दैलेख,हुम्ला र जुम्लामा भारी हिमपात

Monday, January 4th, 2021

चक्र प्रसाद पोख्रेल
काठमाडौं :देशका अरु हिमाली क्षेत्रसँगै दैलेख, हुम्ला र जुम्लामा पनि भारी हिमपात भएको छ ।
आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । दैलेखको महाँबु,नौमुले,ठाटीकाध लगायत उच्च भुभागमा भारी मात्रामा हिमपात भएको
छ । दैलेख जिल्लाकै उच्च स्थानमा रहेको महाँबुमा हिउँ खेल्न जानेहरुको भिड लागेको छ । त्यसैगरी हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।
हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।

यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ परेपछि चिसो झनै बढेको छ । रातभरि सामान्य पानी परेको जुम्ला सदरमुकाममा सोमबार बिहानदेखि हिउँ परेको हो ।हिमपातका कारण भने जुम्लामा पनि हवाई सेवा तथा यातायात प्रभावित भएको छ । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भएको हो । बुधबारसम्म मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest