तिहारका विशेष परिकार र बनाउने तरिका

Friday, October 25th, 2019

तिहारलाई ‘लाइट्स फेस्टिवल’ को रुपमा चिनिन्छ । यो नेपालीहरुको सबैभन्दा ठुलो दोश्रो चाड हो, दक्षिण एशियाली राष्ट्रहरु जस्तै नेपाल, भारत, बंगलादेश लगायत अन्य देशहरुमा पनि तिहार पर्व मनाउने गरिन्छ । तिहार पाँच दिन लामो उत्सव हो । यस चाडको बेलामा प्रायः सबै कार्यालय र विद्यालयहरु वन्द रहन्छन् जसले मानिसहरुलाई काम, अध्ययन र अन्य दायित्वबाट मुक्त बनाउँछ, तिहारका हरेक दिनको आफ्ना आफ्नै महत्व हुन्छ । तिहारमा खाइने विशेष खानाले यी दिनलाइ अझ महत्वपूर्ण र रमाइलो बनाउँछ । विभिन्न स्वादिष्ट खाना पकाउने, खाने र परिवार संग खुशी बाँड्ने यस चाडलाई सबै चाड पर्वहरु मध्ये उत्तम चाड मानिन्छ । तातो सेल, गुलियो अनरसा र विभिन्न प्रकारका मिठाइ अनि फलफूल । घर वरिपरिको सफा वातावरण, खुलेको मौसम र झिलिमिलि बत्ती, यी तिहारका विशेषताहरु हुन् । तिहारको समयमा हामीले खाने केहि विशेष व्यञ्जनहरु बारे यहाँ चर्चा गरिएको छ ।
तिहारमा अन्य परिकारभन्दा रोटीका थरीथरी परिकारहरू बनाएर खाने प्रचलन छ । ठाउँ, परिवेश, जातजाति अनुसार आ–आफ्नो तरिकाले खानाका परिकार बनाउने प्रचलन रहेको पाइन्छ । तिहारको समयमा पिठोबाट तयार पारिएका थरीथरीका परिकार अनिवार्य जस्तै हुन्छ । तिहारमा प्रचलित यी परिकारहरू यसरी घरमा नै तयार गर्न सकिन्छ ।

फिनी रोटी
फिनी एक प्रकारको रोटीको परिकार हो । मैदाको पिठोमा घ्युको मिश्रणबाट तयार पारिन्छ । फिनी रोटीलाई विशेष तिहारमा मात्र पकाएर खाने चलन छ । मैदाको पिठोबाट तयार पारिएको फिनीको परिकार जो कोहिको पनि मनपर्ने रोटीको परिकारमध्ये एक हुन सक्छ । घ्युको स्वाद मन पराउने पारखीहरूको लागि फिनी मनपर्ने परिकार हो ।
आवश्यक सामग्री
आवश्यकता अनुसार मैदा, घ्यु, चामलको मसिनो पिठो, तोरीको तेल।
बनाउने तरिका
परिवारको संख्या अनुसार मैदालाई मुछ्ने । रोटी बनाउन प्रयोग गरिने पिठोको डल्ललालाई मजाले माड्ने । माडिएको मैदाको डल्लो नरम भएपछि फिनी बनाउन तयार हुन्छ । तयार भएको पिठोलाई एकछिन राख्ने ताकी पिठो नरम होस् । फिनी बनाउन मैदा पिठो निकै मुलायम हुन आवश्यक हुन्छ । चामललाई एक घन्टा पानीमा भिजाएर राख्ने । भिजेको चामललाई मसिनो पारेर पिँध्ने । पिँधेको चामलको पिठोलाई छानेर अझ मसिनो पिठो छुट्याउने । छुट्याइएको चामलको पिठोको अनुपात अनुसार घ्युमा मुछ्ने । घ्यु र चामलको पिठो मुछेर तयार पारिएको पेस्टलाई नेपाली भाषा अनुसार ‘सांठो’ भनिन्छ । तयार पारिएको मैदाको पिठोलाई राम्रोसँग बेल्ने । बेलेको रोटीमा घ्यु र चामलको पिठोबाट तयार पारिएको ‘सांठो’ लाई राम्रोसँग लगाइन्छ । बेलिएको रोटीमा बराबरी सांठो लगाएपछि बिस्तारै रोल गर्ने बेर्ने । गोलाकार बेलिएको पिठोलाई स–सानो डल्ला पारेर काट्ने । काटिएको पिठोको डल्लालाई बेल्ने, बेलेर तयार गरिएको रोटी पत्र–पत्र भएर छुटिन्छ । फिनी रोटीको महत्व अन्य समय भन्दा तिहारमा बिशेष रहेको पाइन्छ ।
चिनी रोटी
चामलको पिठोमा चिनी मिसाएर तयार पारिन्छ । यो साना नानीको मनपर्ने खान्की हो । चामलको पिठोलाई गोलाकार बेलेर तेलमा तारेपछि यो परिकार तयार हुन्छ । गुलियो मन पराउनेहरूको रोजाइमा यो परिकार पर्न सक्छ ।
आवश्यक सामाग्री
आवश्यकता अनुसार चामलको पिठो, चिनी र तेल ।
बनाउने तरिका
चामलबाट तयार पारिएको पिठोलाई चिनी र पानीमा मजाले मुछ्ने । मुछिएको पिठोलाई रोटीको आकारमा बेल्ने । बेलिएर तयार भएको रोटीमा इच्छा अनुसारको रङ मिसाउन सकिन्छ । बेलेर ठिक्क पारिएको रोटीलाई तेलमा फुराउने ।
खुर्मा रोटी
खुर्मा रोटीलाई पनि तिहारको विशेष परिकार मानिन्छ । यो चामलको पिठो र घ्युबाट तयार पारिन्छ । घ्युको स्वाद मनपराउनेहरूको लागि खुर्मा रोटी मनपर्ने खान्की हुन सक्छ । तिहारमा बनाइने चोखो परिकारको रूपमा खुर्मालाई प्रयोग गरिन्छ । चामललाई मसिनो पिठो बनाई मैदाको पिठो मिसाएर तयार गरिने एक प्रकारको क्रन्चि परिकार हो ।
आवश्यक सामाग्री
पिठोको अनुपात अनुसार घ्यु राखी पेस्ट तयार गरिन्छ । खुर्मा रोटीको लागि तयार पारिएको पेस्टमा इच्छा अनुसार स्वादको लागि चिनी अथवा गुद पनि मिसाउन सकिन्छ।
बनाउने तरिका
खुर्माको लागि तयार पारिएको पिठोलाई तातो तेलमा तार्न भन्दा अगाडि थरीथरीको आकार बनाउन सकिन्छ । खुर्मा रोटीमा कलात्मक आकृति बनाउन सकिन्छ । प्रायः खुर्माको आकारको लागि बाँसको डालीको प्रयोग गरेको पाइन्छ । खुर्मा रोटी बनाउन इच्छा अनुसार आकृति बनाउन बाँसको डालामा घुमाएर बनाइन्छ । बनाएको आकृति अर्थात् खुर्मालाई तेलमा तारेपछि परिकार तयार हुन्छ ।
झिलिङ्गा र सिन्कामारी
झिलिङ्गा र सिन्कामारी तिहारको समयमा भाइलाई खुवाउने परिकार हो । यो गहुँको तथा चामलको पिठोबाट तयार पारिन्छ । यसलाई इच्छा अनुसार तेलमा फुराउन पनि सकिन्छ । यसलाई आकर्षक बनाउन खाने रङको पनि प्रयोग गर्न सकिन्छ ।
आवश्यक सामग्री
आवश्यकता अनुसार गहुँ र चामलको पिठो । खाने रङ ।
बनाउने तरिका
झिलिङ्गा र सिन्कामारी बनाउन गहुँ र चामल मिसिएको पिठोलाई ढिडो जसरी पकाउने । पकाएको पिठो अथवा ढिडोलाई तात्तातै तोरीको तेलको प्रयोग गरि साँचोमा राखेर दबाउने । साँचोमा राखिएको तातो पिठोको डल्ला चाउचाउको जस्तो आकार भएर आउँछ । त्यो चाउचाउको आकारलाई मिलाएर गोलाकार तरिकाले राख्ने । कलात्मक आकृति भएको झिलिङ्गारसिन्कामारी फूल जस्तो देखिन्छ । यसलाई केही दिन घाममा सुकाएपछि तेलमा फुराएर खानको लागि तयार हुन्छ ।
सेल रोटी
सेल रोटीलाई विशेष रोटीको परिकारको रूपमा खाने प्रचलन छ । सेल रोटी चामलको पिठोबाट तयार पारिन्छ । सेल रोटीलाई सगुन, पाउर, कोसेलीको रूपमा विशेष प्रयोग गरिन्छ । यद्यपि, अन्य चाडपर्वमा पनि सेल रोटी पकाउने गरिन्छ ।
आवश्यक सामाग्री
आवश्यकता अनुसार चामलको पिठोलाई दुध वा पानीमा गिलो गरी मुछ्ने । तयार पारिएको गिलो पिठोमा इच्छा अनुसार केरा, ल्वाङ्, सुकमेलको धुलो, घ्यु, काजु– किसमिसलगायत हालेर तयार पारिन्छ । तेलमा फुराएर तयार पारिने सेल रोटीलाई फुराउने तेल पिठो अनुसार ।
बनाउने तरिका
सेल रोटी तयार पार्न ‘माटे कराई’ को प्रयोग गरिन्छ । माटे कराईलाई केही बेर तताएपछि इच्छा अनुसार तेल राखी केही बेर तताउने । त्यसमा सानो आकारको गोलाकार ढुंगा राख्ने । तातिएको तेलमा सोलीको प्रयोग गरेर वा हातैले पनि भिजाइएको गिलो पिठोलाई ताईमा घुमाएर सेल रोटी बनाइन्छ । ताइमा हालेको रोटी रातो भएपछि झिकेर अचार, तरकारी वा चियासँग खान सकिन्छ ।
ल्होचामरी
नेवारी समुदायमा एउटा विशेष रोटी बनाइन्छ, जुन स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ यो रोटी भाईटीकाको एकदिन अगाडी म्ह् पूजा गरिने दिन चामलको पीठो स्टिम गरेर विभिन्न डिजाइन दिएर बनाइन्छ, यो रोटी विना म्ह् पूजा गरिदैन र यस रोटीलाई नेवारीमा ल्होचामरी भनिन्छ ।
दुध, पनिर र घ्युका परिकारहरु तिहारमा तयार हुन्छ । भेज पकौडा, लालमोहन, रसवरी, दुधवरी, पेडा पनिर मःम लगायतका विभिन्न परिकारहरु तथा मिठाइहरु पनि तिहारमा खाने गरिन्छ । तिहारमा करिव दुइ सय प्रकारका मिठाइ पाइन्छ । सदावहार मिठाइको रूपमा जेरी रहेको छ भने त्यसपछि लड्डु र पेडाले धेरैको मन जितेका छन् । तिहारमा यसैका माग धेरै हुन्छ । काजु वर्फी, बालु शाही, काजु पान टोकरी, रसवरी, रसमलाइ, काला जामुन, लाल मोहनजस्ता मिठाइ पनि तिहारको बेला विशेष रोजाइमा पर्ने गर्छन् । गाजरको हलुवा, रांचि हलुवा पनि चल्तिमा छ । अधिकांश मिठाइमा काजु, बदाम र पिस्ता मिलाइएको हुन्छ । घिउ, बेसन, चिनी र दुधको पनि प्रशस्तै प्रयोग हुन्छ । तयारी मिठाइको साथै मसलाको रुपमा प्रयोग हुने ड्राइ फ्रुट्स पनि तिहारको अर्को रोजाइ हो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest