जीवन अनुभव र अनुभूतिको संगम रहेछ

Monday, December 28th, 2020

समयको चक्र संगै जीवनयात्रामा आइरहने आरोह अवरोहहरुमा नै जीवन जिउनुको छुट्टै सुखद अनुभूति संगालिने रहेछ । आफ्नो जीवनलाई सरसर्ती नियाल्दा यस्तै महशुष हुने गर्छ मलाई ।
म एक सामान्य परिवारमा जन्मेकी हुँ । बुवा कैलाश प्रकाश जोशी र आमा शान्ति जोशी कि म जेठी छोरी । म भन्दा मुनि बहिनीहरु थिए, जेठी छोरी भएकोले मेरो भूमिका केहि फरक र जिम्मेवारीपूर्ण थियो । मैले मेरा आमा, बुवाको दुःख अनि संघर्ष नजिकबाट हेरेकी छु, बुझेकी छु, मेरो बुवा कहिल्यै विद्यालय जानु भएन, तर पनि बुवामा असाध्यै सकारात्मक सोच थियो, निर्णय गर्ने क्षमता थियो, मेरो बुवाले सधैं मैले गर्व गर्ने अनुभूति दिनु भयो, बुवाले घर व्यवहार चलाउन हरेक पटक लाग्ने हाट बजारमा चामल लगायत आफ्नो पौरखले उब्जाएका उब्जनी बेच्न लानुहुन्थ्यो, सुन पसल पनि थियो हाम्रो, सुन पसलमा कहिले बुवा, कहिले काका बस्नुहुन्थ्यो । बुवा, काका हाट जानुहुदाँ कसैले सुनको भाउ सोध्यो भने ‘तोलाको २२९ रुपैया भन्नु है’ भन्नुहुन्थ्यो । आफैले भोगेका ती दिनहरु सम्झदा एकादेशको कथा जस्तो लाग्छ ।
मेरो आमा अलि खानदानी परिवारकी हुनुहुन्थ्यो, ठेकेदारकी छोरी । सुखमा हुर्केकी । घरमा काम केहि पनि गर्न नपर्ने भएकोले घर व्यवहारका सामान्य काम देखि टपरी गाँस्न पनि वहाँलाई आउदैनथ्यो । हाम्रो संयुक्त परिवार थियो, फुपुहरु, काका, काकी, काकाका छोराछोरी समेत गर्दा हाम्रो परिवार २०÷२२ जनाको थियो, एकैचोटी यत्रो परिवारमा भित्रदा आमालाई निकै कठिन भएको थियो, घर व्यवहारका धेरै कुरा आमाले विहे पछि नै सिक्नु भयो । संयुक्त परिवार भएकोले खाने बेला, सुत्ने बेला संघर्ष गर्नु पर्ने, घरमा फरक फरक थालहरु थिए, कहिले कुन थाल, कहिले कुन थाल आफ्नो भागमा पथ्र्यो, आँफूलाई काँसको थाल पर्दा म गमक्क हुन्थे भने सिलावरको सेतो थाल पर्दा हेपिएको महशुष हुन्थ्यो, त्यति बेला सिलावरको थालमा हली लगायत अन्य कामदारलाइ दिइन्थ्यो ।
क्वाँटी पूर्णिमा लगायतका चाडपर्वहरुमा खाना खानकै लागि लामो लाइन बस्नु पथ्र्यो, पछाडी पर्दा आफ्नो पालो आइञ्जेल मासु सकिन्छ कि भन्ने डरैडर लिएर लाइन बसिन्थ्यो, मासुको झोल संगै एउटा चोक्टा पाइयो भने पनि निकै खुसी लाग्थ्यो, एकजोर नयाँ लुगा लगाउन दशैं नै कुर्न पथ्र्यो । स्वस्थानी पूर्णिमामा स्वस्थानी कथा खुव सुनिन्थ्यो, स्वस्थानीको कथाको चाखले भन्दा कथा सकिए पछि पाइने एक केस्रा सुन्तला वा एक टुक्रा उखुको लोभ बढि हुन्थ्यो, मेरो बुवा सात वर्षे गोमाको सत्तरी बर्षे वृद्ध संग विवाह भएको स्वास्थानीको प्रसंग सुनाउदै ‘यो बालशोषणको कथा हो भन्नुहुन्थ्यो,’ अनपढ मेरो बुवाको त्यति बेलाका ती विश्लेषणले पनि म मा निकै प्रभाव पारेको छ । अहिलेका बालबालिका र हामीले भोगेका दुःख फरक छन्, सामना गरेका समस्या फरक छन् । द्वन्द्वको त्यो बेला बालबालिका अपहरणमा, एम्वुसमा परे कि भन्ने डर हुन्थ्यो, अहिले छोरी ढिला घर फर्कदा बलात्कारमा परिन् कि ? सडक दुर्घटनामा पो परिन् कि भनेर डराउनु पर्ने अवस्था छ ।
मैले कक्षा पाच सम्म लेवेरोटरी स्कुल र शिक्षा सदन मा.वि धरानमा दश कक्षा सम्म अध्ययन गरे । विद्यालयमा हुने नृत्य प्रतियोगितामा म नियमित भाग लिन्थे, हरेक पटक म पुरस्कार लिएर आउँथे, मेरो सफलतामा सबै खुसी हुनुहुन्थ्यो । स्कुलमा हुने नेतृत्वदायी कार्यक्रममा पनि म सधैं अग्रसरता देखाउँथे, मेरो फुपुहरु पनि मैले अध्ययन गरेको विद्यालयमा पढाउनुहुन्थ्यो तै पनि पढाईमा भने म सामान्य विद्यार्थी थिए, मेरी आमाले मेरो पढाईलाई व्यंग्य गर्दै भन्नुहुन्थ्यो ‘अरुले चन्द्रमामा गएर प्लानिङ् गरिसके, तिमी अरुले लेखेको किताव पढ्न पनि गाह्रो मान्ने ?’
२०३५ सालमा मैले एसएलसी उत्तीर्ण गरे । धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक सम्मको अध्ययन पुरा गरे । ‘ छोरीको विवाह छिटो गर्नु पर्छ’ भन्ने समाजमा मेरो आमाबुवा चाहि ‘एमए पास नगरी विहे गर्न हुदैन’ भन्नुहुन्थ्यो । आमाबुवाको यो स्पष्टता र सरकात्मक कुराले मैले छिटो विवाह गर्न परेन । हाम्रो घर नजिकै एउटा मारवाडी परिवार थियो, एक दिन सोही घरकि लक्ष्मी दिदीको विवाहको कुरा लिएर केटा हेर्न आए, केटा पक्षले लक्ष्मी दिदीको विभिन्न तरिकाले अन्तर्वार्ता लिए, उनको बोल्ने तरिका, हिंड्ने शैली र व्यवहारिक कुशलता विभिन्न तरिकाले जाँचियो, मापन गरियो, तर पुरुष पात्रको भने केहि पनि हेरिएन । यी सबै प्रकृया नियालिरहेकी मलाई भने महिलाहरुलाई बस्तुको रुपमा हेर्ने रहेछ भन्ने लाग्यो, पुरुष प्रधान समाजको यो व्यवहारले मलाई भित्रै देखि उकुसमुकुस बनायो ।
स्नातकोत्तर तहको अध्ययनको लागि म काठमाडोैं आए । संयुक्त परिवारमा बसेकी मलाई सुरुवाती दिनमा काठमाडौं निकै विरानो र निरस लाग्थ्यो, सिमित खर्चमा पुर्याउनु पर्ने लगायत धेरै समस्याहरु संग जुध्नुपथ्र्यो, काठमाडांै आएर पनि निकै संघर्ष गरियो । त्रिविको होस्टेलमा बस्दा ए ब्लक, वि ब्लक आदि छुट्याइन्थो जुन राजनैतिक तरिकाले राखिने रहेछ । विद्यालयमा जस्तै विश्वविद्यालयमा हुने विभिन्न कार्यक्रमहरुमा पनि म सहभागिता जनाउथे, एउटा कार्यक्रममा ‘भुलिदिएछौ नि लै लै…’ बोलको गीतमा मैले नृत्य गरेकी थिए, जसमा मैले जीवन्त अभिनय गरेछु, मेरो नृत्य र अभिनय धेरैले मन पराउनु भएछ । खुवै चर्चा पनि भयो । अध्ययनमा म वर्ष भरि खास मेहनत नगर्ने, परीक्षा आउनु दुइ महिना अगाडी भने खुव पढ्थे । म एकदम घोक्न सक्थे, घोकेरै त्रिवि, कीर्तिपुरबाट मैले राजनीति शास्त्रमा स्तातकोत्तर तह उत्तीर्ण गरे, मेरो परिवारबाट एमए सम्म पढ्ने म मात्र थिए ।
मेरो विवाह ताप्लेजुङ्का प्रदिप श्रेष्ठ संग भयो । त्यति बेला वहाँ नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो, विहे अगाडी नै म समाज कल्याण परिषदमा अनुषन्धान अधिकृतको रुपमा कार्यरत थिए । मेरो पहिलो तलव रु. १४०० थियो, त्यति बेला दुईजनाको कमाईले पनि खर्च टार्न निकै कठिन हुन्थ्यो । घर व्यवहार सबै हेर्नु पर्ने, चाडवाड पनि धान्नु पर्ने, आफ्ना खर्चहरु पनि पुर्याउनु पर्ने, सिमित खर्चमा धेरै आर्थिक जिम्मेवारी वहन गर्नु पर्ने अवस्थामा थियौं हामी । अभिभावकलाई दुःख नदिइकन आफैले आफ्ना समस्या संग जुध्नुपर्छ भन्ने मान्यतामा हामी अघि बढेका थियौं । २०४८ सालमा छोरा जन्मिदा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिए म । सुत्केरी गराउन अप्रेशन गर्नु पर्ने भयो, अप्रेशनको लागि चौध हजार लाग्ने बताइयो, त्यो खर्च व्यवस्थापन गर्न नसकेर संचय कोषबाट पैसा निकाल्नु पर्ने अवस्था आएको थियो । संघर्ष र आर्थिक अभावका ती दिनहरु सम्झदा आज पनि आँखाबाट आँसु आउँछ ।
तीन वर्ष कि सानो छोरा छोडेर म महिला र विकास विषयमा मास्टर्स गर्न नेदरल्याण्ड (हालको हल्याण्ड) पुगे, त्यतिबेला मात्र मलाइ हाम्रो पढाईंको शैली ठीक रहेनछ भन्ने कुरा थाहा भयो । इतिहासका कुरा घोकेर पढेकी मलाई समस्याहरुको हल गर्नु , ‘क्रिटिल एनलाइसिस’ गर्न पर्ने, वैज्ञानिक, अन्वेषकहरुको अन्वेषणमा आलोचना गर्नु पर्ने, सबै काम कम्प्युटरमा गर्नु पर्ने, अंग्रेजी भाषामा अध्ययन, लेखन र प्रस्तुतिकरण दिनु पर्ने अवस्थाले निकै असहज र विचलित बनायो, र पनि मैले पढ्नै पर्छ भन्ने दरिलो आत्मविश्वास लिएर म अघि बढे, विस्तारै सबै कुरा सिक्दै गए, घुलमिल हुँदै गए, त्यहाँको पढाइले मेरो तेश्रो आँखा खुल्यो । हाम्रो अध्ययन शैली एकदम सुधार गर्नुपर्ने मैले महशुष गरे ।
हल्याण्डबाट अध्ययन पुरा गरेर आए पछि मैले बढुवाको परीक्षा दिएर उपसचिव पास गरे । त्यति नै बेला महिला मन्त्रालय गठन भयो, म काजमा महिला मन्त्रालयमा काम गरे । महिला मन्त्रालयमा मैले काम गर्दा निकै असहज परिस्थिति पनि भोग्नु पर्यो, म फरक र चाडो परिवर्तन हुने शैली प्रयोग गर्न खोज्थे तर म भन्दा माथीका पुरुष सहसचिवज्यूहरुले मलाई नै दोशी देख्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो ‘शरु जी हामीले पनि महिलालाई नै प्राथमिकता दिएकै त छौ नि, राम भन्नु भन्दा पहिले सीताको नाम लिएकै छौ, कृष्ण भन्दा अगाडी राधालाई सम्झेकै छौ, आमालाइ विभेद गर्दैनौ, बुवालाई ढोग्दा आमालाई पनि ढोगेकै छौ, किन यस्तो उत्पात समानता÷समताको कुरा गरेकी ?’ आदि । वहाँहरु ‘पोथी बासेको राम्रो हुन्न, पोथी कुरकुर गरेकै राम्रो’ भन्ने सोच्नु हुन्थ्यो । त्यति बेला सहाना प्रधान महिला मन्त्री हुनुहुन्थ्यो । वहाँले धेरै दुःखेसो र गुनासो म संग सुनाउनुहुन्थ्यो, महिला पछाडी पर्नु भनेको देशको आर्थिक पक्ष नै पछाडी पर्नु हो भन्ने वहाँको मान्यता र बुझाई रहेको थियो ।
मैले १२ वर्षको सरकारी जागिर छोडेर युएनडिपीमा ‘लैंगिक समतामा मूल प्रभाविकरण’ परियोजनामा तीन वर्ष काम गरे । त्यहि बेला बेइजिङमा चौथो महिला सम्मेलन भयो, तत्पश्चात नेपालमा महिला मन्त्रालय गठन भएको थियो । त्यो बेला लोकसेवा र राजश्व सेवामा महिला उत्तीर्ण भएकै रहेनछन्, विशेष कक्षा संचालन गर्दा १५ जना महिला मध्ये ४ जनाले उत्तीर्ण गर्न सफल हुनुभयो, त्यस पछि युनिफेम हुदै युएन वुमनमा १७ वर्ष काम गरे, त्यति बेला महिला अधिकार, शसक्तिकरण, समता र समानताको सम्वन्धमा धेरै सरकारहरुसंग काम गर्ने अवसर जुर्यो, त्यति बेला महिलाको क्षेत्रमा केहि गर्न सके जस्तो लाग्छ । त्यो मध्ये करिव चार÷पाँच वर्ष दक्षिण एसियाको बैदेशिक रोजगारमा जाने महिलाहरुको शसक्तिकरणको क्षेत्रमा पनि काम गरे, घरेलु हिंसा सम्वन्धी, महिला बेचविखन सम्वन्धी ऐन कानून ल्याउन प्राविधिक सहयोग गर्ने काम, निर्वाचन आयोगमा महिलाका उम्मेदवारी सम्वन्धी क्षेत्रमा काम गरियो भने नीजि क्षेत्र संग पनि धेरै काम भयो । केन्द्रिय तथ्याकं विभाग संग कसरी लैंगिक मूलप्रभाविकरण गर्ने भन्ने सन्दर्भमा महत्वपूर्ण सहकार्य भयो ।
म मैले भोगेका, मैले देखेका र अनुभूति गरेका कमि, कमजोरी, विकृति, विसंगतिहरुमा कलम पनि चलाउदै आएकी छु, विभिन्न पत्रपत्रिकामा मेरा लेखहरु प्रकाशित भएका छन् भने प्रकाशित, अप्रकाशित लेखहरुको संगालो ‘एउटा सिन्को भाँची हेर्दा’ शीर्षकको पुस्तक पनि प्रकाशित भएको छ । जुन पुस्तक विक्री भएको पैसा वैदेशिक रोजगारमा जादा समस्यामा परेका महिलाहरुको लागि समर्पित गरेकी छु, मेरो पुस्तक कान्छिमाया तामाङ्ले सगरमाथाको टाकुरा सम्म पनि पुर्याउनु भयो । युएनमा काम गर्दा लेख्न पाइदैन, लेख्नु पर्यो भने अनुमति लिनु पर्छ, तर मैले कुनै नीजि संस्था, राजनैतिक दलको लागि होइन, महिलाका समस्या र महिलाका विषयवस्तुहरुमा लेख्ने भएकी र युएनले म प्रति गरेको विश्वासले युएनमा रहदा नै मैले पुस्तक प्रकाशन गर्न सफल भए । लेखको माध्यमबाट एकैचोटी लाखौ सम्म पुग्न सकिने भएकोले जनचेतनाको लागि लेख प्रभावकारी माध्यम हो भन्ने म ठान्दछु । यहि सोचले म आगामी दिनहरुमा पनि मेरो लेखनलाई निरन्तरता दिनेछु । पहिले भन्दा सजिलो पनि छ, बन्धन छैन । आगमी लेखहरु सडक सुरक्षा, अष्टे«लिया लगायतका मुलुकहरुमा नेपालीले पाएका शारीरिक र मानसिक हिंसाको कुुरा लगायतका विषयमा लेख्नेछु ।
म नेपाल पोलिसी इन्टिच्युटमा पनि आवद्ध छु, विदेशमा भएका राम्रा, नराम्रा कुरा कसरी नेपालीहरुमाझ बाढ्न सकिन्छ भन्ने पनि सोचमा छु, लेखेर वा बोलेर के गर्न सकिन्छ गर्न तत्पर छु भने हामी महिला अधिकारको क्षेत्रमा काम गर्ने केहि व्यक्ति मिलेर अन्तरपुस्ता महिलावादी समुह नामक समुह गठन गरेका छौं, जुन समुहबाट महिलाको क्षेत्रमा भइरहेका विभिन्न गतिविधिहरुमा आवाज उठाउने गरेका छौ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पुरा हुन पहिले त नारी समुद्ध हुनु पर्यो, आर्थिक हैसियत बढाउन पर्यो, विकासको परिभाषा के हो त ? बाइस प्रतिशत मात्र महिला रोजगारमा आवद्ध छन्, यो धेरै कम हो । हाम्रो विकासको गतिलाई कुन गतिमा लैजाने ? यो विषयमा सरकारलाई झक्झक्याउने काम पनि अन्तरपुस्ता महिला समुहबाट गर्दैछौ । यो पुस्ताले गरेको योगदान अर्को पुस्तालाई पनि थाहा होस् भन्ने पनि हाम्रो उद्देश्य हो, दुइसय वटा छाउगोठ भत्काइयो तर दिमागको छाउगोठ भत्केका छैनन्, यो पनि हाम्रो पहल हो ।
जीवनका यी वसन्तहरु पार गरिरहदा जीवन एउटा सिकाइ, भोगाइ र अवसर रहेछ भन्ने मैले बुझें । अहिले सम्म जति लड्दै, ठोक्किदै हिँडे ठीकै रहेछ जस्तो लाग्छ, म सामन्य परिवारमा जन्मेर, सरकारी स्कुल पढेकी मान्छे युएन सम्म पुग्न सके र युएन छोड्न पनि सके, मेरो यो यात्रामा धेरैको साथ र सहयोग पाएकी छु । हुन पनि नेपाल सम्भवाना नै सम्भावना भएको देश हो, यो देशमा धेरै कुरा गर्न सकिन्छ ।
कुनै पनि महिला बोलिरहेको, केहि सामान बेचिरहेको, कुनै व्यवसायमा संलग्न भएको देख्दा मलाई एकदम खुशी र आनन्द लाग्छ । देश अहिले सक्रमणकालिन अवस्थामा रहेको छ, यो बेला सरकारलाई सहयोग पनि चाहिएको छ, यो पनि मेरो प्रयास रहेको छ, मेरो यो सानो प्रयासमा म सफल भए भने यो पनि मेरो सिन्को भचाइ हुनेछ ।
प्रस्तुति ः हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest