तेस्रो लिङ्गी भएका कारण बिद्यालय नै छोडे(भिडियोसहित)

Sunday, December 8th, 2019

 

भुमिका श्रेष्ठ
प्रोजेक्ट कोअर्डिनेटर
व्लु डाइमन्ड सोसाइटी

सामान्यता मानिस जन्मदा छोरा या छोरीको लिङ्ग धारण गरेर जन्मन्छ । जन्म संगै सामाजिक रुपमा घुलमिल हुदै जाने क्रममा उसको शारीरिक तथा मानसिक विकास पनि हुदै जान्छ । भूमिका पनि जन्मदा छोराको रुपमा जन्मिएकी हुन् । छोरा जन्मियो भनेर घरमा खुशी पनि मनाएका हुन्, त्यसैले उनको नाम राखिदिए कैलाश । समयको क्रम संगै उनको रहर र चाहना भने फरक हुदै गयो । उनलाई लिपिष्टिक लगाउन मन पथ्र्यो अनि लुगा पनि केटाको भन्दा केटीको लगाउन मन लाग्थ्यो । धेरै पटक उनले दिदीको लिपिष्टिक लुकेर लगाएकी छिन्, दिदीको लिपिष्टिक लगाएर आँफूलाई आफैंले ऐनमा हेर्दा निक्कै सुहाएको महशुष गर्थिन्, त्यति बेला उनलाई छुट्टै आत्मसन्तुष्टि मिल्ने गर्दथ्यो । जब उनी ‘टिन एज’मा पुगिन् त्यति बेला उनलाई केटाहरु प्रति आकर्षण बढि हुन्थ्यो । केटा भएर केटा प्रति नै आकर्षित भएको देख्दा उनलाई धेरैले हिंजडा, छक्का आदि अपशब्दले जिस्क्याउँथे, तर पनि उनी केटा प्रति नै आकर्षित भइरहिन् । केटा भएर केटी जस्तो रहर, चाहना र व्यवहार देखाउदा स्कुलका शिक्षकहरुबाट पनि उनले धेरै हप्की खाइन् । हप्कीमा मात्र सिमित भएन, उनले विद्यालय नै छोड्न पर्यो, पढ्ने रहर रहरै रह्यो । उनले आफ्नो विद्यालय अध्ययनको अवधिभरी विद्यालयको सौचालय मात्र दुई पटक प्रयोग गरेकी थिइन्, त्यो पनि बाध्यताले ।
उनले एघार वर्ष पुग्दा आँफू केटा जस्तो भए पनि केटीको व्यवहार मन पराउछु भन्ने बुझेकी थिइन् । स्वरुपमा केटा भए पनि म केटा होइन भन्ने बोध पनि उनलाई त्यहि उमेरमा भएको हो तर आँफू जस्तो व्यक्तिलाई समाजले तेश्रो लिंगीको संज्ञा दिएको छ भन्ने बुझ्न भने अरु धेरै वर्ष लागेको थियो । आँफूमा भएको फरकपनले उनलाई सधैं प्रश्न चिन्ह खडा गरिरह्यो । उनी आफैंलाई प्रश्न गर्थिन् ‘आखिर म मा यस्तो परिवर्तन किन ? भगवानले मलाई मात्रै किन यस्तो बनाए ?’त्यो बालसुलभपनमा पनि उनलाई भगवान प्रति आक्रोश जाग्थ्यो, भेटे देखि सकिञ्जेल चिर्थोथे, कोपर्थे जस्तो लाग्थ्यो । मानसिक तनावले उनी विह्ल हुन्थिन् । आफ्ना कुरा सुनिदिने र बुझिदिने कोही नहुँदा धेरै पटक उनी ढोकामा चुकुल लगाएर एक्लै रोएकी छिन् ।

पिंकी गुरुङको सहायताले उनी ब्लु डाइमण्ड सोसाइटीमा आइपुगिन् । संस्थामा पुगे पछि उनलाई यो समाजमा आँफू एक्लो नभएको र आँफू जस्तै हजारौ साथी भएको थाहा पाइन् । त्यहिंबाट उनले आत्मसम्मानको जीवन जिउन सिकिन्, सहज रुपमा बोल्न अनि नवजीवनमा प्रवेश गरेको अनुभूति संगालिन् । सन् २००७ को मिस टिनको उपाधि समेत जित्न सफल भइन् । राष्ट्रिय महिला आयोग लगायत अन्य विभिन्न संस्थाको व्रान्ड एम्वेसडरको भूमिका निर्वाह गरिन्, राजनीतिक वृत्तमा समेत निकै अगाडी आइन् । सानै देखि नाच्न मन पराउने उनले आँफूलाई अभिनयको क्षेत्रमा पनि समावेश गरिन्, विभिन्न संघसंस्थाहरुमा रहेर आँफू जस्तै व्यक्तिहरुको अधिकारको लागी वहस गरिन्, व्लु डाइमन्ड सोसाइटीको विभिन्न इभेन्टहरु उनले सफलताका साथ सम्पन्न गरेकी छिन् । अहिले उनी उक्त संस्थाको प्रोजेक्ट कोअर्डिनेटरको महत्वपूर्ण भूमिकामा रहेकी छिन् । नेपालको संविधानको धारा १८ ले समानताको हकको व्यवस्था गरेको छ । जस अनुसार धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था आदि कुनै पनि आधारमा भेदभाव नगरिने, सबै नागरिक कानूनको दृष्टिमा समान हुने उल्लेख गरिएको छ, त्यस्तै धारा ४२ ले लैगिंक तथा यौनिक अल्पसंख्यक लगायत आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडी परेका नागरिकलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हकको सुनिश्चितता गरेको छ । संविधानका यी धाराहरु कण्ठ छ भूमिकालाई । तर संविधानले नै प्रत्याभूत गरेका यी अधिकारहरु कागजमा मात्र सिमित भएकोमा उनी दुःखी छिन्, पिडित छिन्, उनी जस्तै उनका हजारौ साथीहरुलाई संविधानका यी धाराहरुले जिस्क्याएको महशुष हुने गर्दछ । उनी भन्छिन् ‘अधिकारका कुरा कागजमा मात्र सिमित हुनु भएन, व्यवहारमा लागू हुनु पर्यो । परिवार र समाजले पनि तेश्रो लिङ्गीलाई मानवीय नजरले हेरिदिनु पर्यो । ’
तेश्रो लिङ्गीको अधिकारको लागी अनवरत संघर्षरत भूमिका श्रेष्ठको भर्खरै मात्र आत्मकथा ‘भूमिका’ सार्वजनिक भएको छ । आँफू जस्ता व्यक्तिको भावना, मर्म, चाहना र आकंक्षा समाजले बुझ्नेछ भन्ने सोचेर आफ्नो आत्मकथा सार्वजानिक गरेको उनले बताएकी छिन् । पुस्तक अध्ययन गरेर ‘तेस्रो लिङ्गीहरुको जीवन भोगाईको विविध आयामहरु बुझ्न सकिन्छ ।
प्रस्तुति : हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest