जनमुक्ति सेनाका दुई सिपाही

Monday, December 10th, 2018

विवाह दुई आत्माको मिलन हो । एक अर्काबीचको समझदारी र सम्झौता बीचमा रहेर उभिएको एक बलियो खम्बा हो विवाह । सुख, दुःख, हाँसो रोदनमा एक अर्कालाई साथ सहयोग दिइ हातेमालो गरेर अघि बढ्ने सम्बन्धको रुपमा लिइन्छ, बैबाहिक सम्बन्धलाई । हो, त्यस्तै जोडी हो, जनार्दन शर्मा र उनकी धर्मपत्नी लक्ष्मी पौडेलको जोडी । उज्यालो नेपालको अभियान लिएर हिँडेका जर्नादन शर्मा पहिलादेखि नै राजनीतिक जीवन बिताइरहेका थिए । रुकुममा जन्मिएका उनी स्पष्ट वक्ताका रुपमा परिचित छन् ।
राजनीतिक जीवनमा धेरैपटक भूमिगत भएका उनले सोह्र वर्षको उमेरदेखि नै पारिवारिकरुपमा विवाहको प्रेसर खेप्दै आएका थिए । आफ्नो समय अनुकूल तथा विवाहका लागि परिपक्व छु भन्ने महशुस नहुँदासम्म उनले हुन्छ विहे गरौंला नि भन्ने कुरा गर्दै टार्दै आएका थिए । विवाह गर्छु भनेरमात्र पनि हुँदैन, सबैकुरा मिल्नुपर्छ । त्यसका लागि समय अर्थात लगन आउनुपर्छ, उनको पनि त्यस्तै भयो, जति परिवारलाई छले पनि उनले आफ्नो भाग्यलाई छल्न सकेनन् । अन्ततः २६ वर्षको उमेरमा उनी प्यूठान घर भएर दाङ बस्दै आएकी लक्ष्मी पौडेलसँग विवाहबन्धनमा बाँधिए । शर्मा र पौडेलको २०४६ सालको फागुनमा पहिलोपटक दाङमा भेट भएको थियो । काठमाडौंको आन्दोलनमा रहेका जनार्दनलाई पार्टीबाट बोलाएपछि दाङ गएका थिए । घरबाट बुबाले पार्टीमासमेत विवाहको कुरा पु¥याएपछि विवाहका लागि पार्टीले उनलाई दाङ बोलाएको रहेछ । लक्ष्मीको दाईसँग पहिलेदेखि कै चिनजानी थियो उनको । विवाहका लागि पार्टी, घर परिवारबाट कुरा भएपछि हेरौं न त भनेर लक्ष्मीको घर पुगेका उनी लक्ष्मीसँगै विवाह गर्न राजी भएका थिए । लक्ष्मीलाई भने विवाहका लागि केटा हेर्न आउँदैछन् भन्ने थाहा थिएन । बेलुका घरमा पुगेका पाहुनालाई खाना बनाएर दिने क्रममा लक्ष्मीका दाईले तँलाई हेर्न भनी आएको हो, तेरोे विचार के छ भन्दा उनले घरपरिवार राजी भए विवाह गर्न तयार छु भनिन् ।
कुरा खासै हुन नपाएपनि पहिला हेर्दा भन्दा पनि पारिवारिक अवस्था तथा उनको सिर्जनशील र मेहनत गर्ने बानीका कारण पनि हुन्छ भनेका थिए शर्माले । लक्ष्मीले पनि राजनीति अलिअलि बुझेकी थिइन् । आफ्नो अंकल पनि राजनीतिक जीवन बिताइरहेका कारण राजनीति गर्दैमा दुःख नै झेल्नुपर्छ भन्ने लागेन । लक्ष्मी भन्छिन्–त्यत्तिबेला मेरो परिवारले सबै कुरा बुझेर पनि होला मलाई राजनीति गर्ने केटा, त्यहाँमाथि उहाँको नाममा वारेन्ट छ भन्ने जस्ता कुरा भन्नु भएन । मैले पनि राजनीति गर्ने मान्छे, भविश्यममा दुःख पाइने पो हो कि भन्ने पनि सोचिनँ । देश र जनताका लागि लड्न तयार एक सिपाहीसँग म जोडिदै छु भन्ने सोच आयो । अहिले जस्तो प्रविधिको विकास भएको थिएन । विवाह भन्नेवित्तिकै यस्तो केटा चाहिँ चाहिन्छ है भन्ने सोचाई थिएन । तर जनार्दनले भने विवाहका लागि आफूसँग जिउने, श्रमप्रति आस्था राख्ने, अलिकति पढेको र राजनीतिक जीवनमा आँच नपु¥याउने खालको हुनुपर्छ भन्ने सोचेका थिए । उनी भन्छन्–मैले खोजेको र चाहे जस्तै श्रीमती मैले पाएँ ।
विवाह भएर आफ्नो माइती घर छोडेर कर्म घर जाने प्रचलन नेपाली महिलाको छ तर लक्ष्मीले भने विवाह भए पछि १३ दिन काठमाडौंको आन्दोलनमा सरिक भइन् । अझ भनौं, आफ्नो हनिमुनको समयमा आन्दोलन गरेर लक्ष्मी माइती फर्केकी थिइन् । विवाहपूर्व आफ्नो जिल्लामा उनको नाममा वारेन्ट जारी भएर काठमाडौं बसेका शर्मा २०४६ सालको आन्दोलनको सफलतापछि श्रीमतीसहित घर गएका थिए, त्यो पनि आन्दोलनसहित । एक छोरा र एक छोरीको अभिभावक रहेका शर्मा दम्पत्ती जनआन्दोलनको समयमा स–साना बच्चालाई माइतीको जिम्मा लगाएर आन्दोलनमा होमिएका थिए ।
तत्कालिन सरकारको विद्रोही पक्ष बनेर आन्दोलनमा होमिएका शर्मासँग जोडिएर ठूलो भूल गरिएछ भन्ने लक्ष्मीलाई कहिले पनि लागेन । राजनीतिक जीवन बिताइरहेको यो दम्पत्ती विरलैमात्रै घुम्ने गर्छ । पार्टी तथा अन्य कामकाजबाहेक अन्यत्र घुम्न नरुचाउने शर्मा विभिन्न कार्यक्रमका सिलसिलामा बाहिर जाने आउने गर्छन् । बेला मौकामा काठमाडौबाहिर हिँडिरहने शर्माले श्रीमतीलाई कहिले पनि गिफ्ट दिने गरेका छैनन् ।
स्पेशल दिन पनि खासै सेलिब्रेसन नगर्ने यो दम्पत्तीमध्ये शर्माले कहिले काहीँ पौडेलको जन्म दिनसम्म विर्सिदिन्छन् । त्यस्तो अवस्थामा पनि खासै नरिसाउने लक्ष्मी धैर्य, सहनशील तथा सुशील महिलाका रुपमा लिन्छन् जर्नादन । उनी भन्छन्–हामी सामान्य ढंगले चलेका छौं । यस्तो कुरामा खासै विश्वास पनि राख्दैनौं । उनले मेरो पारिवारिक राजनीतिक कुराहरु नबुझेर यस्तो गर्नुहोस् र त्यस्तो गर्नुहोस् भनेर बसेको भए सायद आज म देशका लागि केही गर्न सक्दैन थिए होला । घरका लागि आवश्यक पर्ने सामाग्री पनि लक्ष्मी स्वयंम् किन्छिन् । बाहिरबाट हेर्दा सालिन स्वभावका शर्मा कहिले काहीँ तनाव धेरै हँुदा रिसाउँछन् तर पनि एक अर्काे रिसाउँदा कमजोरी जसको छ, उसैले फकाउने प्रचलन छ । समय नमिल्दा घुम्न जाने भनेर कहिले कतै घुम्न गएका छैनन् यो दम्पत्ती । समय दिन नपाएकोमा कहिले एकले अर्कामा गुनासो पनि रहेन । विशेष त लक्ष्मीले पनि राजनीति बुझेको र आफू पनि पार्टीमा रहेका कारण पनि शर्मालाई घुमाउन नलगेको तथा सानातिना घरायसी कुरामा किच किच गरिनन् कहिल्यै पनि । सामान्य जीवन चलाउन चाहने लक्ष्मीले आर्थिक कुरामा पनि कहिल्यै अप्ठयारो पारिनन् । लक्ष्मीलाई जर्नादनको आफ्नो निर्णयमा अडिक रहने बानी मनपर्छ भने अलि बढी रिसाउनुहुन्छ भन्ने बेला बेला आरोप पनि लगाउँछिन् । जनार्दनलाई भने लक्ष्मीको श्रमप्रति कटिबद्ध रहने, सेवा सत्कार गर्ने तथा कहिल्यै झन्झट नमान्ने बानी मनपर्छ तर आज यो नगरौंभन्दा नमान्ने बानी भने त्यत्ति राम्रो लाग्दैन ।
सदरमूकामनजिकै घर भएका जनार्दनका पत्नी छोरा छोरीको लालन पालन गरेर बसेका बेलामा तत्कालिन सरकारी पक्षबाट दुःख दिइन्थ्यो । उनलाई त्यही असह्य भएर दाङ आएकी थिइन् । धेरैपटक हिरासतमा पर्दै छुट्टै गरेकी उनी आफू पनि जनमुक्ति सेनामा रहेर काम गरेकी थिइन् । उनी छोरा छोरीलाई मावलीमा जिम्मा लगाएर राजनीतिमा होमिएकी थिइन् ।
आफ्नो जीवनमा मैले गल्ती नै गरेँ भन्ने खालको गल्ती नगरेको तर कहिले काहीँ केही कुराको छिटो प्रतिक्रिया गर्दा व्यहोर्नुपर्ने कुरामा रिग्रेट फिल गर्छन् जनार्दन । बेफूर्सदीला उनी किचनमा खासै पस्दैनन् । लक्ष्मीले पकाएको विशेषगरी सेलरोटी मनपराउने शर्मा खानेकुरामा यो मिठो र त्यो नमिठो भन्दैनन् । लक्ष्मीको पढाईलाई भने अलि अगाडि बढाउन पाएको भए हुन्थ्यो भन्ने लाग्छ उनलाई । जीवनमा आफूले हासिल गरेका केही केही कुराका आधारमा सफल भएको छु भन्ने सोचेर सन्तुष्ट भइयो भने केही पनि हासिल गर्न नसकिने उनको धारणा छ । जीवनका धेरै संर्घषका बाटोमा सहजरुपमा अघि बढेका जर्नादन राजनीतिक जीवनमा विभिन्न समयमा घटेका घटनाक्रमप्रति दुःखित छन् । लक्ष्मीलाई भने आफू आन्दोलनमा होमिएको बेला विभिन्न साथी गुमाउँदा र आफ्नो ममतामयी आमा बितेको कुरा पनि लामो समयपछि थाहा पाउँदाको पीडा छ ।
–प्रस्तुति ः कृष्ण कुमारी चौलागाईं

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest