तराईको महत्वपूर्ण पर्व छठ मनाइदै

Friday, November 1st, 2019


नेपाल प्राकृतिकरुपले जति धनी छ, त्यसभन्दा बढी धनी सास्कृतिकरुपमा छ । नेपालीहरुको महान पर्व दशैंं तिहार लगतै आउने पर्व हो छठ । कार्तिक शुक्ल चर्तुदशीका दिनदेखि सुरु हुने छठ नेपालका तराई जिल्लामा धेरै पहिले देखि मनाउन थालिएको भएपनि पछिल्लो समय काठमाडांै उपत्यकालगायत पहाडी क्षेत्रमासमेत यो पर्व हर्सोल्लाका साथ मनाउन थालिएको छ । यो पर्व नेपालमामात्र नभएर भारतका उत्तरी क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादका रूपमा खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।
परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । यो पर्वमा मुस्लिम समुदायका व्यक्ति पनि सहभागी हुन्छन् । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास छ । इतिहासलाई कोट्याउँदा सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धी गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलासयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् । व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् तर शुद्धाशुद्धीको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् । शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुमात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाईसाथ पालना गर्छन् ।

प्रस्तुति ः चक्र प्रसाद पोख्रेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest