छाउपडी व्यवस्थित बनाउनमा ध्यान जाओस्

Sunday, February 16th, 2020


छाउपडीलाई सरकारले अपराध घोषण गरीसकेको पनि निकै भयो तर यो केवल कागजमा मात्र सिमित रहेको छ । व्यावहारमा भने सुदुरपश्चिमको जिल्ला होस् या काठमाण्डौं भित्रको ठाउँ कतैबाट पनि हट्न सकेको छैन । सबै धर्मका आ–आफ्नै परम्परा हुन्छन् र धर्म सँग जोडिएको परम्पराले दिमाग र मन दुबैमा नराम्रोसँग जरा गाडेको हुन्छ, जसलाई तुरुन्तै फाल्छु भन्नु मूर्खता हो । अहिले नेपाल सरकार र स्थानिय सरकारको मिलेमतोमा सुदुरपश्चिमका केहि जिल्लामा थुप्रै छाउपडि भत्काइए । प्रहरीको रोहबर र स्थानिय प्रतिनिधिको रोहबरमा भएको यो काम अघिल्ला बर्षहरुमा एनजिओले भत्काउदा जस्तो तुरुन्तै बनाउन संभव त छैन तर यसको असर भोग्नेमा पीडित महिला नै पर्दछन् । जबसम्म दिमागमा बसेको छाउपडि भत्कीदैन तबसम्म गोठ भत्काएर त्यसको कुनै औचित्य नै छैन । मनमा देउता रिसाउने डर, परिवारले घरमा बस्न नदिने बाध्यता, यी यावत कुराहरुले अहिले गोठ भत्काइदिएपछि कतिपय खुल्ला आकाशमुनि स्याउलाले बारेर बस्न बाध्य भएका छन् ।
बर्षेनी छाउगोडमा थुप्रै महिलाले ज्यान गुमाएका छन् यो हदैसम्मको दुःखद घटना हो तर पनि यसलाई निरन्तरता दिइरहेका छन् । यस अर्थमा पनि छाउगोठमा बसेर छाउबार्नु यहाँका मानिसमा जकडिएर रहेको धार्मिक डर हो भन्न सकिन्छ । सरकारले छाउपडि भत्काउन भन्दा पहिला त्यहाँको महिलाको चाहना बुझेर अगाडि बढेको भए प्रभावकारी हुनेथियो सायद । शिक्षित बर्ग, संसार घुमेका महिलाहरु समेत छाउ बारिरहेको अवस्थामा दुरदराजका महिला शिक्षा र चेतनाको उज्यालो भन्दा टाढा रहेका महिलाको लागि एकै पटक छाउगोठ भत्काएर घरभित्र छाउहुँदा बस भनेर बाध्यात्मक अवस्था सिर्जना गर्दा ती महिलाका लागि पक्कै सहज अवस्था होइन ।
परिवर्तन हुन समय लाग्छ र परिवर्तनका लागि उचित शिक्षा र चेतनाको आवश्यक हुन्छ । यदि सरकारले ती क्षेत्रका महिलाको सुरक्षा नै चाहेको हो भने व्यावस्थित छाउपडि निर्माण गरेर उनीहरुको आस्थाको सम्मान गर्दे समस्या समाधान गर्न सक्थ्यो । र विस्तारै छाउ हुनु प्राकृतिक कुरा हो यो बेलामा घरमा बस्दैमा, कसैलाई हेर्दा छुदैमा, पूजा गर्दैमा देउता रिसाउने होइन भन्ने बुझ्ने भएपछि त्यहाँका महिला स्वमं घरभित्र बस्न थाल्छन्, र विस्तारै छाउबार्न पनि छाड्न थाल्छन् । प्राकृतिक कुरा हो कुनै पाप होइन भन्ने कुरालाई स्वीकार्न थाल्छन् । त्यसैले सरकारको ध्यान अहिले छाउपडी भत्काउनेमा भन्दा पनि व्यावस्थित बनाउने तर्फ जाओस् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest