पकाउने, त्यसपछि आवश्यकताअनुसार पानी राख्ने र उमाल्ने । अनि उसिनेको थुक्पालाई त्यसमा राखेर १ मिनेट जति पकाउने । अब थुक्पा तयार भयो । यसमा धनियाँले सजाउनुहोस् र कागतीको रस पनि राख्नुहोस् र सर्व गर्नुहोस् ।
अण्डा करी

चाहिने सामाग्री
६ वटा उसिनेको अण्डा, एक चम्चा हरियो खुर्सानी मसिनो गरी काटेको, रातो खुर्सानीको धुलो एक चम्चा, करी पाउडर एक ठूलो चम्चा, अदुवा र लसुन काटेको एक ठूलो चम्चा, एक चम्चा बेसारको पाउडर, एक ठूलो चम्चा गरम मसलाको धुलो, २ वटा टमाटर काटेको, २ ठूलो चम्चा तेल, एउटा प्याज काटेको, ल्वाङ सुकमेल ३–३ वटा ।

बनाउने तरिका
प्याज र टमाटरको पेस्ट बनाउने, यस पेस्टमा लसुन अदुवा राखेर मिक्स गर्ने, उसिनेको अण्डामा सानो सानो प्वाल पार्ने, अब प्यानलाई तताउने, प्यान तातेपछि तेल राख्ने, तेल राम्रोसँग तातेपछि अण्डालाई गोल्डेन हुन्जेल फ्राई गर्ने, त्यसपछि अण्डा निकालेर प्लेटमा राख्ने । अब त्यही तेलमा जीरा फुराउने र ल्वाङ् सुकमेल राख्ने, तेजपत्ता राख्ने, हरियो खुर्सानी राखेर राम्रोसँग चलाउने । सबै फ्राई भएपछि लसुन अदुवा र प्याजको पेस्ट राख्ने र कम हिटमा पकाउने । त्यसपछि टमाटरको पेस्ट राख्ने, अनि आवश्यक नून राख्ने, रातो धुलो खुर्सानी राख्ने, बेसार राख्ने, करि पाउडर राख्ने र राम्रोसँग चलाएर बिर्को लगाएर ३ मिनेट पकाउने । त्यसमा एक गिलास पानी हाल्ने र अलि अलि उम्लिन थालेपछि अण्डा राख्ने र मसला पनि राख्ने, मसिनो गरी काटेको धनियाँ राखेर राम्रोसँग चलाउनुहोस् । पाँच मिनेट हिट मिडियम गरेर राख्ने । अण्डा करी तयार भयो । अब यो खाना, चिउरा, रोटी जे सँग पनि खान सक्नुहुन्छ ।
फिस करी
आवश्यक सामाग्री
१ केजी माछा, (कम फ्याट भएको), १ ठूलो चम्चा तेल, तोरीको दाना १ चम्चा, १ ठूलो चम्चा अदुवा र लसुन, १ चम्चा हरियो खुर्सानी, १ चम्चा रातो खुर्सानी, १ चम्चा बेसारको धुलो, नून स्वादअनुसार, काटेको टमाटर एक कप, प्याज मसिनो काटेको १ कप, सजाउनका लागि १ कप धनियाँ, एक चम्चा जीरा र २ चम्चा भुटेको तिल ।
बनाउने तरिका
पहिले एउटा माछालाई सफा गरी धुने, जिरा, धनियाँ, तोरी, तील, लसुन र अदुवा, हरियो खुर्सानी र अलिकति पानी राखेर ग्राइण्डरमा पिस्ने । माछामा थोरै नुन राख्ने, धनियाँ राख्ने, खुर्सानी र बनाएको पेस्टलाई अलिकति राखेर राम्रोसँग मोल्ने, ३ मिनेट जति मोल्ने । तेल तताउने र त्यसमा माछा राखेर खैरो हुन्जेल दुवैपट्टी फ्राई गर्ने । त्यसपछि थोरै तेल राखेर प्याज हाल्ने, बाँकी पेस्ट मसला पनि राख्ने, बाँकी बेसार, खुर्सानीको धुलो र नून राखेर चलाउँदै ३ मिनेट पकाउने । टमाटर राखेर राम्रोसँग चलाएर ३ मिनेट छोपेर पकाउने । त्यसपछि आधा लिटर जति पानी राख्ने, उम्लन लागेपछि फ्राइ गरेको माछा राख्ने र सानो आँचमा ५ मिनेट जति पकाउने । अब तयार भयो । माथिबाट हरियो धनियाँ राख्ने र मनपर्छ भने कागतीको रस पनि राख्न सकिन्छ ।
खसीको खुट्टाको सुप
आवश्यक सामाग्री
२ वटा खसीको खुट्टालाई टुक्रा बनाउने, ३० एमएल तोरीको तेल, २ वटा मिडियम साइजको काटेको प्याज, मेथी अलिकति, आधा चम्चा वेसारको धुलो, १ टेवल स्पुन अदुवा र लसुनको पेस्ट, मीट मसला या गरम मसला १ चम्चा, खुर्सानीको धुलो १ सानो चम्चा, स्वादअनुसार नुन, जीराको धुलो १ सानो चम्चा, २ वटा तेजपत्ता, ८० ग्राम काटेको टमाटर र २ टेवल स्पुन धनियाँ ।
बनाउने तरिकाः
कुकर राम्रेसँग तताउने, अनि त्यसमा तेल राख्ने । तेल तातो भएपछि मेथीको दाना फुराउने, मेथी खैरो भएपछि प्याजलाई राख्ने र खैरो हुन्जेल भुट्ने । तेजपत्ता राखेर भुट्ने अनि वेसार राख्ने, त्यसपछि खसीको खुट्टाको टुक्रालाई राखेर राम्रोसँग फ्राई गर्ने । अदुवा लसुनको पेस्ट, खुर्सानीको धुलो, मसला सबै राखेर चलाउँदै पकाउने । ५ मिनेट भुटेर टमाटर राख्ने । अनि गरम मसला राख्ने । तातोपानी १ लिटर या आवश्यकताअनुसार राख्ने । राम्रोसँग चलाउने र कुकुरको बिर्को लगाइदिने । १५ सिठी लागेपछि आँचबाट निकाल्ने, सुप तयार भयो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest