दुवै खुट्टा गुमाएर पनि खुसी चन्द्रा

Tuesday, August 7th, 2018

भनिन्छ मानिस अपाङ्ग भएपनि उसको मानसिकता अपाङ्ग हुनु भएन । शारिरिक रुपमा अपाङ्ग भएका मानिसहरु पनि मानिसक रुपमा तन्दुरुस्त हुन्छन् भन्ने एक उदाहरण हुन चन्द्रा कुमारी पाठक । संखुवासभाको मादी मूलखर्कमा जन्म भएकी चन्दा जन्मजात दुवै खुट्टा गुमाएकी भने होइनन् । ३ महिनाको अबोध बालिका उनी आगोमा परिन् र आफ्नो दुवै खुट्टा गुमाउन बाध्य भईन् । खुट्टा मात्र होइन उनको शरिरको भाग पनि जल्यो । आर्थिक रुपमा विपन्न परिवारमा जन्मिएकी उनलाई शरिरले छोडे पनि आफ्ना आमा बुबाको साथले भने छोडेन जसको कारण उनले शिक्षा लिने अवसर पाइन् । ३ महिनामा दुवै खुट्टा गुमाएकी उनलाई विद्यालय आउन जान सहज थिएन । पहाडको ठाँउ अप्ठ्यारो नै अप्ठ्यारोको बिचमा रहेर पनि उनले जसोतसो शिक्षा प्राप्त गर्ने लक्ष्य पुरा गरी छाडिन । दुवै खुट्टा नभएकै कारण उनी दुवै हात टेकेर हिड्थिन तर उनलाई मानिसहरुले जिस्काएर बादर भन्थे ।
घर नजिकैको विद्यालयमा कक्षा ५ सम्म भएको कारण उनको पढाईमा बाधा आउने भए पछि उनी अरु कसैको घरमा काम पनि सघाउने र आफु पनि त्यही बसेर पढ्ने सर्तका साथ अरुको घरमा बसेकी चन्द्राको पढाई भन्दा धेरै काम भएकै कारणले पढाई बिग्रियो । उनी फेरी अर्को घरको खोजी गर्न थालिन् । यसै क्रममा आफुलाई पढाउने शिक्षक कुलमणी आर्चायको घरमा पुगिन । जहाँ बसेर उनले एसएलसी सम्मको शिक्षा लिन सफल भईन ।
चन्द्रा भन्छिन् एसएलसी सकिए पछि मलाई किन किन घरमा बस्नै मन लागेन, बुबा आमाको लागि तनावको भारी भएर के बस्नु भन्ने सोचर कसैलाई थाहा नदिएर नै भागेर हिडे । काठमाडौँ आउनको लागि पनि मेरा लागि सकस थियो । संयोगबस् म बसेको सिटको छेउमा विर अस्पतालका एक डाक्टर रहेछन् जसको सहयोगमा काठमाडौँ आइपुगे र काठमाडौँमा जोरपाटीको एक होटलका मानिसको साना साना बच्चा हेर्ने र कपडा धुने काम गरेर बसेँ । सुरुवाती दिनहरुमा सजिलो भए पनि पछि पछि भने असहज हुदैँ गयो । त्यहाँ बस्दा बस्दै गाउँको एक जना दाई सँग भेट भयो दाईको सहयोग र अन्य व्यक्तिको सहयोगले गर्दा मैले उपचार सुरु गरेँ । उनी थप्छिन् मेरो ५ ओटा अप्रेसन सकिनको लागि ३ वर्ष लाग्यो त्यो अवधीमा घरबाट कुनै खोजी भएन् । गाँउमा एस.एल.सी पास गर्न नसकेकी मैले यहि आएर काम गर्दै एस.एल.सी र प्लस टु पढ्न सफल भए र जागिर खान पनि सफल भए । जीवनमा परिस्थति जस्तो पनि आउन सक्छ । आफ्नो उपस्थिति राम्रो हुनु पर्छ उनी भन्छिन् ।
मेहनती र हिम्मतवाली चन्द्राको जीवनमा अर्का एक जना सहयोगी मन भएका मान्छेको उपस्थिती भयो जसको कारण उनी अहिले शहरका जुन कुनामा पनि सहजै हिडडुल गर्न सक्छिन् । एकाउन्टेनको जागिर खादै गरेकी चन्द्रालाई अस्टेलियन नागरिक माइक होगनले सहयोग गरे । उनले चन्द्राको दुवै खुट्टामा कृत्रिम खुट्टा राख्नलाई सम्पुर्ण सहयोग मात्र गरेनन् उनको यात्रा सहज होस भन्ने उद्देश्यले उनलाई स्कुटी समेत किनिदिए । अहिले चन्द्रा जहाँ पनि जान सक्छिन् । हरेक समस्या सँग जुध्न सफल भएकी चन्द्राको ओठमा पुन हराएको हाँसो पलाएको छ । उनी माइकलाई कर्म दाता भगवानको रुपमा लिन्छन् जसले उनको ओठको हाँसो फर्काइदिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest