ठट्टैठट्टाले जुराएको परिपक्व जोडी(भिडियोसहित हेर्नुहोला)

Monday, October 21st, 2019


फरक भूगोल, फरक परिवेश अनि फरक सोचको पृष्ठभूमिका नारी र पुरुष विचको मिलनले नयाँ परिवेश र परिस्थितिको सृजना गर्दछ । यहि मिलनलाई विवाहको संज्ञा दिइन्छ । विवाह पछिको सुखमय जीवनको लागि श्रीमान र श्रीमती दुवैको समान भूमिका रहन्छ । विवाह स्त्री र पुरुष विचको सुमधुर र आत्मीयतापूर्ण सम्वन्ध स्थापित गर्ने माध्यम पनि हो । जीवनयात्रामा आइपर्ने सुख, दुःख, आँशु, हाँसोलाई आपसमा बाँडेर अगाडी बढे वैवाहिक जीवन जुनसुकै परिस्थितिमा पनि सुखमय बन्ने गर्छ । वरिष्ठ पत्रकार अखण्ड भण्डारी र पार्वती घिमिरे भण्डारीको वैवाहिक सम्वन्धमा यिनै आधारभूत तत्वहरु छन्, जसले गर्दा दुई दशकसम्म पनि उनीहरुको वैवाहिक जीवन सुखद र सुमधुर छ । सबैका लागि उदाहरणीय जोडी बनिरहेको छ ।
जन्मका हिसावले अखण्ड र पार्वती एउटै जिल्लाका नागरिक हुन् । नेपालको पूर्वी भागमा अवस्थित प्राकृतिक रुपले सुन्दर भोजपुरको वास्तिम पार्वतीको जन्मस्थल हो । अध्ययनका सुरुवाती चरण भोजपुरमै अगाडी बढाएकी उनले कक्षा नौदेखि भने विराटनगरको सरस्वती मा.वि.लाई छनौट गरिन् । सोही विद्यालयबाट प्रवेशिकासम्मको अध्ययन पुरा गरेकी उनले कलेजको अध्ययन भने विराटनगरकै महेन्द्र मोरङ क्याम्पसबाट अगाडी बढाइन् । त्यति बेलासम्म अखण्ड भने पढाईका चरण पार लगाउँदै विराटनगरबाटै पत्रकारितामा सक्रिय थिए । पार्वतीका दाजु राजन भट्टराई, अखण्डलगायतले ‘चिरफार’ साप्ताहिक प्रकाशन गरेका थिए । अखण्ड उक्त पत्रिकाको प्रधान सम्पादकको भूमिकामा थिए ।
कलेज अध्ययनकै क्रममा पार्वती र उनका साथीहरुले अध्ययनलाई अझ सशक्त गरि राम्रो नतीजा ल्याउन ट्युशन पढ्ने सोच बनाए । तर को संग पढ्ने भन्ने कुरामा भने उनीहरु दोधारमा परे । दाजु संग सल्लाह लिदा ‘अखण्डले राम्रो पढाउछन्, कुरा गर न’ भन्ने सल्लाह दिए । दाजुको सल्लाह बमोजिम पार्वती र उनका अन्य चार÷पाँच जना साथीहरु मिलेर अखण्डलाई भेट्न गए, ‘दाजुले राम्रो पढाउनु हुन्छ रे, हामीलाई ट्युसशन पढाइदिनुहोस् न’ भनेर पार्वतीले प्रस्ताव राखिन् । तर पार्वतीको प्रस्तावलाई अखण्डले आँफू व्यस्त भएको कारणले स्वीकार गर्न नसक्ने बताउँदै डा. बलराम उपाध्याय संग कुरा गरेर ट्युशन पढ्ने वातावरण मिलाइदिए ।
त्यस पछि लामो समय सम्म अखण्ड र पार्वतीको भेटघाट खासै भएन । भेट भइहाले पनि दाजुको साथीको रुपमा दाजु सरह सम्मानित र औपचारिक व्यवहारमा सिमित रह्यो । एक दिन उनले राजनलाई खोज्दै घरको नम्वरमा फोन गरे । संयोगवस् राजन बाहिर गएको कारणले फोन पार्वतीले उठाइन् । केहि बेर सामान्य कुराकानी भयो । कुराकानीकै क्रममा जिस्कदै अखण्डले पार्वतीलाई ‘तिमीलाई एकजनाले मन पराउँछ नि’ भने । आँफूलाई कसैले मन पराउने कुरा आइसके पछि पार्वतीको मनमा उत्सुकता र खुल्दुली उत्पन्न हुनु स्वभाविक हो । उनले ‘कसले मन पराउँछ’ भनेर सोधिन् । अखण्डले ‘भोजपुरतिर कै मान्छे हो’ भन्ने घुमाउरो जवाफ दिए । भोजपुर कहाँको ? को मान्छे भनेर जिद्दी गर्दै पार्वतीले नाम सोधिन् । अखण्डले नाम बताएनन्, ‘थर चाहि मेरो संग मिल्छ’ भने । उनले टेलिफोन गर्दा दाजु केदार संगै थिए । उनले अखण्डलाई आफ्नै नाम भन्न उक्साइरहे तर अखण्डले पार्वतीलाई अल्झाइरहे । कुरा घुमाइरहे । पार्वतीले नाम सुन्न उत्सुकता राख्नु र दाजुले आफ्नै नाम भन्न उक्साइरहनुले अखण्ड चेपुवामा परे, । त्यो भन्दा अगाडी कहिल्यै पार्वतीलाई फरक नजरले नहेरेका, नसोचेका अखण्डलाई फ्याट्टै आफ्ना नाम भन्न सजिलो पनि थिएन । तर दाजुको उक्साहटमा उक्सिदै उनले ‘नाम पनि मै संग मिल्छ’ भनेर फोन काटे । त्यसपछि पार्वतीको प्रतिक्रिया सुन्ने हिम्मत उनीमा रहेन । आफूले दाजुको नजरले हेरेको मान्छेबाट त्यस्तो जवाफ पाउँदा पार्वती आश्चर्यचकित परिन् । त्यस पछि लामो समय भेटघाट, कुराकानी केहि पनि भएन ।
२०५६ फागुनमा पार्वतीका दाजु राजनको विवाह थियो । त्यही विवाहमा उनको पार्वतीसँग भेट त भयो तर बोल्न असहज भयो । त्यही फोनको घटनाले पिरोल्यो । विवाहमा आमन्त्रितहरुले वरवधुलाई टीका लगाइदिए पछि दिने खाम पार्वतीले सम्हालेकी थिइन् । अखण्डले खाम माग्ने बहानामा पार्वती संग बोले, ‘एउटा खाम देउ न ।’ उनको भाव रिसाएको वा दुःख मानेजस्तो थिएन ।
त्यसको दुई दिनपछि विराटनगरको पत्रकारिता थान्को लगाउँदै अखण्ड काठमाण्डौंतर्फ हानिए । विरानो शहर काठमाण्डौमा उनले संघर्ष गर्दै अध्ययन र कान्तिपुर राष्ट्रिय दैनिकमार्फत पत्रकारितालाई अगाडी बढाए ।
जुराएपछि जसरी पनि पुग्दो रहेछ । अलिपछि राजनपनि काठमाण्डौ आए । सोही क्रममा २०५७ कार्तिकमा दाजु–भाइलाई तिहारमा टीका लगाउन पार्वती काठमाडौ आइन् । काठमाण्डौ आइसकेपछि राजनलाई भेट्ने वहानामा अखण्ड उनको कोठामा पुगे । पार्वतीले चियाले सत्कार गरिन् । चिया खाइसके पछि अखण्डले तिर्खा लागेकोले पानी दिन आग्रह गरे, पार्वती पानी लिन भान्छाकोठामा गइन्, उनी पानी लिएर बाहिर निस्कन नपाउँदै अखण्ड आँफै भान्सातिर लम्के । पार्वतीको हातको पानी आँफूले लिए अनि आफ्नो हातमा लुकाएको ‘प्रेमपत्र’ पार्वतीलाई दिए । पार्वती आश्चर्यचकित परिन् । उनले खोलेर हेर्ने आँट गरिनन्, एउटा कुनातिर मिल्काइदिइन् । पछि हेर्दा अखण्डको लेखाई राम्रो लाग्यो, स्तरीय शब्द चयन सहित लेखिएको उक्त पत्र अहिले पनि उनी संग सुरक्षित छ । त्यस पछि राजनले ख्यालख्यालमा गरेको ठट्टालाई वास्तविकतामा परिणत गर्दा के कसो होला त ? भनेर छलफल चलाए । त्यो दिन दाजुको लहैलहैमा गरिएको ठट्टा व्यवहारत अगाडी बढ्न थाल्यो ।

पछि फेरी काठमाण्डौ आउँदा कुरा अगाडी बढि त हाल्यो, भेटेर कुरा गरौ भनेर पशुपतिनाथको दर्शन पनि गर्ने स्लेष्मान्तक वनमा भेट्ने योजना बन्यो । रातभर काम गरेर फर्केका अखण्ड भोकै थिए, बाटोमा फलफूल किनेर लगे, संगै खाने योजना थियो । तर पशुपतिमा वादरले झोला समेत खोसेर फलफूल खाइदियो, झोलामा रहेका कागजपत्र भने फ्याकिदियो फलफूल खान नपाए पनि एक छिन गफ त गरौ भनेर स्लेष्मान्तक वन तिर उक्ले, तर सेनाले त्यहा बस्न नदिए पछि उनीहरु फर्के । केहि दिन पछि पार्वती विराटनगर फर्किइन, त्यस पछि भने चिठीपत्र आदान प्रदान हुन थाल्यो, काठमाण्डौबाट कुरियर गरेर विराटनगर पठाएको चिठी अखण्डका दाजु केदार भण्डारीले आँफैले बुझेर पार्वती समक्ष पुर्याउँथे । चिठीमा मायाप्रीतिका कुरालाई शिष्ट र सभ्य भाषामा उतारेका हुन्थे अखण्डले, ती चिठीहरु पार्वतीले आँफू पढ्नुको साथै आफ्नी आमालाई समेत पढेर सुनाउँथिन् । काठमाण्डौको विद्यार्थीकालको एक्लो जीवन, रातीको ड्युटी, खानपिनको अस्तव्यस्तताले अखण्ड चाडै विहे गर्ने योजनामा थिए, पार्वती संग विहेको कुरा गर्दा उनले विहेको निर्णय आमा, बुवाको जिम्मामा रहेको बताइन् । अन्ततः छोटो कुराकानीमै २०५७ मंसिरमा उनीहरू विवाह बन्धनमा बाँधिए ।
पार्वतीको आगमनले अखण्डको जीवनमा वसन्त बहार आयो, जीवनका सुरुवाती दिनका ती अभाव र असहज परिस्थितिमा पनि पार्वतीले उनलाई खुलेर साथ दिइन्, दुःखका पलहरुमा पनि नआत्तिकन उनले निभाएको भूमिकाले आफ्नो जीवनयात्रा सहज भएको अखण्ड बताउँछन् , काठमाण्डौको शान्तिनगरको एउटा साँघुरो कोठा, कोठामा न भाडाँकुडा त र खाना पकाउने ग्याँस, न टेलिभिजन त न कपडा राख्ने दराज, अखण्डको विद्यार्थीकालका यी सबै अस्तवस्त र अभावग्रस्त अवस्थामा पार्वतीले खुलेर साथ दिइन्, उनले गुनासो कहिल्यै गरिनन्, जे जसो सकेको सामान जोड्दै सामान्य आवश्यकता पूर्ति गरिरहे । गणितका विद्यार्थी अखण्डले हरेक खर्च गर्नु अगाडी हिसाव गरेर मात्र खर्च निर्धारण गर्ने गर्दथे, भविष्यको लागि बचत गर्नु पर्छ भन्ने सोचले हरेक महिना चार हजार रुपैया बचत गर्ने निर्णय पनि उनीहरुले गरे, ती दिनहरुमा खाना कटाएर भए पनि गरिएको बचतले छोरीहरुको लालनपालनमा सहयोग पुग्यो ।
अखण्ड र पार्वतीको विवाह भएको बेला मुलुक शसस्त्र द्वन्द्वको चरमउत्कर्षमा थियो । त्यति बेला पत्रकारहरुलाई ज्यान मार्ने सम्मका धम्कीहरु आउने गर्दथे, अखण्ड दिउँसो दुई बजे कान्तिपुर पब्लिकेशन पुग्थे, राती आउने समयको टुंगो हुदैनथ्यो, त्यति बेला संचारको सहज व्यवस्था पनि थिएन, ती वेलाका धेरै रातहरु पार्वतीको रोएर वितेको छ, अफिस गएका आफ्ना श्रीमान राती दुई, तीन बजे सम्म नआउँदा उनी अत्तालिन्थिन्, रन्थनिन्थिन्, के भयो ? कसो भयो ? भनेर उनका मनमा दर्जनौ आशंकाहरु पैदा हुन्थे, पकाएर राखेको खाना सेलाएर खान नसक्ने हुन्थ्यो, ती कठिन दिनहरु पनि उनले त्यसरी नै विताइन् ।
विवाह भएको दुई वर्ष पछि २०५९ साल जेठमा उनीहरु कि जेठी सुपुत्रीको रुपमा अर्पणाको जन्म भयो । २०६२ मा अर्की छोरी अनुपाको । छोरीको जन्म हुनु भनेको परिवारमा लक्ष्मी भित्रनु हो भन्ने मान्यता झैं अखण्ड र पार्वतीको जीवनमा पनि छोरीहरूको आगमनले सकारात्मक उर्जा प्राप्त प्राप्त भयो । रोकिएका कार्यहरु पनि सुचारु भए । केहि नयाँ अवसरहरु पनि थपिए जसले गर्दा आर्थिक हिसावले पनि निक्कै सघाउ पुग्यो ।
जन्मदिन, वैवाहिक वर्ष उत्सव लगायतका दिनहरुमा पार्वतीलाई विभिन्न उपहार तथा शुभकामना दिन अलि विर्सन्छन् अखण्ड, व्यस्तताले गर्दा यस्ता अवसरहरुलाई विशेष बनाउन त्यति ध्यान दिदैनन् उनी, तर यसमा पार्वतीको कुनै गुनासो रहदैन । ‘अखण्ड मनले असल, आँफूलाई सधैं इमानदारिताका साथ माया गर्ने, ख्याल गर्ने व्यक्ति भएकोले यस्ता अवसरहरुमा विर्सनुले खासै दुःख लाग्दैन’ पार्वती भन्छिन् । वैवाहिक यात्राक्रममा पार्वतीको खासै कुनै विशेष माग र रहर केहि छैन, पार्वतीको सामान्य र सरल जीवनयापनमा नै सन्तुष्ट रहने वानीको खुवै प्रशंसक हुन अखण्ड ।
अखण्ड आफ्नो काममा अत्यन्त लगनशील र जिम्मेवारीबोध गर्दछन्, काम र लेखनमा तल्लिन रहदा उनलाई कसैले बोलेको पनि मन पर्दैन, घर, परिवारलाई भन्दा बढि समय उनले कामलाई दिने गर्दछन्, उनको मेहनत, लगनशिलता र कामप्रतिको लगावको पार्वती सम्मान गर्छिन्, तर यहिनिर उनकको गुनासो पनि रहने गर्छ, कामलाई जस्तै परिवारलाई नै महत्व दिइदिए अझ राम्रो हुनेथियो ।
अखण्डको जीवनमा पार्वती नै सर्वस्व हुन्, भोजपुरको एउटा विकट गाउँ जहा पढ्नको लागि विद्यालय समेत थिएन, त्यस्तो दुर्गममा उनले आफ्नो वाल्यकाल विताए, कक्षा नौ मा पढ्दा उनले पहिलो पटक खुट्टामा चप्पल लगाएर विद्यालय गए, त्यो पनि विदेशीले दिएको दान वापत । यसरी संघर्ष गर्दै अहिले उनी काठमाण्डौमा सहज जीवनयापन गरिरहेका छन्, उनको आफ्नै घर छ काठमाण्डौमा अनि आफ्नै गाडी छ यात्राको सहजताको लागि । पत्रकारिता र समाजको लागि उनले धेरै पुस्तकहरु पनि लेखेका छन्, असंख्य शुभचिन्तक पाठक छन् उनका, सामान्य जीवनयापनको लागि आवश्यक सबै चिज उनी संग उपलब्ध छ यतिबेला, यी सबै कुरा यसरी जुट्नुमा पार्वतीको मुख्य हात रहेको उनी बनाउँछन् ।
भन्छन्, ‘बुवा–आमाको आशीर्वाद, पार्वतीको साथ अनि छोरीहरूको लगनशीलता मेरो जीवनका अमूल्य सम्पत्ति हुन् ।’
प्रस्तुति ः हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest