काठमाडौंः हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । यसैगरी हिजु डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ३, तोलेनीमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार चट्याङ लागेर ज्यान गुमाउनेमा २२ वर्षीया उजली बयाडी रहेकी छन् ।
आफ्नै खेतमा गहुँ काटिरहको अवस्थामा परेको चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।डोटीमा सोमबार रातिदेखि पानीसँगै हावाहुरी चलिरहेको छ ।पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा वर्षा भइरहेको छ । अन्य स्थानको तुलनामा प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा बर्षा बढी भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद मन्जु बासीले ती स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भैरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएकाले सतर्कता अपनाउनु पर्ने बताइन् ।
पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भाना पनि रहेकाले खासगरी कर्णाली, प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ को पहाडी भागबाट बहने नदी तथा खोलामा जलसतह बढ्ने अनुमानसमेत गरिएको छ ।
मौसमविद मन्जु बासीका अनुसार अहिले प्रिमनसुन गतिविधि सक्रिय छ । त्यसमा पनि स्थानीय वायु र पश्चिमी निम्न चापीय प्रणाली मिसिएको छ । साथै बंगालको खाडीबाट निस्किएको जलवाष्पयुक्त हावा आइरहेकाले पनि नेपालमा पानी परिरहेको छ ।
मौसमविद मन्जु बासीका अनुसार काठमाडौं उपत्यकाको हकमा अहिले परिरहेको पानी दुई–तीन घण्टापछि रोकिन्छ । तर मौसमी प्रणालीलाई हेर्दा मंगलबार दिउँसो र बुधबारसम्मै पानी पर्ने देखिन्छ । यद्यपि मंगलबारको तुलनामा बुधबार केही कम पानी पर्ने मौसमविदको अनुमान छ ।
‘तुलनात्मक रुपमा आज जति सक्रिय छ, भोलि योभन्दा अलि कम हुने देखिन्छ,’ मौसमविद बासीले भनिन्, ‘पर्सिबाट फेरि अर्को निम्न चापीय प्रणाली प्रवेश गर्दैछ । त्यही भएकाले पर्सि पश्चिमी भूभाग अलि बढी प्रभावित हुन्छ ।’
सोमबार राति १२–१ बजे अगाडिसम्म कर्णाली र प्रदेश नम्बर ५ मा बढी पानी परेको थियो । मंगलबार बिहानदेखि भने गण्डकी, बागमती, प्रदेश २ मा बढी पानी परिरहेको छ । पानी पार्ने यो प्रणाली उत्तरपूर्वतिर सर्ने क्रममा छ । त्यसैले प्रदेश नम्बर १ सम्म पनि यसको प्रभाव देखिने मौसमविद बासी बताउँछिन् ।