ठमेलको खुल्ला कोठी

Tuesday, April 23rd, 2019

जानुका ढकाल

काठमाण्डौको मुटु मानिन्छ ठमेल । रातिमा झिलिमिलि उज्यालो सँगै चहलपहल बेग्लै छ । विश्वभरिबाट आउने मानिसको भिडभाड, रात्रिकालिन रेस्टुरेन्ट, मसाजसेन्टरहरु सबै उतिकै व्यास्त, कोहि मदिरामा झुम्दै कोहि कसैको अंगालोमा रम्दै । बिदेशीहरुको लागि मात्र होइन नेपालका व्यावसायि देखि दुईनम्बरी व्यापार गर्नेहरुको आकर्षणको केन्द्र बनेको छ ठमेल बर्षौ देखि । ठमेल हेर्दा जति आकर्षक छ, त्यतिनै दर्दनाद पीडा बोकेका थुप्रै युवतीको कथा पनि बोकेको छ यसले । गाउँबाट पढ्न आएका, जागिरको खोजिमा आएका, द्धन्दकालमा भागेर आएका, परिवार, गाउँबाट लखेटिएका, आफन्तबाट बेचिएका यस्ता थुप्रै चेलीहरुको आँशुमा डुबेको छ ठमेल । एकप्रकारले भन्ने हो भने खुल्ला कोठी जहाँ कोठी भनेर चलाइदैन तर कैयौ युवतीलाई गराइने काम भने कोठीको भन्दा कम पनि छैन ।

केहि बर्ष अगाडि यौनकर्मीहरुको अध्ययनका लागि ठमेल, बालाजु वसपार्क लगायतका ठाउँमा जाने अवसर मिलेको थियो । सुनेको थिए ठमेलका रेष्टुेन्टमा यौन धन्दा गर्ने केटीहरु राखिएको हुन्छ रे, तर वास्ताविकता भने थहाँ थिएन र त्यो अवसर जुरेको पनि थिएन । एकदिन कलेजको साथीले ठमेल जाउन भन्दा अरु साथीहरु हाँसेका थिए, तिमी पनि ठमेल जान शुरु गर्यौ भन्दै, त्यसको अर्थ त्यतिवेला सम्म मलाई थहाँ थिएन । ठमेल एउटा बजार न हो किन हास्नु पर्यो यहि लाग्थ्यो । जब म त्यहाँ पुगे यौन कर्मीहरुको अध्ययन गर्न, अनि बल्ल थहाँ भयो ठमेल जाने भन्दा हाँस्नुको कारण, ठमेल भित्र लुकेको रहस्य अनि त्यहाँ भित्रको कालो कथा ।

म यौनकर्मीहरुको संस्थासँगको सहयोगमा ठमेलका रेष्टुरेन्ट पुगे जहाँ थुप्रै बाह्र तेह्र बर्षका युवती देखि चालिस पैतालिस बर्षसम्मका महिलाहरु यौन व्यावसायमा संलग्न गराइएको थियो । केहि रेष्टुरेन्टहरुले ती युवतीहरुसँग कुराकानी गर्न अनुमति दिएका थिएनन् तर हाम्रो कुरा गोप्य रहने सर्तमा भने मन्जुर गराइएको थियो । मैले भेटेकी पहिलो युवतीथिइन् खोटाङ्की शारदा (नाम परिवर्तन) उनी काठमाण्डौ आएको लगभग आठ बर्ष भएको थियो । शुरुमा उनले बसपार्कको एउटा होटलमा भाँडा माझ्ने काम गरेकी थिइन । भाँडा माझ्ने ठाउँको साहुको अत्याचार सहन नसकेकी उनी त्यहाँ बाट भाँगेर हिडिन् । तर उनलाई सहज भएन । साहुको यौन दुव्र्यवहारमा परेकी उनी गर्भवती बनिन् । गर्भ फाल्ने कहाँ उनलाई थहाँ थिएन, अन्तत उनको बच्चा जन्मियो छोरी । सडकमा जन्मिएको छोरीको हेरचाह उनको काधमा आएको थियो । मागेर केहि समय गुजरा गर्ने कोशिश गरिन् तर उनी जस्तो जवान केटीलाई मागेर पाउन पनि सहज भएन । सबैले गाली गर्थे । राति पशुपतिको पेटिमा कैयांै रात ननिदाई बिताएकी छन् उनले । डरलाग्थ्यो उनलाई कसैले आएर फेरि यौन शिकार बनाउने हो कि, आफ्नो बच्चीलाई चोरेर पो लाने हो की, कैयौ बच्चा सडकबाट हराएको उनले सुनेकी थिइन् । उनी दिनभरि छोरी बोकेर काम खोज्न हिड्दा पनि काम नपाएर थकित हुँदै उहि पशुपतिको परिशरमा आउथिन् । उनलाई होटल रेष्टुरेन्टमा काम गर्न पटक्कै मन थिएन । पहिलो पटक काम गर्दा नै उनले यौन हिंसा शारीरिक हिंसा सबै भोग्न बाध्य भएकी थिइन् । केटा मान्छे देख्दा मात्र पनि डरलाग्न थालेको थियो, त्यहि डरले कैयौं पटक मर्ने सोच पनि बनाइन् तर त्यो नावालक छोरीको अवस्था नि आफ्नै जस्तो होला भन्ने डरले निर्णय लिन भने सकिनन् ।

उनले बाल्यकालमा आमा बुबा दुबै गुमाएकी थिइन्, मामा घरमा बसेकी उनले माइजुको पिटाई, गाली कति खाइन् कति त्यसको कुनै लेखा जोखा थिएन । परिवार नहुँदाको पीडा त्यो भएर पनि उनलाई राम्रोसँग ज्ञान थियो । त्यसैले आफुले जन्म दिएकी छोरीको अवस्था पनि आफ्नो जस्तो भएको उनलाई स्वीकार्य थिएन । अन्तत उनले निर्णय गरिन पुनः होटल रेष्टुरेन्टमा काम गर्ने, चाहे आफुले जे सुकै गर्न किन नपरोस् तर छोरीको भविष्य भने आफ्नो जस्तो हुन नदिने ।
उनले सुनेकी थिइन् ठमेलको रेष्टुरेन्टमा काम गर्न पाइन्छ भनेर । उनी ठमेल पुगिन्, थुप्रै रेष्टुरेन्ट, मसाज सेन्टर, पसलमा जागिरको लागि कुरा गरिन् तर उनले जहाँ जागिरको लागि हुन्छ भने त्यहाँ गर्नुपर्ने काम उनले गर्नचाहेको भन्दा फरक थियो । जुन काम उनीगर्न चाहदिन थिइन् त्यहि काम गर्ने भएमात्र उनले जागिर पाउने भइन् । उनले गर्न नचाहेको काम नै यौनधन्दा थियो । तर उनले ग्राहकको सन्तुष्टिको लागि त्यो पनि गर्न तयार हुनुपर्ने प्रस्ताव आयो । अन्ततः उनले आफ्नो छोरीलाई सम्झिइन्, राति सडकमा भोकै सुत्नुपर्दाको पीडा सम्झिइन, खान नपाएका कारण छोरीलाई दुध पुर्याउन नसकेको पीडा सम्झिन र त्यहि भएपनि जागिर गर्ने निर्णय गरिन् ।

हेर्दा निकै राम्री, गोरो बर्ण मिलेको शरीर, ठूला ठूला आँखा जो कोहिको पनि रोजाइमा पर्थिन उनी । उनले काम शुरुगरेको दिनबाट नै उनी प्रति आकर्षित हुनेहरु धेरै भए । साहुजीको ग्राहक बढ्यो, आम्दानी बढ्यो उनी साहुकी प्रिय कर्मचारि बनिन् तर उनको लागी सँगसँगै पीडा पनि बढ्यो । आ–आफ्नो स्वार्थ पुर्तिका लागि उनलाई सबैले प्रिय बनाए । नचाहदा नचाहदै पनि दिनमा कैयांै ग्राहकलाई यौन सन्तुष्टि दिन बाध्य बनिन् । हरेक पटकको सम्बन्धमा उनी छोरीलाई सम्झिन्थिन् र जस्तै पीडा भएपनि आँखा चिम्लिदिन्थिन् । शुरुमा गाह्रो भएको पेशा विस्तारै विस्तारै बानी पर्न थाल्यो, मैले गर्नु पर्छ भन्ने मनमा र दिमागमा भएपछि हरेक कुरा सामान्य लाग्दो रहेछ, उनलाई पनि त्यस्तै भयो । भर्खरै काम शुरु गरेको बेला सरकारी कर्मचारिहरु र ठेकेदारको समुह आएको थियो । चारजना थिए उनीहरु तर चारै जनाको रोजाइमा परिन शारदा । मदिरामा मात्तिएका सबैलाई उनी नै चाहियो, साहुको लागि नियमित ग्राहक थिए, एकैपटकमा थुप्रै पैसा खर्च गरेर जाने ग्राहकमा पर्दथे । साहुले उनलाई सम्झायो मात्रै होइन धम्कायो पनि । यदि उनीहरुसँग नगए जागिर जाने डर, जागिर सँगै छोरी भोकै हुने डर, सडकको बास फेरी उहि कथा, यी सब कुरा सम्झिइन र स्वीकारिन् उनले । गह्रौ मन लिएर उनी कोठामा छिरिन् जहाँ रक्सिले मात्तिएर राता राता आँखा बनाएका पीपासुहरु उनलाई झम्टन बसेका थिए । पालै पालो उनको सामुहिक बलात्कार भयो, शरीर लुछियो, पछारियो, मानौ उनी मान्छे नै हैनन्, जे जे गर्न मन लाग्यो त्यहि गरे मदिराको नशाले मात्तिएका उनीहरु शारदाको शिकारमा थिए, शिकार गरे र सन्तुष्टिले बाहिरिए तर उनी घाइते भइन्, शारीरिक रुपमा र मानसिक रुपमा तर पनि उनको कुनै विकल्प थिएन । पढाइ थिएन, सम्पत्ति थिएन आफ्नो कोहि थिएनन् । त्यसलाई न उनले कतै म बलत्कृत भए भनेर रिपोर्ट गर्न नै सकिन् न त कसैसँग न्याय माग्न नै । उनको बाध्यताले आफै बलात्कृत हुन स्वीकार्नु परेको थियो । यो त उनको जीवनको पहिलो सामुहिक बलात्कारको घटना थियो, त्यसपछि उनले त्यस्ता थुप्रै सामना गर्न पर्यो । हरेक दिन कैयौंलाई यौन सन्तुष्टि दिन पर्ने उनलाई न त विरामी हुन छुट थियो न त सक्दिन भन्ने छुट नै थियो ।

शारदाको जस्तै कथा छ अनु (नाम परिवर्तन) को पनि । उनले मसाज सेन्टरमा काम गर्न थालेको तीन बर्ष भयो । हेटौडा हो उनको घर । सौतेनी आमा छिन् घरमा । सानो हँुदा आमाले छोडेर अर्केसँग विहे गरिन् । बाउले सौतेनी आमा ल्याए । सौतेनी आमाका दुइवटा छोरा छन् । बाउ बेपत्ता भएको पनि लगभग दश बर्ष भयो । बाउ हुन्जेल खान बस्न त पाएकी थिइन् तर बाउले घर छोडेपछि सौतेनी आमाले घरबाट निकालिदिइन् । जाने ठाउँ कहि थिएन उनी सौतेनी आमाको पाँचसय रुपैया चोरेर काठमाण्डौ आइन । न बस्ने ठेगान न खाने । जागिर खोज्दै भौतारिदै जादा उनी पनि बालाजुको खाजा पसलमा भाँडा माझ्न बसिन् । खाजा पसल भित्र अरुनै धन्दा हुन्थ्यो । दुइचार दिन भाँडा माझेपछि उनलाई यौनकार्यमा लागाइयो । भर्खर चौध बर्ष लाग्दै थिइन् । जति उमेर कम त्यति नै फाइदा हुँदो रहेछ साहुनीलाई उनले भोगेको अनुभवले त्यहि भन्छ । अनु आएपछि त्यहाँ पहिलाबाट नै काम गर्दै आएकी (सरस्वती दिदी) नाम परिवर्तनको माग कम हुन थाल्यो । साहुनीले यौनसम्बन्ध गर्न नमान्दा पीट्थी, दिनदिनै सात, आठ जना ग्राहक उसको नियमित जस्तै हुन थाले । ग्राहकले दिएको पैसा साहुनीले राख्थी एक पैसा पनि दिइन । तर अनुलाई चाहिने लुगा, मेकअपका सामाग्री भने साहुनी आफैले ल्याइदिन्थी । खाजाघरबाट भाग्न धेरै प्रयास गरेकी थिइन अनुले तर त्यति सहज थिएन । कहिलेकाहि ग्राहकले बाहिर लान्थे अरुनै होटलतिर तर साुहनीले भनेको समयमा पुनः खाजा घरमा नै ल्याएर छाडिदिन्थे । कैयौं पटकको प्रयासपछि एकजना ग्राहकसँग बाहिर गएको समयमा भाग्न सफल भईन् उनी । कुनै कुनै ग्राहकले टिप्स दिन्थे, त्यो टिप्सको पैसा लगभग आठहजार जति भएको थियो । त्यहि बोकेर भागेकी उनले ठमेलको मसाज सेन्टरमा जागिर पाईन् । मसाज सेन्टरमा खाजा घरमा जस्तो उनलाई गाह्रो भएन तर काम भने उहि । मसाज सेन्टर भएपनि ग्राहकको चाहनाअनुसार यौनधन्दा गर्नपर्ने बाध्यता त्यहाँ पनि रहयो । उनी पनि यसैमा बानी पर्दै गइन् । ठमेल भन्दा बाहिर उनी खासै निस्किएकी छैनन् । यदि छन् भने पनि त्यो ग्राहकको इच्छा अनुशार उनीहरुले लगेको ठाउँमा ।

शारदा र अनु ठमेल भित्रका प्रतिनिधि पात्र मात्रहन् । कैयौ शारदा र अनु दिनदिनै मरेर बाँचेका छन्, अभावमा पिल्सिएर यौन व्यावसाय अपनाउन बाध्य थुप्रंै युवतीहरुको कथा बोकेको छ ठमेलले । रहस्यमा बाँचेको छ ठमेल, कलकलाउदा थुप्रै फुलहरुको शिकार गरेर मानवता रहित भएर हाँसेको छ ठमेल । मैले अध्ययनका क्रममा भेटेको ९७ प्रतिशत यौन व्यावसायि बाध्यताले यो पेशामा आवद्ध भएका थिए । तर तीन प्रतिशत भने बाबु आमाले दिएको पैसा कम भएर आफ्ना असिमित चाहना छिटो र सजिलो तरिकाले पुरा गर्नकालागि पनि यो व्यावसाय अपनाएका थिए । उनीहरुको जीवन अलि फरक थियो, रेष्टुरेन्ट होटल साहुसँगको सम्पर्कले ग्राहकसम्म पुर्याइ दिन्थ्यो र केहि प्रतिशत होटलले लिन्थ्यो भने बाँकी उनीहरु आफैले लिन्थे । यस्ता युवतीमा धेरै जसो कलेज पढ्ने बिधार्थीहरु थिए । यौन धन्दा नगरिपनि सामान्य तरिकाले जीवन चलाउन सकने बर्गका थिए । केहि बर्ष वित्यो समय फेरियो तर अहिले पनि ठमेलको वास्ताविकता उहि छ । एक किसिमको अघोषित रेडलाइट एरिया ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest