उदयपुर :जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ ।
मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र ५५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यले बताएका छन।
पीडक बाबुले ०७६ साल माघ १९ गते राति आफ्नी १२ वर्षीया छोरीलाई बलात्कार गरेपछि पीडककी श्रीमती र पीडित छोरीले माघ २० गते कारबाहीका लागि प्रहरीमा निवेदन दिएको अदालतले बताएको छ । प्रहरीले पक्राउ गरेर बाबुलाई जिल्ला अदालतमा मुद्दा चलाएपछि फागुन २२ गतेदेखि अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।