दशैंमा घुम्नजाने हैन त ?

Wednesday, October 2nd, 2019

दशैं र तिहार हामी नेपालीहरुको लागि धेरै महत्वपूर्ण पर्व हो । पछिल्लो समयमा दशैंमा टिका लगाएर आशिर्वाद थाप्ने मात्र होइन विभिन्न ठाउ“मा घुम्ने योजना पनि यहि समयमा बन्न थालेको छ । पारिवारिक घुमघामको लागि उपयुक्त समय पनि हो यो । हामी प्राकृतिक रुपले निकै धनि छौ । हाम्रा देशका सुन्दर ठाउ“हरुले हामीलाई पर्खिरहेका छन् ।

पोखरा
नेपालको आन्तरिक तथा बाह्य पर्यटकीय स्थलमध्ये पोखरालाई उत्कृष्ठ गन्तव्यका रुपमा लिइन्छ । वर्षेनी नेपाल घुम्न आउने हरेक पर्यटकको नजरमा पोखरा अग्रपंक्तिमा पर्ने गरेको हुन्छ । खासगरी दशैंको समयमा सबैको विदा हुने भएकाले धेरैले घुम्न जाने प्लानिङ् बनाएका हुन्छन् । पोखराको पहिलो आकर्षण भनेकै फेवाताल हो । पोखरा घुम्न जाने जो कोही पनि फेवातालमा बोटिङ्को मज्जा लिन छुटाउँदैनन् । फेवातालको बीचमा रहेको तालबाराही मन्दीरले थप आकर्षण थपेको छ । डुंगा चढेर मन्दीरमा पुग्नु र पूजा गरेर फेरी डुंगामै फर्किनु आन्तरिक पर्यटकका लागि नियमित प्रक्रिया जस्तै छ । फेवातालको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदितर्फ हानिन्छ । वर्षामा ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफ साँच्चिकै लोभलाग्दो हुन्छ । तालको मिठो माछा खान बेगनास निकै चर्चित मानिन्छ । डाँडावारी बेगनास र डाँडापारी रुपाताल रहेको छ । बेगनास तालमा पनि डुंगा चढेर रमाइलो गर्न सकिन्छ । पोखराबाट अलि टाढा भएपनि बेगनास ताल अवलोकनका लागि छुटाउनै नहुने स्थलमा पर्छ । शहरको भिडभाडबाट अलि टाढा भएकाले त्यहाँ पुग्दा आत्मशान्ति मिल्छ । पोखराबाट बेगनासताल जानका लागि सार्वजनिक गाडीको सुविधा पनि छ । करिब २ मिटर गहिराईबाट बगेको सेती नदी पोखराको अर्को आकर्षण हो । सेती नदीले धेरै पर्यटकको ध्यान खिच्ने गर्छ । साँघुरो र गहिरो खोँचबाट बगेको हुँदा हिउँदमा पानी देख्न मुस्किल पर्छ । वर्षायाममा भने पानी माथि आउने हुँदा सहजै देख्न सकिन्छ ।

रारा
कर्णाली प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र हो रारा ।घुमफिर रुचाउने जोकोही नेपालीको चाहना हुन्छ, देशकै सबैभन्दा ठूलो ताल रारा पुग्ने । समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेरेको अद्भूत देखिन्छ । रारा तालको पूरै आकृति हेर्न मुर्मा टप उपयुक्त ठाउँ हो, जुन करिब ४ हजार मिटरको उँचाइमा छ । विदेशी पर्यटकको आगमन बढ्न नसके पनि रारामा आन्तरिक पर्यटक उल्लेख्य मात्रामा पुग्ने गर्छन् ।नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापछि मुगुको ताल्चा विमानस्थल पुगिन्छ । ताल्चाबाट तीन घण्टाको पैदल दूरीमा रारा ताल पुगिन्छ । यस्तै, सुर्खेतबाट जाँदा दुई दिनको बसयात्रापछि मुगुको गमगढी र त्यहाँबाट तीन घण्टाको पैदलपछि राराको पुगन सकिन्छ ।

भेडेटार
भेडेटार नेपालको प्रदेश नं.१ अन्तर्गत धनकुटा जिल्लामा पर्ने एक रमणीय स्थान हो । भेडेटार गाविसको भेडेटार बजार नेपालको रमणीय स्थलका रूपमा चर्चित छ । धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाइमा रहेको छ । तराई नजिकै जोडिएको पहाडी क्षेत्रमा भएकाले मानिसहरू तराइको गर्मीबाट बाँच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली सुन्दरता हेर्न भेडेटार जाने गर्छन् । अझ भेडेटारको भ्यू टावर अर्थात चाल्र्सप्वाइन्ट यस्तो स्थान हो, जहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराइ फाँटका साथै मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायतका हिमश्रृंखला एकैपटक अवलोकन गर्न सकिन्छ ।
पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो । उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले भेडेटारमा गर्मी मौसममा सितल हावा खान र जाडो मौसममा पिकनिकका लागि मानिसको भीड लाग्ने गर्छ । त्यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि तराई क्षेत्र र भारतबाटसमेत पर्यटक आउने गरेका छन् । भेडेटारको शिरमा सैलुङ्डाँडा नामको अग्लो चुचुरो छ । २०३८ सालमा वेलायतका युवराज चाल्र्स सैलुङडाँडाको टुप्पोमा चढेकोले चाल्र्स प्वाइन्ट नामकरण गरिएको हो । चाल्र्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पोसम्म पुग्ने सिंढी निर्माण भएको छ र दृश्य अवलोकन टावर निर्माण भइरहेको छ ।

इलाम
पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलका चार जिल्लामध्यको एक पहाडी जिल्ला इलाम नेपालका ७५ जिल्लामध्ये सबैभन्दा पूर्वमा अवस्थित एक रमणीय जिल्ला हो । तत्कालिन राई र लिम्बु जातिको किराँत राज्य रहेको इलाममा प्राचीन समयमा लिम्बु जातिकै बाहुल्यता रहेको थियो । इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ । महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । यहाँको चियाबारी, हरियाली, साना ठूला नदी नाला, पोखरी, मठ मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका माध्यम हुन् । प्राकृतिक बरदानका रुपमा उर्वर भूमि र पौरखी कृषकको अथक मेहनतका कारण इलाम आर्थिकरूपले पनि सवल मानिन्छ । प्रकृतिको सुन्दर दृश्यहरु हेर्न सकिने ईलामको चिया बगान पनि प्रसिद्ध रहेको छ । चियाबारी स–साना नदी, नाला, पोखरीले इलामको चियाबारीलाई थप सजाएको छ । विकसित पहाडी जिल्लाका रुपमा ख्याती कमाउन सफल इलाम उत्कृष्ठ पर्यटकीय गन्तव्य हो ।

मुस्ताङ
धौलागिरी अञ्चलमा पर्ने मुस्ताङ्को सदरमुकाम हो जोमसोम । जहाँबाट दक्षिणी भेगमा पर्ने धौलागिरी र निलगिरी हिमालको राम्रो दृश्य देख्न सकिन्छ । तीर्थस्थलका रुपमा प्रख्यात मुक्तिनाथ तथा लोमान्थाङ् प्रवेशद्वारका रुपमा पनि चिनिन्छ । चलचित्र निर्माता र घुम्न मनपराउने व्यक्तिले जोमसोमलाई पनि छुटाउँदैन्न् । अत्यन्त कम मात्रामा पानी पर्ने मुस्ताङ् प्राकृतिक सौन्दर्यमा निकै अगाडि रहेको छ । लोमान्थाङ् ऐतिहासिक दरबार, सिटीवाला, मुक्तिनाथ क्षेत्र, टुकुचे निलगिरी हिमाल, तिलिचो ताल, याककावा पिकल लगायतका दृश्य नजिकैबाट नियाल्न सकिन्छ । मुस्ताङ्लाई ‘स्वर्गको टुक्रा’ पनि भन्ने गरिएको छ । काठमाडौंबाट साढे तीन सय किलोमिटरको दूरीमा रहेको मुस्ताङ म्याग्दीको सदरमुकाम बेनी हुँदै पुग्न सकिन्छ । मुस्ताङको लेते पुगेपछि सुरु हुने कालीगण्डकीको सुन्दर बगरले धेरैको मन तान्ने गरेको छ । हिमालपारिको जिल्लाका रुपमा परिचित मुस्ताङ आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई लोभ्याउन सफल छ । विभिन्न चलचित्रको फिल्मांकनसमेत हुने मुस्ताङ्मा खासगरी जाडोयाममा बढीमात्रामा पर्यटक जाने गर्छन् ।
लुम्बिनी
शान्ति चाहने मानिसले घुम्ने स्थान आफ्नो रोजाईमा पार्नुपर्दा लुम्बिनी पहिलो स्थानमा पर्न आउँछ । शान्तिका प्रतिक गौतम बुद्धको जन्मस्थल विश्व सम्पदा सूचीमासमेत सुचिकृत छ । काठामाडौंबाट नजिकैको गन्तव्यलाई रोज्नुपर्दा धेरैको रोजाईमा पर्न सफल लुम्बिनी रूपन्देही जिल्लामा पर्छ । विभिन्न बौद्ध वाङ्मयमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउँको एउटा उपवनलाई चिनाइएको छ भने सो उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधि हुन थालेको पाइन्छ । रुपन्देहीमा पर्ने लुम्बिनी बौद्ध धर्मालम्बीको विशेष र ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएको कारण युनेस्को विश्व सम्पदामा सूचीकृत छ । शान्ति क्षेत्र, मायादेवीको मन्दिर तथा ध्यान र अवलोकनका लागि निकै नै आनन्दित स्थान हो लुम्बिनी ।
घान्द्रुक
देशका विभिन्न भागबाट आउने पर्यटकका साथै बाह्य मुलुकबाट आउने करिब ७५ प्रतिशत विदेशी पर्यटक घान्द्रुक पुग्ने गरेका छन् । मोदीखोलाको शीरमा रहेको घान्द्रुक खोलाको बेसीदेखि लेकसम्मै फैलिएको माछापुच्छे्र र अन्नपूर्ण हिमालले काखमा राखेको घान्द्रुक पछिल्लो समय निकै नै लोकप्रिय छ । प्राकृतिक सुन्दरतामात्र नभएर होम स्टेले पनि ख्याती कमाउन सफल घान्द्रुक एकपटक घुम्नैपर्ने स्थान हो । घान्द्रुक होम स्टेबाट बिहानै बाहिर निस्कदा माछापुच्छ्रे, गंगापूर्ण, हिमचुली, अन्नपूर्ण हिमाल होम स्टे अगाडि नै बास बसेको देख्न सकिने भएकाले पनि पर्यटक त्यहाँ जान लालायित हुन्छन् । कास्कीको प्रसिद्ध पर्यटकीय घान्द्रुक गाउँ आन्तरिक तथा वाह्य पर्यटकका लागि प्रमुख गन्तव्यस्थल मानिन्छ । शहरको वातावरणबाट टाढा जाने सोच बनाएका मानिसको रोजाईमा पर्न सफल स्थानकारुपमा पर्छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि मौलिक वातावरण, सुन्दर तथा रमणीय स्थानले लोभ्याउन सफल घान्द्रुकमा वर्षेनी धेरैभन्दा धेरै पर्यटकको आगमन हुनेगर्छ । ग्रामीणकलामा बनेका घर तथा प्राकृतिक वातावरणका कारण पनि घान्द्रुकलाई घुम्नैपर्ने स्थानको लिस्टमा राखिएको हो ।

खप्तड
प्राकृतिक सुन्दरताको अनुपम उपहार हो खप्तड ।सुदूरपश्चिमको डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलमा रहेको खप्तड क्षेत्रलाई सुदूरपश्चिमकै भूस्वर्ग पनि भनिन्छ । हिउँदमा हिउँले सेताम्मे हुने यो ठाउँ यतिबेला हरियालीले छपक्क हुन्छ । बैशाखदेखि असारसम्म यहाँका फाँटहरु रंगीचंगी फूलहरुले ढाकिन्छ । खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरुमा फुल्ने फूलहरु हुन् । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु छन् । ठूलासाना गरी २२ वटा फाँट पनि यहाँको आकर्षण हो ।खप्तडकाठमाडौंदेखि धनगढीसम्म ६५० किलोमिटर बसको यात्रा । धनगढीबाट आठ घण्टाको बस यात्राबाट डोटीको सिलगढी पुगेपछि पैदल यात्रा सुरु हुन्छ । बगलेगसम्म गाडी चल्ने भएकाले जिप रिजर्भ गरेर पनि जान सकिन्छ । सिलगढीबाट सुरु हुने पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ भने अर्को दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।

कालिञ्चोेक 
काठमाडौंबाट सवारी साधनमा सहजै जान सकिने अर्को मनमोहक ठाउँ दोलखाको कालिञ्चोक हो । प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले आन्तरिक पर्यटकले निकै रुचाउने गरेका छन् । कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ ।
चिसो मौसममा यस क्षेत्रमा हिउँ पर्ने भएकाले राजधानीवासी हिउँ खेल्नकै लागि समेत जाने गर्छन् ।काठमाडौंदेखि पाँच घण्टाको बस यात्रामा दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटदेखि कुरीसम्म १७ किलोमिटर कच्ची बाटो छिचोल्न भाडाको जिप पाइन्छ । हिउँ परेको बेला भने जिपमा जान गाह्रो हुन्छ । कुरीबाट एक घण्टाको ठाडो उकालो हिँडेपछि समुद्री सतहदेखि तीन हजार ८ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोक भगवती मन्दिर पुगिन्छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest