तपाइले मनाउनु भएको तिहारको अविष्मरणीय अनुभव कस्तो छ ?

Wednesday, October 30th, 2019

 

हरिहर शर्मा – कलाकार : मलाई दशैं भन्दा तिहार मन पर्छ, किन मन पर्छ कुन्नी ? सात, आठ वर्षको त्यो उमेरमा सायद ढकमक्क फूलहरु फुल्ने मौसम, गाउँघरमा बारीका डिलडिलमा मखमली, गोदावरी र सयपत्री फूलहरु फुलेका दृष्यहरु, घरघरमा आँगनमा दाउरा बालेर सेलरोटी, पुरी, अनरसा लगायतका सामाग्री पकाएको हरहर वासना आदि कारणले होला । भाइटीकाको दिन टिकाको महत्व र पर्खाई भन्दा पनि टिका लगाए पछि दिदी, बहिनीले दिने रोटीको भागको प्रतीक्षा व्यग्र हुन्थ्यो । त्यहि उमेरको एउटा भाइटीकामा टीका लगाइसके पछि रोटी लिन भर्याङ्गबाट माथी जादै थिएँ, भर्याङ्ग चढिसके पछि गुन्द्रीको डोरीमा अल्झेर भर्याङ्गबाट तल खसे, भर्खरै टीका लगाएको निधारमा चोट लाग्यो, भलभल रगत बग्यो, रगत पखाल्ने क्रममा टिका पनि पुछियो, त्यति बेला त्यो घाउ दुखेकोमा भन्दा टिका पुछिएकोमा र रोटी खान नपाएको चिन्ता बढि थियो, दिदी बहिनीलाई फेरी टिका लगाइदिन बालसुलभ अनुरोध गरेर रोटी खाए । त्यति बेला लडेको खत निधारमा अझै पनि छ, जव जव ऐना अगाडी उभिन्छु या तस्वीरहरु हेर्छु त्यो खतले त्यति वेलाको तिहार सम्झाउँछ । त्यस्तै देउसी भैलोको कार्यक्रममा विभिन्न भेषभूषामा मादल बजाएर नाचेको, पाच, छ वर्षको उमेरमा घरमा देउसी भैलो खेल्न आउने समुहले नाचेको देख्दा हजुरवुवाको काखबाट हामफालेर त्यहि समुहमा नाँच्न गएको अनि हजुरवुवाले तानेर फेरी काखमै ल्याउनु भएको पलहरु आज पनि झल्झली सम्झन्छु ।

मेलिना राई, गायिका
तिहारको रमाइलो स्मरण गर्नु पर्दा पुराना दिनहरुको याद आउने गर्छ, ती दिनहरुमा हामी बेलुका देखि रातभरि देउसी खेल्न जान्थ्यौ, राती, चिसो केहि नभनि देउसीमा खुव गीत गाइन्थ्यो, नाचिन्थ्यो, त्यति बेला खुवै रमाइलो गरिन्थ्यो, रातको निन्द्रा समेतको ख्याल नगरी देउसी खेलेर विहान पैसाको हिसाव किताव गर्दा आफ्नो भागमा दुई, तीन हजार पाइन्थ्यो, त्यति बेला त्यो पैसा निक्कै ठुलो लाग्थ्यो, यसरी पैसा पाउँदा रातभरको दुःख पनि सबै विर्सिन्थ्यो, वालपनको त्यो देउसी सम्झेर काठमाण्डौ आए पछि पनि म दाई, दिदीहरु, अंकलहरु संग मिलेर देउसी लेख्न जान्थे, वालपनको जस्तो रमाइलो नभए पनि फरक खालको रमाइलो अनुभूति भने संगाल्थे, यसपाली चाहि सांगितिक प्रस्तुतिहरु छन् तिहारमा, सांगितिक प्रस्तुतिमा नै रमाइलो गर्ने योजना छ ।
हरिहर तिमिल्सिना, गीतकार
मलाई सानैदेखि गीतसंगीत र साहित्यमा रुची थियो, तिहार साँगीतिक पर्व पनि हो, यसमा गाइने देउसी भैलो निक्कै रमाइलो लाग्थ्यो, त्यसैले मलाई देउसी खेल्न औधी रमाइलो लाग्थ्यो, म साथीहरुमध्ये देउसी राम्ररी भट्याउंथें, तर घरभेटी बाहिर निस्केपछि मेरो बोली बन्द हुन्थ्यो, त्यतिबेला अहिले जस्तो सजिलो थिएन, बिजुली बत्ती पनि थिएन, हामी लालटिन बालेर जान्थ्यौं, लालटिनमा हाल्ने मट्टितेलको अभाव हुन्थ्यो, एक वर्ष मैले आफै मट्टितेल किनें, म काकाहरूसित नगएर तल्लो गाउँका साथीहरुसित जाने भएं, किनभने मेरो कक्षमा पढ्ने साथीहरु त्यतै थिए, त्यो टिममा एकजना साथीका दाइ पनि मिसिने भए, रातभरि रमाई रमाई देउसी खेलियो, साथीका दाइले सबै पैसा जम्मा गर्ने जिम्मा पाएका थिए, उनले त सबै पैसा लुकाएछन्, भोलिपल्ट पैसा भाग लगाउँदा मेरो मट्टितेल किनेको खर्च पनि उठेन, मलाई मात्रै हो कि भन्ठानेको अरुलाई पनि एक्लाएक्लै बोलाएर थोरै पैसा दिएका रहेछन्, देउसीभैलो खेल्न जान मन लाग्छ तर खोई किन हो टिम नै पुग्दैन, केटाकेटी देउसीभैलो खेल्न घरमा आउँदा खुब रमाइलो लाग्छ,्र एउटा कुराले डर पनि लाग्छ, कतै मेरो साथीको दाइ जस्तै अर्को कुनै यो टिममा पनि मिसिएको त छैन ?
नितु सिंह क्षेत्री, मिडिया मार्केटिङ डाइरेक्टर
मैैले करिब दश वर्ष आफ्नो प्यारो दाजुलाई तिहारमा टिका लगाउन पाइन किनकी उहाँ अध्ययन र कामको शिलशिलामा अस्ट्रेलिया जानु भएको थियो । यसरी सन् २०१३ मा दाजु आउदा हाम्रो सवपरिवार नै निकै खुसी भएका थियौ, त्यहि बेलाको तिहारको मिठो अनुभव अझ पनि सम्झना आउछ हरेक तिहार आउँदा । बिशेष यो चाड मलाई एकदमै मन पर्छ, यो चाड सवै तिर झिलिमिलि बत्ती अनि देउसी र भैलो हेर्न साह््रै मन पर्छ । ६ वर्ष भई सक्यो टिका लगाउन नपाएको त्यसैले तिहार आउदा दाजुलाइ सम्झदा नरमाइलो लाग्छ तर पनि दाजु आउन नपाए पनि मलाई उपहार र दक्षिणा चाहि पठाउने गर्नु हुन्छ, जसले एक प्रकारको छुट्टै खुशी दिन्छ ।

 

अनिता शाक्य, ब्युटीसियन
गत वर्षको तिहारमा धनधान्यकी देवी लक्ष्मीको पूजा धुमधामका साथ गर्यौं । साँझ दियो बाली, झिलिमिलि बत्तीले घर सिंगारेर रमाइलो गरियो । भोलिको दिन नेपाल सम्वत अनुसार नयाँ वर्षको आगमनलाई भव्यताका साथ स्वागत गरी मनायौं र सवै घर परिवारहरु बसि म्ह् पूजा गरेको त्यो क्षण गौरवको साथै रमाईलो पनि । र दाजु भाई दिदी बहिनीहरु भेला भई मिठा मिठा खाने कुरा बनाई खाई हाँसखेल गरी, बेलुका भुई चम्पा बाली रमाएको त्यो क्षण कहिल्लै बिर्सन नसक्ने रमाइलो अनुभव छ ।

 

 

 

अमृता लम्साल– पत्रकार : मेरो बुवाको दुई दिदी र एक बहिनी हुनुहुन्थ्यो, म सानै थिए, वुवा र काका तिहारमा दिदीबहिनी संग टीका लगाउन जानुहुन्थ्यो, टीका लगाएर फर्कदा वुवा र काकाले दिदी बहिनीले दिनु भएको मुगीको लड्डु, विभिन्न फलफूल, सेलरोटी, अन्य मसलाहरु बेतको टोकरीमा हालेर पठाउनु हुन्थ्यो । वुवा र काकाले ल्याउनु भएका ती सामाग्री आमाले एउटा कोठामा फिजाएर राख्नु हुन्थ्यो, त्यसरी फिजाएर राखिएका चिजहरुबाट एक प्रकारको मीठो अनि मधुर वास्ना महिना दिन सम्म आउथ्यो, आमाले हामीलाई अड्कलेर थोरै थोरै र आँफूलाई मन लागेको चिज मात्र खान दिनुहुन्थ्यो, विभिन्न मसला अहिले जस्तो सहज उपलब्ध हुन्थेन, वुवाले ल्याउनु भएको मसलाहरुबाट एक दुई वटा मख्खन, ओखर खान पाउँदा समेत अपार खुशी र सन्तुष्टि मिल्ने गथ्र्यो । हामी केटाकेटीले चोरेर खान्छौं भनेर आमाले कोठामा ताल्चा लगाएर राख्नु हुन्थ्यो, त्यो ताल्चाको साचो भेटेर कोठा खोलेर त्यहाबाट आएको वास्ना मात्र लिदा पनि निकै रमाइलो लाग्थ्यो, साचो पाए पनि त्यहाका चिज झिकेर खाने हिम्मत भने हुन्थेन, आमाले थाहा पाउनु होला भनेर वास्ना मात्र लिएर ताल्चा लगाइदिन्थे । वालपनका ती दिन सम्झदा अहिले पनि रमाइलो लाग्छ ।

प्रस्तुति : हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest