जीवन अनुभव र अनुभूतिको संगम रहेछ

Thursday, February 27th, 2020

शरु जोशी,  महिला अधिकारकर्मी
सफलता, विफलता, आरोह अवरोह, दुःख, कष्ट, खुसी, हाँसो, विविध समस्याहरु संगको साक्षात्कार अनि ती समस्याहरुको समाधान खोज्दै जीवनका उकाली, ओराली अनि भञ्ज्याङहरु काटिने रहेछ । जीवनको यात्रामा कोहि भेटिने अनि कोहि छुटिने भइरहने रहेछ । समय संगै जीवनयात्रामा आइरहने यी र यस्ता आरोह अवरोहहरुमा नै जीवन जिउनुको अनुभूति संगालिदै गइने रहेछ । आफ्नो जीवनलाई सरसर्ती नियाल्दा यस्तै महशुष हन्छ मलाई ।
म एक सामान्य परिवारमा जन्मेकी हुँ । बुवा कैलाश प्रकाश जोशी र आमा शान्ती जोशी कि म जेठी छोरी । म भन्दा मुनि बहिनीहरु थिए, जेठी छोरी भएकोले मेरो भूमिका केहि फरक र जिम्मेवारीपूर्ण थियो । मैले मेरा आमा, बुवाको दुःख अनि संघर्ष नजिकबाट हेरेकी छु, बुझेकी छु । दुःख गरेर आमा, बुवाले मलाई हुर्काउनु भएको, मनोबल बढाउनु भएको अनि पढाउनु भएको हो । मेरो बुवाले कहिल्यै विद्यालय जानु पाउनु भएन, तर पनि बुवामा असाध्यै ठोस र सकारात्मक सोच थियो, प्रगतिशील निर्णय गर्ने क्षमता थियो । बुवाले घर व्यवहार चलाउन हरेक पटक लाग्ने हाट बजारमा चामल बेच्न लानु हुन्थ्यो, सानु सुन पसल पनि थियो हाम्रो, सुन पसलमा कहिले बुवा, कहिले काकाहरु बस्नु हुन्थ्यो । बुवा, काका यताउता जानुहुदाँ कसैले सुनको भाउ सोध्यो भने तोलाको २२९ रुपैया भन्नु है भन्नुहुन्थ्यो । आफैले भोगेको ती दिन सम्झदा एकादेशको कथा जस्तो लाग्छ ।

मेरो आमा अलि खानदानी परिवारकी हुनुहुन्थयो, ठेकेदारकी छोरी । सुख, सयलमा हुर्कनु भएकी । घरमा काम केहि पनि गर्न नपर्ने भएकोले घर व्यवहारका सामान्य काम देखि टपरी गाँस्न पनि वहालाई आउदैनथ्यो । हाम्रो संयुक्त परिवार थियो, फुपुहरु, काका, काकी, काकाका छोराछोरी समेत गर्दा २०÷२२ जना हुन्थ्यौ । एकैचोटी यत्रो परिवारमा बस्नु पर्दा आमालाई निकै कठिन भएको थियो, घर व्यवहारका धेरै कुरा आमाले विहे पछि नै सिक्नु भयो । संयुक्त परिवार भएकोले खाने बेला, सुत्ने बेला सानु तिनु संघर्षै गर्नु पथ्र्यो । घरमा फरक फरक थालहरु थिए, कहिले कुन थाल, कहिले कुन थाल खाने बेला आफ्नो भागमा पथ्र्यो । आँफूलाई काँसको थाल पर्दा म गमक्क हुन्थे भने सिलावरको सेतो थाल पर्दा हेपिएको महशुष हुन्थ्यो, त्यति बेला सिलावरको थालमा हली लगायत अन्य कामदारलाइ दिइने चलन थियो ।

क्वाँटी पूर्णिमा लगायतका चाडपर्वहरुमा खाना खानकै लागी लाइनमा बस्नु पथ्र्यो । पछाडी पर्दा आफ्नो पालो आइञ्जेल मासु सकिन्छ कि भन्ने ध्यान हुन्थ्यो । मासुको झोल संगै एउटा चोक्टा पाइयो भने निकै खुसी लाग्थ्यो । नयाँ लुगा लगाउन दशैं नै कुर्न पथ्र्यो । स्वस्थानी पूर्णिमामा स्वस्थानी कथा खुव सुनिन्थ्यो, स्वस्थानीको कथाको चाखले भन्दा कथा सकिए पछि पाइने एक केस्रा सुन्तला वा एक टुक्रा उखुको लोभ हुन्थ्यो । तर मेरो बुवा सात वर्षे गोमाको सत्तरी वर्षे वृद्ध संग विवाह भएको स्वास्थानीको प्रसंगमा यो बालशोषणको पनि कथा हो भन्नु हुन्थ्यो । अनपढ मेरो बुवाको त्यति बेलाका त्यस्तो विश्लेषणले गर्ने शक्तिले म मा निकै प्रभाव पारेको छ । अहिलेका बालबालिका र हामीले भोगेका दुःख, सामना गरेका समस्या फरक छन् । द्वन्द्वको बेला बालबालिका अपहरणमा, एम्वुसमा परे कि भन्ने डर हमेशा रहन्थ्यो । अहिले छोरी ढिला घर फर्कदा बलात्कारमा परिन् कि ? सडक दुर्घटनामा पो परिन् कि भनेर डराउनु पर्ने अवस्था छ ।
मैले कक्षा पाच सम्म लेवेरोटरी स्कुल र कक्षा दश सम्म शिक्षा सदन मावि धरानमा अध्ययन गरे । विद्यालयमा हुने नृत्य प्रतियोगितामा म नियमित भाग लिन्थे, हरेक पटक म पुरस्कार लिएर आउँथे, मेरो सफलतामा सबै खुसी हुनुहुन्थ्यो । स्कुलमा हुने नेतृत्वदायी कार्यक्रममा पनि म सधैं अग्रसरता देखाउँथे, मेरो फुपुहरु पनि मैले अध्ययन गरेको विद्यालयमा पढाउनु हुन्थ्यो । पढाईमा भने म सधै सामान्य विद्यार्थी थिए । बीए पढदा मेरी आमाले मेरो पढाईलाई व्यंग्य गर्दै भन्नु हुन्थ्यो ‘अरुले चन्द्रमामा गएर प्लानिगं गरिसके, तिमी अरुले लेखेको किताव पढ्न सक्तैनौ ?’
२०३५ सालमा मैले एसएलसी उत्तीर्ण गरे । धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक सम्मको अध्ययन पुरा गरे । ‘छोरीको विवाह छिटो गर्नु पर्छ’ भन्ने समाजमा मेरो आमाबुवा चाहि ‘एमए पास नगरी विहे गर्न हुदैन’ भन्नु हुन्थ्यो । आमाबुवाको यो स्पष्टता र सकारात्मक हौसलाले मैले छिटो विवाह गर्न परेन । हाम्रो घर नजिकै लक्ष्मी दिदीको एउटा मारवाडी परिवार थियो । एक दिन विवाहको लागि केटा हेर्न आए । केटा पक्षले लक्ष्मी दिदीको विभिन्न तरिकाले अन्तर्वार्ता लिए, उनको बोल्ने तरिका, हिंड्ने शैली र व्यवहारिक कुशलता विभिन्न तरिकाले जाँच गरियो । दुलहीलाइ कहिले कुर्ता सलवार, कअिले प्यान्ट, कहिले सारीमा क्याटवक जस्तै हीडन लगाइयो । तर दुल्हाको भने केहि पनि हेरिएन, अझ उनी उनका परीवारले ठीक छ भन्दै टीक लगाउदै गए । लक्ष्मी दीदीलाइ दुल्हा कस्तो लाग्यो भनेर सोध्दै सोधिएन । यी बीवाह बजारको प्रकृया नियाल्दा मलाई भने महिलाहरुलाई बस्तुको रुपमा हेरीने चलन रहेछ भन्ने त्यस्बेला थाहा भयो । पुरुष प्रधान समाजको यो व्यवहारले मलाई माभरि उकुसमुकुस बनाइ रहन्थ्यो, कस्लाइ कसरी सोध्ने मैले छीचोल्न सकेकि थिइन ।
स्नातकोत्तर तहको अध्ययनको लागी मेरो परीवारको पहिलो सदस्य म काठमाडौं आए । संयुक्त परिवारमा बसेकी मलाई सिमित खर्चमा र एक्सपोजर नभएकोले सुरुवाती दिनमा काठमाडौ गाहे भएको सम्झन्छु । अरुले पीजाको कुरा गर्दा मलाइ के होला भन्ने लाग्थ्यो । त्रिविको होस्टेलमा बस्दा ए ब्लक, वि ब्लक राजनैतिक तरिकाले संचालित हुदो रहेछ । होस्टेलमा बस्दा राजनैतिक अवधारणाको धारमा सामुहिक परिचय मेरो पनि बनेछ । युनिभरसीटीमा होस्टेल डे प्रतियोगिता हुन्थ्यो, मैले पनि भाग लिए । एउटा कार्यक्रममा मैले भुलिदिएछौ नि लै लै ढुग्रीं मुन्द«ी बुलाकि चादींचुरा नौगेडीलाइ, विर्सिदिएछौ नी लै लै दौरा सुरवाल खुकुरीलाइ भन्ने गीतमा नृत्य गरेकी थिए, जसमा मैरो परफमेन्स सबैलाइ मन परेछ, म धेरैको प्रीय बनेछ, त्यस्को खुवै चर्चा भएको थियो । पढाइमा म वर्ष भरि खास मेहनत नगर्ने, तर परीक्षा आउनु दुइ महिना अगाडी खुव पढ्थे । म एकदम घोक्न सक्थे, कीर्तिपुरबाट मैले राजनीति शास्त्रमा स्तातकोत्तर तह उत्तीर्ण गरे र भोलि पल्टै समाज कल्याण परिषदमा अनुषन्धान अधिकृतको रुपमा कार्य शुरु गरे । मेरो पहिलो तलव रु. १४०० थियो । पहिलो तलब लिएर बिशाmल बजारमा गएर ७५० मा सारी किनेर आमालाइ पठाएकि थिए ।
मेरो विवाह ताप्लेजुङका प्रदिप श्रेष्ठ संग भयो । त्यति बेला वहा नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । त्यति बेला दुईजनाको कमाई रु चार हजारले घर खर्च टार्न हम्मे हम्मे हुन्थ्यो । घर व्यवहार सबै हेर्नु पर्ने, चांडवाड पनि धान्नु पर्ने, घरमा नन्द, देवर, सासु अन्य सदस्य पनि हुनुहुन्थ्यो । सिमित खर्चमा धेरै आर्थिक जिम्मेवारी वहन गर्नु पर्ने अवस्थामा थियौं हामी । हामी दुबै आफ्नो खुटटामा उभिनु पर्छ भन्ने मान्यतामा अघि बढेका थियौं । २०४८ सालमा छोरा जन्मिदा टिचिङ अस्पतालमा भर्ना भएकी थिए म । अप्रेशन गर्नु पर्ने भयो, अप्रेशनको लागी चौध हजार लाग्ने भयो, त्यो खर्च धान्न संचय कोषबाट पैसा निकाल्नु पर्ने अवस्था थियो । आर्थिक अभावका ती दिनहरुले अरु संघर्ष गर्न प्रेरणा मिली रह्यो ।
अर्को मास्टर्स गर्न म महिला र विकास विषयमा गर्न नेदरल्याण्ड पुगे, तीन वर्ष को सानु छोरा छोडेर । त्यतिबेला मात्र मलाइ थाहा भयो हाम्रो पढाईको शैली ठीक रहेनछ भनेर । इतिहासका कुरा घोकेर पढेकी मलाई समस्याहरुको हल गर्नु गर्ने, क्रिटिल एनलाइसिस गर्न पर्ने, वैज्ञानिक, अन्वेषकहरुको अन्वेषणमा आफ्नो सन्दर्भमा बिबेचना गर्नु पर्ने, सबै काम कम्प्युटरमा गर्नु पर्ने, अंग्रेजी भाषामा अध्ययन, लेखन र प्रस्तुतिकरण दिनु पर्ने अवस्थाले निकै विचलित बनाएको थियो । तर मैले पढ्नै पर्छ भन्ने दरिलो आत्मविश्वास लिएर कोशिस गरि रहे । नेदरल्याण्डको पढाइले मेरो तेश्रो आँखा खुल्यो । हाम्रो अध्ययन शैलीले असल र खराबको मात्रै नीचोडमा पुग्ने, प्रश्न गर्ने प्रणालीलाइ दुरुत्साहित गर्ने अब्यवहारीक शीक्षा दिएको र आमुल सुधार गर्नुपर्ने मैले महशुष गरे ।
अध्ययन पुरा गरेर आए पछि त्यहि बेला बेइजिङको चौथो महिला सम्मेलन भयो, तत्पश्चात नेपालमा महिला मन्त्रालय गठन भएको थियो । मैले काजमा महिला मन्त्रालयमा काम गर्ने अवसर पाए । महिला मन्त्रालयमा मैले काम गर्दा निकै असहज परिस्थिति पनि भोग्नु पर्यो । समानताकालागि नीरन्तर वकालत गर्दा पुरुष सहसचिवज्यूहरुले अचम्म मान्नु हुन्थ्यो । ए शरु जी हामीले पनि महिलालाई नै प्राथमिकता दिएकै त छौ नि, राम भन्नु भन्दा पहिले सीताको नाम लिएकै छौ, कृष्ण भन्दा अगाडी राधालाई सम्झेकै छौ, आमालाइ विभेद गर्दैनौ, बुवालाई ढोग्दा आमालाई पनि ढोगेकै छौ, किन यस्तो उत्पात समानता÷समताको कुरा आएको ?’ आदि । त्यस्बेला ‘पोथी बासेको राम्रो हुन्न, पोथी कुरकुर गरेकै राम्रो’ भन्ने कुरा हाकहाक्की गनु हुन्थ्यो । महिला मन्त्रालय स्थापना भएपछि कसरी काम गर्नु पर्छ भन्ने करीब २०० वटा छलफलको समन्वयमा सहयोग गर्कि छु । हामी सबैको धारणा, मन्त्रालयले लैगिंक समानताको मूल प्रवाहिकरण, त्यस्को लागि क्षमता बिकास र अनुगमन गर्नु पर्छ भन्ने थियो, अहिले पनि त्यो तकै उत्तिकै भ्यालीड देख्छु । सहाना प्रधान महिला मन्त्री हुदा वाहासगं पनि काम गरे । वहाले धेरै दुखेसो र गुनासो म संग गर्नु हुन्थियो । घर, समाज, राजनैतिक दलको निर्दयीताको धेरै उदाहरण दिनु हुन्थ्यो ।
मैले बढुवाको परीक्षा दिएर उपसचिव पास गरेको १२ वर्ष पछि सरकारी जागिर छोडेर युएनडिपीमा ‘लैंगिक समतामा मूल प्रभाविकरण’ परियोजनामा तीन वर्ष काम गरे । त्यो बेला लोकसेवा र राजश्वमा महिला ११ बर्ष देखि उत्तीर्ण भएकै रहेनछन । मैले लोक सेवाको तयारीका लागि पहिलो विशेष कक्षा संचालन गर्दा १५ जना महिला मध्ये ४ जना पास भए । त्यस पछि युनिफेम हुदै युएन वुमनमा १७ वर्ष काम गरे । त्यति बेला महिला अधिकार, शसक्तिकरण, समता र समानताको सम्वन्धमा धेरै सरकारहरुसंग काम गर्ने अवसर जुर्यो । करिव चार पाँच वर्ष दक्षिण एसियाको बैदेशिक रोजगारमा जाने महिलाहरुको शसक्तिकरणको क्षेत्रको कामको सयाेंजक भए । समानता सम्बन्धि ऐन कानून नीति ल्याउन प्राविधिक सहयोग गर्ने काम गरे । केन्द्रिय तथ्याकं विभाग संग २ वटा जनगणनामा कसरी लैंगिक मूलप्रभाविकरण गर्ने भन्ने सन्दर्भमा महत्वपूर्ण सहकार्य भयो ।
मैले भोगेका, मैले देखेका र अनुभूति गरेका कमि, कमजोरी, विकृति, विसंगतिहरुमा कलम पनि चलाउदै आएकी छ । प्रकाशित, अप्रकाशित लेखहरुको संगालो ‘एउटा सिन्को भाँची हेर्दा’ शीर्षकको पुस्तक पनि प्रकाशित भएको छ । पुस्तक विक्री भएको पैसा वैदेशिक रोजगारमा जादा समस्यामा परेका महिलाहरुको लागी समर्पित गरेकी छु । मेरो पुस्तक इजीपटबाट फर्केकि कान्छिमाया तामाङले सगरमाथाको टाकुरा सम्म पनि पुर्याउनु भयो । युएनमा काम गर्दा लेख्न मिल्दैन, अनुमति लिनु पर्छ, तर मैले कुनै नीजि संस्था, राजनैतिक दलको लागी होइन, महिलाका समस्या र महिलाका विषयवस्तुहरुमा लेख्ने भएकी र युएनले म प्रति गरेको विश्वासले युएनमा रहदा नै मैले पुस्तक प्रकाशन गरे । लेखको माध्यमबाट एकैचोटी लाखौ सम्म पुग्न सकिने भएकोले जनचेतनाको लागी लेख प्रभावकारी माध्यम हो भन्ने म ठान्दछु । यहि सोचले म आगामी दिनहरुमा पनि मेरो लेखनलाई निरन्तरता दिनेछु । पहिले भन्दा सजिलो पनि छ, बन्धन छैन । मलाइ हामी महिला नैतिक, पारदर्शी र जीममेवार हुनु पर्छ भन्ने लाग्छ । हामी अरुलाइ सीकाउने तर आफुले चै जे गरे नी हुने भनने अवस्थाबाट माथि उठनु पर्छ, यस किताब मेरो यहि सोचको परीणाम हो ।
म डायसपोराको नेपाल पोलिसी इन्टिच्युटसग. पनि आवद्ध छु, जस्ले विदेशका ज्ञान कसरी नेपालीहरुमाझ बाढ्न सकिन्छ भन्ने काममा कटिबद्ध छ । अन्तरपुस्ता महिलावादी समुह गठन गरेका छौं, जुन समुहबाट महिलाको क्षेत्रमा भइरहेका विभिन्न गतिविधिहरुमा आवाज उठाउदै छौ । देश समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा कृयाशील छ त्यस्को लागि ५१ प्रतिशत महिला समुद्ध हुनु पर्यो, आर्थिक हैसियत बढाउन परर्यो नि । २२ प्रतिशत मात्र महिला रोजगारमा आवद्ध छन नेपालमा । हाम्रो विकासको गतिलाई कुन गतिमा लैजाने भन्ने बिषयमा समस्या देख्छु । यो विषयमा सरकारलाई झक्झक्याउने काम पनि अन्तरपुस्ता महिला समुहबाट गर्नु पर्छ भन्ने लाग्छ । यो पुस्ताले गरेको योगदान अर्को पुस्तालाई पनि थाहा होस् र सगैं सबै मिलेर काम नगरे परीवर्तन ल्याउन सकिनन भन्ने हामीलाइ लागेको छ । परीवर्तन त भएका छन नि २०० वटा छाउगोठ भत्काइयो तर दिमागको छाउगोठ भत्केका छैनन्, सामाजीक मुल्य मान्यताको छाउगोठ जताततै छ, कि हामी देख्दैनौ या नदेखेको झै गर्छौ ।
जीवन सोचे जस्तो कहिल्यै परफेक्ट हुदैन रहेछ यो निरन्तरको सिकाइ, भोगाइ र अवसर रहेछ भन्ने मलाइ लगेको छ । अहिले सम्म जति लड्दै, ठोक्किदै, हिँडदै उठदै गरियो, ठीकै रहेछ जस्तो लाग्छ मलाइ । म सामन्य परिवारमा जन्मेर, सरकारी स्कुल पढेकी मान्छे युएन सम्म पुग्न सके र स्वेच्छाले युन छोड्न पनि सके, मेरो यो यात्रामा चादनी जोशी, लगायत धेरैको साथ र सहयोग पाएकी छु, चरिमाया तामाङ, कान्छिमाया तामाङलाई सम्झदा कस्तो लाग्छ भने हामीले अलिकति बाटो देखाउन सके धेरैले खुरुखुरु अघि बढ्न सक्छन् । नेपाल सम्भवाना नै सम्भावना भएको देश हो, यो देशमा धेरै कुरा गर्न सकिन्छ , कुनै पनि महिला बोलिरहेको, केहि सामान बेचिरहेको, कुनै व्यवसायमा संलग्न भएको देख्दा मलाई खुसी लाग्छ । देश अहिले सक्रमणकालिन अवस्थामा रहेको छ, यो बेला सरकारलाई सहयोग पनि चाहिएको छ, हामीले खबरदारी गरी रहनु पर्छ । म माटो र मुलुककालागि निरन्तर र निशर्त सिन्को भाची रहने छु ।

प्रस्तुति : हरिराम पौडेल

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest